ऋणमा डुबेका थिए वीरेन्द्र, फार्म हाउसको जग्गा हडप्न सहयोगीबाटै गराए पूर्वमन्त्रीको हत्या | Khabarhub Khabarhub

ऋणमा डुबेका थिए वीरेन्द्र, फार्म हाउसको जग्गा हडप्न सहयोगीबाटै गराए पूर्वमन्त्रीको हत्या


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


23.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा उनकै सहयोगीको संलग्न भएको खुलेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत रहेका ८१ वर्षीय रायको हत्यामा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मलंगवा नगरपालिका–४ निवासी ८१ वर्षीय रायको जिल्लाकै चन्द्रपुर गाउँपालिका-१ रतनपुरस्थित फार्म हाउसमा गत साउन ७ गते राति उनकै सहयोगीबाट हत्या भएको खुलेको हो ।

प्रहरीले उक्त प्रकरणमा कबिलासी नगरपालिका-३ घर भई चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने २५ वर्षीय रामउजैन राय र ४६ वर्षीय वीरेन्द्र रायलाई सार्वजनिक गरेको हो । रामउजैन पूर्वमन्त्री रायकै घरमा सहयोगीका रुपमा काम गर्थे ।

राय गत साउन ७ गते आफ्नै घर (फार्म हाउस) को कोठामा मृत भेटिएका थिए । उनलाई धारिलो हतियारले हानेर हत्या गरिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिप्रका सर्लाहीको टोलीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

उनीहरूलाई जिल्ला अदालत सर्लाहीबाट ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा १० दिन म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ ।

के थियो घटना

मलंगवाका स्थायी बासिन्दा पूर्वमन्त्री राय सहयोगीसहित धान खेती गर्न रतनपुर पुगेका थिए । रतनपुरको फार्म हाउसमा सुतेको अवस्थामा साउन ७ गते राति उनलाई उखु काट्ने धारिलो हतियार फर्साले टाउको र शरीरका अन्य भागमा हानेर हत्या गरिएको थियो ।

विवाद

पूर्वमन्त्री रायको हत्याको मुख्य कारण जग्गासम्बन्धी विवाद रहेको खुलेको छ । चन्द्रनगर–१ रतपुरस्थित बनाएको दुईकोठे फार्म हाउसको जग्गा हत्या योजना बनाउने वीरेन्द्रले आफ्नो भनेर दाबी गरिरहेका थिए ।

प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहका अनुसार उक्त फार्म हाउसका छिमेकी वीरेन्द्रले पाउनुपर्ने माग गर्दै आएका थिए । तर उनी प्रमाण जुटाउन नसकेर तनावमा थिए ।

प्रमाणका लागि उनले उक्त जग्गाको नक्सा खोजिरहेका थिए । तर वीरेन्द्रले आफ्नोसँगै पूर्वमन्त्रीको जग्गाको सानो मात्रै नक्सा भेट्टाएका थिए । उनी ठूलो नक्सा खोजीमा भए पनि भेट्टाउन सकेका थिएनन् । त्यहीकारण उनले पूर्वमन्त्रीको फार्म हाउसको जग्गा पनि आफ्नो बनाउने योजनासहित सहयोगी रामउजैनलाई प्रयोग गरेका खुलेको छ।

वीरेन्द्रले पूर्वमन्त्री रायका सहयोगी रामउजैजनलाई २ लाख रुपैयाँको प्रलोभन देखाएको पनि खलेको छ।

रामचन्द्रको ज्यान लिन सके मात्रै जग्गा आफ्नो बनाउन सकिने निष्कर्षमा रहेका उनले त्यहीकारणा रामउजैनलाई प्रयोग गरे । प्रहरी उपरीक्षक सिंहका अनुसार वीरेन्द्रले पूर्वमन्त्रीको हत्या गरेवापद दुई लाख रुपैयाँ र व्यवसाय गर्न अलग्गै फार्म बनाइदिने आश्वासन दिएर फकाएका थिए ।

पूर्वमन्त्रीको घरमा सहयोगीको काम गरिरहेका रामउजैन वीरेन्द्रको प्रलोभनमा परेर हत्याको निर्णयसम्म पुगे । प्रहरीका अनुसार वीरेन्द्रले योजना बनाए पनि पूर्वमन्त्रीको हत्या भने धारिलो हतियार प्रयोग गरेर रामउजैनले एक्लै गरेको खुलेको छ ।

घटना लुकाउने कोसिस

प्रहरी उपरीक्षक सिंहका अनुसार २५ वर्षीय रामउजैनले घटना लुकाउने कोसिस गरेका थिए। घटनास्थलबाटै पक्राउ परेका उनले सुरुमा केही बोलेका थिएनन् ।

‘सोधपुछ गर्ने क्रममा रामउजैनले घटनामा साविती गरे । उनले हत्याका क्रममा लगाएको हाफ पाइन्ट र गञ्जी पनि लुकाएको पाइयो। साविती गरेपछि उनैको बयानका आधारमा हाफ पाइन्ट रगत लागेको अवस्थमा एउटा झोलाभित्र भेटियो’, सिंहले भने, ‘त्यसपछि गञ्जी भने उनले च्यातेर फ्याँकेका रहेछन् । उनले
रगत लतपतिएको गञ्जी बालबालिकाले खेल्ने मोजाको बलको आकार बनाएर फ्याँकेको अवस्थामा भेटियो ।’

रामउजैनले प्रहरीलाई बयानका क्रममा घटनाको राति आफू फार्म हाउसको छतमा सुतेको भनेर झुक्याउन खोजेका थिए । ‘रामउजैनले सुरुमा आफू फार्म हाउसको छतमा सुतेको बयान दिए । तर छतमा ओछ्याइएको तन्ना र त्यसनजिकैको भुइँमा पनि रगत लागेको जाँचप्रकृति मुचुल्काका क्रममा भेटिएको थियो । उनी पूर्वमन्त्रीको हत्यापछि छतमा सुत्न गएका रहेछन्’, सिंहले भने ।

ऋणमा डुबेका थिए वीरेन्द्र

पूर्वमन्त्री रायको जग्गा हडप्ने योजना बनाएका वीरेन्द्र ऋणमा डुबेको पनि खुलेको छ । प्रहरीका अनुसार उनले बैंकबाट ७२ लाख रुपैयाँ ऋण लिएको खुलेको छ ।

‘जग्गासम्बन्धी विवाद थियो । वीरेन्द्रको चहाना उसले घर बनाएको स्थानसम्म आफ्नो जग्गा बनाउने देखियो । अर्कातिर उनले ७२ लाख ऋण लिएको भेटियो । त्यो ऋण तीन तीन महिनामा नवीकरण गर्नुपर्ने तनाव थियो’, सिंहले भने, ‘वीरेन्द्र पूर्वमन्त्री रायको फार्म हाउसको नक्सा पाउने कोसिसमा लागेको थियो । उसले ठूलो नक्सा पाउन सकेन । एकातिर ऋणको तनावमा रहेको वीरेन्द्रले अर्कातिर मन्त्रीको जग्गा हडप्ने योजना बनाउँदा यो घटना भएको देखिन्छ ।’

प्रहरीका अनुसार वीरेन्द्रले पूर्वमन्त्री रायको जग्गाको नक्सा दिलाइदिएमा त्यो जग्गा आफ्नो नाममा आएपछि खनजोत गर्न दिने लोभ पनि रामउजैनलाई देखाइएको थियो ।

‘जग्गासम्बन्धी मतभिन्ता र आर्थिक प्रलोभनले हत्या पूर्वमन्त्रीको हत्या भयो । अझै अनुसन्धान भइरहेको छ’, सिंहले भने, ‘अहिलेलाई यो घटनामा दुईझना संलग्न देखिन्छ । हामी यसबारे अझै अनुसन्धानका क्रममा छौँ ।’

पूर्वमन्त्री रायको हत्याको घटनालाई टुंगोमा पुर्‍याउन केन्द्रीय अनुसन्धान ब्यूरो, मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठसहितको ६ सदस्यीय खटिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  २ : २७ बजे

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको