बाढीका कारण दूषित बन्यो हरियो तरकारी : कस्तो हुन्छ असर ? | Khabarhub Khabarhub

बाढीका कारण दूषित बन्यो हरियो तरकारी : कस्तो हुन्छ असर ?


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो खडेरीपछि सुरु भएको मनसुनका कारण भएको बाढी, पहिरो र डुबानले जनधनको ठुलो क्षति भएको छ। पानी पर्नेक्रम जारी रहेकाले यो अझै बढ्दै अनुमान गरिएको छ।
शुक्रबार रातिदेखि शनिबार दिनभर लगातार परेको वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भयो। लगातारको झरीले उपत्यकाका विभिन्न खोला र नदी किनारका बस्ती र व्यापारीक केन्द्रमा बाढी पस्यो।

बल्खु लगायत विभिन्न ठाउँका तरकारी बजारमा बाढीले ठुलो क्षति पुर्यायो। टेकुको एक तरकारी पसलमा बाढीसहित पसेको फोहोर पानीमा डुबेका तरकारीका क्यारेट उठाउँदै गरेकी एक महिलालाई आमा यो तरकारी के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘पखालेर बेच्छु।’ उनले उल्टो प्रतिप्रश्न गरिन्, ‘बिहान बेलुकाको छाक टार्ने बाटो एउटा तरकारी पसल हो। बर्खाको बेला महँगोमा किनेर ल्याएको तरकारी फाल्यो भने के खाएर बाँच्नु ?’

बालुवाखानी कपनका खुद्रा व्यापारी मनिस बुढा महँगो तिरेर ल्याएको तरकारी देख्दा पनि राम्रो र आकर्षक नभएकाले बिक्री नभएर चिन्तित छन्। उनी भन्छन्, ‘महँगो तिरेर ल्याएको तरकारी उपभोक्ताले मूल्य भन्नेबित्तिकै नाक खुम्चाउँछन्। पानीमा भिजेकाले यो तरकारी आजै बिक्री भएन भने सबै फाल्नुपर्छ।

बालुखानीमै तरकारी किन्न पुगेका एक ग्राहक भन्छन्, ‘केही दिन अघिसम्म झोलाभरी तरकारी आउने पैसाले आज एक किलो पनि आउँदैन। त्यसैमाथि तरकारी पनि राम्रो छैन। एकदिन राख्दा कुहिएर फाल्नुपर्छ।’

बजारमा भित्रिने अधिकांश तरकारी काठमाडौँ बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ। ठाउँ ठाउँमा बाढी र पहिरोले बाटो अवरुद्ध छ। रोपाइँ सुरु भएकाले पनि बजारमा तरकारी कम मात्र आइपुग्ने गरेको छ। तरकारी समयमा बजार आइनपुग्दा कुहिने, सड्ने भएकाले यस्तै तरकारी बेच्न बाध्य भएको व्यापारीको भनाइ छ।

बाढी पसेपछि बारीमै दूषित भएको तरकारी र फलफूल बजारमा डुबानमा परेर अझ दूषित भएकाले उपभोक्ताले सजगता अपनाउनुपर्ने जनस्वास्थ्यविद बताउँछन्।

बर्खामा कस्तो तरकारी खाने ?
बाढीपछि बजारमा आएको तरकारी खानु अगाडि सचेत हुनुपर्ने सुझाव पोषणविद् नानी शोभा शाक्यको छ। ‘बाढीका कारण एउटा त बजारमा तरकारीको अभाव हुनसक्छ भने भएको तरकारी पनि दूषित हुने भएकाले उपभोक्ताले सजगता अपनाउनुपर्छ’, उनले भनिन्।
व्यापारीले लिएर आएको तरकारी पखालेको भएपनि फोहोर पानीले नै पखालेको हुनसक्ने भएकाले तरकारी किनेर घरमा लगिसकेपछि आफैले अझ राम्रोसँग पखालेर मात्रै पकाउन उहाँको सुझाव छ। ‘अहिले आँपको सिजन छ। बजारमा विषादीसँगै बाढी मिसिएका आँपहरु आएको हुनसक्छ। आजै ल्याएर आजै आँप खानु हुँदैन। केही समय पानीमा डुबाएर राख्ने र बोक्रा ताछेर मात्रै खानु राम्रो हुन्छ’, उनले भनिन्।

पोषणविद् नानी शोभा शाक्य ।

कुन तरकारी छिटो बिग्रिन्छ भन्ने कुरा किन्दाखेरी थाहा हुने भएकाले यो समयमा छिटो नबिग्रने तरकारी खानु राम्रो हुने पोषणविद्को सुझाव छ। थोरै तरकारी किनेर घरमा ल्याएर राम्ररी सफा गरेर मात्र खानुपर्ने उनको भनाइ छ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन यो समयमा तरकारीकै कारण रोग फैलिने जोखिम रहेको बताउँछन्। डा. पुन भन्छन्, ‘यो मौसममा सरुवा रोगको प्रकोप पनि त्यत्तिकै मात्रामा बढिरहेको छ। त्यसैमाथि वर्षासँगै आएको बाढीले फोहोरजन्य वस्तु बगाएर ल्याएको हुन्छ। त्यही पानी करेसाबारीमा पस्दा बारीमै तरकारी दूषित हुनजान्छ। बारीमा दूषित भएको तरकारी बजार हुँदै हरेकका भान्छामा पुग्छ। अहिले तरकारी बजारमा राखेको बेला पनि फोहोर पानीमा डुब्दा विभिन्न ब्याक्टेरिया तरकारीकै माध्यमबाट भान्छासम्म आउने गर्दछ। यस्तो तरकारीले विभिन्न रोग फैलाउने जोखिम हुन्छ।’

खराब मौसम भएकाले अहिले तरकारी किन्दा एकदमै ख्याल गरेर मात्रै किन्न उनको सुझाव छ। घरमा ल्याएको तरकारी राम्ररी निर्मलीकरण गरेर मात्रै खानुपर्नेमा डा. पुनको जोड छ।

काँचो तरकारी खाँदै नखानु
यो समयमा काँचो तरकारी काक्रो, मुला, गाजर सकेसम्म खाँदै नखानु राम्रो हुने पोषणविद् शाक्यको भनाइ छ।

विशेष गरेर अहिले वर्षायाममा सरुवा रोगको प्रकोप पनि त्यत्तिकै मात्रामा हुने भएकाले सन्तुलित भोजन खान उनले सुझाव दिएकी छन्। बच्चाहरुलाई बासी, सडेगलेका खानेकुराहरु दिनै नहुने शाक्यको भनाइ छ।

सरुवा रोग विशेषज्ञ डा. पुन ठुलाठुला होटलमा राखिएको काँचो तरकारी यो मौसममा नखान सुझाव दिन्छन्। ‘विशेष गरेर ठुलाठुला होटलमा सलादको रुपमा काँचो तरकारी राखिएको हुन्छ। सकेसम्म काँचो तरकारी खाँदै नखानु राम्रो हुन्छ। खानै परे पनि राम्रोसँग निर्मलीकरण गरेर मात्रै खानु राम्रो हुन्छ’, डा. पुन भन्छन्।

डा. शेरबहादुर पुन ।

अहिले देशभर डेङ्गुको संक्रमण देखिएकाले यसबाटसमेत सचेत हुनुपर्ने उनको बुझाइ छ। पानीजन्य सरुवा रोगको प्रकोप बढेर महामारीको रुप लिनसक्ने भन्दै सतर्कता अपनाउन उनले सुझाव छ।

दूषित तरकारी कसरी निर्मलीकरण गर्ने ?
आयातित मात्रै नभई नेपालभित्रै उत्पादन हुने तरकारी र फलफूलमा पनि विभिन्न विषादीका अवशेष हानिकारक तहमा रहेका विभिन्न अध्ययनले देखाएका छन्। त्यसैमाथि अहिले बाढी पसेर पानीजन्य सरुवा रोग फैलाउने ब्याक्टेरिया पनि तरकारीमा लाग्ने हुँदा त्यस्ता ब्याक्टेरियाको प्रभावबाट जोगिन हामीले घरभित्रै निर्मलीकरण गर्न सकिने स्वास्थ्यविदको भनाइ छ।

वेगले खस्ने धाराको पानीमा तरकारी वा फलफूललाई तीन पटकसम्म राम्ररी पखाल्यो भने त्यसमा रहेको विषादी र ब्याक्टेरिया पखालिएर जान्छ।

५० देखि ६० प्रतिशत विषादी त्यसरी धारामा पखाल्दा बगेर जान्छ। त्यस्तै अझै बढी विषादीलाई हटाउनु छ भने एक चम्चा नुन एक लिटर पानीमा राख्ने र त्यसमा १० देखि १५ मिनेटसम्म तरकारी या फलफूललाई डुबाएर राख्नु राम्रो हुन्छ। त्यसपछि निकालेर पखाल्दा ६० देखि ७० प्रतिशतसम्म विषादी हट्ने गर्दछ।

नुन प्रयोग नगर्ने हो भने त्यसको सट्टा भिनेगर र पानीमा तरकारी या फलफूललाई डुबाउँदा राम्रो हुने जनस्वास्थ्यविदको भनाइ छ। अझै बढी विषादी हटाउने हो भने हामीले तरकारी वा फलफूलको बाहिरको बोक्रा छोडाउनुपर्छ। धेरैजसो विषादीका अवशेष बाहिरी भागमा हुने भएकाले बोक्रा फालेर मात्र खानसमेत जनस्वास्थ्यविद्ले सुझाव दिएका छन्।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ८ : ५२ बजे

कुलमानले लाइन काट्दा प्रधानमन्त्री र ऊर्जामन्त्री तमासे

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको

रास्वपा नेताहरूलाई सहकारी पीडितको प्रश्न- हामीले दुई वर्षदेखि हारगुहार गर्दा कहाँ हुनुहुन्थ्यो ?

काठमाडौं–संसदीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा केन्द्रित

ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन

राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस-एमाले मिलेका हुन्’

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको