पार्टी महाधिवेशन गरेर पनि अधुरो संगठन हाँक्दै माधव र उपेन्द्र | Khabarhub Khabarhub

राजनीति

पार्टी महाधिवेशन गरेर पनि अधुरो संगठन हाँक्दै माधव र उपेन्द्र

डेढ महिना बित्दा पनि पाएन केन्द्रीय कमिटीले पूर्णता


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशन सकेको डेढ महिना नाघिसक्दा पनि केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन ।

यस्तै, प्रतिपक्षमा बसेको नेकपा (एकीकृत समाजवादी) को हालत पनि उस्तै छ । महाधिवेशन सम्पन्न गरेको महिना दिन पुग्नै लाग्दा पनि सो पार्टीले केन्द्रीय समिति अधुरै राखेको छ ।

जसपा नेपालले जेठ २८ देखि ३० सम्म जनकपुरधाममा पहिलो एकता महाधिवेशन र एकीकृत समाजवादीले संघीय राजधानी काठमाडौंमा असार १६ देखि २० सम्म १० औँ राष्ट्रिय महाधिवेशन गरेको थियो ।

जसपा नेपालको पहिलो एकता महाधिवेशनबाट जेठ ३० मा केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव र एकीकृत समाजवादीले १० औँ राष्ट्रिय महाधिवेशनबाट असार २० गते माधवकुमार नेपाललाई पार्टी अध्यक्षमा दोहोर्‍याएका थिए ।

यादव महाधिवेशनबाट निर्विरोध भएका थिए । उता, समाजवादीमा अध्यक्ष नेपाल तथा नेताद्वय झलनाथ खनाल र धनश्याम भुसालसँगै सर्वसम्मत नेतृत्वमा दोहोरिए । एकीकृत समाजवादीको महाधिवेशनले नेपाललाई अध्यक्षमा निर्विरोध दोहोर्‍याउँदै खनाललाई सम्मानीत नेता र भुसाललाई महासचिवमा चयन गरेको थियो ।

महाधिवेशनबाट अध्यक्षमा निर्विरोध चयन भएको झण्डै एक महिनापछि यादवले गत असार २७ गते जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए । अहिले जसपामा अध्यक्ष यादवमात्रै पदाधिकारी छन् । उनीमुनि अन्य ८ जना नेता कार्यकारिणी सदस्य रहेका छन् ।

अध्यक्ष यादवले केन्द्रीय समिति घोषणा गर्दा रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह यादव, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापामगरलाई कार्यकारिणी सदस्य मनोनित गरेका हुन् ।

अध्यक्ष यादवले केन्द्रीय समिति घोषणा गर्दा जसपा नेपालले पदाधिकारीहरुको टुंगो केन्द्रीय समितिको बैठक बसेर टुङ्ग्याउने बताएको थियो । जसपा नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको ठीक एक महिनापछि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुमनले पार्टीको केन्द्रीय समिति बैठक साउन २७ मा बोलाइएको जानकारी दिए । बैठक ३० गतेसम्म चल्ने छ । यद्यपि, बैठकमा पदाधिकारी चयनबारे छलफल नहुने उनको भनाइ छ । बैठक ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।

‘बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे छलफल हुन्छ,’ नेता सुमनले खबरहबसँग भने ।

उनले जसपा नेपालले पदाधिकारीको टुङ्गो केन्द्रीय समिति बैठकपछि लगाउने पनि बताए । ‘पदाधिकारी चयन गर्ने जिम्मेवारी अध्यक्षज्यूलाई दिइएको छ । केन्द्रीय समिति बैठकपछि उहाँले पदाधिकारी चयन गर्नुहुन्छ,’ सुमनले भने ।

एकीकृत समाजवादीले भने महाधिवेशनकै बेला ९३ सदस्यीय केन्द्रीय कमिटी गठन गरे पनि केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन । महाधिवेशनमा अध्यक्षमण्डलका अध्यक्ष बनाइएका खनालले असार २१ गते एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए ।

एकीकृत समाजवादीले सोमबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले केन्द्रीय सदस्यहरुको टुङ्गो लगाउने नेता आलोक रायमाझीले जानकारी दिए ।

एकीकृत समाजवादीको पार्टी विधानले केन्द्रीय समिति २१ पदाधिकारी र २९९ सदस्य रहने व्यवस्था गरेको छ । तर, एकीकृत समाजवादीले अब ३२९ सदस्यीय समिति विस्तारको तयारी गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ७ : ५३ बजे

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट स्वदेश फर्किएका छन्

हवाई भाडा महँगो नलिन अमेरिकाबाटै प्रधानमन्त्रीको आग्रह

काठमाडौं– अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई भाडा

नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगे विनोद चौधरी

परासी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी

बाढीपहिरोबाट १५ जलविद्युत आयोजनामा दुई अर्ब रुपैयाँ बढी क्षति

काठमाडौं – बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोबाट

पहिरोमा परेका साथी बचाउन जाँदा कर्णेल केसीले गुमाए ज्यान

काठमाडौं- साथीलाई बचाउन जाँदा नेपाली सेनाका एकजना कर्णेलले ज्यान गुमाएका