अर्थसंक्षेप : शेयर बजारमा २६ अंकको गिरावट, नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक | Khabarhub Khabarhub

अर्थसंक्षेप : शेयर बजारमा २६ अंकको गिरावट, नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । यता, बाढीपहिरोका कारण सडक यातायात अस्तव्यस्त हुँदा अहिले हवाई यातायातमा यात्रुको चाप बढेको छ । यस्तै,सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ । यस्तै,सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । यसरी नै, सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

आजका प्रमुख आर्थिक समाचारहरु :

शेयर बजारमा २६ अंकको गिरावट, कारोबार ६ अर्ब ७७ करोड बढी

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । मंगलबार ११४ अंकले बढेको शेयर बजार आज भने २६.०७ अंकले घटेको हो । आज नेप्से ०.९९ प्रतिशतले घटेर २५९७.४९ विन्दुमा आएको छ ।

आज ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर दिनभरमा कारोबार भएको छ ।

५४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रि–ओपन सेसनमा ६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा माथि गएको थियो । तर केही बेरमै बजार घटेर लत गएको थियो । ९ पटकसम्म बजारले तल माथि गरेको थियो । दिनभरमा ३ पटक बाहेक नेप्सेमा हरियाली देख्न समेत पाइएन ।

आज नेप्से परिसूचक न्यूनतम २५८६ विन्दु र उच्चतम् २६४३ बिन्दुसम्म पुगेको थियो । ३१० वटा कम्पनीको शेयर कारोबार भएको थियो । मंगलबार ८२ हजार ४४४ पटक शेयर किनबेच भएको थियो ।

रात्रिकालीन विमानस्थलबाट दशैंभर बिहान साढे ४ बजेबाटै उडान हुने

बाढीपहिरोका कारण सडक यातायात अस्तव्यस्त हुँदा अहिले हवाइ यातायातमा यात्रुको चाप बढेको छ ।

देशभरका विभिन्न जिल्लामा जाने यात्रुको चाप जहाजमा बढेपछि सरकारले रात्रिकालीन उडान बढाउन लागेको छ । त्यसका लागि रात्रिकालीन उडान हुने सबै विमानस्थल बिहान साढे ४ बजेदेखि नै सञ्चालनमा ल्याइने भएको छ ।

आगामी असोज ३० गतेसम्म बाढीपहिरो तथा चाडपर्वमा घर जाने यात्रुको चापलाई धान्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहान साढे ४ बजेदेखि उडान भर्न पाउने व्यवस्था मिलाएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाइ चापलाई सम्बोधन गर्न यस्तो कदम चालिएको बताए ।
‘घटस्थापनादेखि दशैंको पूर्णिमासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थल लगायत रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थल बिहान ४ः३० बजेदेखि राति अपरेशन समय (आवश्यकता अनुसार थप हुने) सम्म सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ’, उनले भने ।

देशभरका मुख्य राजमार्गसहित सडक पूर्वाधार क्षतविक्षत भएपछि दैनिक ५ सयभन्दा बढी आन्तरिक उडान भइरहेको छ ।

दसैँमा काठमाडौं छाड्ने ठूलो संख्याका यात्रुको चाप धान्ने गरी सबेरै बिहानदेखि विमानस्थलबाट उडान अनुमति दिइएको हो। मन्त्री पाण्डेले यस कदमलाई टिकटमा सहजता र भाडामा न्यूनताको वातावरण बनाउन चालिएको रुपमा ब्याख्या गरेका छन् ।

आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ । यान्चोक लघुउद्यम महिला सङ्घले गत साउन २५ गते रोपेको सयपत्री बिक्रीका लागि तयार भएको हो ।

सङ्घले ४० रोपनी क्षेत्रमा सयपत्री रोपेकामा पहिलो चरणमा दश रोपनी क्षेत्रफलको सयपत्री बिक्रीका लागि तयार भएको सङ्घका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिए।

उनले दिए, ‘४० हजार बिरुवा रोपिएको थियो, अहिले १० रोपनी क्षेत्रफलमा सयपत्री फूल बिक्रीका लागि तयारी अवस्थामा छ ।’
यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरेका छन् । महिला फूलखेतीमा आकर्षित रहेको बताउँदै उनले भने, ‘चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका छौँ, पालिकाबाट पनि हामीलाई सहयोग भएको छ ।’

घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उनको भनाइ छ । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले उत्पादित फूल बिक्रीका लागि पालिकाले सहयोग गर्ने बताए।

उनले भने, ‘विगतका वर्षमा पनि बजारीकरणका लागि पालिकाले सहयोग गरेको हो, अहिले पनि फूल बिक्रीका लागि पालिकाले सहयोग गर्नेछ ।’ विभिन्न सभा समारोह, कार्यक्रमका लागि फूल चाहिएमा गाउँपालिकाको कृषि शाखा वा महिला समूहमा सम्पर्क गर्न सकिने केसीले बताए ।
केसीले भने, ‘गत वर्ष पहिलोपटक यसै ठाउँमा सयपत्रीको फूल रोपिएको थियो, उत्पादन राम्रो भयो, यहाँको सयपत्री कतारसम्म पुगेको थियो ।’

माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्न पहल सुरु

सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ ।

गत शुक्रबार र शनिवार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पु¥याएको थियो ।

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको छ ।

कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरणहरू पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । डिस्याण्डरमा रहेका दुईवटा पोखरीमा लेदो, गेग्र्यान,ठूल्ठूला ढुङ्गा थुप्रिएका छन् । दुईवटा पोखरी प्रत्येकमा ७५–७५ हजार घनमिटर लेदो, ढुङ्गालगायत थुप्रिएको अनुमान गरिएको छ ।

कन्ट्रोल रुम भवन, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको हो । कन्ट्रोल रुपमा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी चार जनाको मृत्यु भएको थियो । खहरे खोलामा अझै माथिबाट लेदो आइरहेको र ढुङ्गासमेत खसिरहेको छ ।

जुम्लाबाट पाँच हजार आठ सय मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका कृषि प्रसारण अधिकृत शेरबहादुर भण्डारीले गत साउनदेखि यही असोज ८ गतेसम्ममा सडक तथा हवाई यातायातमार्फत स्थानीय स्याउ बाहिरी जिल्ला पठाइएको जानकारी दिए। जुम्लाका आठ वटै स्थानीय तहमा गरी करिब १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको उनले बताए।

जिल्लामा चार हजार दुई सय हेक्टरमा स्याउखेती भए पनि उत्पादन भने दुई हजार आठ सय हेक्टरमा मात्र हुने गरेका जानकारी दिँदै अधिकृत भण्डारीले आगामी कात्तिकको अन्तिम सातासम्म स्याउ उत्पादन र निर्यातको यकिन विवरण प्राप्त हुने बताए।

आठवटै स्थानीय तहका करिब १६ हजार परिवार स्याउ खेतीमा निर्भर रहेका जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए। बगैँचामा पुगेर व्यापारीले प्रतिकेजी रु ६५ का दरले स्याउ खरिद गर्दै आएका छन् ।

फरवार्ड लघुवित्तले १४ प्रतिशत बोनस दिने

फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोसन दिने भएको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीको १४ करोड ७७ लाख ७९ हजार रुपैयाँ बोनस बाँड्ने भएको हो ।
कम्पनीका सचिव कृष्णप्रसाद भट्टराईका अनुसार लघुवित्तले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको छ ।

कम्पनीले उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभाले पास गरेर शेयर धनीलाई वितरण गर्नेछ ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको मूल्य एक लाख ६० हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढेर १९३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

चाडपर्वलक्षित बजार अनुगमन सुरु

सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो ।

बजार अनुगमनको सुरुआत गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भने, ‘सरकारका तर्फबाट खरिद भएर ल्याएपछि विभिन्न कारणले छ–सात वर्षदेखि मोबाइल भ्यानहरू त्यत्तिकै थन्किएका रहेछन्, आजदेखि दसैँ, तिहारलाई लक्षित गरेर खाद्य गुण परीक्षणका लागि बजार अनुगमनमा निस्किएका छौँ ।’

मन्त्री अधिकारीका अनुसार मर्मत गर्न बाँकी रहेका दुईवटा मोबाइल भ्यान पनि यथाशीघ्र मर्मत गरेर पूर्वपश्चिमबाट सञ्चालनमा ल्याइने जानकारी दिए।

पछिल्लो समयमा खानपानका कारण अस्पतालमा बिरामी बढ्दै गएका सन्दर्भ उल्लेख गर्दै उनले उपभोक्ताले म्याद नाँघेका, असुरक्षित खाद्य वस्तु खान नपरोस् भनेर बजारमा रहेका खाद्य वस्तुको परीक्षण सुरु गरिएको बताए ।

पछिल्लो समय भएको बाढीपहिरो र डुबानले सबैभन्दा बढी कृषि क्षेत्रमा क्षति भएको बताउँदै मन्त्री अधिकारीले यसबाट करिब छ अर्बभन्दा बढी कृषि क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। उनले क्षति भएका किसानको राहतका लागि मन्त्रिपरिषद्मा छलफल भएको बताउँदै चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउन पहल गरिरहेको बताए।

नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक
सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार तीन सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले पर्यटक आगमन बढेको छ ।

अगष्ट महिनाको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन्भने चीनबाट आउने बढेका छन् । अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेका उनले बताए।

सेप्टेम्बारमा भारतबाट २२ हजार नौ सय ८४ र अगष्टमा २५ हजार आठ सय ३२ पर्यटक नेपाल आएका छन् । चीनबाट सेप्टेम्बारमा आठ हजार ४२ र अगष्टमा छ हजार छ सय १४ पर्यटक आएका निर्देशक लामिछानेले जानकारी दिए।

मनसुनका कारण भारतींकाबाट सेप्टेम्बरमा चार हजार नौ सय १५ र अगष्टमा चार हजार आठ सय ५१ पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार गत अगष्टमा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका थिए । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२, सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४, सन् २०२१ को सेप्टेम्बारमा नौ हजार नौ सय सात र सन् २०१९ मा ९२ जार छ सय चार पर्यटकले नेपाल भ्रमण गरेका बोर्डले जनाएको छ ।
मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : १४ बजे

बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप

धादिङ । साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत

काठमाडौंबाट २९ जुवाडे पक्राउ, साढे ११ लाख नगद बरामद

काठमाडौं – प्रहरीले अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा काठमाडौँको कागेश्वरी

एभरेष्ट महिला भलिबल काठमाडौंले गण्डकीलाई हरायो

काठमाडौं – जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्सले

ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा

वासिङ्टन – ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले

उद्योगमन्त्री भण्डारीसँग विश्व व्यापार संगठन सचिवालयका प्रतिनिधिको भेट

काठमाडौं – विश्व व्यापार संगठनमा आगामी वर्ष गरिने नेपालको तेस्रो