काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताएका छन् ।
प्रथम महिला सविता पौडेलले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रपति पौडेलले महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि बिस्तारै विकास हुँदै गएको बताए।
उनले भने-‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ । महिलाहरूको अवस्था अब यस्तो छैन भन्ने मलाई लाग्दछ । नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ । महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि बिस्तारै विकास हुँदै छ । तर संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेको हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी छ ।’
उनले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण सम्वर्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गरे ।
कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, महिला मन्त्रीहरू, महिला सांसदहरू, विभिन्न ओहोदामा रहनुभएको उच्च पदस्थ महिला अधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया