भैँसीलाई खान खोज्दा उल्टै मारिएको बाघको इतिवृतान्त | Khabarhub Khabarhub

भैँसीलाई खान खोज्दा उल्टै मारिएको बाघको इतिवृतान्त

अर्को बाघसँग जुधेर शरीरभरि घाउ बोकेको थियो 



काठमाडौं- बिहीबार बिहान मकवानपुरको मनहरीस्थित एक किसानको गोठमा बाँधेको भैँसीले बाघलाई मारेको खबर एकाएक सामाजिक सञ्जालमा भाइरल भयो ।

मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको बाघलाई मारेको समाचार चिया पसलदेखि घर-घरमा चर्चाको विषय बन्यो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बिहीबार सबेरै बिहान भैँसीको प्रतिकारमा बाघ मरेको पुष्टि गरे ।

बाघले शिकारका लागि आक्रमण गर्ने क्रममा भैँसी गम्भीर चोट लागेर घाइते छ। बाघ पर्सा निकुञ्जबाट निस्किएर मध्यवर्ती क्षेत्रस्थित बस्तीबीचको गोठमा छिरेर शिकार गर्न खोजेको यो पहिलो घटना भएको तिवारीले बताएका छन् ।

‘मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ’, उनले बिहीबार बिहानै सञ्चारमाध्यमलाई भनेका थिए ।

बाघको पोस्टमार्टम गरेका डा. अमिर सडौला

पोस्टमार्टमले के भन्यो ?

मध्यवर्ती क्षेत्रस्थित गाउँमा भैंसीलाई आहार बनाउन खोज्दा उल्टै मारिएको बाघको पोस्टमार्टम र परीक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा पुर्‍याइएको थियो ।

जहाँ उक्त बाघको पोस्टमार्टम पनि भइसकेको छ । चितवनस्थित कोषको कार्यालयका प्रमुख डा. मधु क्षत्रीका अनुसार पोस्टमार्टमबाट बाघको अवस्था अत्यन्त दयनीय पाइएको छ ।

‘यो बाघ करिब करिब ७ वर्षको थियो । बयस्क बाघ हो । दाँत पनि सबै राम्रो अवस्थामा छन्, कुनैलाई केही भएको छैन’, क्षत्रीले भने, ‘तर जंगलमा यो बाघ अर्को बयस्क बाघसँग कम्तीमा डेढ साताअघि जुधेको रहेछ । निकुञ्जको जंगलमा जुधिसकेपछि हारेको यो बाघको खेलखोर क्षेत्र अर्कोले खोस्यो, त्यहीकारण शिकार खेल्न पाएन ।’

क्षत्रीका अनुसार भैँसीलाई आक्रमणका क्रममा मरेको यो बाघ त्यसअघि नै पूरै घाइते अवस्थामा थियो । ‘यो बाघ पूरै घाइते थियो । शरीरका अधिकांश भागमा अर्को बाघले टोकेका प्वाँल नै प्वाँल मात्र भेटिए, भैँसीको आक्रमणमा नमरेको भए पनि बढीमा अबको एक सातामा यो बाघ मर्न सक्थ्यो’, क्षत्रीले खबरहबलाई भने, ‘अर्को बाघले टोकेर मरनासन्न शरीर भएको यो बाघ जंगलमा शिकार खेल्न नसकेपछि गाउँ पसेको हो । धेरै दिनदेखि खान नपाएपछि बाघको पछाडिको भाग पनि सुकेको छ ।’

यो बाघको पोस्टमार्टम गरेका डाक्टर अमिर सडौलाले शिकार गर्न नसकेकै कारण भोकै परेको बताए ।

‘एक साताभन्दा बढीको घाउ बोकेर यो बाघ गाउँ पसेको रहेछ । भैंसीलाई देखेपछि शिकार गर्न झम्टिएको रहेछ । त्यक्रममा उसले भैँसीमाथि सिधै घाँटीमा आक्रमण गरेको पाइयो’, उनले भने, ‘घाँटीमा समातेपछि भैँसीले बल गर्ने क्रममा सिङले लागेर बाघ त्यहीँ ढल्न पुगेको देखियो । बाघ घाँटीमा झुन्डिएको अवस्थमा भैंसीको सिङले उसको च्यापुभन्दा माथि, कानभन्दा तल र आँखाभन्दा मुनि ठूलो चोट दियो । त्यहीक्रममा ढलेको बाघले प्राण गुमायो ।’

डा. क्षत्रीले पनि भैँसीले झट्का दिएर प्रतिकार दिँदा सिङले च्यापुमा लागेर बाघ मर्न पुगेको जानकारी दिए । ‘घुमेको सिङ भएको भैँसीले हान्दा पहिले नै घाइते भएको बाघका लागि काल बन्यो । आफ्नो खेलखोर गुमाइसकेपछि यो बाघ जंगलतिर जानै सकेन’, उनले भने, ‘उसलाई हराइसकेपछि अर्को बाघले शिकार क्षेत्र पनि कब्जा गर्‍यो । यो बाघ एकदमै दयनीय अवस्थाको रहेछ । फू गर्दैमा ढल्ने अवस्थमा थियो बाघको अवस्था ।’

बाँच्ने अन्तिम प्रयास

जंगलमा आफ्नो क्षेत्र गुमाइसकेपछि यो बाघले बाँच्नका लागि अन्तिम कोसिस गरेको डाक्टर क्षत्री बताउँछन् । ‘ऊसँग गाउँ पस्नेबाहेक अन्तिम विकल्प थिए । उसले आफू बाँच्नका लागि अन्तिम ट्राई गर्‍यो । तर भैंसीलाई समात्ने बेला एकैचोटी घाँटीमा झम्टिँदा सिङले लाग्न पुग्यो’, क्षत्रीले भने, ‘भैंसी पनि बाघभन्दा धेरै बलियो अवस्थाको भएकाले राम्रो संघर्ष गर्न सकेको देखिन्छ । भैँसीको सिङको चोट पनि बाघको टाउकैमा लागेको देखियो ।’

यो बाघको पोस्टमार्टम गरेका डा. सडौलाले साधारणतया मांसहारी यो प्राणीले बाँच्नका लागि सातामा एक पटक शिकार गर्नैपर्छ ।

‘बाघले आफूलाई बचाउनका लागि हप्ता दिनमा कम्तीमा एकपटक शिकार गर्नुपर्ने हुन्छ । तर यो बाघ त शिकार नपाएर भोकै-तिर्खै जिउ पूरै सुकिसकेको अवस्थामा थियो’, उनले भने, ‘अर्को बाघसँग जुधेर लागेको चोटका कारण अगाडि र पछाडिको भाग दुवैतिरबाट सुकिसकेको थियो । यसले आफूलाई बचाउने अन्तिम कोसिसस्वरुप गाउँ पसेको रहेछ ।’

सडौलाका अनुसार सानो आकारको शिकार भेटेको भए यो बाघ केही दिन बाँच्न सक्थ्यो । तर शरीरभरीका गहिरो घाउले शरीर सुक्न थालिसकेकाले यो लामो समय बाँच्ने अवस्थामा थिए ।

‘सानो सानो आकार बाख्रा भेट्टाएको भएको भए अझै पनि यसले सजिलै शिकार गर्थ्यो । भैँसी ठूलो र बलियो भएकाले सुकिसकेको बाघको आक्रमण सफल भएन, बाँच्नका लागि उसले गरेको अन्तिम प्रयास असफल भयो’, उनले भने, ‘संघर्षका क्रममा बलियो भैँसीले टाउको घुमाउँदा बाघलाई नमजाले लाग्यो । त्यसपछि ‘शक’मा गएर यो बाघ मरेको देखिन्छ ।’

बाघ किन पस्छ गाउँ ?

यो बाघको पोस्टमार्टम गरेका डा. सडौला स्वस्थ र बयस्क बाघ जंगलबाट गाउँ पस्दै नपस्ने बताउँछन् । जंगलमै पर्याप्त शिकार भएको अवस्थामा बाघले गाउँ पस्ने कुराको गुञ्जायस नै हुँदैन ।

‘बाघ गाउँमा पस्ने सम्भवना सम्भावना एकदमै कम हुन्छ । तर यो बाघ जंगलमा विकल्प नभएर गाउँ पसेको हो’, सडौलाले भने, ‘आफ्नो क्षेत्रबाट हारिसकेपछि यो बाघले त्यतातिर फर्किने आँट गरेन किनभने उसको क्षेत्र अर्को बयस्क बाघले कब्जा गरिसकेको थियो । आफ्नो खेलखोर गुमाइसकेपछि कुनै पनि बाघ फर्केर त्यता जाँदैनन् । यो घटनामा पनि मनहरीमा बिहीबार बिहान मरेको बाघलाई हराइसकेपछि अर्को कब्जा गर्‍यो ।’

डा. सडौला बाघ घाइते, अशक्त या बृद्ध भएर जंगलमा शिकार गर्न नसकेमा गाउँ पस्ने गरेको बताउँछन् ।

‘बाघ साधारणतया जंगलबाट गाउँ पस्ने भनेको अशक्त अवस्थामा शिकार गर्न नसक्ने भएपछि हो । घाइते या बृद्ध भएर जंगलमा शिकार गर्न नसकेका बाघ बाँच्नका लागि आहार खोज्न गाउँ छिर्छन् नत्र अरु अवस्थामा बाघ जंगलमै रमाउँछन्’, उनले भने, ‘जंगलमा चाहिने जति शिकार गर्न नसकेपछि गाउँमा आउने हु्न्। अशक्त अवस्थामा सजिलो शिकार घरेलु पशु-चौपाया र खोरमा राखेका बाख्राहरू हुन् ।’

बाघका मुख्य आहारामा चित्तल, जरायो, लगुना मृग, रतुवा मृग, जंगली बँदेल, गौरी गाई (गौर), नीलगाई र चौका हुन् । चितवन र पर्सा निकुञ्जमा बाघका आहारमध्ये चित्तल, लगुना मृग, रतुवा मृग, जंगली बँदेल धेरै छन् । बाघले ठूला प्रजातिका गौरीगाई, नीलगाई, जरायो र अर्नालाई पनि शिकार बनाउने गरेको छ । तर घाइते, अशक्त र वृद्ध बाघले यी जनावरको शिकार जंगलमा गर्न नसके गाउँ छिरेर गोठ र खोरका पशु चौपायालाई आहार बनाउने कोसिस गर्छन् ।

डा. क्षत्रीका अनुसार देशका अन्य निकुञ्ज र जंगली क्षेत्रबाट गाउँतिर छिर्ने बाघ प्राय: अशक्त, घाइते र बृद्धहरू हुने बताउँछन् । साधारणतया बाघ १४ देखि १५ वर्षसम्म बाँच्न सक्छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ५ : १० बजे

मुस्ताङको पर्यटन विकासमा निषेधित क्षेत्रको तगारो

म्याग्दी – मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ मा रहेको न्युतारा होटलका सञ्चालक

मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल

च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित : सबै टिममा टिनएजरको प्रभाव

लन्डन – नाइजेरियाका स्ट्राइकर जर्ज इलेखेनाले च्याम्पियन्स लिगको डेब्युमै गोल

अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस

काठमाडौं – विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका