आफैँले काम गरेको चलचित्र ‘गाउँ आएको बाटो’का बारेमा आफैँले प्रशंसा गर्ने वा चलचित्रको कथामाथि विश्लेषण गर्ने मेरो मन हैन । किनकि कुनै पनि चलचित्र दर्शकका निम्ति बनाइएको हुन्छ । दर्शकलाई जिम्मा लगाएर उनीहरूको प्रतिक्रिया सुन्नु जस्तो सौभाग्य कमैको पोल्टामा पर्छ ।
चलिचत्रलाई दर्शकदीर्घामा सीमित नराखी हरेक तप्काका मानिसले त्यसको पत्र–पत्र केलाउँदा लेखक र निर्देशकको मनमा कति खुशी मिलेको होला, म अहिले त्यसको अञ्दाज लगाउन सक्छु ।
स्क्रिप्ट सुपरभाइजरका रूपमा काम गरेको नाताले मैले पनि यो चलचित्रलाई आफ्नो भन्ने सौभाग्य पाएकी छु । यसको सम्पूर्ण श्रेय सबैका प्रिय निर्देशक नवीन सुब्बालाई जान्छ ।
जीवनमा भोगेको या भनौँ, बाँचेको समयलाई कसरी हेर्ने ? यो विषय एकदमै गहन छ । सकारात्मक पक्षलाई मात्र केलाउने कि नकारात्मक पक्षलाई पनि ? या भनौँ, आफूले नचाहँदै नचाहँदै बाँचेका पलहरू, जुन बाँच्नका लागि गरेका संघर्षहरूको चर्चा गर्ने कि नगर्ने ?
प्रसङ्ग जोड्न चाहन्छु– चलचित्रको गीत–
राई माइलाले गाउँ छोड्यो रे !
बाटो छोकिदेउ न, कुन गाडीमा चढ्यो होला ?
कुल घुम्ती काट्यो होला ? ढाट राखिदेउन ।
ए फर्क भनिदेउन
राई माइलाले गाउँ छाड्यो रे !
किन यो गीतलाई यति धेरै रुचाइयो होला ? चलिचत्र प्रदर्शनको पूर्वसन्ध्यामा युट्युवमार्फत सार्वजानिक गरिएको यो गीत अहिले चर्चामा छ । संसारभरि बस्ने नेपालीहरुले यो गीतलाई यति रुचाए कि चलचित्र नेपालमा तेस्रो हप्तामा चलिरहँदा नै यो गीतले ३ मिलियन भ्युज पाइसकेको थियो । अहिले साढे ६ मिलियन कटेको छ । आखिर मानिसहरुले किन अत्याधिक रुचाए होला त यो गीत ?
सायद यो गीतमा आफ्ना परिवारका सदस्यलाई मानिसहरुले माइलासँग दाँज्न पुगे । विदेशमा संघर्षरत माइला–माइलीहरुले शायद गीतका प्रत्येक शब्दमा आफूलाई भेटे ।
म पनि आफूलाई माइला हैन, माइलीका रूपमा देख्दैछु । कति माइलीहरु आफ्नो देशमा संघर्ष गर्दा हारेर, थाकेर देश बाहिर बाँच्न बाध्य छन्, यसको लेखाजोखा कसैसँग छैन । के यो विषयलाई तपाई–हामीमध्ये कतिले गहन रुपमा हेरेका छौं ?
चलिचत्रमा देखाएको माइलाको छोरो बिन्द्रमान ‘बिन्द्रे’ को उमेरकै ताकादेखि नै मेरो बालापनमा रोपिएको चलचित्र क्षेत्रप्रतिको गहिरो रुचि ‘गाउँ आएको बाटो’ मा काम गरेपछि अहिलेलाई सकिएको छ।
यो चलचित्रको शुटिङमा काम गरेर भोजपुरबाट काठमाडौं फर्किसकेपछि मैले विदेश जाने निर्णय लिएँ । हाल म बेलायतमा छु । चलचित्रले मेरो जीवनको यात्रालाई बेलायततर्फ मोडिदिएको भन्दा पनि यो एउटा संयोग हुन पुग्यो ।
चलचित्रको पूर्वतयारीदेखि छायांकनसम्म एक वर्ष लगातार काम गरिसकेपछि आफ्नो जीविकोपार्जन गर्न विदेश नगई सम्भव रहेनछ भन्ने मलाई लाग्यो । चलचित्र ‘गाउँ आएको बाटो’मा काम गर्दा चलचित्र निर्माणका क्रममा त्यहाँभित्र हुने राम्रा नराम्रा दुवै पक्षको प्रत्यक्षदर्शीका रुपमा अनुभव गर्ने मौका पाएँ
के हामीले देखेका पर्दाका रंगीन चहल–पहल वास्तविक जीवनमा पनि त्यस्तै हुन्छ त ? हातमा नाम लिन सक्ने मानिसहरुले मात्रै यो क्षेत्रमा काम गर्दै जीवनयापन गर्न सकिरहेका होलान् या उनीहरुको अन्य आयस्रोत पनि छ ?
चलचित्रको पूर्वतयारीदेखि छायांकनसम्म एक वर्ष लगातार काम गरिसकेपछि आफ्नो जीविकोपार्जन गर्न विदेश नगई सम्भव रहेनछ भन्ने मलाई लाग्यो । चलचित्र ‘गाउँ आएको बाटो’मा काम गर्दा चलचित्र निर्माणका क्रममा त्यहाँभित्र हुने राम्रा नराम्रा दुवै पक्षको प्रत्यक्षदर्शीका रुपमा अनुभव गर्ने मौका पाएँ ।
जब हामी भोजपुर, धरान र संखुवासभामा छायांकन सकाएर काठमाडौं फर्कियौं, तब मैले चलचित्र क्षेत्रमा मात्रै काम गरेर आफ्नो जीविकोपार्जन गर्न नसकिने रहेछ भनेर प्रष्ट रुपमा थाहा पाएँ । माइलीले भनेजस्तै गीतको सुरुवातको सम्वाद एकपटक सुन्नुहोला । एकपटक सोच्नुहोस् त, किन माइलीले आफ्नो श्रीमान माइलालाई विदेश जान पनि सकेनौ भनेर उसको जीवन असफल भएको संकेत गर्दैछे ?
के मातृभूमि छाडेर विदेश बस्दैमा जीवन सफल हुन्छ ? दुईछाक टार्न भनौं, या गास, बास कपासको आवश्यकता पूरा गर्न पनि विदेशी भूमि टेक्नैपर्ने हो हामी नेपालीले ? ती आवश्यकता पूरा हुँदैमा के विदेश बस्ने सबै खुशी छन् ? खुशी नभए पनि नेपाल फर्किँदा देशमा सुनिश्चतताको विश्वास कसले दिन सक्छ ? अवसर छाडेर नेपालीहरुले आफ्नो मात्रै रहरले गाउँ छाडेका हुन् त ?
हैन भने यसको जिम्मेवार को हो ? के खाली सरकार र नेता मात्रै दोषी हुन् ? हैन भने काम गरिसकेपछिको पारिश्रमिकको सुनिश्चिततामा कसरी ढुक्क हुने ? नभए कहाँ गएर ढोका ढक्काउने ? सुन्ने र समाधान गर्ने पनि कोही छ ? आजसम्म हामीले न्याय माग्दा कति पाएका छौं ? सञ्चार माध्यममा मात्रै ठूला–ठूला कुरा र सन्देश फालेर कहिलेसम्म लुटको खेती गरिरहने ? अनि आफू र आफ्नो मात्रै सपना पूरा गरिरहने ?
मैले अंग्रेजी साहित्यमा एमएको अध्ययन पूरा गरिसकेपछि कलेजमा थेसिस गरिरहेकी थिएँ । एकजना सरले भन्नुभयो, तपाई अझै पनि नेपालमै हुनुहुन्छ ? विदेश जानुभएको छैन ?
मैले अंग्रेजी साहित्यमा एमएको अध्ययन पूरा गरिसकेपछि कलेजमा थेसिस गरिरहेकी थिएँ । एकजना सरले भन्नुभयो, तपाई अझै पनि नेपालमै हुनुहुन्छ ? विदेश जानुभएको छैन ? तपाईंजत्तिको मान्छे त विदेश पुगिसक्नुपर्ने हो ।
मैले मुस्कुराएर ढुक्कका साथ भनेँ, सर म आफ्नै देशमा केही गर्न चाहन्छु।
सर केही नभनी मुसुक्क हाँस्नुभयो ।
आज सर आफैँ विकसित राष्ट्रमा आफ्नो भविष्य र सपनामा मुस्काराउन खोज्दै हुनुहुन्छ । थाहा छैन, कति खुशी र आनन्दमा जीवन बिताइरहनुभएको छ ।
सरले प्रश्न गरेको दशौं वर्षपछि बल्ल आज आएर मैले आफ्नो सपना र विश्वासमाथि हार खाएर विदेशी भूमिमा पाइला टेक्नै पर्यो । लन्डन सबैको सपनाको शहरमा पुगेर लन्डन आई अगाडि बसेर खिचेको फोटो हेरेपछि धेरैजना मलाई चिन्नेहरुको मुहारमा खुशी छाएछ । फोटो हालेको २/४ दिनपछि नेपालबाट बहिनीले फोनमा सुनाइन्, आफन्तहरुले खुशी भएर भन्नुभएको छ, ‘बल्ल थान्को र ठेगान लागि छे मञ्जरी । तर, के विदेशी भूमिमा पाइला राख्नु नै निश्चित थात ठेगान लाग्नु हो त ? म यो प्रश्न हाम्रो सरकार र देश हाँक्ने नेताहरुलाई सोध्न चाहान्छु ।
चलचित्रको पात्र माइलामाथि यति धेरै चर्चा र परिचर्चा भइराख्दा आफूले भेटेका वास्तविक जीवनका माइला र माइलीप्रति कसैले सद्भाव राखेर उसका समस्यामाथि कसैले गहन भएर सोध्यो होला त ? म ‘गाउँ आएको बाटो’ चलचित्र हेर्ने हरेकलाई सोध्न चाहान्छु । यदि यो चरित्रमा रुचाइएका माइलाको यति नै मायालाग्दो स्थिति हो त ?
शायद त्यस्तो भैदिएको भए हाम्रो देशबाट माइला र माइली दुईवटा सुटकेशमा आफूलाई कैद गरेर एयरपोर्टमा आशुँका धारा बगाएर परिवार र देशै छाडेर भावविह्वल हुँदै सुन्दर भविश्यको कल्पना गर्दै उड्दैनथे होलान् । के चलचित्रका माइला र माइलीलाई मात्रै माया गरेर पुग्छ ? देशभित्रै बसेका बेला माइला, माइलीलाई आफूले सकेको सहयोग गरेर देश हैन, गाउँसमेत छाड्न नपर्ने बनाउन हामी किन सक्दैनौं ?
के यो देश एक २/४ जना नेताले मात्रै बिगारेको हो त ? हामी चेतना भएका जनता के हेरेर बसेका छौं ? हरेक पटक जनप्रतिनिधि छान्ने बेला हाम्रा हात किन काँप्छन् ? फेरि किन पटक–पटक देशलाई ध्वाँन्द्रो बनाउने नेतालाई भोट दिन्छौं ? अनि राई माइला विदेश नगएर कहाँ जाओस् ? उसैले पठाएको रेमिट्यान्सबाट देश चलाएर माइलालाई नै नालायक बनाउँदै उसको स्वाभिमानमाथि खिसीट्युटी गर्ने फेरि हामी नै हौ । अनि भन्छौं– देशको माया लागे त स्वदेशमै बसिहाल्थ्यो नि ।
चलचित्रमा माइला आफ्नै सीपका कारणले गाउँ छाड्न विवश छ । के माइलाको हातको सिप साँच्चिकै गाउँमा आएको बाटोले विस्थापित गरेको हो त ? बाटोजस्तो अत्यावश्यक चिजको विरोध त हैन यो ? गाउँमा बाटो ल्याएर माइलाको सीपलाई गाउँबाट शहर अनि शहरबाट राजधानी फैलाउनुपर्ने हो तर भइदियो उल्टो ।
जब म बेलायत आएर यहाँका सुपरस्टोरमा घुमेँ, यहाँका नागरिकहरुको रहन–सहन र दैनिक जीवनमा उनीहरुले प्रयोग गर्ने सरसामानहरु हेरेँ, तब थाहा पाएँ, माइलाले बुनेका ती बाँसका सामानहरु कति मूल्यवान रहेछन् । माइलाका गाउँमा छिरेका प्लास्टिकका सामानहरुलाई त यहाँ अत्यन्तै सस्तो र मूल्यहीन मानिँदो रहेछ । आखिर माइलाको सीप र उसले बुनेका सामान अन्तर्राष्ट्रियकरण हुँदो हो त माइलो नेपालको धनीमानीमा गनिने रहेछन् ।
अहिले प्रतिदिन लर्काे लागेर माइला–माइलीहरु फेसबुकमा विदेशका फराकिला बाटाहरुको भिडियो पोष्ट गर्दै मुसुक्क हाँसेर कहिले मख्ख परिरहेका छन् । आफ्नो फेसबुकका भित्ताहरु रंगाएर खुशी छु म भनिरहेका छन्
राई माइलो आफ्नो जीवनमा असफल भएर गाउँ छाड्न लाग्दैछ कि सारा गाउँ र देश मिलेर उसलाई गाउँ छाड्न बाध्य बनाइँदैछ ? माइलाले बेच्ने त्यो लोकल रक्सीमा प्रयोग भएको पानी विषाक्त छ कि ? त्यो रक्सीलाई हेर्ने आँखा विषाक्त छन् कि ? किन सरकारले आफ्ना देशको उत्पादन र देशभित्रको श्रमलाई शोषण गर्छ ? जब देशको उत्पादन र देशभित्र गरिने श्रमले मूल्य पाउँदैन, यसरी नै माइला र माइलीहरु गाउँ र देशै छोडेर हिँड्न बाध्य हुन्छन् ।
हिजो राति मनको बह खाली पानामा कोर्दा कोर्दै कतिबेला निदाएँछु पत्तै भएन । बिहानै उठेर कामका लागि आँखा मिच्दै पुगेँ । तर पनि मन भने माइलासँगै नेपालमै छ । परिवारको फोटो पर्समा बोकेर सात समुद्रपारि आफ्नो र परिवारको भविष्य खोज्दै माइला–माइलीहरु विदेशिन थालेको पनि जुगौं भइसक्यो ।
अहिले प्रतिदिन लर्काे लागेर माइला–माइलीहरु फेसबुकमा विदेशका फराकिला बाटाहरुको भिडियो पोष्ट गर्दै मुसुक्क हाँसेर कहिले मख्ख परिरहेका छन् । आफ्नो फेसबुकका भित्ताहरु रंगाएर खुशी छु म भनिरहेका छन् ।
विकसित देशमा पनि चुनाव हुन्छ । राजनीतिक पार्टीहरु हुन्छन् । आफ्ना एजेन्डा छन् । जनता समक्ष आफ्नो एजेन्डा जनताका घरमा खामभित्र हालेर ढोकामा खसालिदिने रहेछन् । कामका आधारमा जनताले आफ्नो प्रतिनिधि छान्ने र फाल्ने जनतामा चेतना रहेको देखेँ मैले बेलायतमा ।
आम चुनावमा कतै ब्यानर बोकेर जनतालाई मासुभात खुवाएर, पेट्रोल किनिदिएर झुन्ड बनाउँदै होहल्ला मच्चाएर भोट मागेको मैले देखिनँ । चुट्किला बनाएर भूपरिवेष्ठित राष्ट्रमा पानीजहाज ल्याउँछु भन्दा दंग पर्दै उसैलाई भोट दिनेहरु पनि भेटिएनन् ।
बाटोसम्म नआएको गाउँमा बाटो आएर गाडी पहिलो पटक आउँदा फूलमाला वर्षाएर गाडी ढोगेको चलचित्र नबनाएर के गर्ने ? गाउँमा बाटो आएको वास्तविकतामाथि बल्ल चलचित्र बन्दैछन् । देश कहिले बन्छ ? एक–अर्काको नाकको डाँडी भाँच्ने र भाँचीमाग्नेहरु सरकारमा पुगे । तर, झोलुङ्गे पुलबाट कर्णालीमा भारी बोकेका खच्चड खसेर मर्दा कुनै नेताले वक्तव्य जारी गरेर माफी मागेको, शीर झुकाएको देखिनँ मैले ।
नेपालबाट एकजना दिदीले फोनमा भन्दै हुनुहुन्थ्यो । मेरो जागीर नै छुट्यो नि । सरकारी अस्पतालमा काम गर्नुहुन्थ्यो । वर्षमा ५ जना निर्देशक परिवर्तन भए रे । अहिले आफ्ना मान्छे घुसाएर दिदीको जागिर गएछ । सीप भएको मान्छेको त यो हालत छ भने सीप नभएका मान्छेको अवस्था कस्तो छ, चर्चा गर्न आवश्यक छैन । सबैलाई याद छ के देश र सत्ता भनेको एकले अर्कालाई भयभित बनाउने र धमास देखाउने ठाउँ मात्रै हो ? एक–अर्कालाई लडाउने खेल मात्रै हो ? हैन भने किन बारबार अनेकौं नामका दलहरु सत्तामा आएर मान्छेलाई तमासा देखाइरहेका छन् ? …लाईभन्दा देख्नेला लाज ।
देशका मुख्य ठाउँ राजधानीको सडक र फोहोर व्यवस्थापनमाथिको घीनलाग्दो राजनीतिमा लुँछाचुडी भइरहँदा मानिसले आफ्नो जीवनको सुन्दर बाटो बनाउने सपना सपनामै सीमित छ भन्दा अतिश्योक्ति नहोला । विकसित राष्ट्रहरुले चन्द्रमामा सफल अवतरण गरिरहँदा नेपालीले गाडीलाई स्वागत गर्दै बाटो मुनि लुकेर लाज मान्दै हेर्नेको भिड मैले भोजपुरमा छायांकनको ताका विभिन्न स्थानमा हामी चढेको जिपमाथि परेका ती निर्दाेष आँखाहरुमा नदेखेको हैन । अनि कसरी मान्ने देशमा विकास र परिवर्तन भइरहेको छ भनेर ?
सकारात्मक पनि हुन जान्नुपर्छ भनेर भन्नेहरुले बुझुन् कि देशका २/४ ठाउँमा नेता चढ्ने गाडी दौडँदैमा विकास भएको भन्न सकिँदैन ।
देशमा पनि बसेर केही गर्न सकिन्छ भन्नेहरुले भनिदिनुस् मलाई जीवन गुजारा गर्न होस् या भविष्यको निश्चतताका लागि होस, देश छाडेर विदेशी भूमिमा नटेक्ने कति परिवार होलान् ? अझै कति परिवार छन् आफ्ना छोराछोरीको कहिले विदेशको भिषा लाग्छ भनेर कुर्दै बसेका ? नभए किन बुवाआमाले छोराछोरी विदेश उड्ने बेलाको एयरपोर्टमा बिदा गरेको फोटो गर्वका साथ हाल्छन् ?
मैले यहाँ आएर थाहा पाएँ, जीवनमा आफैँले कमाएर कुन देश घुम्ने, जीवनभरिमा कतिवटा देश घुम्न जाने अथवा धुमेँ भन्ने प्रश्न चिया खानुभयो, खाना खानुभयो सन्चै हुनुहुन्छ भन्नेजस्तै सामान्य रहेछ ।
हाम्रो देशमा ल छोराछोरी कहिले विदेश जालान् र विदेश जान आफूले पनि पाइएला भनेर आशा गरेर बस्नुपर्ने बाध्यता छ । हातमै गन्ने नेपाली होलान् ? काम गर्ने ठाउँमा २ जना कमाइमा छुट्टी लिएर दुई महिना अन्य देशमा घुम्न गए । मिटिङ चलिरहेको थियो, मेनेजरले उनीहलाई छुट्टी दिन मिल्ने समयभन्दा बढी छट्टी मिलाएँ है भनेर सबै कामदारलाई सूचना दिए । किन ? कारण सुनेर मेरा आँखा रसाए ।
योबेला नघुमे कहिले घुम्ने, धुम्नुपर्छ भनेर पढ्न जाँदाजस्तै सबैले शुभकामना दिए । अनि सम्झेँ–आफ्नो देश । १८–१९ बर्षका किशोरीहरुको दयनीय अवस्था । आफूमाथि अन्याय हुँदा सकी नसकी आवाज उठाउँदा न्याय नपाएको कथा ।
अब यो सबै देखेर, बुझेर पनि कहिलेसम्म चुप लाग्नु ? किन ? अब पनि हामी नेताले खनेको खाल्डोमा हामफाल्ने कि आफ्ना लागि र देशका लागि बाटो आफैँले बनाउने ? निर्णय हाम्रै हातमा छ ।
-हाल बेलायत
प्रतिक्रिया