काम माग्दा २८ ठाउँबाट अस्वीकृत एक बहिरा युवाको प्रश्न- संविधानमै रोजगारी दिने भनेर किन झुक्याएको ? | Khabarhub Khabarhub

काम माग्दा २८ ठाउँबाट अस्वीकृत एक बहिरा युवाको प्रश्न- संविधानमै रोजगारी दिने भनेर किन झुक्याएको ?



२०५२ साउन ६ गते कर्ण भट्टचनको जन्म भयो । काठमाडौंमा जन्मिएका उनी घरका कान्छा सन्तान हुन । उनका अरु ५ जना दाजुभाइ दिदीबहिनी छन् । उनका बुवा बाहिरफेर काम गर्छन भने आमा गृहिणी हुन् । 

सामान्य घरपरिवार जन्मिएका उनी जन्मजात नै नसुन्ने थिएनन् । १० वर्षको उमेरमा ठूलो बिरामी परे । कति डिग्रीको ज्वरो थियो भन्ने यकिन जानकारी नभएपनि ज्वरोको कारण श्रवणशक्ति नै गुमाउनु परेको थियो । बुबाआमाले धेरै ठाउँमा उपचारको लागि लगेपनि उनको सुन्ने शक्ति फर्किएन । 

छोराले सुन्न नसक्ने भएपछि अभिभावक निकै चिन्तामा डुबे । अझ उनले आफूले पढ्दै आएको विद्यालय नै छोडेर बहिराहरूले पढ्ने साङ्केतिक भाषामा पढाइ हुने स्कुलमा जानुपर्‍यो । जन्मदै नसुन्ने भएको भए सुरुदेखि कै तयारी हुन्थ्यो । बिरामी भएर अचानक झेल्नुपरेको परिस्थितिले परिवारमा पीडा थपेको थियो । 

आर्थिक रूपले पनि कमजोर परिवारमा अपाङ्गता भित्रिएपछि निकै कष्ट भयो । तर भट्टचनको अभिभावकले हार मानेनन् । छोराको पढाइ राम्रै थियो । पढ्यो भने आफैं गरेर खान्छ भन्ने आत्मविश्वास बलियो बनाएर छोरालाई बहिराहरूले पढ्ने नक्साल भैरव माध्यामिक विद्यालयमा पठाए । 

कर्णले त्यहीँबाट स्कुल तहको अध्ययन पूरा गरे । र हाल त्यहीँ कलेजमा स्नातक (बीएड) पहिलो वर्षमा अध्ययन गर्दै छन् । उनी स्नातकोत्तरसम्म पढ्न चाहन्छन् । तर साङ्केतिक भाषामा स्नातकसम्म मात्रै पढाइ हुन्छ । स्नातक सकिँदासम्म स्नातकोत्तर तहको कलेज सञ्चालन हुन्छ कि भन्नेमा उनी आशावादी छन् । 

स्नातक तहमा पढ्ने सामान्य मानिसले राम्रै सङ्घसंस्था वा निजीक्षेत्रमा पनि काम गर्न पाएका छन् । तर बहिरा भएकै कारणले सबै क्षेत्रमा प्रवेश सहज छैन । बहिराले गर्न सक्ने कामहरू के–के हुन सक्छन् भनेर उनले तयारी गर्न थाले । 

बहिरा भएपनि विद्यार्थी जीवनपछि आफैं जागिर खाएर आत्मनिर्भर हुनु थियो । यी सबै विषयलाई मध्यनजर गर्दै उनले वेटरको तालिम लिए । तर दुखको कुरा त्यो तालिम केही पनि काम लागेन । कुनैपनि होटलले उनलाई वेटरको रुपमा काममा राखेनन् । 

जागिर माग्न गएको २८ ठाउँबाट उनी ‘रिजेक्ट’ भए । जहाँ जाँदा पनि स्टाफ छ भन्ने जवाफ आएको उनी बताउँछन् । 

उनी भन्छन्, ‘सीपमूलक तालिम लिएपछि जागिर खान सजिलो हुन्छ भन्ने थियो । तर बहिराको लागि त्यो सम्भव रहेनछ । बहिरालाई काम दिएर आफैंलाई दुख हुन्छ भन्ने रहेछन् ।’ यदि सबै रोजगारदाता वा मानिसहरूले बहिरासँग झन्झट मान्ने हो भने हामीले कसरी जीवन चलाउने ? उनी प्रश्न गर्छन्, ‘हामीले नबाँच्नु ?होटल, भाटभटेनी सुपरमार्केट, विग मार्केटलगायत धेरै ठाउँमा काम माग्न गए । तर कसैले मलाई काम दिएनन् । वेटरमा काम गर्ने धेरै इच्छा थियो । तर होटलहरुले पनि कसैले काम दिएन’

रोजगार नपाएर भौँतारिएर बसिरहेको बेला काठमाडौँ महानगरपालिकाले बोलायो । काम त कामै हो । सरसफाइ गर्नुपर्ने भएपनि काम गरेको पारिश्रमिक दिएको छ । केही पनि नहुन भन्दा बेरोजगार बस्न भन्दा काम दिएको छ । उनले खुसी भएरै काम गरिरहेका छन् । 

 शनिबार नक्साल भगवती मन्दिरको सरसफाइको काम गर्दैको अवस्थामा भेटिएका कर्णले खबरहबसँग बहिरालाई राज्यले नै अपहेलना गरेको गुनासो गरे ।

 उनले भने, ‘अपाङगता भएकाहरुमध्ये बहिराहरुलाई सरकारले धेरै विभेद गरेको छ । शारीरिक रूपले कष्ट भोगेकाहरूलाई मात्रै अपाङ्गता मानेको छ ।’‘अरु अपाङ्गता शारीरिक रुपमा देख्दा नै कमजोर देखिन्छन् । हामी हेर्दा कष्टमा देखिदैनौँ, उनले भने ‘हातखुट्टा राम्रै छ । सामान्य मानिससरह देखिन्छौ । त्यसकारणले पनि हाम्रो पीडा अथवा कष्ट देखिदैन । तर नसुन्नु पनि ठूलो पीडा हो । हामीमा कमजोरी नभएको भए, काम पाउन किन यति मुस्किल हुन्थ्यो ?’ 

निजीक्षेत्रले काम दिने भए सरकार–सरकार भन्नै नपर्ने भन्दै उनले सरकारलाई हामी जस्तै बहिरा नबनिदिन आग्रह गरेका छन् ।

 ‘अपाङ्गताको क्याटागोरी छुट्याएको छ, त्यहि अनुरुप बहिरालाई प्राथमिकतामा राखेर सरकारले कार्यक्रमहरू ल्याउनु पर्यो,  । हामी काम गर्न सक्छौं, हामीलाई रोजगारको व्यवस्था गरिदिनुपर्यो ।’ 

आफ्नै नागरिकलाई हेला नगर्न उनले अनुरोधसमेत गरेका छन् । आफ्नो खुसीले वेटरको काम गर्न मन लागेको थियो । तर कुनै पनि होटलले काममा नराखेपछि उनी महानगरमा दैनिक ज्यालादारीको काममा छन् । बहिराहरुका लागि महानगरले मन्दिर र सम्पदाको सरसफाइमा लगाएको छ । 

यो सय दिनको जागिर हो । आएको दिन ज्याला हुन्छ, नआएको दिनमा हुँदैन । दैनिक ८ घण्टा काम गर्ने हो । बिहान ७ देखि ११ बजेसम्म कामको निर्धारित समय हो । एक घण्टा खाना खाने समय हुन्छ । १२ बजेबाट सुरु भएर ३ बजेसम्म गर्नुपर्छ । दैनिक ज्याला ७४० रुपैयाँ छ । त्यसमा एक प्रतिशत सरकारलाई बुझाउनुपर्छ ।

यो सय दिन सकिएपछि कहाँ जाने ?कर्ण अलमल हुँदै भन्छन् – ‘केही टुङ्गो छैन ।’ कान नसुन्ने भनेर धेरै मानिसहरुले हेला गर्ने अनुभव सुनाउँदै उनले भने, ‘बहिराले पढेर पनि खासै फाइदा रहेनछ । पढेको छु, तर काम कसैले दिँदैन । त्यस्तो देख्दा मन दुख्छ ।’

उनको शिक्षक हुने सपना छ । हाल शिक्षक सेवाको लाइसेन्सको तयारी गर्दैछन् । लाइसेन्स लिएर आफूजस्तैलाई पढाउने योजना बनाएका छन् । उनी काठमाडौँ युवा विकास समितिको पूर्वअध्यक्ष समेत हुन् । 

बहिराहरुका लागि सबैभन्दा धेरै साङ्केतिक भाषाको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।

 ‘भाषाकै कारणले हामीले अवसरबाट बञ्चित हुनुपरेको छ । बहिराहरुले आफूले चाहेको काम गर्न पाएका छैनन् । यदि अवसर पाउने हो भने हामी कुनै पनि काम गर्न सक्छौ, उनले भने, ‘अवसरको सिर्जना गरिदिएर आफूले देखेको सपना र लक्ष्य अनुसारमो काम गर्न पाइयोस् ।’ बाँच्नकै लागि अगाडि जे आउँछ, त्यहि काम गर्नुपर्दा आफूले मन लगाएर काम गर्न नसकेको स्वीकार्दै उनी भन्छन्, ‘खर्च जुटाउनकै लागि मन नलागेको काम गर्नुपरेको छ । रोजगारीको व्यवस्था हरेक नागरिकको मौलिक हक हो भनेर संविधानमा लेखेर पनि कार्यान्वयन गर्न नसक्नु भनेको सरकार असफल हुनु हो ।’ 

 त्यसमाथि अपाङ्गताको व्यवस्था नगर्नु भनेको मानवतामाथिकै प्रश्न भएको उनको ठम्याइ छ । कर्ण छिट्टै विवाह गर्ने योजनामा छन् । आफ्नै घरबेटीकी छोरीसँग प्रेमसम्बन्धमा रहेको उनले खुलाए । उनकी प्रेमिका पनि आफुजस्तै बोल्न सक्दिनन् । हाल उनीहरु  सँगै पढिरहेका छन् । 

 बहिराहरुसँग काम गर्न सजिलो
महानगरको श्रम बैंक अन्तर्गतका निरीक्षक मनोज केसी बहिराहरुसँग काम गर्न निकै सहज हुने बताउँछन् । 

भन्छन्, ‘नसुन्नेहरुसँग काम गर्न वा लगाउन गाह्रो होला भन्ने लागेको थियो । तर उनीहरुसँग काम गर्न निकै सहज हुने रहेछ । मेहनत गर्ने मामिलामा निकै अगाडिछन्, र काम ठग्ने भन्ने स्वभाव छैन ।’ ‘विस्तारै उनीहरुको भाषा पनि बुझ्न थालिएको छ । सबैजना खुसी भएर काम गर्छन् । यहाँ काम गर्ने एसएलसी, प्लसटु र स्नातक पढ्दै गरेका छन् । समग्रमा सबैजना शिक्षित छन् ।  सबैजना मिलनसार छन्, झैझगडा गरेको आजको दिनसम्म थाहा छैन’ उनले भने ।  

कतिपय मन्दिर र गुठीहरुमा काम गर्न जाँदा खाजाको व्यवस्था गरिदिने केसीले बताए ।

 उनले भने, ‘कसैले खाना पनि व्यवस्था गरिदिँदाश्रमिकहरुलाई सहुलियत पनि हुन्छ ।’प्रधानमन्त्री रोजगार कार्यक्रम र महानगरको श्रम बैंक अन्तर्गतको यो कार्यक्रम भदौ १६ गतेबाट सुरु भएको हो । 

महानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा ‘महानगर स्वर्णिम योजना’ अन्तर्गत ‘श्रम बैंक’ योजना सञ्चालन गरेको छ । रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमार्फत रोजगारको व्यवस्था गरिएको छ । 

यसश्रम बैंकमा सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, शहरी सुव्यवस्था कायम गराउने लगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुन्छन् । यसै योजना अन्तर्गत ४१ जना बहिराहरूले सम्पदा संरक्षण तथा सरसफाइको काम गरिरहेका छन् । 

आज साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

दोभाषे : उर्गिन नम्डुल तामाङको सहयोगमा

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १ : २९ बजे

पनडुब्बी विकासमा भारतसँग सहकार्य गर्ने ब्राजिलको चाहना

काठमाडौँ– ब्राजिलले आणविक ऊर्जाबाट सञ्चालन हुने पनडुब्बीको विकास गर्न भारतसँग

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय बन्द

वीरगञ्ज– अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द

कृषिको आधुनिकीकरणका लागि सरकार लागिपरेको छ : मन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो,

साफ यू -१७ : श्रीलंकामाथि नेपालको फराकिलो जित

काठमाडौं – साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलंकाविरुद्ध फराकिलो

चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको आलोचना

एजेन्सी– वासिङ्टनले चिनियाँ र रूसी प्रविधि प्रयोग गरी सवारी साधनको