मुस्ताङ यात्राको थकान मेटाउने ‘भुरुङ्ग तातोपानी’  | Khabarhub Khabarhub

मुस्ताङ यात्राको थकान मेटाउने ‘भुरुङ्ग तातोपानी’ 


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे ।

‘मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि मेटियो’, उनले भने, ‘थकित शरीरमा तातोपानीमा नुहाएपछि स्फूर्ति आयो ।’ उनी जस्तै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने पर्यटकका लागि भुरुङ्ग तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’ बनेको छ ।

तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुन्छ भनिन्छ । मुस्ताङको चिसो हावापानीबाट आएकाहरू तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् ।

पर्यटकीय यामको सुरुवातसँगै कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।

चिसो बढ्न थालेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको पनि सङ्ख्यामा वृद्धी भएको कुण्डका सञ्चालक लट्टे गिरिले बताए ।

बेनी–जोमसोम सडकको छेउमा तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धाराहरु बनाइएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि स्वदेशीलाई ५० र विदेशीलाई १५० रुपैयाँ शुल्क तोकिएको छ ।

कुण्डमा प्रवेश शूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा ५६ लाख २५ हजार तीन सय ७७ रुपैयाँमा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा ५५ लाख नौ सय रुपैयाँमा ठेक्का लगाएको थियो ।

भुरुङ्ग–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारी अन्नपूर्ण गाउँपालिका–५ को भूगोलमा पनि अर्को तातोपानी कुण्ड पनि छ । सो तातोपानी कुण्ड सञ्चालनका लागि गाउँपालिकाले यस वर्ष २८ लाख ७६ हजार पाँच सय पाँचमा कालीगण्डकी रुफटप प्रालिसँग ठेक्का सम्झौता गरेको छ । भुरुङ्ग–तातोपानीदेखि पाउद्वार तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश सरकारमार्फत हालै झोलुङ्गे पुल निर्माण भएको छ ।

उनीहरुले सम्झौता गरेको रकम जम्मा गरेकाले १० प्रतिशत छुट पाएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । कुण्डबाट हुने आम्दानी गाउँपालिकाले तय गर्ने योजना तथा कार्यक्रमका साथै तातोपानी स्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको छ ।

कुण्डबाट हुने आम्दानीबाट कक्षा ११ र १२ सञ्चालन गरिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताए । हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ । कुण्डको सहयोगमा तातोपानी स्वास्थ्य चौकीमा एक जना प्राबिधिकको तलब व्यवस्थापन गरी प्रयोगशाला सञ्चालन भएको छ ।

कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिँदै आएको छ । पर्यटकको आवास सुविधाका लागि तातोपानी बजारमा करिब २० वटा सुविधा सम्पन्न होटल सञ्चालनमा छन् । होटलमा एक दिनमा पाँच सयभन्दा बढी बास बस्न सक्ने क्षमता छ ।

यसअघि कुण्डको कुनातर्फबाट खोलिएको बेनी–जोमसोम–कोरला सडक विस्तार गरेर ११ मिटर फराकिलो बनाउँदा कुण्डको मुहान र पोखरी पुरिने भएकाले नक्साङ्कन परिवर्तन गर्न स्थानीयबासी, जनप्रतिनिधि र सरोकारवालाहरुले माग गरेका थिए ।

तातोपानीको मुहान र पोखरीलाई असर नपर्ने तथा कालीगण्डकी नदीको कटान पनि नियन्त्रण हुने गरी कुण्डभन्दा तलपट्टीबाट सडकको नयाँ नक्साङ्कन गरिएको छ । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ८ : ०८ बजे

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

बेनी– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको

ट्रम्पको धम्कीपछि तेहरान छाड्ने बढे

काठमाडौं– जी ७ शिखर सम्मेलनमा भाग लिन क्यानडा जानुअघि अमेरिकी

बाजुराको छेडेदह ताल किनारमा खेल प्रशिक्षण

धनगढी– बाजुराको खप्तड छेडेदह गाउँपालिकाले छेडेदह अर्थात लभताल परिसरमा खेल

म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

बन्दीपुर– यहाँको म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण

ट्रम्प इरानमाथी हमला गर्ने कि नगर्ने दोधारमा : न्यूयोर्क टाइम्स

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रमा अमेरिकी बमको