काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) ले २ वर्ष भन्दा बढी समय पछि २३ सयको विन्दु पार गरेको छ । मुस्ताङका पर्यटकीय स्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक किसानलाई उत्पादनमा अनुदान उपलब्ध गराएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएको दाबी गरेका छन्
दुई वर्षपछि नेप्सेले २३ सयको विन्दु पार गर्यो, ९ अर्ब बढीको कारोबार
नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) ले २ वर्ष भन्दा बढी समय पछि २३ सयको विन्दु पार गरेको छ । मंगलबार नेप्सेले २ वर्षको उच्च विन्दुमा पुगेको छ । आज एकै दिन ७०.१८ अंकले नेप्से बढेसँगै नेप्से २ वर्ष बढी समयको उच्च विन्दुमा पुगेको हो ।
मंगलबार नेप्से ३.१३ प्रतिशतले बढेर २३१०.५९ विन्दुमा पुगेको छ । यो भन्दा अगाडि २०७९ साल वैशाख २९ गते नेप्से परिसूचक १३५०.४२७ विन्दुमा थियो । त्यस यताकै सबैभन्दा उच्च विन्दु आज मंगलबार भएको हो ।
आज नेप्सेमा उछाल आएसँगै कारोबारमा पनि उछाल आएको छ । आज एकै दिन ९ अर्ब बढीको कारोबार भएको छ । आज ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच भएको छ ।
मुस्ताङमा चार लाख २७ हजार पर्यटक भित्रिए
मुस्ताङका पर्यटकीय स्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०–८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन् ।
घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटक तथ्यांक तथा विवरण राख्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले २०८० साउनदेखि २०८१ असार महिनासम्म ७४ हजार तीन सय ७४ वटा सवारी साधनमार्फत चार लाख २७ हजार दुई सय ७१ जना पर्यटक भित्रिएका जानकारी दिए।
तीन लाख १८ हजार आठ सय १४ जना आन्तरिक, ९९ हजार दुई ७६ जना सार्क राष्ट्रका र नौ हजार एक सय ७१ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका उनले बताए ।
स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको र यसबाट नेपालका सानादेखि ठूला लगानीकर्ता, नेपालको बजार एवं उद्योगीहरूमा उत्साह बढेको बताएका छन् ।
अध्यक्ष ढकालले नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्न नसक्नुको एउटा प्रमुख कारण राजनीतिक तथा नीतिगत अस्थिरता रहेको उल्लेख गर्दै नयाँ बनेको सरकारले नेपालमा राजनीतिक तथा नीतिगत स्थायित्व दिने र लगानीकर्तामा आत्मविश्वास बढ्न गई मुलुकमा आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको बताए ।
‘कोभिड महामारीपछि विभिन्न कारणले हाम्रो अर्थतन्त्र शिथिल बनेको छ । यसमा राज्यका विभिन्न निकायले लिएको नीतिका बाबजुद राजनीतिक अस्थिरता पनि एउटा प्रमुख कारण हो । यो सरकारले स्थायित्वको सुनिश्चितता दिएपछि आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्न सक्छ र यसबाट अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्न सक्छ,’ ढकालले भने ।
दोलखामा सवारी जरिवानाबाट ६४ लाख राजस्व संकलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले आर्थिक वर्ष २०८०÷८१ को १२ महिनामा ६४ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले आठ सय २४ वटा सवारी कारबाहीबाट ६४ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका इन्चार्ज ठाकुर प्रसाद भट्टराईले बताए ।
कार्यालयले गत आर्थिक वर्ष सवारी नियम उलङ्घन गर्ने एक हजार ३४ वटा ट्रक कारबाहीबापत दश लाख छ हजार, एक हजार दुई सय ४५ वटा बस कारबाहीबापत दश लाख ४२ हजार पाँच सय, दुई हजार आठ सय ९६ वटा साना सवारी जिप कार कारबाहीबापत २२ लाख १७ हजार, ७४ वटा टेम्पो कारबाहीबापत ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको प्रमुख भट्टराईले बताए ।
कार्यालयको वार्षिक तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ३५ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ पुरुष र ४ महिला रहेका छन् ।
अनुदान नीतिले दूध उत्पादनमा वृद्धि
तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक किसानलाई उत्पादनमा अनुदान उपलब्ध गराएको छ । उत्पादनका आधारमा दूधमा अनुदान दिने नीतिले गाउँपालिकामा दूग्ध उत्पादक किसान बढ्नुका साथै दूध उत्पादनमा वृद्धि भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा यहाँका किसानलाई रु २८ लाख ८८ हजार दुई सय आठ वितरण गरेको पशुसेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए। उनका अनुसार प्रति लिटर दशका दरले अनुदान उपलब्ध गराइएको छ ।
तीन वटा सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने किसानले अनुदान पाएका छन् । चालु आर्थिक वर्षमा तीन वटा सहकारी संस्थामार्फत् दुई लाख ८८ हजार आठ सय २० लिटर दूध बिक्री भएको छ ।
म्याग्दे गाउँपालिका–४ स्थित म्यादे दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ३७ हजार नौ सय ४७, गौ सेवा दुग्ध उत्पादक सहकारी संस्थाबाट ३४ हजार सात नौ र साँगे चारहजार दूध उत्पादक सहकारी संस्थाबाट १६ हजार एक सय ६४ लिटर दूध उत्पादन भएको छ ।
उद्योगमा लाइन काटिसकेपछि विकल्प खोज्नुपर्छ : इप्पान
स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इप्पान) ले लाइन काट्ने अवस्थामा रहेको भारबाट टाढा सरेर वैकल्पिक उपाय अपनाउन उद्योगहरूलाई आग्रह गरेको छ ।
ट्रंक र डेडिकेटेड लाइन बापतको टोलको विवादलाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगको लाइन काट्न थालेपछी त्यसतर्फ इप्पानको ध्यानाकर्षण भएको हो ।
प्राधिकरणले उद्योगको लाइन काट्न थालेको र केही उद्योगले अन्य उद्योगमा तालाबन्दी लगाएर विरोध गरेको र यसले निजी क्षेत्रका ऊर्जा विकासकर्ताको चिन्ता बढेको सार्वजनिक गरेको आईपीएनएलले जनाएको छ ।
वर्षायाममा वर्षभरि उत्पादन हुने बिजुली ७० प्रतिशतले बढेको र सोही समयमा कम खपत हुने गरेको, जसको प्रत्यक्ष असर योजनाको आर्थिक स्थितिमा परेको छ योजनामा प्रभाव देखिन थाल्यो ।
उद्योग, व्यवसाय बन्द हुँदा योजनाको आम्दानीमा गम्भीर असर परेको आईपीएनएलले जनाएको छ । ऊर्जा खपतका लागि उद्योगी र अधिकारीबीच सौहार्द्रपूर्ण सम्बन्ध निर्माण गरी विद्युत् बाँडफाँडको अवस्था सिर्जना गर्न आग्रह गरिएको छ ।
सुनको मूल्य आकासिँदै, कतिमा भइरहेको छ कारोबार ?
आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।
यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ९ सय रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
एक महिनामा पाथीभरामा २० लाख बढी भेटी सङ्कलन
ताप्लेजुङको पाथीभरा मन्दिरमा पछिल्लो एक महिनामा २० लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार असार महिनामा पाथीभरामा भक्तजनले चढाएको भेटीका रूपमा २० लाख ४४ हजार नौ सय रुपैयाँ भेटी सङ्कलन भएको हो ।
सङ्कलित भेटी सोमबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको हो । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटी गणना गरी सो बराबरको नगद बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।
तीन हजार ३९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।
समितिका कार्यकारी निर्देशक हाङबाङका अनुसार आर्थिक वर्ष २०८१–८१ मा दुई लाख ३१ हजार तीन सय ३४ तीर्थालुले मन्दिरको दर्शन गरेका छन् ।
श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाए : मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएको दाबी गरेका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ३२९ जनालाई विभिन्न निजी कम्पनी तथ ५८३ जनालाई महानगरका विभिन्न विभागहरूमा रोजगारी उपलब्ध गराइएको उल्लेख गरेका छन् ।
महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको छ ।
मेयर बालेनले यसको सुरुवात भएको आर्थिक वर्ष २०८०–८१ मा सीप मेला २०८१ मार्फत २ हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १ हजार ४६७ जना र अनलाइनमार्फत २ हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको जनाएका छन् ।
जसमध्ये श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएको उनको भनाइ छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरू रोजगार/स्वरोजगार भएका छन् ।
प्रतिक्रिया