ज्ञानेन्द्र र प्रचण्ड : हुन नसकेको त्यो भेट ! | Khabarhub Khabarhub

ज्ञानेन्द्र र प्रचण्ड : हुन नसकेको त्यो भेट !

जनयुद्धकालदेखि नै लखेट्न छाडेन प्रचण्डलाई ज्ञानेन्द्रको नामले


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 8 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं– नेकपा माओवादी केन्द्रले शनिबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको खबरदारी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रका सन्दर्भमा माइकबाट केही कुराहरु बोले । दाहालका अनुसार बजारमा ‘ज्ञानेन्द्र–प्रचण्ड भेट’ बारे ‘र्‍युमर’ फैलिएको रहेछ, जसलाई लिएर प्रचण्ड आक्रोशित देखिए ।

सभामा प्रचण्डले भने, ‘आजभोलि एउटा समाचार सुन्छु म । र, मलाई अनौठो लाग्छ । अस्ति मैले केही दिन अगाडि एउटा संविधान संशोधनसम्बन्धी कार्यक्रममा रवीन्द्र मिश्रसँग भेट भयो । म एकचोटि तपाईलाई भेट्न चाहन्छु भने । अब भेट्नै नहुने त कुरा होइन । हिजोको पत्रकार । अहिलेको… (राप्रपा नेता), मैले के भेटेको थिएँ ।’

प्रचण्डले अगाडि थपे, ‘मैले ज्ञानेन्द्र शाहलाई भेट्यो काठमाडौंमा भन्ने स्यालहुइँया छ ! एकथरीले भन्छन् म झापा गएका बेलामा झापामा भेटें अरे मैले ज्ञानेन्द्र शाह पूर्वराजालाई । एकथरि यहीँ भेटे भनेर आए । हिजो त एउटा बरिष्ठ पत्रकार बिचरा… उहाँको दिमाग कसले चाटिदिएछ, ज्ञानेन्द्र शाहलाई भेटे प्रचण्डले भनेर उहाँले पनि लेख्दिनुभयो ।’

ज्ञानेन्द्र शाहलाई नभेटेको भन्दै प्रचण्डले सभाबाटै खण्डन गरे, ‘म आज यो खरबरदारीसभाबाट यस्ता भ्रामक, झूठा, बेइमानीपूर्ण प्रचार गर्नेहरुप्रति खेद प्रकट गर्न चाहन्छु र भत्सर्ना गर्न चाहन्छु । मैले भेटेको छैन । मैले झापामा पनि भेटेको पनि छैन । बरु म एयरपोर्टमा हुँदा प्रचण्ड त्यहाँ पूर्वराजा बीच बाटोबाटै फर्केको सुनेको थिएँ मैले । त्यस्तो पो हो त सक्कली कुरा ।’

पूर्व प्रधानमन्त्री प्रचण्डले पूर्वराजालाई भेट्ने जरुरी नै नभएको प्रष्ट्याउँदै थपे, ‘अनि यहाँ म अहिले भेट्छु त ? जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति फेरि एउटा क्रान्ति गर्छु भनेर अगाडि बढेको छ, उसलाई बदनाम गर्नका लागि ज्ञानेन्द्र भेट्यो ! यो सबै झूठ हो ।’

भाषणमा उनले भने, ‘शान्ति सम्झौता हुँदै संविधानसभाबाट नेपाली जनतालाई सार्वभौम बनाउने कुराको नेतृत्व गर्‍यो, जनताको लोकतन्त्र स्थापनाको निम्ति यति ठूलो बलिदान र संघर्ष गर्‍यो, त्यो पार्टी लोकतन्त्रविरोधी हुन सक्छ ?’
प्रचण्डले शनिबारको भाषणमा ‘एउटा बरिष्ठ पत्रकार बिचरा’ भनेर पत्रकार किशोर नेपालतर्फ संकेत संकेत गरेका हुन् ।

पत्रकार नेपालले सामाजिक सञ्जाल ट्विटरमा लेखेका थिए,‘जनयुद्धका चीफ कमाण्डर तथा संघीय गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्डले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दर्शन भेट’ गर्नुभएको खबर धेरैका लागि अविश्वसनीय लाग्न सक्दछ । तर, सत्य कहिलेकाहीँ असत्यको आवरणमा रहन पनि सक्दछ ।’

प्रदर्शनीमार्गको सभाबाट प्रचण्डले ज्ञानेन्द्रसँग भेटेको कुरा झूठ रहेको भन्दै खेद र भत्सर्ना गरे पनि बरिष्ठ पत्रकार नेपालले शनिबार नै फेरि आफ्नो दाबी दोहोर्‍याउँदै अर्को ट्विट गरेका छन्, ‘आज आयोजित सभामा ‘आदरणीय जन समुदाय’लाई जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डले चर्को स्वरमा सुनाउनु भएछ– मैले पूर्वराजालाई भेटेको छैन ।…नभेटेको भए त यसरी चिच्याई चिच्याई जनतालाई जानकारी दिनुपर्ने आबश्यकता नै थिएन । सम्भवतः यो प्रचण्डजीको रणनीतिक वक्तब्य हो !’

प्रचण्डबारे त्यो भ्रम !

माओवादीले ०५२ फागुन २ देखि जनयुद्ध शुरु गर्‍यो । खुल्ला मोर्चामा रहेर काठमाडौंमा देखिइरहने डा. बाबुराम भट्टराई, पम्फा भुसालहरु भूमिगत भए । प्रचण्ड भने त्यसबेलासम्म भूमिगतै भएकाले उनको फोटो कतै सार्वजनिक थिएन । मानिसहरुले माओवादी नेताका रुपमा प्रचण्डलाई खासै चिन्दैनथे, डा. बाबुरामचाहिँ लोकप्रिय थिए ।

समय क्रममा माओवादीका शीर्षनेताका रुपमा मानिसहरुले बाबुरामलाई चिन्न थाले । मिडियामा पनि बाबुरामकै फोटो छाउँथ्यो । यसले गर्दा प्रचण्डले आफू छायामा परेको महसुस गर्न थाले । उता पार्टीभित्र ०५४ सालतिर पुग्दा प्रचण्डलाई ‘प्राधिकार’ मान्ने र ‘प्रचण्डपथ’ लाइन पारित भयो ।

यता पार्टी बाहिरचाहिँ यस्तो ‘र्‍युमर’हरु फैलिए– यो प्रचण्ड भन्ने मान्छे नै छैन, यो फेक हो । अझ प्रचण्ड भनेको नै तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र हुन् । यो माओवादी भन्ने पार्टी भूमिगत गिरोह (ज्ञानेन्द्र) ले संसदीय व्यवस्था मास्नका लागि चलाएको हो, आदि–आदि ।

जनयुद्धकालमा पहिलोपटक सार्वजनिक भएको प्रचण्डको तस्बिर

बजारमा फैलिएको भ्रमलाई चिर्न, बाबुरामको लोकप्रियतालाई ‘क्रस’ गर्न अनि प्रचण्डपथलाई स्थापित गर्न माओवादीले प्रचण्डको एउटा जुँगामुठे श्यामश्वेत तस्बिर सार्वजनिक गर्‍यो । त्यसपछि मिडियामा र पार्टीका ब्यानरहरुमा प्रचण्डको सोही तस्बिर टाँगिन थाल्यो ।

समय क्रममा माओवादीले प्रचण्डको दाह्रीवाल अनि जुल्फी फर्काएका तस्बिरहरु सार्जजनिक गर्न थाल्यो र ०६२ ÷०६३ मा कान्तिपुरले लिएको अन्तरवार्तामा उनको तस्बिर छापियो । ०६३ असारमा शान्ति प्रक्रियामा आएपछि हेलिकोप्टरबाट काठमाडौं आएर प्रचण्ड बल्ल सार्वजनिक भए ।

त्यसो त जनयुद्धकालमा प्रचण्ड व्यक्तिलाई लिएर मात्र होइन, माओवादी आन्दोलनमाथि समेत राजावादीप्रति नरम भएको आरोप थियो । माओवादीले गाउँमा राजावादीलाई भन्दा बढी कांग्रेस र एमालेमाथि निशाना बनाएको, राजावादी र माओवादीवीच अघोषित सहकार्य रहेको र गिरीजाले रोल्पाको होलेरीमा सेना परिचालन गर्न खोज्दा राजा वीरेन्द्रले नदिएको जस्ता चर्चाहरु त्यसबेला चल्ने गरेका थिए ।

पछि दरबार हत्याकाण्ड लगत्तै डा. बाबुराम भट्टराईले कान्तिपुरमा ‘नयाँ कोतपर्व’ शीर्षकमा लेख लेखेपछि बल्ल माओवादीको निशाना दरबारतर्फ सोझिएको थियो । अन्यथा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले समेत राजावादीहरुलाई ‘राष्ट्रवादी’को कित्तामा राखेर नरमपन्थी नीति लिएको थियो ।

‘प्रचण्डपथ’बाट झण्डै ‘रायमाझीपथ’ मा छलाङ

 

जनयुद्धकालमा खासगरी ०५८ सालतिर आइसकेपछि भूमिगत माओवादी पार्टीमा दरबारलाई हेर्नेबारे दुई लाइन संघर्ष चर्कियो । एउटा लाइन, राजा र शाही नेपाली सेनासँग मिलेर भारतविरुद्ध सुरुङयुद्ध गर्नुपर्छ भन्नेतिर लाग्यो । अर्को समूहचाहिँ संसदवादी पार्टीहरुसँग मिलेर राजा फाल्नुपर्छ र गणतन्त्र ल्याउनुपर्छ भन्ने लाइनमा उभियो । राजासँग मिल्न सकिने लाइनमा प्रचण्ड थिए । दलहरुसँग मिल्नुपर्छ र राजाविरुद्ध संघर्ष गर्नुपर्छ भन्ने लाइनमा बाबुराम भट्टराई थिए ।

‘प्रचण्ड त त्यसबेला ज्ञानेन्द्रसँग मिलौं भन्ने पक्षको मान्छे हो । अहिले माओवादीको केन्द्रीय कार्यालयमा रहेका डोरप्रसाद उपाध्याय (निर्मलकुमार) त्यसका साक्षी छन्’ माओवादीका एकजना पुराना नेता भन्छन्, ‘०५९ सालको मंसिर–पुसतिर एक दिन प्रचण्डले बाबुराम भट्टराईलाई एकदमै उत्साही भएर भने– ल अब निकासको ढोका खुल्ने भयो ।’

बाबुरामले सोधे, ‘कसरी कामरेड ?’

‘अब राजा(ज्ञानेन्द्र)ले हामीलाई सत्ता दिने भए । हामीले राजा मान्दिने, सत्ता उनले हामीलाई दिने र हाम्रो सेना समायोजन हुने । यो भएपछि अब मिलेन त ?’ प्रचण्डले बाबुरामलाई भने ।

बाबुरामलाई लाग्यो, यसरी राजा मानेर जाने भनेको त रायमाझीपथकै अर्को रुप हो । तथापि उनले प्रचण्डको तत्कालै प्रतिवाद गरेनन्, छलफल गर्नुपर्ने बताए । र, भट्टराईले निर्मलकुमारलाई सुनाउँदै भने, ‘आज अध्यक्ष प्रचण्डले यस्तो भन्नुभयो, हामी जनयुद्धमा कुनै पनि बेला मर्न सक्छौं, तपाईले यो कुरामा साक्षी बस्नुहोला है ।’

यसरी प्रचण्डले राजालाई मान्ने र संसदवादीले लिइरहेको सत्ता माओवादीले लिने गरी ०५९ मा राजा ज्ञानेन्द्रसँग सम्झौताको तयारी गरेको र दरबारसँग भित्री वार्ताहरुसमेत अघि बढाएको माओवादी नेताहरु नै बताने गरेका छन् ।

त्यसैबेला राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको जननिर्वाचित सरकारलाई अपदस्त गरेर शासन आफ्नै हातमा लिए । उता माओवादी र राजावादीवीच बाठमाडौंमा गोप्य छलफल पनि चलि नै रह्यो । ०६१ सालमा प्रचण्डले फेरि तत्कालीन शक्ति सन्तुलनलाई ख्याल गर्दै अब राजासँग मिल्नुपर्छ भन्ने नीति अगाडि सारे । बाबुरामले चाहिँ राजासँग होइन, आन्दोलनरत कांग्रेस–एमाले लगायतका सात दलसँग मिल्नुपर्छ भन्नेमा जोड दिए ।

माओवादीका कतिपय नेताको दाबीअनुसार ०६१ सालमा काठमाडौंमा रहेका प्रचण्डनिकट केही भूमिगत माओवादी नेताहरुले रुक्माङगद कटवालमार्फत दरबारसँग थप कुराकानी अघि बढाए । त्यसपछि उनीहरुले राजा ढोरपाटनमा हेलीकोप्टर चढेर जाने अनि प्रचण्डसँग त्यहीँ वार्ता गर्ने योजना अघि बढाए । त्यसमा राजावादीहरुको शर्त यो पनि थियो, राजासँग मिल्नुहुँदैन भन्ने डा. बाबुराम भट्टराईलाई पार्टीबाट हटाइयोस् । त्यहीबेला प्रचण्डले बाबुराम भट्टराईलाई कारवाही गर्नुका साथै जनसेनाको नियन्त्रणमा राखे ।

ज्ञानेन्द्रले ०६१ माघ १९ गते कांग्रेस–एमालेका नेतालाई नजरबन्दमा राख्दै ‘कु’ को घोषणा गरे । त्यस दिन बिहानसम्म पनि माओवादी अध्यक्ष प्रचण्ड भने ज्ञानेन्द्रले आफूलाई वार्तामा बोलाउने र ढोरपाटनमा भेट हुने विश्वासमा थिए । त्यस क्रममा नेपालमै रहेका प्रचण्डले पार्टीको जारी बैठकसमेत रोकेर माघ १९ को ज्ञानेन्द्रको सम्वोधन टेलिभिजनमा चासोपूर्वक सुनेका थिए । तर, ज्ञानेन्द्रले प्रचण्डको विश्वासमाथि चिसोपानी खन्याइदिए ।

माओवादीलाई आतंककारी करार गर्दै उनीहरुमाथिको कारवाही तीव्र पारिने ज्ञानेन्द्रको सम्वोधन सुनिसकेपछि प्रचण्ड खंग्रङ्ग भए । ज्ञानेन्द्रले कांग्रेस–एमाले लगायत सातदलका नेतालाई भन्दा कडा व्यवहार माओवादीमाथि गर्ने स्पष्ट संकेत आफ्नो सम्वोधनमार्फत दिए ।

राजा ज्ञानेन्द्रबाट आश मरेपछि प्रचण्डले बाबुराममाथिको कारवाही फुकुवा गरे र उनलाई लिएर दिल्लीतर्फ गए । त्यहाँ कांग्रेसका गिरिजाप्रसाद कोइराला, एमालेका केपी ओली लगायतका नेताहरुसँग छलफल भयो । लगत्तै सात दल र माओवादीवीच बाह्रबुँदे समझदारी भयो र राजनीतिक कोर्ष गणतन्त्रतिर मोडियो । दरबारको अदुरदर्शिताका कारण प्रचण्ड ‘नयाँ रायमाझी’ बन्नबाट बचे ।

रवीन्द्र मिश्रसँगको भेट

गत असोज ८ गते राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले खुमलटास्थित निवासमै पुगेर माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरे । भेटपछि मिश्रले सामाजिक सञ्जालमा लेखेको विषयले राजनीति तरंगित भयो । शनिबार प्रदर्शनीमार्गबाट प्रचण्डले सोही भेटको प्रशंग कोट्याएका हुन् ।

प्रचण्डसँगको भेटपछि मिश्रले ७ बुँदामा यसो भनेका थिए–

प्रचण्डसँग मनका कुरा !

हिजो कार्यक्रम (मल्ल होटल) मा भेट भयो । आज वर्षौँपछि प्रचण्डनिवासमा भेट भयो ।

‘अब देश यस्तो विन्दुमा पुग्यो कि राजसंस्थालाई पुनस्र्थापित नगर्ने हो भने यो देश ‘बिस्फोटनको अवस्था’तिर उन्मुख हुँदैछ । र, त्यतिबेला तपाईँहरूको ‘अग्रगमन’, नाम र शालिक केही बाँकी रहने छैन ।’ लामो व्याख्यासहित सारमा मैले यही भनेँ । त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्यो :

१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोलि प्रशिक्षणमा यही भनिरहेकोछु ।

२. पछिल्लोपटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गज्जबका ‘भिजनरी’ राजा रहेछन् ।

३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो ।

५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो ।

६. अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन । देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो । तर, अब यसरीचाहिँ हुँदैन ।

७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर, राति सुत्ने बेलामा सोच्नचाहिँ पर्ने अवस्था छ । ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।

कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए । सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए । तर, गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा÷बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधिपात्र थिए । उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ÷बित्नेछ भन्नेमा सम्भवतः उनीहरू अनभिज्ञ थिए ।
मचाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु ।

मिश्रले सामाजिक सञ्जालमा यस्तो लेखेपछि प्रचण्डको सचिवालयबाट भोलिपल्ट यस्तो खण्डन आयो–

हिजो बिहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पोस्ट्याउनु भएको छ । साथै पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नु भएको छ ।

जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान वलिदानीपुर्ण आन्दोलनको नेतृत्व गर्नु भयो, शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तब्यमा लैजाने अभियानको नेतृत्व गरिरहनुभएको छ, उहाँका विचार भनेर मिश्रजीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनैतिक स्वार्थ अनुकुल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।

पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र मिश्रजी ? तसर्थ यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि ? – सचिवालय

प्रचण्डको सचिलायको खण्डनमाथि रवीन्द्र मिश्रकको अर्को प्रतिक्रिया आयो । मिश्रले लेखे–

हिजो प्रचण्डजी र मबीच भएको भेटघाटपछि मैले गरेको टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको रहेछ । त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु मेरो पनि दायित्व सम्झिएको छु । उहाँको सचिवालयप्रति भद्रतापूर्वक विमति राखेकोमा आभारी छु ।

मेरो थप सानोमात्र टिप्पणी छ  :
ठूला नेताहरूसँग भेट्दा ‘यो कुराचाहिँ बाहिर नगरौँ÷हामी बीचमा रहोस्’ भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिनँ । र, हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु ।

संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन् । काँग्रेस/एमालेलगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन् । ती सबै ‘प्रचण्ड पथगामी’ हुन्।

‘नेपालको संविधान २०७२’ वास्तवमा ‘प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभामार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु ।
त्यसैले ठूला पार्टीहरूलाई आ–आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु ।

प्रश्नले छाडेन प्रचण्डलाई

के माओवादी अध्यक्ष प्रचण्ड पूर्वराजाप्रति नरम नै देखिएका हुन् त ? सार्वजनिक अभिव्यक्तिहरुमा प्रचण्डले यसलाई ठाडै अस्वीकार गर्दै आएका छन् । गणतन्त्रका लागि लडेको नेताले त्यस्तो सोच्नु सम्भव नै नभएको र यो आफूलाई बदनाम गर्ने खेल भएको भन्दै प्रचण्डले त्यसको भत्सर्ना गरेका छन् ।

तर, प्रचण्डलाई नजिकबाट चिन्ने उनका कतिपय पूर्वसहकर्मीहरु भने प्रचण्डलाई ‘भर नभएका नेता’ बताउँछन् । ती नेता भन्छन्,‘पहिले नै दस्ताबेजमा प्रतिक्रियावादी भनिएको एमालेसँग प्रचण्डले कसरी रातारात पार्टी एकता गरे ? ओलीसँग प्रचण्डले पार्टी एकता गर्लान् भनेर कसैले सोचेको थियो ? भोलि कांग्रेस एमालेबाट किनारामा परेको महसुस गरे भने प्रचण्ड पूर्वराजा वा विदेशी शक्ति जोसँग पनि मिलिदिन सक्छन् ।’

 

दशैंको पूर्वसन्ध्यामा हिमालय होटलमा आयोजित सम्पादकसँगको छलफलमा प्रचण्डले भनेका थिए, ‘मलाई कहीँ कतै फेरि राजतन्त्र फर्कन्छ भन्ने लाग्दैन । कतैबाट त्यो सम्भव छैन । एउटा त इतिहासको विकासको दृष्टिकोणले हामी राजतन्त्रबाट गणतन्त्रमा गइ नै सकेका छौं । गणतन्त्रमा गइसकेका जनता सजिलै फेरि राजतन्त्रतिर फर्किने भन्ने विश्व इतिहासमा अपवाद त होलान् तर नेपालमा त्यस्तो हुँदैनन् । अर्कोचाहिँ वर्तमान राजा र उनको परिवारको कारणले पनि त्यो सम्भव छैन ।’

यो पनि-

‘बयलगाडाका सिद्धान्तकार’को एजेण्डा संविधान खारेजी : प्रचण्ड

शनिबार खबरदारी सभामा पनि प्रचण्डले स्पष्ट पारे, ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति फेरि एउटा क्रान्ति गर्छु भनेर अगाडि बढेको छ, उसलाई बदनाम गर्नका लागि ज्ञानेन्द्र भेट्यो ! यो सबै झूठ हो । जसले शान्ति सम्झौता हुँदै संविधानसभाबाट नेपाली जनतालाई सार्वभौम बनाउने कुराको नेतृत्व गर्‍यो, जनताको लोकतन्त्र स्थापनाको निम्ति यति ठूलो बलिदान र संघर्ष गर्‍यो, त्यो पार्टी लोकतन्त्रविरोधी हुन सक्छ ?’

जे होस्, यसलाई एउटा वियोगान्त संयोग नै मान्नुपर्छ, भूमिगत कालमा पनि प्रचण्डलाई ज्ञानेन्द्रको प्रतिरुपका रुपमा प्रचार गरियो, अहिले पनि ज्ञानेन्द्रसँग जोडेर प्रचार हुन छाडेन । उनीहरुवीच सशरीर भेट भयो या भएन, त्यो उनैले जानुन्, तर एकैठाउँ जोडेर प्रचार हुने क्रम अझैसम्म जारी छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ७ : ४० बजे

पाकिस्तानमा साम्प्रदायिक हिंसा : ३२ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा ३२ जनाको

कैलालीबाट तीन किलो चरेशसहित दुई युवक पक्राउ

धनगढी – कैलाली प्रहरीले  तीन किलो चरेशसहित दुई युवकलाई पक्राउ

गौतमबुद्ध विमानस्थल सञ्चालनमा सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे

लुम्बिनी – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले

विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

कञ्चनपुर – विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट

सुन्तला खेतीबाट दश लाख आम्दानी

म्याग्दी-  १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने