नयाँ दिल्ली- लगातार ओरालोतर्फ लागिरहेको भारतीय कम्युनिष्ट आन्दोलनलाई अर्को धक्का लागेको छ । भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीको बिहीबार नयाँदिल्लीमा निधन भएको छ ।
यचुरीको बिहीबार अपरान्ह ७२ वर्षको उमेरमा श्वासप्रश्वासको समस्याका कारण निधन भएको हो ।
सीपीएमले जारी गरेको वक्तव्यमा यचुरीको निमोनियका कारण श्वासनलीमा गम्भीर संक्रमण भएर नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
उनी सीपीएम महासचिवसँगै भारतीय लेफ्ट फ्रन्टका शीर्ष नेतामध्ये एक थिए । उनी लामो समयदेखि एम्समा उपचाररत थिए । उनलाई श्वासको संक्रमण रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अन्तिम समयमा उनलाई भेन्टिलेटरमा पनि राखिएको थियो । तर अन्ततः उनलाई बचाउने सबै प्रयास विफल भए । उनको देहान्त भारतीय वाम राजनीतिमा एक ठूलो शून्यता पैदा गर्ने कारण बनेको छ ।
भारतीय राजनीतिका लागि यचुरीको निधनलाई ठूलो क्षति भनिएको छ। ७२ वर्षीय सीताराम येचुरी एम्समा श्वासको लडाइँ हार्दै गर्दा भारतीय कम्युनिस्ट आन्दोलन पनि सकिने अवस्थामा पुगेको छ । उनीभन्दाअघि बुद्धदेव भट्टाचार्यको पनि २४ साउनमा निधन भइसकेको छ।
अर्थात् आफ्नो सबैभन्दा संकटबाट गुज्रिरहेको दिनमा भारतीय मार्क्सवादी आन्दोलन आफ्ना दुई महत्त्वपूर्ण खम्बालाई ठीक एक महिनाबीचमा गुमाएको छ।
सीपीएमबाहिर हेर्ने हो भने सीपीआईका अतुल अञ्जानको पनि हालै निधन भएको छ । एक्समा सीताराम यचुरीले अन्तिम पोस्टका रुपमा एजी नुरानीको निधनमा दु:ख व्यक्त गरेका छन् ।
सीताराम यचुरीले भारतीय कम्युनिस्ट आन्दोलनको उभार र पतन दुवै देखे । सन् १९७० को दशमा सेन्ट स्टिफेन्स कलेज र जवहरलाल नेहरूमा अध्ययनका क्रममा यचुरी एसएफआईसँग जोडिएका थिए ।
त्यसपछि लागेको संकटकालको बेला उनी जेल गए । सन् १९८० को दशकमा उनी सीपीएमको केन्द्रीय राजनीतिको हिस्सा पनि बने । त्यसपछि उनले आफ्नो राजनीतिक जीवनमा कहिल्यै पछि फर्केर हेर्नुपरेन ।
सन् १९८४ मा उनी सीपीएमको केन्द्रीय समिति सदस्यमा चुनिए । सन् १९८५ मा प्रकाश करातसँगै उनी सीपीएमको केन्द्रीय सचिवालयका सदस्य बने । जसले पोलिटब्यूरो मातहतमा रहेर काम गर्थ्यो ।
सन् १९९२ मा उनी सीपीएमको पोलिटब्यूरोमा चुनिए । त्यसपछि उनी सन् २०१५ मा सीपीएमका महासचिव भए । सन् २०१८ र २०२२ मा दोस्रो र तेस्रो पटक उनी सीपीएमको सर्वोच्च पदमा चुनिए ।
तर यही क्रममा जब सीपीएम र लेफ्ट फ्रन्ट अनेक किसिमका मुश्किलको सामना गर्दै लगातार कमजोर बन्दै गयो । सीपीएमले त्यससँगै पुरानो कडा नीति छोडेर गठबन्धनकोराजनीतिको सहारा लियो ।
तर सन् १९९६ मा ज्योति बसुलाई संयुक्त मोर्चाको प्रधानमन्त्री बन्न नदिँदा विवाद बढ्यो । जुन निर्णयलाई ज्योति बसुले ऐतिहासिक भूल भनेका थिए । हरकिशन सिंह सुरजीतको नेतृत्वमा कहिले गैरभाजपा त कहिले गैरकांग्रेसी सरकारको मोर्चा बनाउन त्यसबेला लेफ्टले ठूलो भूमिका खेलेको थियो ।
सन् १९८९ मा वीपी सिंहको अल्पमत सरकारलाई बाहिरबाट भाजपा र लेफ्ट दुवैले समर्थन गरे । सन् १९९६ मा संयुक्त मोर्चा गठबन्धनका लागि न्यूनतम साझा कार्यक्रम बनाउन यचुरीले अहम भूमिका खेले । सन् २००४ को आमचुनावमा मनमोहन सिंहको युपीए सरकारलाई लेफ्टले बाहिरबाटै समर्थन दियो ।
स्मरणीय के छ भने सीपीएमको सबैभन्दा राम्रो समय पनि यही थियो । त्यसबेला लेफ्ट पार्टीसँग भारतीय संसद्मा ६४ सिट थियो । युपीए सरकारको नीति निर्धारणमा लेफ्टको अहम भूमिका थियो ।
तर सन् २००८ मा अमेरिकासँग परमाणु सम्झौताको विरोध गर्दै लेफ्टले समर्थन फिर्ता लिए । तर त्यसबेला यचुरी समर्थन फिर्ताविरुद्ध थिए । त्यसबेला महासचिव रहेका प्रकाश करातको रवैया यस मामिलामा कडा थियो ।
भारतमा लेफ्टको दुर्दशा यहीँबाट सुरु भयो । पश्चिम बंगालमा नन्दीग्राम र सिंगुरविरुद्ध चलेको आन्दोलनले त्यहाँ दशकौँदेखि चलिरहेको लेफ्टको किल्ला धुजा धुजा हुने गरी तोडिदियो । त्रिपुरा पनि सदाका लागि लेफ्टको हातबाट निस्कियो ।
अहिले केरलमा सीपीएमको सरकार छ । तर अनेक प्रश्नले घेरिएको छ। नि:सन्देह सीताराम यचुरी जब महासचिव बने, तब भारतमा कम्युनिस्टको पतन पनि सुरु भयो । उनले सीपीएमलाई पतनबाट बाहिर निकाल्न असफल रहे । तर उनी भारतीय दलहरूमा एक सम्मानित नेताका रुपमा रहिरहे ।
उनी खास पढेलेखेका र लोकतन्त्रमा गहिरो भरोसा राख्ने नेता थिए । उनको देहान्त केवल वाम राजनीतिका लागि मात्रै होइन, भारतीय लोकतन्त्रका लागि समेत ठूलो क्षति हो ।
यचुरी नेपाल-भारत सम्बन्धका जानकार नेतामध्ये एकजना थिए । उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीका महाधिवेशनमा अतिथिका रुपमा सहभागिता जनाएका थिए । उनी संसदीय राजनीतितर्फ सन् २००५ देखि २०१७ सम्म भारतको राज्यसभा सदस्य भएका थिए ।
प्रतिक्रिया