मन्त्रिपरिषद्को सन्तुलन : ओली र देउवाका गृह प्रदेशको वर्चस्व | Khabarhub Khabarhub

मन्त्रिपरिषद्को सन्तुलन : ओली र देउवाका गृह प्रदेशको वर्चस्व

साना दल समेट्दा मधेशलाई ६, ‘हेपिएको’ कर्णालीलाई मात्रै १ मन्त्री


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको नयाँ सरकारको मन्त्रिपरिषद्मा दुवै दलका शीर्ष नेताका गृहप्रदेशबाट समान चार–चार जना मन्त्री बनेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिम र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेश कोशीबाट नवगठित मन्त्रिपरिषद्मा चार–चारजना परेका छन् ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका अध्यक्ष ओलीसहित कोशी प्रदेशबाट एमालेबाट ३ र कांग्रेसबाट १ जना मन्त्रिपरिषद्मा समेटिएका छन् ।

कोशी प्रदेशबाट एमालेबाट प्रधानमन्त्री ओलीसँगै भौतिकमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई तथा कांग्रेसबाट ऊर्जामन्त्री दीपक खड्का मन्त्रिपरिषद्मा समेटिएका छन् ।

कांग्रेस सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट कांग्रेसका ३ र एमालेका १ जना मन्त्रिपरिषद्मा समेटिएका छन् । कांग्रेसले समानुपातिक सांसद डा. आरजु राणा देउवासँगै कञ्चनपुरका रमेश लेखक र बाजुराका बद्री पाण्डे तथा एमलेले बैतडीका दामोदर भण्डारीलाई मन्त्री बनाएको छ ।

कांग्रेसले देउवापत्नी डा. राणालाई परराष्ट्र, कञ्चनपुर–३ बाट विजयी लेखकलाई गृह र बाजुराबाट विजयी पाण्डेलाई पर्यटनमन्त्री तथा एमालेले बैतडीबाट विजयी भण्डारीलाई उद्योगमन्त्री बनाएको छ ।

कांग्रेसका राणा र पाण्डेका लागि मन्त्रिपरिषद् नयाँ अनुभव हो । लेखकले यसअघि मन्त्रालय सम्हालिसकेका छन् । यस्तै एमालेका भण्डारी पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उद्योगमन्त्री थिए ।

अन्य दललाई सरकारमा सहभागी गराउँदा मधेश प्रदेशले ६ जना मन्त्री पाएको छ । मधेशले कांग्रेसबाट २, एमालेबाट १, सत्ता साझेदार जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ सहित ६ जना मन्त्री पाएको छ ।

कांग्रेसले ओली नेतृत्वको मन्त्रिपरिषद्मा मधेश प्रदेशबाट पर्सा–२ का अजयकुमार चौरसिया र सप्तरी–४ का तेजुलाल चौधरीलाई पठाउँदा एमालेले पर्सा–३ का राजकुमार गुप्तालाई सहभागी गराएको छ ।

यस्तै अशोक राई नेतृत्वको जसपाले प्रदीप यादव र नवलकिशोर साह सुडी तथा लोसपाले शरतसिंह भण्डारीलाई मधेसबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गराएका छन् ।

ओली नेतृत्वको सरकारमा मधेश प्रदेशको पर्सा एक्लैले ३ जना मन्त्री पाएको छ । पर्साबाट जसपाका सांसद प्रदीप यादव, कांग्रेस सांसद अजयकुमार चौरसिया र एमाले सांसद राजकुमार गुप्ता मन्त्री बनेका छन् ।

यादव पर्सा–१, चौरसिया पर्सा–२ र गुप्ता पर्सा–३ बाट निर्वाचित सांसद हुन् । पर्सा–४ बाट निर्वाचित कांग्रेस सांसद रमेश रिजाल प्रचण्ड नेतृत्वको सरकारमा (२०८० फागुन २१ सम्म) उद्योगमन्त्री थिए ।

ओली नेतृत्वको सरकारमा बागमतीबाट ३, गण्डकी र लुम्बिनीबाट २–२ जना मन्त्री बन्दा कर्णालीले भने १ जनामात्रै मन्त्री पाएको छ । कर्णालीबाट कांग्रेसका ऐनबहादुर शाही वनमन्त्री बनाइएका छन् । उनी २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मुगुबाट विजयी भएका थिए ।

कांग्रेस–एमाले गठबन्धनको सरकारमा बागमतीबाट प्रकाशमान सिंह उपप्रधान तथा शहरीविकास, प्रदीप पौडेल स्वास्थ्य र रामनाथ अधिकारी कृषिमन्त्री छन् ।

उनीहरु तीनैजना कांग्रेस नेता हुन् । २०७९ को निर्वाचनमा सिंह काठमाडौं–१, पौडेल काठमाडौं–५ र अधिकारी धादिङ–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

गण्डकी प्रदेशबाट एमालेले २ जना र लुम्बिनी प्रदेशबाट २ जना मनित्रपरिषद्मा पठाएको छ । एमालेले गण्डकीबाट पृथ्वी सुब्बा गुरुङ र विद्या भट्टराई तथा लम्बिनीबाट विष्णुप्रसाद पौडेल र बलराम अधिकारीलाई ओली नेतृत्वको सरकारमा मन्त्रीका रुपमा पठाएको हो ।

गण्डकीबाट गुरुङलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ भने भट्टराईलाई शिक्षा मन्त्री बनाइएको छ ।

यस्तै लुम्बिनीबाट पौडेललाई उपप्रधान तथा अर्थ मन्त्री बनाएर सरकारमा पठाइएको हो भने अधिकारी भूमिसुधारमन्त्री छन् । उनी पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारीमा थिए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : ३९ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय