तीन वर्षमा हराए ४६ हजार नागरिक, आधा अझै बेपत्ता | Khabarhub Khabarhub

तीन वर्षमा हराए ४६ हजार नागरिक, आधा अझै बेपत्ता

उद्धारकर्ता भन्छन्‌- ठेगाना नै थाहा नहुनेलाई ल्याउन सकिएन


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवल उपमहानगरपालिका-१० का गनबहादुर बिक चार महिनाअघि (बैशाख २० गते) हराए । हालसम्म घर नफर्किएका उनी जीवितै छन्‌/छैनन्‌ भन्नेसम्म थाहा छैन ।

उनकी श्रीमती धनमाया कार्की श्रीमान आउने बाटो रुँगिरहेकी छिन्‌ । परिवारजनले ‘मानिस हराएको सूचना’ विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्‍जालमा पनि राखेका छन्‌ । तर, फेला पर्न सकेका छैनन् ।

गनबहादुर १५ वर्ष नेपाली सेनामा जागिर खाएर अवकाशप्राप्त हुन् । परिवारका सबै दाजुभाइ नै सेनाका जागिरे हुन् । माइला दाजुले गनबहादुर फेला पार्ने व्यक्तिलाई उचित इनाम व्यवस्था हुने भन्दै सबैतिर प्रचारप्रसार गरिरहेका छन्‌ ।

काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका-१ मा बस्ने समीर सापकोटाका बुबा हराएको ११ वर्ष भइसक्यो । समीरका बुबा रामप्रसाद सापकोटा घरमै डेरी चलाएर बसेका थिए ।

तर एकाएक ‘मलाई डेरीबाट घाटा भयो, म इन्डिया गएर कमाएर आउँछु’ भनी घर छाडेर हिँडे । उनी हालसम्म फर्किएका छैनन्‌ । ‘म सानै थिएँ, हामीलाई इन्डिया गएर पैसा कमाएर आउँछु भनेर हिँड्नु भएको बुबा अहिलेसम्म आउनु भएको छैन,’ समीर भन्छन् ।

राम प्रसादकी वयोवृद्ध आमा पनि छिन् । उनी मर्ने बेलामा छोरो सँगै भए हुन्थ्यो भनी रोइरहेकी छिन् । छोराकै चिन्ता गर्दागर्दै उनका बुबाको पनि मृत्यु भयो ।

भरथेग गर्ने मानिस बेपत्ता भएपछि घर नै लथालिङ्ग भएको उनकी श्रीमती सुनाउँछिन् । आसमा श्रीमती र छोराछोरी दिनहुँ रामप्रसाद आउने बाटो हेरिरहेका छन् । उनलाई भेटिन्छ कि भनी विभिन्न सामाजिक सञ्जालमा पनि प्रचार गरेका छन् । प्रहरीलाई पनि खबर गरे, तर अहिलेसम्म पत्ता लागेको छैन ।

झापाको बाह्रदशी गाउँपालिका-५ निवासी राजेश हजाम तीन महिनाअघि उसैगरी एकाएक हराए । छोराको चिन्ताले बुबाआमा दिनरात रोइरहेका छन् । तर, राजेशबारे अहिलेसम्म केही पत्तो लागेको छैन ।

सैलुनमा काम गर्ने राजेश कामबाट आएर खाना खाइवरी आराम गरिरहेका थिए । घरका अन्य सदस्यहरू वरपर नै थिए । उनलाई करिब ११ बजेतिर फोन आयो । कसैलाई केही नभनी घरबाट फुत्त निस्किए ।

तीन महिनाअघि घर बाहिर निस्किएका राजेश आजसम्म फर्किएका छैनन् । परिवारका एकमात्रै भरोसा रहेका राजेश हराउँदा परिवारमा ठूलो बज्रपात परेको छ । घरका एकमात्र छोरा सरासर बेपत्ता भएपछि आफन्तहरू दिनरात रोइरहेका छन् ।

बुबा भीम हजाम परिवारको हातमुख जोर्न सघाउने एकमात्र छोरा बेपत्ता हुँदा निकै पीर र समस्या परेको बताउँछन्‌ । उनी छोराको फोटो लिएर दिनहुँ गल्ली-गल्ली दौडिन्छन् । प्रहरीले राजेशलाई कसले फोन गरेको थियो भन्ने पनि पत्ता लगाइरहेको छ । तर, उनी अहिलेसम्म फेला परेका छैनन् । 

हराएका मानिस नभेटिएका यी त केही उदाहरणमात्र हुन्‌ । यस्ता कयौं मानिसहरू आफ्नो परिवारबाट बिछोडिएका छन ।

ती मध्ये कतिपय नेपालमै रुमलिएका छन् भने कतिपय विदेशी दलालको चङ्गुलमा परिसकेका अनुमान छ । नेपाल प्रहरीले सङ्कलन गरेको तथ्याङ्कअनुसार बालबालिकादेखि वृद्धावस्थाका मानिसहरू समेत आफ्नो परिवारबाट बिछोडिएका छन् । 

हराएर र टाढिएर अरूकहाँ काम गरेर बस्नुपर्ने बाध्यता र परिवार देख्न नपाउनुको पीडा त केही समयअघि हेर्ने कथाले प्रसारण गरेको ‘हराएका वर्षहरू’ शीर्षकको भिडियो सामग्रीले प्रष्ट्याइसकेको छ । हेर्ने कथामा प्रकाश तामाङ (काले) ले घर भेट्टाएका सम्मको इतिवृत्त हेरेपछि दर्शकहरूले आफू भक्कान्निएको र आँशु रोक्न नसकेको प्रतिक्रिया दिइरहेका छन्‌ ।

मानिस भेटिएका र परिवारमा पुगेका खबरले मानिसहरूलाई जति भावविह्वल बनाएको छ, हराएका आफन्त कहिल्यै भेट्न नसकेकाहरू त्यो भन्दा घनघोर वियोगान्तमा तड्पिरहेका छन्‌ । मानसिक स्वास्थ्य कमजोर भएकादेखि सबल मानिसहरू नै परिवारबाट टाढिइरहेका विवरण भेटिइन्छ ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्की ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार मानिसहरू विभिन्न कारणहरूले हराउने गर्दछन् । कोही घरको व्यवस्थापन गर्न नसकेर त कोही पारिवारिक कलहका कारण हराउने गरेका छन् । प्रायःजसो वृद्धवृद्धा भने परिवारले गरेको व्यवहार र छोराछोरीको बेवास्ताका कारण हराउने गरेका छन् । 

‘प्रायःजसो मानिसहरू केही न केही तनाव वा पारिवारिक कलह इत्यादिले घर छाडेर हिँड्ने गरेको पाइएको छ । अपाङ्ग भएका व्यक्तिहरूलाई परिवारले नै घृणा गर्ने गरेका कारण बेपत्ता भएको हामीले पाएका छौँ । बल्लतल्ल फेला पार्दा पनि उनीहरू घर नजाने, आफन्तसँग नबस्ने, बरु बाहिरै आफ्नो जीवन बिताउने बताउँछन्,’ उनी भन्छन् । 

तर, बालबालिकाको केसमा भने प्रायः प्रलोभनमा परेर घर छोडेर हिँड्ने गरेका पाइएको प्रवक्ता कार्कीको भनाइ छ । उनी भन्छन्‌, ‘फिल्म या म्युजिक भिडियोमा खेल्न पाउने भन्दै घरपरिवार छााडेर भागेका केसहरू बढी आउने गरेका छन्,’ प्रवक्ता कार्कीले भने ।

परिवारले गर्ने अपहेला, मानसिक असन्तुलन र विभिन्न भेदभावका कारण पनि मानिसहरू हराइरहेका प्रहरी अधिकारीहरू बताउँछन्‌ । यी मध्ये केही माानिसहरू आश्रममा सहारा लिएर बसेका छन् भने कोही सडकमा भेटिने गरेका छन्‌ ।

कुन वर्ष कति हराए ?

आर्थिक वर्ष २०७८/०७९ मा मात्रै नेपालबाट १४ हजार ९५७ जना मानिस हराएका छन् । हराएकामा महिला बढी छन्‌ । एक आर्थिक वर्षमा मात्रै सात हजार १४१ महिलाहरू बेपत्ता भएका हुन् ।

हराएकामा तीन हजार २९७ पुरुष, एक हजार १३५ बालक र तीन हजार २४९ बालिका छन्‌ । ६० वर्ष कटेका मानिसहरू वृद्धवृद्धाहरू पनि १३५ जना हराएको नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा पनि १५ हजार २४५ मानिसहरू हराए । हराउनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको छ । हराउनेमा महिलाहरू नै बढी छन् । एक वर्षमा पाँच हजार ४२५ जना महिलाहरू हराएका छन् भने चार हजार ९४५ जना बालिकाहरू हराएका छन्‌ ।

सो वर्ष दुई हजार ८७५ जना पुरुषहरू हराएका छन् भने एक हजार ९३५ बालक हराएका छन् । यस्तै, ६५ वृद्धवृद्धा हराएका तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक २०८०/०८१ मा हराउनेको सङ्ख्या झन्‌ बढेको छ । एक वर्ष अवधिमा नेपालमा हराउनको सङ्ख्या १५ हजार ६८३ पुगेको हो । वर्षेनी मानिस हराउँदै जाने प्रवृत्तिले नेपालमा विकराल रूप लिइरहेको देखिन्छ । हराएकामा महिलाहरूको सङ्ख्या अधिक छ ।

गतवर्ष नेपालमा पाँच हजार ८६४ जना महिलाहरू हराएका हुन् । यस्तै, तीन हजार १४५ जना पुरुषहरू पनि गायब छन्‌ । हराएका बालिकाहरूको सङ्ख्या पनि निकै छ । एक वर्षमै चार हजार ६५३ बालिकाहरू हराएका छन् । एक हजार ६५६ बालक र २३५ वृद्धवृद्धा हराएका प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्क केलाउँदा तीन वर्ष अवधिमा १८ हजार ४३० जना महिलाहरू हराएका छन् । सोही अवधिमा हराउने पुरुषको सङ्ख्या नौ हजार ३१७ रहेको छ ।

यस अवधिमा हराएका बालबालिकामध्ये बालिकाको सङ्ख्या नै धेरै छ । तीन वर्षभित्र १२ हजार ८४७ जना बालिकाहरू हराएका हुन् । हराएका बालकको सङ्ख्या ४ हजार ७४६ रहेको छ । ४३५ जना वृद्धवृद्धा हराइरहेका छन्‌ ।

कति फेला परे ?

प्रहरीका अनुसार नेपालमा एक वर्षभित्र जति मानिस हराउँछन्, ती मध्ये आधा पनि भेटिँदैनन्‌ ।

हराएर पनि आफ्नै देशको कुनै कुनामा राम्रोसँग काम गरिरहेका भए त ती मानिस समयान्तरमा भेटिइन्छनन्‌ नै ! तर कतिपय मानिसहरू त विदेशमा बेचिएका पनि हुने नेपाल प्रहरीको भनाइ छ ।

हरेक दिन हराएका मानिसहरूबारे सूचना आउने गरे पनि भेटिएका सूचना परिवारजनले खासै दिँदैनन् । त्यसकारण भेटिएका मानिसहरूको तथ्याङ्क भने तलमाथि हुन सक्ने प्रहरीको भनाइ छ । 

तीन वर्षमा हराएका ४५ हजार नागरिकमध्ये २५ हजार ४६८ जना फेला परेका छन् । भेटिएकामा महिला १० हजार ५००, पुरुष चार हजार ७७७, बालक दुई हजार ८९३, बालिका ६ हजार ९५५ र वृद्धवृद्धा २७१ छन् ।

तथ्याङ्क केलाउँदा हराएकाको तुलनामा भेटिएका मानिसहरूको सङ्ख्या आधाभन्दा पनि कम हो । हराएका, तर नभेटिएका मानिसहरू कहाँ कस्तो अवस्थामा छन्‌ भन्ने जानकारी प्रहरीले नै प्राप्त गर्न सकेको छैन ।

mahila bepatta

सामाजिक अभियन्ता इन्द्रराज भट्टराईका अनुसार केही मानिसहरू बाध्यतावश अन्य देश पसेका हुन्छन् । धेरैलाई मानव बेचबिखन गर्ने नेपाली दलालहरूले मानव तस्करीमार्फत विदेश पुर्‍याइसकेका हुन्छन्‌ । विभिन्न काम र आकर्षक तलबमानको प्रलोभनमा पार्दै सोझासाझा मानिसलाई दलालको हातमा सुम्पँदा पनि धेरै मानिसहरू नेपालबाट हराएका भट्टराईको भनाइ छ ।

उनका अनुसार, हराएकामध्ये अधिकांश मानिस दक्षिणी छिमेकी देश भारतमा फेला पर्ने गरेका छन्‌ । खुला सीमा र विभिन्न कामको प्रलोभन वा धेरै कमाउने लहलहैमा लागेर भारतमा बालबालिकाहरू श्रमिक बनेका वा विभिन्न शोषणमा परेका भट्टराईको भनाइ छ ।

‘हामीले धेरै नेपालीहरूलाई नेपाल फर्काइसकेका छौँ । धेरै बालबालिका र युवाहरू अझै विदेशीको गुलाम भइरहेका छन् । हामीलाई घर फर्काइदिनुस् भनेर उनीहरूले हारगुहार गर्दा समेत नेपालमा ल्याउन सकेका छैनौँ। ती मध्ये कतिपय मानिसहरूलाई आफ्नो जिल्ला र घर नै थाहा छैन । त्यस्ता मानिसहरू ल्याएर राख्ने कुनै पनि संस्था वा निकाय नभएका कारण थाहा पाएर पनि हामीले धेरै मानिसहरूलाई उद्धार गर्न सकेका छैनौँ, सरकारले नै चासो दिने गरेको छैन,’ भट्टराईले भने ।

मन्त्रालय भन्छः ‘थाहा छैन ’

सरकारको विभागीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेचबिखनमा परेका मानिसहरूले हेर्ने, तर हराएका सबैबारे जानकारी नभएको जनाएको छ ।

हराएका मानिसहरूको खोजबिन नेपाल प्रहरीले नै गर्ने हुनाले मन्त्रालयले तथ्याङ्क राख्ने नगरिएको प्रवक्ता केशवप्रसाद उपाध्यायले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  २ : १२ बजे

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष

निर्माण सम्पन्न भएको ६ महिनामा पनि सञ्चालनमा आएन कुश्मा बसपार्क

पर्वत– पर्वतको कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क निर्माण भएको ६ महिनासम्म

राष्ट्र बैङ्कको अध्ययन : गण्डकी प्रदेशमा कृषि क्षेत्र घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा गण्डकी प्रदेशमा कृषि

विवाद नमिल्दा नारायणी अस्पताल भवन निर्माण अलपत्र

पर्सा– पाँचवर्षदेखि नारायणी अस्पतालको भवन निर्माण रोकिएको छ । भवन