६८ लाखमा बनेको ‘भ्यूटावर’ बेवारिसे अवस्थामा | Khabarhub Khabarhub

६८ लाखमा बनेको ‘भ्यूटावर’ बेवारिसे अवस्थामा


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । 

 तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग  रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको  अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यूटावर मद्यपान र धुमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गरे। 

‘अहिले त भ्यूटावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ । भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहर फालिएको छ, जमिन पनि धाँजा भएर फाट्न थालेको छ’, उनले भने ।  

टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्यूटावर नजिकै घर भएका स्थानीयवासी खुसी भएका थिए । तर भ्यूटावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा खुसीभन्दा पनि अहिले असुरक्षा बढेको रानाले बताए।  

‘भ्यूटावर सञ्चालन गर्ने निकाय नहुँदा विकृति बढ्दै गएको र बाटोमा हिँड्न पनि डरलाग्दो भएको छ’, उनले भने, ‘अबेर रातिसम्म मदिरा सेवन गर्नेको समूह धेरै आउन थालेको छ, कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा स्थानीय बालबालिकालाई पनि डर हुने अवस्था सृजना भएको छ ।’  

कावासोती –१ का वडाध्यक्ष तबारक अहमद मियाँले भ्यूटावर सञ्चालनमा नआए पनि दैनिक सयभन्दा धेरै आन्तरिक पर्यटक भ्यूटावर क्षेत्र घुम्न आउने गरेको बताए। 

‘तत्काल भ्यूटावर व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरपालिकामा पहल गरिरहेको छु’, उनले भने, ‘व्यवस्थित रूपमा भ्यूटावर सञ्चालन नहुँदा दैनिक आम्दानीको स्रोत गुमिरहेको छभने रेखदेख नहुँदा त्यस क्षेत्रमा फोहरको थुप्रो लागेको छ ।’

भ्यूटावरको वरिपरि पहिरो जान थालेपछी आर्थिक वर्ष २०७९-८० मा १० लाख बजेट विनियोजन गरी नगरपालिकाले ‘कम्पाउण्ड वाल’ लगाउन सुरु गरेको थियो । चालु आवमा पनि कम्पाउन्ड वाल निर्माणका लागि १० लाख रकम विनियोजन गरिएको छ । भ्युटावर व्यवस्थापन र नियमित सञ्चालनका लागि नगरपालिकाले प्राथमिकतामा राखेको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए ।

‘यसै आवदेखि वडा कार्यालय र स्थानीयको रेखदेखमा सञ्चालन गर्न दिनेबारे मोटामोटी छलफल भइरहेको छ’, उनले भने, ‘अहिले देखिएका केही समस्यालाई छिटोभन्दा छिटो सम्बोधन गर्नेछौँ ।’

समुद्री सतहबाट झण्डै आठ सय मिटर उचाइमा रहेको भ्यूटावर पूर्वपश्चिम राजमार्गको फलफूलचोकबाट ११ किलोमिटरको दूरीमा रहेको छ । यस क्षेत्रबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ ।  

रासस

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ९ : ४९ बजे

तरकारी बिक्रीबाट दैनिक दुई हजार रुपैयाँ आम्दानी

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट

सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

बेरुत – बुधबार टार्टस प्रान्तमा सुरक्षा बलले अपदस्थ नेता बशर

कर्णाली डेभलपमेण्ट बैंकको कारोबार रोक्का 

काठमाडौं– शेयर बजारमा कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको कारोबार रोक्का भएको

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  नेपाल

सहकारी ठगीमा रविसहितका प्रतिवादीको बयान जारी

पोखरा– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको बयान आज पनि