परमात्माको सृष्टि अद्भुत छ, यहाँ अनन्त जीवात्माहरु छन् । हरेक जीवका भिन्नाभिन्नै शरीर छन् । आहारा छुट्टै छ, कोही विवेकी छन् त कोही अविवेकी । मानव यस्तो प्राणी हो जसमा विवेक छ, ज्ञान छ, सीप छ, उर्जा छ, दूरदृष्टि छ । जबसम्म जीव मुक्त हुदैन तबसम्म शरीर फेरिरहन्छ अर्थात् यात्रा चलिरहन्छ ।
अनन्त कोटी ब्रह्माण्ड छन्, फरक–फरक प्रकृति छ, कतै जल छ, कतै जमीन छ, कतै जंगल छ । ठूलाठूला हिमाल,पहाड निर्माण गरेर भगवान आरामसँग एकान्तमा बस्नुभएको जस्तो पनि देखिन्छ । सभापोखरी हिन्दु,बौद्ध र किराँत धर्मको आस्थाको केन्द्र हो । जसलाई त्रिधार्मिक केन्द्र मान्नुपर्दछ ।
देवताले सभा बस्ने स्थान सभापोखरीको दिव्य यात्रा संस्मरण यसरी सुरु हुन्छ । संखुवासभा हिमाली जिल्ला हो । जहाँ धेरै तीर्थस्थलहरु छन्, शिवधारा, सभापोखरी, मनकामना, सिद्धकाली लगायत धार्मिक स्थल छन् ।
पर्यटकीय स्थलहरु पनि प्रशस्तै छन् । जसमध्ये मकालु हिमाल आदि छन् । गत बर्ष मकालुको यात्राका सहयात्रीहरुको समूहले सभापोखरीको यात्रा तय गरेर सूचना सम्प्रेषण गर्दा मनमा उमंग छायो । सबैलाई सुनाएँ, मन हुनेहरुले जाने मन गरे, तर यहाँ भगवानले बोलाएका मात्र जान पाउने नियम छ ।
ईश्वरको इच्छा विपरीत हुनेवाला केही छैन । संखुवासभा जिल्लाका प्रशासकहरु सबै जाने, जनप्रतिनिधि जाने अनि त्यहाँ भव्य धार्मिक तथा अन्य कार्यक्रम गरेर त्यो दिव्य धामलाई संसारमा चिनाउने लक्ष्य संखुवासभाको रहेको थियोे ।
खाँदबारीमा बसेर सबै सल्लाह भयो । धेरै मार्गहरु भएका कारण दुईवटा बाटो रोजियो । एउटा बाटो खाँदबारीबाट राम्चे, पाङ्माखोला, लेब्राङ, धुपुडके, हुतिखिम्, सभापोखरी गाउँपालिका बाह्रबिसे, मजुवा दोभान, सिकिदिमबाट पारी तरेर फाकुवा हुँदै उकालो लाग्ने रहेछ । यही बाटोबाट प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत अन्य सुरक्षा निकायका प्रमुखज्यूहरु, जनप्रतिनिधि, पत्रकार तथा धार्मिक व्यक्तित्वहरु अगाडि बढ्ने निर्णय भयो ।
अर्को बाटो तय भयो- सभाखोलाको अन्तिम बिन्दुबाट । लेगुवा, रामबजार, हिले, सिँधुवा, बसन्तपुर, टुटे देउराली, तीनजुरे आरआर बगैंचा हुँदै माता पाथीभराको दर्शन गरी गाडीको यात्राबाट हामी गुफापोखरी पुग्यौं ।
त्यहाँ पुग्नेबित्तिकै ८१ बर्षका खनाल बासँग प्रश्न गरियो, उहाँले यसरी बताउनुभयो। माथि गुफा छ, त्यहाँ ऋषिमुनिहरु बस्ने अनि यो पोखरीमा स्नान गर्ने, यहाँ केही समय बसेपछि यहाँबाट उकालो लाग्दै सभापोखरी जाने गर्नुहुन्थ्यो भन्ने सुनेको ।
यी वाक्यहरु सुन्नेबित्तिकै शरीर फुरुङ्ग भयो, मनमनै सोचेँ, म कस्तो भाग्यमानी, देवता हिडेको बाटो हिडन पाइयो, देवताले स्नान गरेको पोखरीमा डुबुल्की मार्न पाइयो । राजन पराजुली, तुलसी पौडेल, सूर्य फुयल लगायत हामी पोखरी पुग्यौं ।
ॐ नमामि गंगे ! भन्दै नमन गर्यौं । जल आचमन गर्यौं, शक्ति माग्यौँ, अनि गुफाको दर्शन भयो, अद्भुत लाग्यो । त्यहाँ नजिकै लिम्बू जातिको आस्थाको केन्द्र मेनछ्याम रहेछ । अध्ययन,अवलोकन गर्दै हामी जोरपोखरी पुग्यौँ, झमक्क साँझ पर्यो । त्यहाँभन्दा माथि बास बस्ने स्थान छैन भन्ने बुझेपछि हामी त्यहीँ बस्ने निधो भयो ।
त्यो स्थान त संखुवासभा, तेह्रथुम, ताप्लेजुङ तीन जिल्लाको संगमस्थल रहेछ, आफैंले भोजन बनाएर ग्रहण गर्यौं । श्रीहरि आध्यात्मिक गुरुकुलबाट तीनजना गुरुहरु, भोजपुरबाट दुई जना अनि खाँदबारीबाट पाँच जना सरहरु गरेर हामी दशजना भयौं, दशै दिशाको भ्रमण गर्ने भन्दै दशजना भुइँमा सुत्यौं। आनन्द भयो ।
बिहान उठ्दा खुलेको मौसम आनन्द आयो । अघिल्लो दिन राजन पराजुली सरको रुमाल बाटोमा खसेछ, बिहान खोज्न जाँदा भेटियो । हामी खुशी हुँदै, सामानको जतन गर्ने सल्लाह गर्दै उकालो लाग्यौं । मिल्केडाँडाबाट चारैदिशा झलमल्ल देखियो । हामीले शंख बोकेका थियौं । रननन शंघ घन्कियो । चरिरहेका गाईभैँसीहरु यताउता दौडिए ।
अन्य यात्रीहरुले हाम्रो टोलीको नाम शंखे टोली राख्न भ्याएछन् । हामी झनै खुशी भयौं । अलि माथि सुकेपोखरी आयो । त्यसपछि लामपोखरी । बाटोमा पोखरी नैँ पोखरी देख्दा आनन्द आउने रहेछ । जनावरहरुलाई पिउने पानी, पर्यटकलाई हेर्ने दृश्य । धार्मिक यात्रीलाई स्नान तथा पिउने पानी । पोखरीको बहुउपयोगीता देखियो ।
सानो ग्याँसमा पानी ततायौँ । सुप खायौं । सख्खर, चिउरा, मकै,सातु खाँदै अगाडि बढ्यौँ ।
दोलखाका गुरु सुजन सुवेदीलाई लेक लागेको हो कि टाउको दुख्यो भन्नुभयो । एउटा अकबरे खोर्सानी खुवाएर नहाँसी उट्पटयाङ् गर्यौं । पिरोले उहाँको टाउको पनि ठीक भयो ।
हामी अर्को टोलीसँग सम्पर्कमा थियौँ । उहाँहरु बास बस्नु भएको समाचार भोगेन्द्र श्रेष्ठ सरले सुनाउनुभयो । तुलसी पौडेल सरले अब हामी पनि बसौँ भन्दाभन्दै पानी आयो । हामी हतार–हतार दोबाटोमा रहेको गोठमा छिर्यौं ।
पानी परिरहेका बेला गोठकी दिदीले चौँरी दुहुनुभयो । हामीले फोटो, भिडियो खिच्यौँ । राजन सर र गुरुहरु पाटीमा बस्ने हुनुभयो । सबैले ईच्छा भोजन गरियो । दुईजना भरियासहित आठजना हामी गोठमा सुत्यौँ ।
तेस्रो दिन बिहानै हामी पहाडैपहाड अगाडि बढ्यौं । ताप्लेजुङ पाथीभरा नजिकै जस्तो देखिने, मनोरञ्जन गर्दै, श्लोक, भजन गाउँदै, एकले अर्कालाई उडाउँदै यात्रा बढिरह्यो ।
हिले पुगेर चौँरीसँग फोटो खिच्यौँ, दूध, छूर्पी खायौँ, अनि बाटोमा टुसा भाँच्दै खाँदै गिद्दे भन्ने ठाउँमा बिहानको खाना खाई भन्ज्याङतर्फ लाग्दा बाटोमा सुन्दर पोखरी भेटियो ।
लामाहरुले लुङ्ता टाँग्दै हुनुहुन्थ्यो । अलि तल भुतेपोखरी रहेछ, हामीले त्यहीँका पात, फूल टिपेर पूजा गर्यौँ, जंगलको बीचमा रहेको मनमोहक पोखरीको फोटो लियौं ।
केही साथीहरू अलि पछाडि हुनुहुन्थ्यो । अत्यन्तै ठाडो उकालो आयो । स्याँ–स्याँ गर्दै जाँदै थियौँ, पानी पर्न लाग्यो । खुट्टा धेरै दुखेका थिए । जंगलमा भत्केको धर्मशाला देख्यौं । खम्बोले नामक स्थान रहेछ । सबै त्यता गयौँ । भित्र पुग्दा इटहरीका यात्रीहरु आगो बालेर बस्नुभएको रहेछ । दाउरा कम देखियो ।
झोला फुत्त फालेर सुजन तिवारी सर र म खुकुरी बोकी जंगल पस्यौँ । एउटा लडेको रुख बोकेर ल्यायौँ । पानी झनै बढ्यो । साथीहरूलाई पानीले भिजाएछ, एकघण्टा पछाडि आइपुग्नु भयो ।
भोजन बनाई खायौँ । चुलीगारो भत्केको अगाडि खुल्ला, पुरानो गोठ भए पनि हामीलाई स्टार होटल झैँ लाग्यो ।
जंगलको बास, सबैको पवित्र भावना, सहयोगी मनहरु, प्रकृतिको ममता, साँच्चिकै स्वर्गीय सुखको अनुभूति हामीलाई मिल्यो।
बिहान दुई बजेबाटै होहल्ला सुरु भयो । ओछ्यानबाट ८२ बर्षका एकजना यात्रीले जीवनका कहानी सुनाउँदै गरेको सुनियो । साह्रै रमाइला बा ।
दुईवटी श्रीमती रहेछन् । दुबैपटिका दुई छोरा लिएर तीर्थयात्रमा हिँडेका । बाटोमा हिँड्दा, गोठालो जाँदा गर्नेखालका गफ कति भए कति । हामी सबै प्रशन्न थियौं । दुःख, रिस, लोभ, काम, मोह, मद र मात्सर्यको भाव कसैमा थिएन । हामी त साना–साना खुशी बटुल्दै आनन्दको गहिराइ भेट्न हिँडेका थियौं ।
चौथो दिन बिहान नित्यकर्म सकेर उकालो लाग्यौं । नाक ठोक्किने उकालो थियोे । सुन्दर फूलहरु, शंख जस्ता ठूलाठूला पहाड, सुगन्धित बुट्यानहरु प्रशस्तै भेटिने ।
लेक नलागोस् भनेर जडिबुटी, सातु, खोर्सानी, टिमुर, लसुन आदि खाँदै अगाडि बढ्यौं । सबैले गोजीमा काजु, पेस्ता, बदाम, नरिवल, सख्खर जस्ता वस्तु बोकेका । खुसुखुसु खाने चलन हामीले पनि छाडेका थिएनौँ ।
हामी खाना खाने समयमा थुम्की पुग्यौँ । हामीसँग सबै सामग्री थियो । गोठको सहारा लिएर सबैजना भोजनको तयारीमा लाग्यौं । कोही पानी लिन, कोही भोजन बनाउन, कोही आलु पोल्न, कोही घुम्न यस्तै-यस्तै । लगभग दुई घण्टाको बसाइमा सबै काम सकेर अगाडि बढ्यौं ।
भकारी छिरुवा नामक सुन्दर स्थान आयो । त्यहाँ मन्दिर र सुन्दर पहाड रहेछ । दुईवटा बाटा रहेछन् । जलजले हुँदै जाने बाटोमा सुन्दर पोखरीहरु । ताप्लेजुङ सबै देखिने । तर, सिँढीबिनाको बाटो । यता सेलेले-फेलेले निस्कने बाटो सजिलो रहेछ । हामीले सजिलो रोज्यौँ ।
सुनपाती-भैरुङ्गपातीको सुगन्धले आनन्द आइरहने । साथीहरू फोटो, भिडियोमा रमाउने । ठट्यौली त कति हो कति । सबैले मान, पदवी, उपाधि सबै भुलेर तीर्थालुको उपाधि धारण गरेको क्षण ।
बाटामा भेटिएका यात्रीलाई अवस्था अनुसारको साइनो पनि लगाइयो । कोही दिदी, भान्जी, काका, सोल्टी, सोल्टिनी, ससुराली आदि कति हो कति (यो नितान्त बाटो कट्ने माध्यम थियोे) ।
सेलेले अनि फेलेले हुँदै रातेओढार पुग्दा अचम्म लाग्यो । ठूलो ओढार । भित्र प्राकृतिक धारो । बस्ने ठाउँ आनन्दको । हामीले शंख बजायौँ । अर्को टोलीबाट पनि शंखको आवाज आयो ।
शंखवादन प्रतियोगिता गर्ने भइयो । मैले हाम्रो टिमको नेतृत्व गरेँ । अनुभवी बा, मैले केही सेकेन्डले हारेँ । हार स्वीकार गरेँ । बाबैको शंख राम्रो रहेछ । मेरो सानो शंख भएर हारेको भन्दै आफ्नो रुन्चेपारा (बालपन) पनि देखाएँ ।
त्यहाँबाट अगाडि जाँदा अत्यन्तै अप्ठ्यारो उकालो रहेछ । दुलेगैरी पुग्यौं । बाटो उकालो थियोे । त्यो उकालो यात्राको अन्तिम उकालो रहेछ। उकालो कट्नेजति धर्मात्मा रहेछन् ।
हामी धर्मद्वार पुग्यौं । पूजापाठ गर् यौं । देवतासँग अनुमति मागेर गन्तव्यतर्फ (सभापोखरी) लाग्यौं । कोही साथीहरू पछाडि नै हुनुहुन्थ्यो ।
हामी केही समयमा सभापोखरी भन्दा तल धर्मशाला परिसरमा पुग्यौं । सबै पाटीहरु भरिएका थिए । बाहिर त्रिपाल टाँगेर भक्तहरु बसेको देखियो ।
राजन पराजुली सर, भक्तबहादुर घिमिरे, सुजन तिवारी, सूर्य फुयँल आदि अगाडि थियौँ । निरास हुँदै घुम्दै गर्दा संखुवासभा जिल्ला प्रहरी कार्यालय प्रमुख डीएपी घनश्याम श्रेष्ठ सरसँग भेट भयो । मेरो परिचय थिएन । उहाँले सरहरुसँग कुरा गर्नुभयो । ‘यी दुईवटा टेन्ट तपाईंहरूको’ भन्नेबित्तिकै मलाई साक्षात् भगवान शंकरको कृपा भयो जस्तो लाग्यो ।
साथीहरू आइपुग्नुभयो । हामी व्यवस्थित भयौं । यात्राको थकान त्यसै मेटियो ।
मौसम खुलेको थिएन तर तीर्थको शक्तिले हामीलाई दिव्य आनन्द आइरहेको थियोे । त्यहाँभन्दा धेरै माथि पाँचपोखरी रहेको कुरा हामीले सुनेका थियौँ । हामीले त्यहाँ जाने संकल्प पनि गरेका थियौँ ।
गफ गर्दैगर्दा प्रमुख जिल्ला अधिकारी, श्रीमान् ध्रुवबहादुर खड्कासँग भेट भयो । उहाँहरु दिउँसो पाँचपोखरीको यात्रामा निस्कनु भएछ । मौसम सभा नभएको र बाटोको पहिचानसमेत नभएकाले बीचबाटै फर्कनुभएछ ।
धेरै भलाकुसारी भए । प्रमुखज्यूले शक्तिका विषयमा केही उदाहरणसहित हामीलाई अनुभूति बताउनुभयो । तातोपानी, भोजन, आवासको व्यवस्था उहाँहरुबाटै भयो । हामी त आमाको काखमा रमाएको बच्चा झैँ भयौँ ।
भोगेन्द्र सर, राजन सर लगायत हामी पोखरी दर्शन गरी फर्कियौँ । तल आएर कपाल मुण्डन गर्न तयार भइयो । भक्त सरले कपाल काटिदिँदा आधादर्जन जति ठाउँबाट रगत आयो । चिसो ठाउँ, हात कामेका थिए । रिस पोख्नुभयो कि कसो ? भन्दै ठट्यौली पनि गर्यौं । फलाहार गर्यौं राति धेरै बेर चर्चा–परिचर्चा गर्दै आराम गर्यौं ।
पाचौँ दिन प्रातकालमा सभापोखरी गएर सामुहिक स्नान गरी विधिवत् रूपमा यज्ञोपवीत धारण गर्यौं ।
ठकुमल्ला भगवतीको मन्दिरमा पाठपूजा गरी रक्षासूत्र धारण एवं भव्य आरती गर्दै आध्यात्मिक आनन्द प्राप्त भयो । सबै दुःख भुल्यौँ । सूर्यले दर्शन दिनुभयो । त्यो दिव्य पल जीवनभर स्मरण रहिरने छ ।
पाँचपोखरीको यात्रामा हामीले सारथी (स्थानीय सहयोगी) पाएनौँ । साथीहरू नजाने निर्णयमा छिटै पुग्नुभयो । समूहले नजाने सल्लाह गर्यो ।
एकजना तीर्थयात्री बिरामी भएपछि बोकेर लाने व्यवस्था समितिले गरिदिनुभयो । स्थानीय भेडीगोठका दाजुभाइले पालैपालो बोक्दै झार्नुभयो अरु विकल्प थिएन ।
सबै व्यवस्था मिलाइसकेर जलपान गरी डीएसपी साहेबहरु अगाडि बढ्नुभयो । हामी लगभग एक घण्टापछि भजन गाउँदै, जयजयकार गर्दै बाटो लाग्यौं । धर्मद्वार, रातेओढार, सेलेले हुँदै हामी अर्को बाटो लाग्यौं । बाह्रबिसे निस्कने बाटो पालिकाले सफा गरेको देखियो । ठाउँठाउँमा पहिल्यै पानी तथा बस्ने पाटीको व्यवस्था गरेको तर तत्काल प्रयोगमा नआएको,भत्किएको देखियो।
हामी लगभग ४३ सय मिटर उचाइबाट तल झर्दै थियौं । अत्यन्तै ठाडो ओरालो थियोे, बिखबारी, चरित्रेभीर डरलाग्दो रहेछ । त्यहाँबाट लडियो भने भगवानको प्यारो हुने निश्चित छ । बाटोमा घनश्याम श्रेष्ठ डीएसपी सरसँग अध्यात्म सम्बन्धी व्यापक चर्चा गर्दै हिँड्यौँ । अत्यन्तै होसियारीपूर्वक हामी चौँरीगोठमा पुग्यौं ।
तातोपानी पियौँ । खाजाको राम्रो प्रबन्ध देखिएन । मकै खाँदै गफिँदै हिँड्यौँ । ध्रुवबहादुर (सीडीओ) सरले जीवनमा आवश्यक ज्ञानका कुरा बताउनुभयो ।
हामी धेरै तल झरिसकेका थियौं । भैंसीगोठमा पुगेर मीठो, बाक्लो मोही खायौं । अमृत खाएको अनुभव भयो । माथिल्लो थुम्की हुँदै तल्लो थुम्की पुग्यौं । बाटोमा टुसा भाँचेको थियोे, तरकारी खान पाइन्छ कि भन्ने आशा मनमा आइरहन्थ्यो ।
तल्लो थुम्कीमा पुग्दा प्रकृति मुस्कुराइरहेकी रहिछन्, इन्द्रेणी आयो । हामीले फोटो खिच्यौँ । एउटा क्यामेरा थियोे, त्यसमा अरुको पहुँच थिएन । डीएसपी साहेबले सबैको फोटो खिचिदिनुभयो । हामी रमायौँ ।
हामीलाई रमाउनुपर्ने, ठूला विषय नचाहिने । एकजना प्रहरी मित्रलाई घाँटी, टाउकोमा धेरै जुकाले टोकेछ । हामी हाँस्यौँ । पछि नरिसाउनु है पनि भन्यौं ।
सप्तरङ्गी इन्द्रेणी लागेको तुलसी पौडेल सरलाई नयाँ लुगा लगाएर इन्द्रेणी शीरमा राखी फोटो खिच्न मन भएछ, लुगा मिलाउँदै गर्दा इन्द्रेणी आफ्नो बाटो लागिछन् । हामीले हाँसो रोक्न सकेनौँ ।
हामी खरबारीको बाटो झरिरहेका थियौँ । बेलुका भइसकेको छ । बास बस्ने ठाउँ तल देखिन्छ । हरियो मकै पनि देखिन्छ । हाम्रो बल बेलुकाको बासस्थान र खानेकुरामा केन्द्रित हुन थालेको थियोे ।
नयाँ बाटो बन्दै रहेछ, तुलसी सर चिप्लनुभयो । त्यो विषयले पनि एकछिन मनोरञ्जन भयो । रमाइला गफ बीचबीचमा अनगिन्ती भइरहेका थिए । हामी यात्रामा अत्यन्तै रमाइलो गर्दै झर्यौं । सीडीओ साहेब पनि लड्नुभयो । सबै लडिसक्नुभएको रहेछ । लड्न म बाँकी रहेछु, अब गुरुको पालो भन्नुभयो । म मनमनै नचिप्लने अठोट गर्न थालेँ ।
आफ्नो झोलामा बाँकी रहेका औषधिहरु नुवाकोटबाट आएर काम गरिरहेका मजदुरहरुलाई सबैले छाडिदिनुभयो । टाढाबाट दुःख गरेर ल्याएको पानी हामीले माग्यौँ । उहाँहरुले खुशीले दिनुभयो । हामीले प्रेमपूर्वक पियौँ । झमक्क साँझ पर्यो । हामी लगभग गाउँ आइसकेका थियौँ ।
प्रमुखज्यूहरुको अलि तल, हाम्रो अलि माथि बस्ने व्यवस्था थियोे । पहाडका घर । सानो ठाउँ । समस्या पनि थियोे । बत्ती बालेर हामी हिँड्यौँ । छुट्टिने बेलामा धारो आयो । सुन्दर चौतारी पनि । नेपाली गीत बज्यो । हामी नाच्न थाल्यौं । डीएसपी साहेबको सुन्दर नृत्य देखेर सीडीओ साहेबले भिडियो गर्नुभयो । भोगेन्द्र सर मुस्कुराउँदै नाच्नुभयो । अत्यन्तै खुशीको क्षण । दिनको समाप्ति, रात्रिको स्वागत । जय शम्भो ! शुभरात्रि भन्दै हामी छुट्टियौँ ।
केही पर पुगेपछि बास बस्ने ठाउँ आयो । साथीहरूले सबै व्यवस्था मिलाउनुभएको रहेछ । आफैं पकाएर खानुपर्ने । लिम्बूको घर रहेछ । हामीले मकै खाने ईच्छा ग¥यौं । बत्ती बालेर बाजेलाई लिएर मकैबारीमा गयौं । मकै उसिनेर, पोलेर खायौँ । सबैले ईच्छाभोजन गरी सुत्ने तयारी भयो । धेरै तीर्थयात्री कोही भान्साघरमा, कोही भित्र ।
वरिपरि पाल टाँगेर राढी ओछ्याई हामी बाहिर पिँढीमा सुत्यौँ । गलेको शरीर, निद्रा छिटै आयो ।
बिहान साथीहरूले बोलाउँदा उज्यालो भइसकेछ । स्नान गरी नित्यकर्म पश्चात् सातु खायौँ । त्यहाँबाट बिदा भएर ओरालो लाग्यौं।
तल सबैसँग भेट भयो । चिया खायौं । सामुहिक तस्बिर खिचेर सबैजना बाटो लाग्यौं ।
अझै तल सुन्दर खोलो । खुलेको मौसम । मन रोमाञ्चित भइरहेको थियो । घनश्याम सर र हामी अलि छिटो दौडँदै, फोटो लिँदै अगाडि बढ्यौं । लगभग ५ किलोमिटर हिँडेपछि, वडा कार्यालय नजिकै घरमा काँक्रा खाँदै अनुभवहरु साटासाट ग¥यौं । केही समयमा सबै आउनुभयो । हामी भोजनको तयारीमा लाग्यौं ।
डीएसपी र सीडीओहरु सभापोखरी पालिकाको केन्द्र बाह्रबिसेतर्फ लाग्नुभयो ।
हामीले भोजन पश्चात् पुनः यात्रा सुरु गर् यौं । खोलैखोला, अलैंचीबारीको बाटो । अलैंची टिप्दै खाँदै मन्जुवा दोभानमा पुग्यौं । गाडी चल्ने बाटो देखेपछि सबैका खुट्टा फतक्कै गले । भक्तबहादुर सरले गाडीको व्यवस्थापन गर्न थाल्नुभयो । हामी खोलामा नुहाउन थाल्यौं । साह्रै आनन्दसँग पौडी खेल्यौँ ।
गाडी आएपछि हामी सभापोखरी गाउँपालिकाको सभाहलमा भइरहेको कार्यक्रममा गयौँ ।
पालिका अध्यक्ष भीमबहादुर लिम्बू, उपाध्यक्ष लक्ष्मी चापागाईं, संखुवासभा जिल्लाका सुरक्षा निकायका प्रमुखज्यूहरु, कार्यालय प्रमुखज्यूहरु, बुद्धिजीवी, कर्मचारी, सभापोखरी क्षेत्र विकास समितिका पदाधिकारी लगायतको उपस्थितिमा समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाइयो ।
कार्यक्रममा सभापोखरीलाई एक कल्पवृक्षका रुपमा वर्णन गरियो । प्रमुख जिल्ला अधिकारीले प्रचार–प्रसारका साथमा व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । पालिकाले यसमा गौरवको महसुस गर्नुपर्ने र छिमेकी जिल्लाले समेत अपनत्व लिने अवसर दिलाउनु आवश्यक रहेको बताउँदै उहाँले त्यहाँ पाइने जडिबुटीलाई ब्रान्डिङ गरी संसारभर पुर्याउन सकिने विषयमा सोदाहरण प्रस्ट्याउनुभयो ।
कार्यक्रम समापन पश्चात् बाह्रबिसेबाट हुतिखिम्, धुपुडके, लेब्राङ, पाङ्माखोला, राम्चे हुँदै खाँदबारी आयौँ । बेलुका व्यापक समीक्षासहित सहभोजन गरियो । भोलिपल्ट सबै मिलेर मनकामना गुरुकुलमा तीर्थेभोजको समेत व्यवस्था भयो ।
हामीलाई मनकामनाका गुरुहरु विष्णु भट्टराई, शम्भु लम्साल, सुजन सुवेदीले पनिरको मीठो सब्जीका साथमा रोटी खुवाउनुभयो।
हामीले सभाखोलामा पुनः स्नान गरी यात्रालाई पूर्णता प्रदान गर्यौं ।
सभापोखरी गाउँपालिका र सभापोखरी क्षेत्र संरक्षण समितिलाई सादर निवेदन
– सभापोखरीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा व्यापक प्रचार–प्रसार गर्न आवश्यक रहेको ।
– ती बनौषधिहरुलाई आयुर्वेदका विज्ञ मार्फत पहिचान गरी पालिका वा समितिले ब्रान्डिङ गरेर संसारभर पु¥याउन सकेमा आयआर्जनको पनि पूर्ण सम्भावना रहेको ।
– भौतिक व्यवस्थापन राम्रो भएको देखियो, निरन्तरता रहेमा पूर्ण हुने देखिन्छ ।
– सभापोखरीमा देवताहरुले सभा बस्ने, शास्त्रोपदेश गर्ने विषय कहाँ उल्लेख छ ? इतिहासविद् र विद्वानहरुलाई बोलाई स–प्रमाण उल्लेख गर्ने ।
अन्त्यमा, ईश्वरको ईच्छाबिना केही हुँदैन । हामी मनुष्यलाई चलाउने पनि परमात्मा नै हुनुहुन्छ । हामी सबैलाई भगवानले सद्विवेक र आशीर्वाद प्रदान गर्नुहोस् । ॐ अस्तु ।
यो पनि
प्रतिक्रिया