पत्रकारिता छाडेर राजनीतिमा होमिएका लेखकलाई गृहको कमान्ड « Khabarhub

पत्रकारिता छाडेर राजनीतिमा होमिएका लेखकलाई गृहको कमान्ड


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते मध्यराति सत्ता सहकार्यका लागि भएको सात बुँदे सहमतिका सूत्रधारमध्ये एक थिए रमेश लेखक ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिको वातावरण बनाउन सक्रिय उनै लेखक गृहमन्त्री भएका छन् ।

कांग्रेस सचेतकसमेत रहेका लेखकलाई सभापति देउवाले नवगठित मन्त्रिपरिषद्मा महत्वपूर्ण मन्त्रालय जिम्मा लगाएका हुन् । यससँगै लेखक कांग्रेसबाट सुदूरपश्चिममा देउवापछि गृह मन्त्रालय सम्हाल्ने पहिलो व्यक्ति भएका छन् ।

लेखक २०७९ को निर्वाचनमा कञ्चनपुर–३ बाट विजयी भएका हुन् । उनी त्यही क्षेत्रबाट २०५६ देखि संसदीय यात्रामा छन् । नवनियुक्त गृहमन्त्री लेखक २०६३ मा प्रतिनिधिसभा पुनस्र्थानापछि गठित अन्तरिम सरकारमा श्रमराज्य मन्त्री थिए । उनले पछि त्यही मन्त्रालय सम्हाले ।

दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुर–४ (तत्कालीन निर्वाचन क्षेत्र) बाट निर्वाचित लेखक २०७३ मा भौतिक पूर्वाधार तथा योजनामन्त्री बने । २०७४ को चुनावमा कञ्चनपुर–३ मा झिनो मतले पराजित लेखक २०७९ मा त्यहीँबाट भारी मतान्तरले निर्वाचित भएका हुन् । पहिलो संविधानसभामा समानुपातिकतर्फ सभासद बनेका लेखकले संविधान निर्माण र लेखनका क्रममा महत्वपूर्ण समितिमा रहेर काम गरे ।

बैतडीमा २०२० सालमा जन्मेका नेता लेखकको प्रारम्भिक शिक्षा जिल्लाकै विभिन्न विद्यालयमा भएको थियो । कक्षा ५ देखि १० सम्म कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित बैजनाथ माध्यामिक विद्यालयमा पढे ।

महेन्द्रनगरकै सिद्धनाथ विज्ञान क्याम्पसबाट बायोलोजीमा आइएस्सी पूरा गरेका लेखकको राजनीति विज्ञान क्याम्पसबाटै सुरु भएको हो । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट लेखकले २०३७ मा राजनीति थाले ।

२०३७ मा नेविसंघ जिल्ला उपसभापति बनेका लेखक २०४८ र २०५६ गरी दुई पटक कांग्रेस कञ्चनपुर सचिव भएका थिए । त्यसपछि उनी पार्टीको केन्द्रीय राजनीतिमा जोडिए ।

२०५९ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन कांग्रेस (प्रजातान्त्रिक)को केन्द्रीय सदस्य बनेका लेखक पार्टी एकतापछि निरन्तर केन्द्रीय भूमिकामै छन् ।

२०६७ मा भएको पार्टीको १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित लेखक २०७२ र २०७८ का १३ औं र १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य बने ।

विद्यार्थी जीवनमा नेविसंघबाट सिद्धनाथ क्याम्पसको स्ववियू सभापतिमा प्रतिस्पर्धा गरेका लेखकले उच्च शिक्षा भारतको लखनऊ विश्वविद्यालयबाट पूरा गरे । लखनऊबाट बीए, एमए र एलएलबी सकेर फर्किएका उनले सुरुमा महेन्द्रनगरमा ल–फर्म चलाए ।

महेन्द्रनगरमा कानुन व्यवसायसँगै शिक्षण पेशामा जोडिएका गृहमन्त्री लेखक स्थानीय महाकाली सप्ताहिकको कार्यकारी सम्पादक पनि भए । उनी नेपाल पत्रकार

महासंघ कञ्चनपुरको संस्थापन सदस्यसमेत हुन् ।

लेखक २०५० सालमा विराटनगरमा सम्पन्न पत्रकार महासंघको महाधिवेशनमा उपसभापतिमा उठेका थिए । त्यसबेला उनी पत्रकार ऋषिराज लुम्सालीसँग पराजित भए ।

पत्रकार चित्राङ्ग थापाका अनुसार तत्कालीन समयमा विकास क्षेत्रको उपसभापति पदका लागि देशभरका केन्द्रीय पार्षदहरूले मत दिने गर्थे ।

गृहमन्त्री लेखक विराटनगरपछि झापाको कलबलगुडीमा सम्पन्न पत्रकार महासंघको महाधिवेशनमा पनि कञ्चनपुरबाट केन्द्रीय पार्षद्का रुपमा सहभागी भए ।

उक्त महाधिवेशनमा पनि उनी सुदूरपश्चिम विकास क्षेत्रबाट उपसभापति पदमा आकांक्षी थिए । तर, पछि पत्रकार चित्राङ्ग थापा निर्विरोध उपसभापति बने ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : २३ बजे

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए

भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र बढ्दै गएको

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली