चिनियाँ नाकाबाट दशैँलाई दिनहुँ ५० ट्रक सामान भित्रिँदै | Khabarhub Khabarhub

चिनियाँ नाकाबाट दशैँलाई दिनहुँ ५० ट्रक सामान भित्रिँदै

लक्ष्यभन्दा १५८ प्रतिशत बढी राजश्व संकलन



काठमाडौं– दशैँतिहार लगायत चाडपर्व नजिकिएसँगै उत्तरी छिमेकी चीनसँगको नाकामा चाप बढ्न थालेको छ । नेपाल-चीन तातोपानी र केरुङ नाका हुँदै मालबाहक ट्रक तथा कन्टेनरहरूमा चाडपर्वलक्षित सामान नेपाल भित्रिने क्रम बढेको हो ।

भदौदेखि नै ती नाकामा नेपाल भित्रिने मालबाहक गाडीहरूको चाप बढेको थियो । मालबाहक ट्रक तथा कन्टेनरहरू तातोपानी भन्सार हुँदै नेपाल भित्रिने क्रम जारी छ । तातोपानी भन्सारका कार्यालयका अनुसार २०८१ को असार-साउनमा १०-१२ वटा मात्रै मालबाहक भित्रिने गरेकोमा अहिले २० भन्दा बढी ट्रक तथा कन्टेनरबाट सामान आइरहेको छ ।

चाडपर्व लक्षित सामानहरू चीनबाट धमाधम आइरहेको र नाकामा थप चाप बढिरहेको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले खबरहबलाई जानकारी दिए ।

खासगरी चीनको खासातर्फ सुरुङमार्ग पुनःनिर्माणको काम चलिरहेकाले नेपाल आउने मालबाहक कन्टेनर आवतजावत कहिले खुलाउने त कहिले बन्द गर्ने गरिएको छ । तर, मालबाहक ट्रक नेपाल पठाउन चिनियाँ पक्षबाट सहजीकरण भइरहेको काफ्लेले बताए ।

चीनको खासातर्फ सडक तथा सुरुङमार्ग पुननिर्माण काम भइरहेकाले त्यहाँबाट आउने मालबाहक सामान भन्सारमा आइपुग्न निकै ढिलाइ हुने गरेको भन्सारका अधिकारीहरू बताउँछन् ।

‘अहिले दैनिक २०-२२ वटाका दरले भन्सारमा चीनबाट कन्टेनरहरू आइरहेका छन्,’ काफ्लेले भने, ‘कहिलेकाहीँ ३० वटासम्म पनि मालबाहक कन्टेनर आइरहेको हुन्छ । चिनियाँ पक्षले सामान पठाउन सहजीकरण गरिरहेको छ ।’ उनका अनुसार चीनबाट खासगरी चाडपर्वलक्षित लत्ताकपडा, फलफूल, खाद्यान्न र पेयपदार्थलगायत सामान बोकेका ट्रक तथा कन्टेनरहरू बढी मात्रामा भित्रिने गरेका छन् । 

नेपालीले मान्ने दशैँ-तिहारको छेकोमा रसुवामा पर्ने केरुङ नाकामा पनि उस्तै चहलपहल बढाएको छ । सो नाका हुँदै हाल ३५ वटासम्म मालबाहक कन्टेनरहरू भित्रिइरहेको छ ।

अन्य बेला १५ देखि २० वटासम्म मालबाहक कन्टेनर भित्रिने गरेकोमा चाडपर्व लागेसँगै भित्रिने मालवाहक गाडीको सङ्ख्या र चाप बढेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रविन्द्रप्रसाद प्याकुरेलले बताए ।

‘चाडबाडका बेला केटाकेटीका लुगाफाटा र फलफूलहरू बढी मात्रामा आइरहेको छ, दैनिक ३०-३५ वटासम्म कन्टेनर भित्रिएका छन्,’ उनले भने ।

व्यवसायीहरूले वर्षभर बिक्री गर्ने चिनियाँ सामान दशैँअघि नै आयात गर्ने गरेका छन् । चाडपर्वका बेला मात्र चिनियाँ नाकामा चाप बढ्ने गरे पनि अरू बेला भने आयात घट्ने गरेको नेपाल समुन्द्रपार निकासी पैठारी संघका अध्यक्ष विनोदकुमार सेठियाले बताए ।

चिनियाँ सीमा नाकामा अवरोध र नेपालतर्फ सडकमार्गको अवस्था खराब हुँदा व्यवसायीलाई मालसामान आयात गर्न समस्या हुँदै आएको सेठियाको भनाइ छ ।

लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

मालबाहक कन्टेनर धेरै भित्रिँदा भन्सार कार्यालयहरूले पनि साविकमा भन्दा बढी राजस्व सङ्कलन गर्ने गर्छन्‌ ।

गत आर्थिक वर्ष ०८०/८१ मा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा १५८ प्रतिशत बढी राजश्व सङ्कलन गरेको थियो । सो आवमा ८ अर्ब ४२ करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा १३ अर्ब ३६ करोड रुपैयाँ राजश्व उठेको थियो । चालु आवमा २१ अर्ब ७३ करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

जसमध्ये गत साउन महिनामा मात्र १ अर्ब ६८ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य रहेकोमा १ अर्ब ३६ करोड रुपैयाँ राजश्व सङ्कलन भएको थियो । त्यस्तै, भदौ महिनामा १ अर्ब ८६ करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ९९ प्रतिशत नै राजश्व उठाउन सफल भएको काफ्लेले बताए । चिनियाँ नाका हुँदै भित्रिने मालसामानबापत राजश्व सङ्कलन समेत बढिरहेको उनले जानकारी दिए ।

त्यस्तै, रसुवागढी भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष ०८०/०८१ को तुलनामा चालु आवमा राजश्व सङ्कलनको लक्ष्य ५० प्रतिशत बढेको छ । गत आवमा २१ अर्ब रुपैयाँ रुपैयाँ राजश्व सङ्कलन लक्ष्य रहेकोमा चालु आवमा ३१ अर्ब रुपैयाँ उठाउने लक्ष्य छ ।

यो भन्सार कार्यालयमा गत आवमा लक्ष्यको ९६ प्रतिशत राजश्व सङ्कलन भएको थियो । चालु आवको साउन र भदौ महिना गरेर दुई महिनामा ४ अर्ब ९७ करोड रुपैयाँ लक्ष्य राखिएकोमा ३ अर्ब ९३ करोड रुपैयाँ अर्थात ७९ प्रतिशत राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

सडकमार्गको दुर्दशा कायमै

तातोपानी भन्सार हुँदै काठमाडौं र देशका मूख्य सहरमा पुग्ने मालबाहक कन्टेनर चल्ने सडकको अवस्था भने दयनीय छ ।

नेपालतर्फको सडकमार्ग वर्षाका कारण अवरुद्ध हुने, पहिरो जाने र भासिने गर्दा तातोपानी नाका हुँदै आउने मालबाहक कन्टेनरहरू हप्तौंसम्म बीच बाटोमै रोकिने गरेको व्यवसायीले बताएका छन् ।

खासगरी दाक्लाङकोदारी क्षेत्रमा पहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुने गरेको छ । पानी परेका बेला पहिरो झरेर सडक भासिने गर्दा नाका हुँदै छुटेका मालबाहक कन्टनेरहरू बाटोमै रोकिने गरेका छन् ।

त्यस्तै, रसुवागढी नाका हुँदै नेपालतर्फको सडकमार्गको अवस्था पनि खराब छ । ‘यहाँको सडकमार्गको अवस्था बिग्रँदो छ । मालबाहक गाडी कतिबेला पुग्ने र कतिबेला रोकिने ठेगान हुँदैन,’ रसुवा भन्सार कार्यालयका सुचना अधिकारी प्याकुरेलले बताए । 

केरुङदेखि टिमुरे र टिमुरेदेखि धुन्चेसम्मको सडकमा सवारीसाधन चलाउने निकै सकस रहेको उनको भनाइ छ । त्यस खण्डको सडक सामान्य मर्मतकै भरमा चलेको र कतिपय ठाउँमा मालबाहक गाडी पास हुन नसक्ने खालको रहेको उनी बताउँछन् ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ४ : ०० बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले