दशैँलाई कोसेली मुस्ताङी स्याउ | Khabarhub Khabarhub

दशैँलाई कोसेली मुस्ताङी स्याउ


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनीका अर्जुन सुवेदीले दशैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने ।

‘छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दशैँमा कासेली लैजाने चलन छ’, उनले भने, ‘अन्य ठाउँमा उत्पादन हुने स्याउको तुलनामा मुस्ताङी स्याउ स्वादिष्ट र स्वस्थकर भएकाले ग्राहकको रोजाईमा परेको हो ।’

लामो समयसम्म भण्डारण गर्न सकिने र आयातित भन्दा सस्तो भएकाले म्याग्दीलगायत गण्डकी प्रदेशका जिल्लामा दसैँ तिहार जस्ता चाडपर्वमा मुस्ताङी स्याउको खपत धेरै हुने गर्छ ।

बेनीका फलपूmल पसलहरुमा बिहीबार दिनभर स्याउ किन्नेको चहलपहल थियो । बेनीका व्यापारी विद्यानन्द शाहले अन्य समयको तुलनामा स्याउको ब्यापार दश गुणा बढी भएको बताए ।

‘अघिपछि दैनिक १० किलोग्रामको अनुपातमा स्याउ बिक्री हुन्छ,’ उनले भने, ‘दशैँको याममा दैनिक दुई सय किलोग्राम स्याउ ल्याउँदा पनि पुग्दैन ।’ विजयादशमीको टीका र जमरा लगाएपछि स्याउ, केरा, कुराउनी, अम्बा जस्ता फलफुल प्रसाद दिने चलन छ ।

घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दशैँको टीका, जमरा र आर्शीवाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउनै बोकेर जाने गरेको बेनपा–२ की सुजता शर्माले बताइन् ।

कृषक र व्यापारीहरुका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ दशैँमा धेरै खपत हुने गर्छ । स्याउ ब्यापारी सिवाङ तामाङले दशैँका लागि २० ट्रक स्याउ मुस्ताङबाट पोखराको मण्डीमा पठाएको बताए । दशैँमा माग उच्च हुने भएकाले अघिनै टिपेर बजार पठाउने गर्छन् । चाडपर्वको समयमा स्याउले मूल्य पनि राम्रो पाउँछ ।

बेनीमा प्रतिकिलोग्राम दुई सय २० का दरले मुस्ताङी स्याउ बिक्री भएको छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत नेत्रप्रसाद भट्टले दशैँमा मुस्ताङमा उत्पादन भएको स्याउको ठूलो मात्रा खपत हुने बताए ।

चाडपर्वको अलावा मुस्ताङ घुम्न आउने पर्यटक र पाहुुनाहरुले कोसेलीको रुपमा स्याउ, स्याउको सुकुटी, स्याउको मदिरा, ओखर, जिम्बु, स्थानीय जातको सिमिको दाल किनेर लैजान्छन् । दशैँअघिको तीज र पछिको तिहार तथा छठ पर्वका लागि पनि मुस्ताङको स्याउ बजार पठाउने गरिएको मार्फाका कृषक लालप्रसाद हिराचनले बताए ।

मुस्ताङका बगैँचामा पाकेका स्याउ बास्नादार छन् । किसान र व्यापारीहरुलाई स्याउ टिपेर बजार पठाउने चटारो छ । यसपाली उच्च घनत्व जातको स्याउ भदौको १० र १५ गतेबाट टिप्न थालिएपनि स्थानीय जातको स्याउ असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो ।

अनुकुल मौसम, बगैँचा व्यवस्थापन, रोग, किराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढेको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढेको उनको भनाइ छ ।

मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ ।

३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिकटन स्याउ उत्पादन भएको र रु। ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरका व्यापारी बगैचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गरेका छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाउन प्रयोग हुन्छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ७ : २९ बजे

भरतपुर अस्पतालले बिमाबापतको एक अर्ब पाउन बाँकी

चितवन– भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत प्राप्त गर्नुपर्ने रकम एक अर्ब नाघेको

सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड

मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा

प्रधानमन्त्रीका कुरा तोडमोड गरिएको भन्दै स्वकीय सचिवालयको आपत्ति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवालयले काठमाडौं जिल्लाबाट प्रतिनिधित्व

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू)

काठमाडौं– शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएका छन्

कोशीमा विविध कार्यक्रम गर्दै तीन दिनसम्म संविधान दिवस मनाइने

मोरङ– कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३