विराटनगर– मोरङ र सुनसरीमा भारी वर्षा भएको छ । गएरातिदेखि सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको हो ।
भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले अझ धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बूढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ ।
वर्षाका कारण इटहरी सडक जलमग्न भएको छ। कोशी राजमार्ग अन्तर्गत इटहरी–विराटनगर सडक खण्डको इटहरीस्थित रिलायन्स उद्योग अघिको सडक जलमग्न भएको हो ।
सडक जलमग्न भएपछि सवारी साधन सञ्चालनमा सकस भएको छ । दुईपाङ्ग्रे सवारी साधन मोटर साइकल, स्कुटी लगायतका सवारी साधन चलाउन समस्या भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।
प्रतिक्रिया