एउटा ‘दुर्लभ’ सत्तापतन पछिको अनिश्चित भविष्य | Khabarhub Khabarhub

बङ्गलादेश

एउटा ‘दुर्लभ’ सत्तापतन पछिको अनिश्चित भविष्य


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


12.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसारमा निर्वाचित सत्ता ढलेर जब सैन्य सत्ता स्थापित हुन्छ, तब देशमा विद्रोहको ज्वाला फैलन्छ । यो चलि आएको सामाजिक-राजनीतिक परम्परा पनि हो । बङ्गलादेशमा ठीक उल्टो भयो ।

प्रधानमन्त्री शेख हसिना बाजेदले सत्ता त्यागेपछि देश सेनाको नियन्त्रणमा छ । प्रदर्शन रोकिएका छन् । मानिसहरूले सडकमा खुसी व्यक्त गरेका छन् । विद्यालय तथा विश्वविद्यालय तहमा पढाइ सुचारु नभइसके पनि यी सबै खुल्न थालेका छन् ।

समावेशीता र कोटा प्रणाली विपन्न र सीमान्तकृतको उत्थानका लागि हो । त्यही कोटा प्रणाली आफ्ना दलका कार्यकर्ताका लागि उपयोग गरेको परिणाम बङ्गलादेशले भोगेको छ ।

हसिना बाजेदको गौरशाली विगतका केही पाटा पक्कै छन् । बङ्गलादेशको आर्थिक विकासमा हसिनाको शासन एउटा महत्त्वपूर्ण आयाम थियो । त्यसो त हसिनाको विगत आफैँ प्रजातन्त्र र लोकतन्त्रको पर्याय बनेको थियो ।

५० वर्षअघि बाबु मुजीवर रहमानले एक दलीय शासन सञ्चालन गरे झैँ एक दलीय शासनकै परिकल्पना हसिनाको थियो । त्यत्ति मात्र होइन, बङ्गलादेशको सामाजिक संरचना धार्मिक सम्प्रदायको आधारमा खडा भएको थियो । त्यहाँ बारम्बार हिन्दु र मुस्लिम दङ्गा पनि भएको थियो ।

हसिना दुवै खेमालाई मिलाउने पक्षमा थिइन् भने विपक्षी दल बङ्गलादेश राष्ट्रवादी दल (बीएनपी) मा इस्लामिक अतिवादको प्रभाव रह्यो । हसिना अतिवादी इस्लाममाथि नियन्त्रण चाहन्थिन् । उनी आम इस्लाम र हिन्दुलाई समान व्यवहार गर्ने तथा अतिवादी मुस्लिम गतिविधिलाई निस्तेज गर्ने पक्षमा थिइन् ।

हसिनाको यो चौथो कार्यकाल थियो । लामो कार्यकालमा तल्लो तहमा स्वाभाविक बढ्दै गएको असन्तुष्टि नियन्त्रण गर्न उनी असमर्थ थिइन् । असन्तुष्टि तल्लो तहदेखि नै थियो ।  त्यसलाई सम्बोधन गर्ने भन्दा चुनावी हथकन्डा अपनाएर सत्तामा रहने उनको अभिलाषा ७ जनवरीकै निर्वाचनमा सफल पनि भएको थियो । विपक्षीहरूले निर्वाचनको निष्पक्षतामा शङ्का गर्दै चुनाव बहिस्कार गरेपछि उनका लागि बाटो खुला भएको थियो ।

अहिले आरक्षणका कारण भएको आन्दोलनले बिस्फोटक रूप लिएको पक्कै हो । तथापि त्यो एक्लो र पहिलो कारण भने पक्कै होइन । अरब क्षेत्रको घटना र बङ्गलादेशका परिस्थिति धेरै हदसम्म मिल्दा थिए । लिबिया, ट्युनेसिया, सिरिया र इजिप्टमा पनि सत्ताको विरुद्धका आक्रोश देखिएको थियो । त्यसै संरचना भएको बङ्गलादेशमा पनि सत्ताको विरुद्धको आक्रोश त्यत्तिकै छ ।

विद्रोही भाव विस्फोट हुने क्रममा सरकारी जागिरमा आफ्नो उपस्थितिको सम्भावना नदेखेका समुदाय एकै पटक सडकमा उत्रिएका थिए । अतिवादी इस्लामिक गतिविधि बढी रहेको समयमा त्यहाँको सत्ताले सम्बोधन नै गर्न सकेन । सत्ताले त उनीहरूलाई हाबी हुन दियो, न त नियन्त्रण नै गर्न सक्यो ।

महत्त्वाकाङ्क्षा बढ्दै गएको बङ्गलादेशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिइरहेको छ । त्यो ऋणको व्यवस्थापनमा असफल भयो भने देशको अर्थतन्त्र एकै पटक सङ्कटमा पनि पर्न सक्ने छ । बङ्गलादेशमा अहिले आइपरेको सबैभन्दा कठिन चुनौती नै त्यही हो

बङ्गलादेशको भारत, पाकिस्तान र नेपालसँग भविष्यमा सम्बन्ध कसरी अघि जान्छ- अनिश्चित नै छ । अहिले दक्षिण एसियामा सीमा विवाद छ । लद्दाखमा पनि छ । त्यो विवाद चीन र भारतको पनि छ। बङ्गलादेश निष्पक्ष रहन्छ या कतै ढल्किन्छ भन्ने पनि निश्चित छैन । बङ्गलादेशले लिने बाटोले सिङ्गो दक्षिण एसियालाई प्रभाव पार्ने त निश्चित नै छ ।

बङ्गलादेशको अर्थतन्त्रमा ५ ट्रिलियन अमेरिकी डलर चलायमान छ । तर, त्यसले त्यहाँको नागरिकलाई पूर्ण सन्तुष्टि दिन्छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन । नागरिकले त्यो अर्थतन्त्रमा आफ्नो उपस्थिति खोजेको छ । व्यावहारिक रूपमा स्वामित्वको महसुस गर्न चाहेको छ । त्यो अर्थतन्त्रमा स्वामित्वको महसुस नहुने समुदाय नै सरकारको विरुद्धमा अहिले पनि सडकमा थियो ।

जुन समय हसिनाको निर्वाचनमा विजय हात पारेकी थिइन् । सो समयमा विपक्षी दलले त विरोध गरेका थिए नै ! राज्यका केही निकायले पनि त्यसलाई अस्वीकार गरेका थिए । मध्य जुलाईमा आन्दोलन चर्किरहँदा उनको दलको भातृ सङ्गठन छात्र लिगलाई प्रयोग गरिएपछि यसले गरेको दमनले आन्दोलन मात्र चर्काएन, सुरक्षा निकायलाई क्षुब्ध पनि बनाएको थियो । यसरी चर्किएको आन्दोलनमा यसै साता १४ जना प्रहरी अधिकारी समेत मारिए ।

बङ्गलादेशमा इतिहास फेरि दोहरिएको छ । बाबु मुजीवर रहमान १९७१ मा सत्तामा पुगेका थिए । ४ वर्ष पछि मारिए । अहिले उनको सालिक तोडफोड मात्र भएको छैन, उनको नाममा स्थापित सङ्ग्रहालयमा आगजनी नै भएको छ । प्रधानन्यायाधीशमाथि पनि आक्रोश थपिएको छ । सन् १९७० र १९८० मा पनि सैन्य हस्तक्षेप भएको बङ्गलादेशमा त्यही नियति दोहरिएको छ ।

बङ्गलादेश राष्ट्रसङ्घमा सबैभन्दा धेरै सेना पठाउने देश मध्येको हो । यो घटनाले अन्तर्राष्ट्रिय राजनीतिमा, राष्ट्रसङ्घकै नजरमा बङ्गलादेशमाथि कस्तो असर गर्छ यसै भन्न सकिने छैन ।

हसिनाले आगामी दिन बिताउने स्थान अनिश्चित छ । भारतमा थुप्रै समस्या छन् । बेलायत पनि हसिनाका लागि सहज छैन । उनकै १५ वर्षे शासन कालमा थुप्रै बीएनपी समर्थक देश छाडेर बेलायत पुगेका छन् । यसले नै बेलायतमा एउटा समस्या थपेको छ

अहिले मानव अधिकारको सवालमा बङ्गलादेश बदनाम छ । ३२ जना बालबालिकाको ज्यान गएको विषय युनिसेफले उठाइसकेको छ । धेरैले सन् २००० को समय सम्झना गरेका छन् । त्यसै समयमा अन्तरिम सरकारले देश चलाएको थियो । प्रजातन्त्र पुनःस्थापना पनि भएको थियो ।

बङ्गलादेश मुस्लिम बाहुल्य मुलुक हो । यसको मतलब यो होइन कि अतिवादी इस्लामको सङ्ख्या अत्यधिक छ । इस्लाममा आधारित दलले अधिकतम १० प्रतिशत भन्दा बढी मत पाएको इतिहास छैन । सामान्य रूपमा ५ या ६ प्रतिशत मत पाएको इतिहास छ । यसबीच अतिवादी इस्लामिक सङ्गठनका कारण धेरै सशङ्कित हुनु नै हसिनाको मुख्य गल्ती भएको धेरैको ठहर छ ।

अहिले बङ्गलादेशभित्र भारतको लगानीमा व्यापारिक कोरिडोर निर्माण भएको छ । यो घटना क्रमले सो कोरिडोरको उपयोगितामा समेत केही गम्भीर प्रश्न उब्जिएको छ ।

मूल रूपमा बङ्गलादेशको भविष्यबारे केही प्रश्न उठेका छन्‌ । इस्लाम प्रभावित भए पनि बङ्गलादेश बहुभाषिक भएको कुरा नकार्न मिल्दैन । इस्लामप्रति बढी लचिलो भएको बीएनपीको सत्तामा प्रभाव भए त्यसले धार्मिक सहिष्णुतामा पर्ने असर पहिलो चासो हो । बढ्दै गएको अर्थतन्त्रको आकारबीच सीमान्तकृत समुदायका लागि हसिनाले धेरै कार्यक्रम अघि सारेकी थिइन् । ती कार्यक्रमहरू के हुन्छन् भन्ने अर्को चासो हो ।

दक्षिण एसियाका अन्य देशको जस्तै सामाजिक र वर्गीय संरचना बङ्गलादेशमा पनि छ । महत्त्वाकाङ्क्षी र राजनीतिमा बढी चासो दिने मध्यम वर्गले फेरि सबै कुरामा चित्त बुझाउन सक्छ या सक्दैन ? यसले पनि बङ्गलादेशको भविष्य तय गर्नेछ ।

त्यत्ति मात्र होइन: अन्तर्राष्ट्रिय सम्बन्ध अर्को अनिश्चित विषय हो । त्यसो त अहिले संसार नै एकातर्फ ध्रुवीकरणमा गएको छ भने केही नेताले सन्तुलित रूपमा आफूलाई प्रस्तुत गर्न चाहेका छन् । दक्षिण एसियाको भू-राजनीतिमा बङ्गलादेशको उपस्थिति अर्को बाटो हो ।

हसिनालाई भारत निकटस्थ भएको आरोप लगाइएको समयमा विगतमा युद्धबाट भिन्न भएको पाकिस्तानसँगको सम्बन्ध पनि बङ्गलादेशका लागि पक्कै सहज होइन । सेनाले फेरि निर्वाचन र शान्ति स्थापना गर्छ या गर्दैन ? त्यो अर्को चासो हो ।

देश छाडेकी हसिनाले विज्ञप्ति जारी गरिसकेकी छैनन्‌ । आन्दोलन चर्किंदै गर्दा ढाकामा सत्ता, सेना, कर्मचारीतन्त्र र विपक्षी राजनीतिक दलहरूबीच के कस्ता रस्साकस्सी भएको थियो भन्ने विषय खुल्दै जालान्‌ ।

तर, संसारका धेरै देशमा आर्थिक अवन्नतिले विद्रोह भएर सत्ता ढलेका छन् । बङ्गलादेशमा समृद्धि उन्मुख भएको समयमा वितरण प्रणालीमा असन्तुष्टि रहेका कारण सत्ता ढलेको छ । सायद यो संसारमै विरलै हुने घटना हो ।

(स्रोत : फरेन पोलिसी,भक्स, एबीपी)

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १ : ४० बजे

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ सुविधा

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा ‘एक घर, एक धारा’सहितको

सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ

जिनेभा– संयुक्त राष्ट्रसंघले दिएको जानकारीअनुसार, सुडानमा जारी द्वन्द्वका कारण विस्थापित

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ‘एक घर, एक

पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते

लिमा– पेरुको मध्य क्षेत्र जुनिनमा एक  बस दुर्घटनामा कम्तीमा १८

सभापति देउवाद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेशका पूर्व प्रमुख