बेनीमा ‘वर्षे नाच’को रौनक « Khabarhub

बेनीमा ‘वर्षे नाच’को रौनक


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेनी– सदरमुकाम बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै देखाउन थालिएको परम्परागत वर्षे नाचलाई नेवार समुदायको अगुवाइमा निरन्तरता दिइँदै आइएको छ । 

घण्टाकर्ण चर्तुदर्शीदेखि सुरु भएको वर्षे नाच हरितालिका तीजको दिनसम्म एक महिनाभन्दा बढी समय देखाउने गरिन्छ । बेनीमा नेपाल भाषामंकाः खलः अन्तर्गतका युवाहरुको समूह ल्याम्हः पुचःको नेतृत्वमा वर्षे नाच देखाउने गरिएको छ । 

यस वर्ष लाखे नाच, घोडा नाच, जोग नाच, नागनागिनी नाचसहित श्रीकृष्ण रथयात्रा लगायतका कार्यक्रम समावेश गरिएको ल्याम्हः पुचःका अध्यक्ष जेनेश श्रेष्ठले बताए । अघिल्ला वर्षहरूमा रोपाइँ, धानको बाला, गोरु लगायतका नृत्यसमेत वर्षे नाचमा समावेश गरिएको भए पनि यस वर्ष नाच व्यवस्थापनमा जनशक्ति थोरै भएकाले लाखे, घोडा, जोगीर नागनागिनी नाचलाई प्राथमिकता दिएर देखाउने गरिएको उनको भनाइ छ । 

पुर्खाले सुरु गरेको परम्परागत नाचलाई तालिम र अभ्यासका माध्यमबाट युवा तथा बालबालिकामा समेत सीप हस्तान्तरण गर्ने गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । बेनी बजारमा दिनहुँजसो साँझपख विभिन्न नाच देखाउन थालेपछी वर्षे नाचको रौनकता बढेको छ । सडक र चोक चोकमा देखाइने वर्षेनाच हेर्न बालबालिका, युवायुवती देखि वृद्धवृद्धासम्म सडकतीर जम्माहुने गर्छन् । 

वर्षे नाचमा नेवार समुदायका साथै बेनीमा बसोबास गर्ने अन्य जातजातिका युवायुवती र बालबालिकासमेत सहभागी हुने गर्छन् । बेनीकै सांस्कृतिक पहिचानका रुपमा रहेको वर्षे नाचमा नयाँनयाँ कलाकारहरूको आगमनले मौलिक नाचको संरक्षण र निरन्तरतामा सहयोग पुगेको लाखे नाचका संयोजक सन्दिप श्रेष्ठले बताए। 

परम्परागतरूपमा देखाइदै आएको वर्षे नाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचहरुलाई समेत निरन्तरता दिने गरिएको छ । वर्षे नाचमा समावेश गरिने नागनागिनी नाच नेपालभरमा म्याग्दीमा मात्र देखाउने नाचको रुपमा परिचित छ । जनैपूर्णिमा पर्वको दिनमा वर्षभरी दिवङ्गत भएका नेवार समुदायका व्यक्तिहरूको सम्झनामा सापारु अर्थात् नागनागिनी नाच देखाउने चलन रहेको छ ।

दुई सय वर्षभन्दा पुरानो वर्षे नाचको निरन्तरताको लागि बेनीमा नयाँ कलाकारलाई तालिम दिने गरिएको छ । परम्परादेखि चलिआएको संस्कृतिको निरन्तरता र मौलिकताको संरक्षणमा युवाहरूको उत्साहजनक सहभागिताले सहयोग पुगेको युवा कलाकार अभिनेश श्रेष्ठले बताए। आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा वर्षे नाचलाई संरक्षण गर्ने दायित्व युवाको काँधमा आएको उनको भनाइ छ । 

वर्षे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गर्ने चलन छ  । खास गरि लाखे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । 

वर्षे नाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ । 

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ३ : ०८ बजे

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल