सचिवालयलाई झुक्याएर मीनबहादुरको जग्गा प्राप्ति | Khabarhub Khabarhub

सचिवालयलाई झुक्याएर मीनबहादुरको जग्गा प्राप्ति

एमालेमा दोहोरी, सय रुपैयाँ ढुस, विश्लेषकले मागे ओलीको राजीनामा



काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभाबाट फर्केको केही घण्टा पनि नबित्दै गत असोज १४ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबीच भेट भयो । प्रधानमन्त्रीलाई भेट्न मीनबहादुर श्रीमतीसहित बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा गुरुङ दम्पतिले कीर्तिपुरस्थित आफ्नो १० रोपनी १४ आना जग्गा एमालेको मुख्यालयका लागि दान दिने अनि एक वर्षभित्र आफैँ भवनसमेत बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए । दशैंकै बेला भवन शिलान्यास गर्ने मोटामोटी सल्लाह भयो ।

यतिसम्म निर्णय हुँदा एमाले अध्यक्ष ओलीले पार्टीमा कुनै छलफल गरेका थिएनन् । तर, यस विषयमा ओलीको ‘कोर टिम’लाई भने जानकारी थियो ।

मीनबहादुर दम्पत्ति बालुवाटारबाट निस्केपछि प्रधानमन्त्री ओलीले फेसबुकमा एउटा तस्बिरसहित यस्तो स्टाटस लेखे–

‘विदेशबाट फर्केलगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो । उहाँहरुले बाढीपहिरो पीडितको राहतका लागि एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँको चेक दिनु भयो । उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ । मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद !!’

सचिवालय बैठकमा छलछाम

च्यासलमा रहेको एमाले पार्टी कार्यालयमा बाढी पसेका कारण असोज १५ को सचिवालय बैठक हनुमानथानस्थित बसेरा होटलमा बसेको थियो । फूलपातीको दिन अर्थात् असोज २४ गते ओलीले च्यासलमै अर्को सचिलावय बैठक राखे ।

फूलपातीको सो बैठकमा अध्यक्ष ओलीले प्रफुल्ल मुद्रामा पार्टीलाई एकजना शुभेच्छुकबाट करिब ११ रोपनी जग्गा प्राप्त हुन लागेको र भोलि त्यहीँ पार्टी कार्यालय भवनको शिलान्यास गर्ने प्रस्ताव सुनाए । तर, बैठकमा उनले जग्गादाताको नाम खुलाएनन् । जसले गर्दा जग्गा दिने व्यक्ति विवादास्पद व्यक्ति हुन् या होइनन् भन्ने सचिवालयका नेताहरुले पत्तो नै पाएनन् ।

भोलिपल्ट नै पार्टी कार्यालयको शिलान्यास हुने जानकारी पाएपछि त झनै एमाले सचिवालयका नेताहरू आश्चर्यमा परे । त्यसअघि गाइँगुइँसमेत नआएको र एकैचोटि पार्टी सचिवालय बैठकमा जग्गाप्राप्तिको कुरा सुनेपछि उनीहरू आफूहरु ‘सरप्राइज्ड’ भएको एक नेताले खबरहबलाई बताए ।

कस्तो व्यक्तिबाट जग्गा प्राप्त हुन लागेको भन्नेबारे ओलीले नखुलाएपछि बैठकमा उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र छविलाल विश्वकर्मा लगायत केही नेताले चासो राखे । तर, अध्यक्ष ओलीले उत्तर दिन चाहेनन् । उनले यस विषयमा भोलि नै जानकारी हुने भन्दै मीनबहादुरको नाम गोप्य राखेको नेताहरु बताउँछन् ।

एमालेका एक सचिवालय सदस्यका अनुसार ओलीले भोलि नै थाहा हुन्छ भनेपछि कतिपय नेताहरू चुप लागे । तर, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले भने अध्यक्षलाई प्रश्न दाेहाेर्‍याए । र, ओलीले कुरा अन्यत्रै मोडेर ठोस जवाफ दिन चाहेनन् ।

यसबारे सचिव पद्मा अर्याल, उपाध्यक्ष ज्ञवाली र शाक्य लगायतका नेताहरूले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल र अर्का उपमहासचिव प्रदीप ज्ञवालीसँग पनि जग्गादाताबारे बुझ्न खोजे । तर, जवाफ पाएनन् ।

उपमहासचिव ज्ञवाली आफैँ ‘सरप्राइज्ड’ जस्तै देखिएको र रिमालले पनि ठोस जवाफ दिन नसकेको नेताहरुको भनाइ छ ।

असोज २५ गते बडादशैँको अघिल्लो दिन एकाएक ललितानिवास प्रकरणमा मुछिएका व्यापारी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउनका लागि जग्गा दिएको खुल्यो ।

कीर्तिपुरस्थित ढुङ्गेअड्डामा भाटभटेनीका सञ्चालक गुरुङ र सावित्री गुरुङले दान गरेको जग्गा १० रोपनी १४ आनामा एमाले पार्टी कार्यालयको आधुनिक भवन बन्ने बताइएको छ ।

यो निर्णय सचिवालयको बैठकबाट गरिएको भनिए पनि मीनबहादुरबाट जग्गा प्राप्त गर्ने /नगर्ने भन्नेबारे सचिवालयमा खुलेर छलफल नै नभएको र यो अध्यक्ष ओलीको एकलौटी एवं छलछामपूर्ण निर्णय भएको असन्तुष्ट नेताहरुको भनाइ छ ।

पार्टीभित्रै विरोध

भाटभटेनीका सञ्चालक समेत रहेका विवादास्पद गुरुङले एमालेलाई दशैँको दिन बम्पर उपहार दिएको भन्दै चौतर्फी विरोध हुन थालेको छ । गुरुङले दान दिएको जग्गा लिन नहुने भन्दै एमालेकै केही नेताहरूले समेत असन्तुष्टि जनाइरहेका छन् ।

एमाले नेता बिन्दा पाण्डेले त सामाजिक सञ्जालमै लेखेर साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानको शीर झुकाउने काम भएको बताएकी छिन् । एमालेका २८ लाख मतदाताको अपमान गर्ने कदम भएको पाण्डेको भनाइ छ ।

व्यापार व्यवसाय गर्नेले पारदर्शीरूपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक कार्यमा सहयोग गर्नु कर्तव्य हो तर राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीलाई दिनु दुबै गलत भएको पाण्डेको तर्क छ ।

पाण्डेले यसबारे मुख खोले पनि अन्य नेताहरू भने चित्त नबुझ्दा नबझ्दै पनि नेतृत्वको डरका कारण बोल्न सकेका छैनन् । एमाले सचिवालयका एक नेताले भने, ‘अहिले पार्टी अध्यक्ष चौतर्फी घेराबन्दीमा भएका कारण हामीले बचाउमा बोल्नुपर्ने हुन्छ तर यो जग्गा नलिएको भए पनि हुन्थ्यो । लिनुपर्ने कुनै कारण नै थिएन । एमालेमा अरु पनि पैसा र जग्गा भएका व्यक्तिहरू भएकाले यस्ता कुरामा अध्यक्षले पनि गम्भीर भएर सोच्न आवश्यक थियो ।’

एमालेका अर्का एक युवा नेताले पनि पार्टी सरकारमै भएका बेला स्वार्थ बाझिने र नैतिकरूपमा प्रश्न उठ्ने व्यक्तिबाट जग्गा लिनु सान्दर्भिक नभएको बताए । उनले मीनबहादुरले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ का आधारमा जग्गा दिएको हुन सक्ने आशंका गर्ने गरे ।

यसरी असन्तुष्टि व्यक्त गर्ने नेतासँग तपाईँहरू किन यो विषयमा मुख खोल्नुहुन्न भन्ने खबरहबको प्रश्नमा उनीहरूले एकैस्वरमा भने, ‘पार्टीको आन्तरिक विषय भएकाले अहिले अध्यक्षलाई हामी अप्ठ्यारो पार्ने मोडमा छैनौँ । तर, हामी पार्टीमा यो विषय उठाउँछौँ । हामीले बाहिर बोल्दै हिँड्न मिल्दैन ।’

नेकपा एमालेका अध्यक्ष ओलीको स्वभाव आफूविरुद्ध बोल्नेलाई राजनीतिमा अगाडि बढ्न रोक्ने भएका कारणले पनि नेताहरूले सार्वजनिकरूपमै ओलीले गरेको निर्णयमा  असन्तुष्टि जनाएका छैनन्।

यसबारे प्रश्न गर्दा एमालेका अर्का स्थायी कमिटीका एक सदस्यले भने, ‘यसअघिका गुरुङका आचरण र विभिन्न कारणले गर्दा स्वार्थ नभएको भन्न सकिने अवस्था छैन । यसमा नागरिकले उठाएको प्रश्न पनि ठिकै छ ।’

एमालेकी पूर्वमन्त्री विमला पौड्याल राई व्यापारीले दिएको दान पार्टीले लिने कि नलिने भन्ने बारेमा सोच्न आवश्यक भएको बताउँछिन् ।

उनी भन्छिन्, ‘पार्टीले जग्गा लिएको विषय पार्टीका सिनियर नेताले जान्ने विषय भएकाले म त्यो तहमा जान चाहन्नँ । व्यापारीले जग्गा दान दिनु स्वाभाविक हो । तर पार्टीले जग्गा दान लिने कि नलिने भन्ने विषय सोच्नुपर्ने थियो ।’

राईले अगाडि भनिन्, ‘कहिलेकाहीँ यस्ता विषयमा विचार नपुर्‍याउँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ पनि जोडिन सक्छ । राजनीतिक दलले यस्तो विषयमा स्वार्थ पो छ कि भनेर ख्याल गर्नुपर्छ । ’

उनले यी सबै कुरालाई ध्यान दिएर नै पार्टीले यो निर्णय गरेको हुनसक्ने दाबी गरिन् ।

 

ओलीको बचाऊमा को–को ?

एमाले नेता एवं कञ्चनपुर- १ का सांसद तारा लामा तामाङले सामाजिक उत्तरदायित्व अन्तर्गत एमाले पार्टीले दानवीरबाट जग्गा प्राप्त गरेको हुनाले यस विषयमा आलोचना आवश्यक नभएको बताए ।

‘दान दिने मान्छेले नेपाली परम्पराअनुसार कुनै आश गर्दैनन् । गुरुङले पहिलो पटक दान दिएको पनि हैन । टिचिङमा उहाँकै बुबाआमाका नाममा खोलिएको अस्पताल छ । भगवान् कोइरालाले वाल अस्पताल बनाउने अभियानमा पनि उहाँले दान गर्नुभएको छ’, लामाले भने, ‘सरकारमा भएको पार्टी हुनाले आलोचना भयो होला तर एमालेले कुनै पनि व्यपारीलाई व्यक्तिगत सहयोग गर्दैन ।’

एमाले प्रमुख सचेतक महेश बर्तौला एमालेजस्तो ठूलो पार्टीले कुनै व्यापारी, व्यवसायीसँग अनैतिक सम्बन्ध स्थापना नगर्ने भन्दै सार्वजनिकरूपमै दान पाएको जग्गालाई आलोचना गर्नु उचित नभएको दाबी गर्छन् ।

उनी मीनबहादुर गुरुङले कुनै स्वार्थ नराखेको र एमालेजस्तो पार्टीले पनि गुरुङलाई स्थार्थ राख्न नदिने तर्क गर्छन् । मनपरेको पार्टी र संस्थालाई व्यक्तिले दान दिने कुरा नेपाल र विकसित देशको चलनचल्ती रहेको उनको तर्क छ ।

तर, गुरुङलाई विभिन्न आरोप र मुद्दासमेत लागेको छ नि ?  खबरहबको प्रश्नमा बर्तौला भन्छन्, ‘त्यो आरोप त सम्बन्धित निकायले छानबिन गर्ने हो, एमाले पार्टीसँग जोडेर त्यसलाई ठूलो बनाउनुहुँदैन ।’

उनले थपे, ‘एमालेले कुनै व्यापारीसँग जग्गा पायो भनेर सम्झौता गर्दैन । जग्गा दान पाउनु र पाएको जग्गामा पार्टीले आफ्नो भवन बनाउँछु भन्नु कुनै नौलो कुरा होइन । अन्य देश र पार्टीमा पनि यो अभ्यास छ ।’

केपी ओली निकट मानिने एमालेका अर्का नेता राजेन्द्र गौतमले ओलीको कदमको समर्थन गर्दै फेसबुकमा यस्तो स्टाटस लेखेका छन्–

‘नेकपा (एमाले)को केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टीभित्र र बाहिर अनेकखालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी, पार्टी नेतृत्वका विरुद्ध बिषवमन गर्ने काम भइरहेको छ ।

तथ्य के हो भने एकजना दानवीर मीनवहादुर गुरुङ र सावित्री गुरुङले बाढी, लेदोले क्षतविक्षत भएको नेकपा (एमाले) को केन्द्रीय कार्यालयको दुरावस्था देखी नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको हो । यसमा कुनै किसिमको लेनादेना छैन । स्वेच्छाले जग्गा दान गर्नुभयो, एमालेले ग्रहण  गर्‍याे  ।

तथ्य नबुझी बदनाम नगरौँ। पार्टी केन्द्रीय सचिवालयको निर्णयका आधारमा जग्गा लिने, भवन निर्माण गर्ने गरी भवनको शिलान्यास गरिएको हो । यसमा पार्टी सदस्य र मतदाताहरुको अपमान हुने पार्टीले त्यस्तो के काम गर्‍याे  ?

सस्तो लोकप्रियताका लागि, मिडिया कन्जम्सन, पब्लिक कन्जम्सनका लागि फगत पेपर वार नगरौँ। सोसल मिडियाको दुरुपयोग नगरौँ ।

कार्यालय बनाउन संगठित सदस्यबाट १०० संकलन

जग्गाबारे एमालेभित्रै समर्थन र विरोधमा दोहोरी चलिरहेका बेला एमालेले आफ्ना संगठित करिब साढे पाँच लाख सदस्यबाट एक सय रुपैयाँका दरले पार्टी कार्यालयको भवन बनाउन रकम उठाइरहेको छ ।

न्यूनतम एक सय रुपैयाँ उठाउने भनिए पनि इच्छाएका व्यक्तिले बढी रकम चन्दा दिइरहेका छन् । पार्टी कार्यालय भवन बनाउन सय रुपैयाँ उठाउने सचिवालय बैठकबाट यसअघि नै निर्णय भएर प्रकृयामा समेत गइसकेको छ ।

यसबारे ताप्लेजुङका एमाले नेता रणवीर थेबे भन्छन्, ‘हाम्रो पाथीभरा याङवरक गाउँपालिकामा पनि एमालेको संगठित सदस्यले न्यूनतम  एक सय रुपैयाँ अनिवार्य र सक्नेले थप सहयोग गर्नु भनेर सर्कुलर जारी भइसकेको छ ।’

यता पार्टी कार्यालयका सचिव भीष्म अधिकारी पनि पार्टी कार्यालयको भवन बनाउन संगठित सदस्यबाट एक सय रुपैयाँ लिने कुरा साँचो भएको बताए ।

च्यासलमा डुबान, बल्खुमा ९ रोपनी अलपत्र

यसअघि ०७२ को भूकम्पअघि सम्म बल्खुस्थित ९ रोपनी जग्गामा एमालेको आफ्नै पार्टी कार्यालय भवन थियो । त्यहाँको भवन भूकम्पबाट क्षतिग्रस्त बनेपछि थापाथलीमा एक व्यापारीको घरमा पार्टी कार्यालय सारियो । त्यहाँबाट ०७९ सालमा एमाले पार्टी कार्यालय ललितपुरको च्यासल स्थित तुलसी स्मृति प्रतिष्ठान भवनमा वर्षको ४८ लाख रुपैयाँ भाडा तिर्ने गरी पाँच वर्ष बस्ने शर्तमा सरेको हो ।

तर, बाढी पसेपछि प्रतिष्ठानको सो भवनमा पाँच वर्षसम्म बस्न नसकिने भएपछि एमालेलाई नयाँ कार्यालयमा सर्नुपर्ने हतारो आइलागेको छ ।
च्यासलमा वर्षायामको समयमा बाढी पस्ने भएकाले एमालेले बर्सेनि नोक्सानी बेहोरिरहनु परेको छ । तल्लो तलामा रहेको पुस्तकालय पूर्णरुपमा भिजिसकेको छ भने लेखा प्रणालीका कागजात पनि नष्ट भएका छन् ।

विश्लेषक भन्छन्– ओलीले राजीनामा दिनुपर्छ

अदालतमा विचाराधीन रहेको मुद्दाका विवादित व्यक्तिले सत्तामा रहेको दललाई र प्रधानमन्त्री स्वयं संलग्न रहेर जग्गा दान दिनु अपराधकर्म भएको राजनीतिक विशलेषक हरि रोकाको प्रतिक्रिया छ ।

देशको प्रधानमन्त्रीले नै यस्ता विवादित व्यक्तिलाई साथ दिएको भन्दै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने उनी तर्क गर्छन् ।

उनी भन्छन्, ‘दान गर्ने मान्छे चोखोनितो र राष्ट्रिय पुँजीपति भएको भए, उनले इमानदारीपूर्वक कमाएको भए दान दिएको विषयमा कुनै समस्या हुने थिएन । तर, उहाँ (मीनबहादुर) आरोपित व्यक्ति हो । ललितानिवासको जग्गा हिनामिना गरेको र ठगीमा प्रमुख भूमिका खेलेको कर्ता हो ।’

रोकाले अगाडि भने, ‘कसुर गरेकोमा अदालतबाट धरौटीमा मात्र गुरुङ छुट्नु भएको हो । दानवीर गुरुङ इमानदार व्यक्ति हैन । यस्तो मान्छेबाट जग्गा सत्तारुढ पार्टी र देशको प्रधानमन्त्रीले प्राप्त गर्नु खतरनाक कुरा हो । यसले ओलीजी प्रधानमन्त्री हुन योग्य हुनुहुन्न भन्ने कुराको पुष्टि गर्छ । अपराधी बचाउने उहाँले राजीनामा दिनुपर्छ ।’

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ९ : ०४ बजे

इजरायली आक्रमण असम्भव – इरान

एजेन्सी – इरानको आणविक ऊर्जा एजेन्सीले बुधबार परमाणु सुविधाहरूमा इजरायलको

पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

एजेन्सी – पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प

राष्ट्रपति पौडेल बडीमालिका तीर्थयात्रामा

सुर्खेत – बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका

वीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

काभ्रेपलाञ्चोक – सडक डिभिजन कार्यालय भक्तपुरले वीपी राजमार्गमा राति सवारीसाधन

हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हिन्दु