‘विद्युत प्राधिकरणले उपभोक्ता चुसेरै नाफा कमाएको हो’ | Khabarhub Khabarhub

‘विद्युत प्राधिकरणले उपभोक्ता चुसेरै नाफा कमाएको हो’

महालेखामा अर्थशास्त्र नै नबुझ्ने मान्छे छन् कि भनी शंका लाग्छ



म जलस्रोतमन्त्री हुँदा धेरै लोडसेडिङ थिएन । साँच्चै भन्दा बिजुली हामीलाई अलिकति बढी भएकाले भारतले किनिदिए हुन्थ्यो भन्ने चाहना थियो । तर, भारतले ५ मेगावाट पनि नकिन्ने अन्टसन्ट नखराबाजी अनेक भयो ।  किनकी भारतले नेपालबाट बिजुली चाहेको नै थिएन । नेपालको सम्पूर्ण बिजुली विकास गरे पनि ४२ हजार मेगावाट उत्पादन हुने हाे । त्यो भारतको ४ लाख मेगावाट भएको प्रणालीमा हात्तीको मुखमा जिरा हो । उसलाई चाहिएको पानी हो । त्यसैले यहाँ त्यो अन्तरसम्बन्ध आयो ।

बिजुलीको कुरामा लोडसेडिङ पहिलेदेखिकै विषय हो । पञ्चायतकालमा कुलेखानीकाे उत्पादन क्षमताजति प्रणाली थियो । एकैचोटी ६० मेगावाट हाल्दा त के के न भयो जस्तो हुन्थ्यो । एक/दुई वर्ष ‘लौ ! बढी बिजुली भयो, हिटर पनि सित्तैमा बाँड, यो गर उ गर’ भन्ने हुन्थ्यो । हामी दक्षिण एसियामा आज पनि सबैभन्दा कम बिजुली खपत गर्ने राष्ट्रमा पर्छौं । बङ्गलादेशमा नेपालबाट बिजुली निर्यात गर्ने कुरा भएको छ । त्यहाँको विद्युत खपत अवस्था हाम्रो भन्दा दोब्बर छ । हाम्रो करिब ३०० युनिट प्रतिव्यक्ति प्रतिवर्ष जति छ । बङ्गलादेशको ६०० युनिट र भारतको ४ गुना बढी १२०० युनिट छ ।

हामीले यहाँ भरपर्दो बिजुली पाएका छैनौं । अलिकति बिजुली बढ्नासाथ झ्याटझुट हुनेरहेछ । ठूलो योजना बनाएर के गर्ने ! त्यसबाट उत्पादित बिजुली केही वर्षमै खपत हुँदोरहेछ । अनि त्यसपछि फेरी लोडसेडिङ हुनेरहेछ । यसलाई हल गर्न बर्खामा पानी भण्डारण गरेर हिउँदमा बिजुली उत्पादन गर्न सक्ने कुलेखानीजस्ता जलाशययुक्त योजना चाहिन्छ ।

पञ्चायतले ३९ वर्षमा जम्मा एउटा कुलेखानी आयोजना बनायो । बहुदल आएको ३४ वर्षमा यिनीहरूले एउटा पनि बनाउन सकेका छैनन्‌ । बुढी गण्डकी र पश्चिम सेती लगायत सबै गिजोलेर छोडेको छन् । त्यो चाँडै बन्ने छाँटकाँट नै छैन । त्यस्तो योजना नबनी यो लोडसेडिङ हट्दैन । १८ घण्टे लोडसेडिङ चाहिँ लोकतन्त्र आएपछि शुरू भयो । त्यहाँबाट न जलाशययुक्त्र योजनातर्फ जान थाले, न त अरू योजना बनाउन लागे । किनकी हरेक योजना अड्किएको छ । सरकार परिवर्तन भइरहने र नयाँ आएकाले त्यहाँ भाग खोज्ने भयो । निर्माण अवधि डबल हुने भयो । यो अवस्थाले गर्दा लोडसेडिङ सुरु भयो । यो बढ्दै बढ्दै गयो ।

अहिले पनि कुलमानको पक्षमा पत्रिका र मिडियामा लेख्ने र नलेख्ने भन्ने छ । उहाँले प्राधिकरणको पैसा दिएर नै प्रचार गराउन लाग्नुभयो । जसले पैसा पायो- उहाँकै पक्षमा लेख्यो

यहाँ कुलमान आएर लोडसेडिङ हटाएको भनी भ्रम फैलाइएको छ । त्यो लोडसेडिङ हटाउने काम उहाँभन्दा अगाडि र धेरै मान्छेको प्रयासले भएको हो । बहुवर्षीय पूर्वाधार निर्माणसम्बन्धी योजना थियो। पूरै मर्स्याङ्दीको करिडोरको प्रसारणलाइन १३२ केभीएको नहुँदा लोडसेडिङ हुँदाहुँदै पनि त्यहाँको बिजुली खपत हुन नसक्ने स्थिति थियो । कुलमान प्राधिकरणमा आउनुभन्दा अघि सो लाइन जोडियो । भारतसँग पनि लाइन जोडियो र भारतबाट आयात प्रशस्तै भयो । यो पनि कुलमान भन्दा अघिकै कामको नतिजा हो ।

यसको श्रेय त दिवङ्गत उपप्रधान र जलस्रोतमन्त्री शैलेजा आचार्यलाई दिनुपर्छ । उहाँले राजा वीरेन्द्रको शासनकालमा प्राधिकरणलाई ‘बाइब्याक रेट’ जबरजस्ती घोषणा गर्नुभयो । त्यसले गर्दा अहिले निजी क्षेत्र फस्टाएको छ । लोडसेडिङ हट्नुमा विद्युत् प्राधिकरणका योगदान हैन, यो निजी क्षेत्रको योगदान छ । निजी क्षेत्रले प्राधिकरणले भन्दा बढी मेगावाट बिजुली उत्पादन गरेको छ । आगामी पाँच वर्षमा झन्डै तीन गुणा हुनसक्छ । त्यसैले लोडसेडिङ हट्नमा पहिलो- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कृपा हो । दोस्रो- निजी क्षेत्रले लगानी गरेका कारणले हो ।

अब जहाँसम्म हाम्रो कुलमानजीले गर्नुभयो । उहाँमा चाहिँ राजनीतिक महत्त्वाकाङ्क्षा रहेछ । यो हालसाल पनि देखियो । उहाँले आफ्नो समयमा हटेको भनेर प्रचार पनि राम्रै गर्नुभयो । कसरी हटेको भन्दा उद्योगको करिब ४०० मेगावाट बिजुली काटिदिनुभयो । शहरी क्षेत्रमा मात्रै बिजुली बल्यो, तर दुर्गम क्षेत्रमा बत्ती गइसकेपछि कहिले आउने हो, अनिश्चित भयो । त्यसले लोडसेडिङ हड्यो भनेर उहाँ आफ्नो राजनीतिकरण र देवत्वकरणमा लाग्नुभयो । त्यो बाहिर आएको पनि छ । अहिले पनि कुलमानको पक्षमा पत्रिका र मिडियामा लेख्ने र नलेख्ने भन्ने छ । उहाँले प्राधिकरणको पैसा दिएर नै प्रचार गराउन लाग्नुभयो । जसले पैसा पायो- उहाँकै पक्षमा लेख्यो ।

उहाँलाई नियुक्त गर्दा सिनियर आठ जनालाई बाइपास गरिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नजिकको मान्छे भएकाले उहाँलाई प्राधिकरणको प्रबन्ध निर्देशक (एमडी) बनाइयो । उहाँ नियुक्त हुँदा लोडसेडिङ १८ घण्टा थिएन, घटेर ९ घण्टामा झरेको थियो । उहाँले भारतबाट प्रशस्त बिजुली ल्याउन थाल्नुभयो । जसको नतिजा गएको आर्थिक वर्षमा भारतलाई बिजुली बेचेर नेपालले ९ अर्ब रुपैयाँ घाटामा गयो प्राधिकरण । चार रुपैयाँमा बेच्ने र १२ रुपैयाँमा भारतबाट किन्ने ! यसलाई लोडसेडिङ हटेको भनेर भन्न त मिल्छ, तर म भन्दिनँ ।

त्यसपछि उहाँको काम सकियो । अर्को हितेन्द्र ल्याए । उहाँ राम्रो मान्छे हो । सरकार परिवर्तन हुनेबित्तिकै मुद्दा पर्‍यो । दोस्रोचोटी फेरि कुलमान आउनुभयो । दोस्रो चोटि आउँदा यहाँ धेरै शङ्का आउन थाल्यो । त्यहीँ किन आउनुपर्‍यो भनेर । उहाँले एउटा गल्ती गर्नुभयो । त्यसमा अहिलेको उद्योगीहरूको कुरा आउँछ । यो डेडिकेटेड र ट्रङ्कलाइनको कुरा हो ।

उहाँको पहिलो कार्यकाल २०७३ बाट २०७७ सम्म सबैभन्दा धेरै नाफामा प्राधिकरण रहेको महालेखापरीक्षकको प्रतिवेदनले पनि भन्छ । तर, महालेखामा पनि गलत छ । महालेखामा अर्थशास्त्र नै नबुझ्ने मान्छे छन् कि भनेर शंका लाग्छ

उद्योगहरू चौबीसै घण्टा चल्नुपर्‍यो । प्लास्टिकको बोतल बनाउने उद्योगमा एकछिन बत्ती गयो भने त त्यो डल्लो परेर जान्छ, बिग्रिन्छ, नष्ट हुन्छ । स्टीलको पनि त्यस्तै हुन्छ । त्यसैले उद्योगलाई चौबीसै घण्टा राम्रो बिजुली दिनुपर्छ । अब उद्योगमा लोडसेडिङ सुरु भयो, उहाँले लाइन काट्नु भयो ।

हेटौंडाबाट वीरगञ्ज जाने ६६ केभीको लाइनबाट ट्यापिङ गरेर उद्योगलाई बिजुली दिएको रहेछ । लोडसेडिङ भएको बेला ठूला उद्योगहरूको त भित्र आफ्नै सबस्टेशन बनाउने, प्राधिकरणले मिटर हाल्ने रहेछ । यहाँ सबै साना-मझौला उद्योगहरू लोडसेडिङमा परे । ठूला नपरेपछि ६० प्रतिशत प्रिमियम लगाइयो र त्यसमा हुन्छ भनेर उहाँहरूले प्रिमियम दुई किसिमले तिर्नुभयो । मिटरमा जति देखियो त्यति तिरिरहेका छन् ।
त्यसपछि यहाँ लोडसेडिङ अन्त्य भयो भन्ने कुरा आयो । त्यसपछि उद्योगीहरूले प्रिमियम महसुल किन तिर्ने भने । यो न्यायोचित माग थियो । त्यसमा कि त उहाँहरूलाई तुरुन्त बिल दिएर यो पनि तिर्न पर्छ भनेको भए हुन्थ्यो । २ वर्षसम्म बिल दिइएन र अहिले एकैचोटि घरमा आएर २ वर्षको बिल दिएर त्यो समयको अर्बौं रुपैयाँ तिर्नुपर्ने भनियो । एकैचोटी तिर्न कसले सक्छ ?

अहिले यसैमा विवाद भइरहेको छ । महिनैपिच्छे नतिरेको भनेर कुलमानले थप शुल्क चक्रे ब्याजजस्तो लगाउँदै जानुभयो र २४ अर्ब रुपैयाँजति पुग्यो । त्यत्रो रकम तिर्नुभन्दा त उद्योग बन्द गरे हुने भयो । यो विवादित विषयमा थप- उहाँले नउठेको पैसा विद्युत् प्राधिकरणको नाफा सिटमा हालिदिनुभयो । आम्दानी राखेर प्राधिकरण २४ प्रतिशत नाफामा भनेको छ । अचम्मको कुरा त भारतलाई बिजुली बेचेर ९ अर्ब रुपैयाँ घाटा भएको छ । यता सबै गरेर २४ प्रतिशत नाफा देखाउनुभएको छ ।

यहाँ दुईवटा प्रश्न आयो । एउटा भारतलाई सस्तो बिजुली दिँदा नौ अर्ब रुपैयाँ घाटा भयो । नाफा नेपाली जनता र उपभोक्तालाई चुसेर आएको रहेछ भन्ने बुझ्नु पर्‍यो । नेपालमा मुनाफाखोर ऐन छ । मम साहुले २० प्रतिशत बढी मूल्य लियो भने हतकडी लगाइन्छ । यहाँ त प्राधिकरणका पदाधिकारी आफैँले २४ प्रतिशत नाफा कमाएको भनिरहेका छन्‌ । यो सबै उहाँहरूले किन गरेको त भन्दा ‘अहो ! लोडसेडिङ मात्र अन्त्य गरेको हैन, प्राधिकरणलाई नाफामा पुर्‍यायो’ भनेर देखाएको हो । नउठेको पैसालाई आम्दानी नाफा भनेर देखाउँदा उहाँ फस्नुभयो । अब उहाँलाई उम्किन सजिलो छैन ।

सबैलाई यहाँ आयात गरेर कमिसन खान हतार हुने रहेछ । टीओडी मिटर आयात गरेको पनि त्यसैका लागि रहेछ । त्यो सँग आउने अरू उपकरणहरू हुन्छन्‌ । जस्तो- सफ्टवेयर ! त्यसलाई चलाउन वास्ता नै गर्नुभएन । त्यसमाथि आफ्नो ज्ञानसीप लगाउनु पर्‍यो । त्यसले कति सक्छ- सबै राख्नुपर्नेमा उहाँहरूले राख्नु भएन । त्यसले सीधै प्राधिकरणमा डाटा पठाउने रहेछ । यसमा समस्या भनेको उहाँहरूले त्यो सफ्टवेयर ल्याउनु भएनछ वा त हेर्नु भएनछ । त्यसले एक वर्षपछि सबै डाटा मेटिदिने रहेछ । अहिले उहाँले बिल भनेर पठाउनु भयो । त्यसको आधार नै छैन । उद्योगीले ठीक कुरा भनेका छन् ।

कुलमानजीको राजनीतिक महत्वकाङ्क्षा हो । किनकी उहाँलाई ‘मैले प्राधिकरणलाई नाफामा पुर्‍याएँ भनेर देखाउनुपर्‍यो । नउठेको विभाजित पैसालाई नाफामा हालेर देखाइदिनुभयो । त्यसमा राजस्व पनि तिरिसकेको छ रे भन्ने सुनिन्छ । यसमा उहाँ फस्नु भयो । पैसा लिएका पत्रकारले पनि कति दिनसम्म उहाँलाई जोगाउने त !

कुलमानको दोस्रो कार्यकाल आखिरी भएको बेलामा ऊर्जामन्त्री शक्ति बस्नेतको हालत कुलमानको पियनको जस्तो थियो रे ! कुलमान सीधै प्रचण्डकोमा जाने र आएर शक्तिलाई निर्देशन दिन्थे रे ! अब त कुलमानलाई राजनीति गर्न पनि गाह्रो हुन्छ

उहाँको पहिलो कार्यकाल २०७३ बाट २०७७ सम्म सबैभन्दा धेरै नाफामा प्राधिकरण रहेको महालेखापरीक्षकको प्रतिवेदनले पनि भन्छ । तर, महालेखामा पनि गलत छ । महालेखामा अर्थशास्त्र नै नबुझ्ने मान्छे छन् कि भनेर शङ्का लाग्छ । पहिलो कुरा त नाफा कागजमा मात्रै देखाइएको छ । भित्र पनि विद्युत चोरी हटाइयो भनिएको छ । तर,  कुनै चोरी हटेको छैन ।

विद्युत् प्राधिकरण भनेको त एकाधिकार सम्पन्न एकल उत्पादक एक बिक्रेता संस्था हो । त्यसलाई नाफा भनिँदैन । सरकारी एकाधिकारमा नाफा भनेको त उपभोक्तालाई चुसेर ल्याएको पो भयो त ! सरकारको शतप्रतिशत शेयर स्वामित्व भएको संस्थाले नाफा कमाउँछ भने त त्यो उपभोक्तालाई निचोरेर ल्याएको रहेछ ।

पूर्वऊर्जामन्त्री शक्ति बस्नेतको हालत कुलमानको पियनको जस्तो थियो रे ! कुलमान सीधै प्रचण्डकोमा जाने र आएर शक्तिलाई निर्देशन दिन्थे रे ! अब त कुलमानलाई राजनीति गर्न पनि गाह्रो हुन्छ । यो गलगाँड जस्तो कागजमा नाफा देखाएर लोडसेडिङ अन्त्य गरेर कुलमानले एउटा प्रोफाइल बनाए । अब प्राधिकरणको घाँटीमा त ३५/३६ अर्ब रुपैयाँको गलगाँड तेर्सिराखेको छ भनिन्छ । यो बाट कसरी मुक्त भइएला र !

यो जायज हो कि हैन भनेर संसद्‌ले हेर्नुपर्छ कि  । विवादित विषयमा चक्रीय जरिवाना लगाउँदै जाने, नउठेको पैसालाई नाफा भनेर देखाउने यो त सोझै गलत हो । प्राधिकरणले हामीसँग रेन्डम डाटा छ भनिराखेको छ, रेन्डम डाटा भन्ने कहाँबाट आयो । डाटा भए छ, नभए छैन भन्नुपर्छ । यो शब्दजाल बुनेर काम लाग्दैन । अब त विद्युत् महसुल तोक्ने अधिकार पनि प्राधिकरणलाई छैन । अहिले नियमन आयोगहरू बनेका छन् । तिनले कुनै पनि मनोपोली संस्थाहरूको अनुगमन गर्छन् । त्यो नियमन आयोगले पनि उद्योगको बिजुली काट्न पाइँदैन भनेर भनेको छ ।

(रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले ज्ञवालीसँग गरेका कुराकानीमा आधारित ।)

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : ३८ बजे

इङल्याण्डविरुद्धको टेस्टमा पाकिस्तानको राम्रो सुरुवात

काठमाडौं– पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्टमा राम्रो सुरुवात गरेको छ । टेस्ट

वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति

धरान– वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै १७ करोड ११

महिलाका मुद्दामा साझा अभियान चलाइने

काठमाडौं– महिलाका मुद्दालाई साझा  सवालका रूपमा उठान गर्ने उद्देश्यले नेपाल

झगडापछि बिरामी परेका एक युवकको मृत्यु

दोलखा – यहाँको बिगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको

यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू

दोलखा– रामेछाप, ओखलढुङ्गा, मन्थली, सोलुखुम्बूलगायतका सवारिसाधन दोलखा हुँदै जाने चापलाई