‘हुन त तपाईहरु कयौंलाई लाग्यो होला, तपाईहरुले लेखेको पनि हेरेको छु– सिद्धियो माओवादी अब ! प्रचण्ड भन्ने मान्छे अब नेपालको इतिहासबाट सिद्धियो भनेर लेखेको पनि पढेको छु ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही साताअघि ललितपुरको हिमालय होटलमा आयोजित एक कार्यक्रममा माओवादी पार्टी पुनर्जाग्रित हुने ठोकुवा गरे ।
‘मैले यताको ( सरकारबाट बाहिरिएको) तीन महिनामा हेर्दा म त अहिले अलि खुशी पनि छु । उत्साहित पनि छु । जनतामा गएको छु । जनतामा एकचोटि फेरि लिडरशीपप्रति, पार्टीप्रति र पार्टीभित्र पनि लिडरशीपप्रति अपार विश्वास देखेको छु’ प्रचण्डले भने, ‘देश, जनता र लोकतन्त्रप्रति मेरो जिम्मेवारी बढेको ठानेको छु । मेरो जिम्मेवारी फेरि एकचोटि ठूलै ठाउँमा पुग्यो भन्ने महसुस गरेको छु ।’
उनले थपे, ‘तपाईहरुलाई यो अनौठो लाग्ला । होइन होला भन्ने पनि लाग्ला । तर, हो यही । मैले महसुस यही गरेको छु र म अझ बढी सक्रिय छु, तपाईहरुले देखिराख्नुभएकै छ । मैले अझ बढी भूमिका खेल्नु छ यो देशमा भन्ने नै लाग्छ ।’
कांग्रेस–एमालेले दिएको बुद्धि !
वीपी कोइरालाले आत्मवृतान्तमा लेखेका छन्– राजाहरु आफैं नैतिकवान् र जनउत्तरदायी हुँदैनन् । उनीहरुलाई जनदबावले मात्रै नैतिकवान् बनाइराख्न सक्छ ।
माहात्मा गान्धी पनि भन्ने गर्थे, मानिस शान्त र इमान्दार दुई तरिकाबाट हुन्छ : एउटा कानून, समाज वा लोकको डरले । र, अर्कोचाहिँ भित्रै अन्तरआत्माबाट । अन्तर्दृष्टिबाट ।
त्यसो त कम्युनिष्टहरु पनि भन्ने गर्छन्– वाह्य कारणहरु परिवर्तनका लागि सहायक मात्र हुन्, मुख्यचाहिँ भित्री कारण नै हो ।
यहाँनेर प्रश्न उब्जन्छ– माओवादी पार्टी र त्यसका कमाण्डर प्रचण्ड भित्रैबाट फेरिएर इमान्दार भएका हुन् ? उनी आत्मैदेखि महसुस भएरै जनतातिर फर्किएका हुन् ? उनले भित्रैबाट महसुस गरेर कांग्रेस र एमालेको संगत छाडेका हुन् ? अथवा परिस्थितिले बाध्य बनाएर मात्रै जनतातिर फर्किएका हुन् ?
शान्ति प्रक्रियामा आएपछि कुनै न कुनैरुपमा कांग्रेस र एमालेकै वरिपरि फन्को मारिरहेका प्रचण्डले शनिबार प्रदर्शनीमार्गबाट पछिल्लो प्रतिवद्धता जनाए– ‘म सम्पूर्ण नेपाली जनताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईहरुको भावनाप्रति इमान्दार भएर अन्तिमसम्म हामी जनताको हक अधिकार र मुक्तिका निम्ति लडिराख्नेछौं ।’
तर, यो प्रतिवद्धतासँगै प्रचण्डले कांग्रेस–एमालेका कारण तत्ववोध प्राप्त गरेको स्पष्ट पारे । भाषणमा उनले भने, ‘म कांग्रेस र एमालेका नेताहरुलाई धन्यवाद भन्न चाहन्छु– तपाईहरुले हामीलाई जनतातिर फर्काइदिनुभयो । तपाईहरुले हामीलाई गल्ती सच्याउने अवसर दिनुभयो ।’
प्रचण्डले कांग्रेस–एमालेतर्फ लक्षित गर्दै थपे, ‘यस अर्थमा तपाईहरु ढुक्क बस्नुहोस्, माओवादीले फेरि कांग्रेस फकाउला, माओवादीले फेरि एमाले फकाउला फेरि हामीलाई ऊ गर्ला भन्ने चिन्ताबाट तपाईहरु मुक्त बस्नुहोस् । म यो कुरा बडो गम्भीर ढंगले भन्न चाहन्छु ।’
कांग्रेस–एमालेको घाँडो, जनताको आशा !
कांग्रेस र एमालेका नेताहरुले प्रचण्ड र माओवादीलाई कसरी सिध्याउने भनेर षड्यन्त्र गरिरहेको प्रचण्डको आरोप छ । तर, जनताले भने आफूमाथि भरोसा गर्न थालेको उनले दाबी गरेका छन् ।
शनिबारको खबरदारी सभाबाट प्रचण्डले भने, ‘आजभोलि उहाँहरु (कांग्रेस–एमाले) ले के भन्नुहुन्छ भने जबसम्म माओवादी रहिराख्छ र यो माओवादीको नेता प्रचण्ड रहिराख्छ, हामीले शान्ति पनि पाउने भएनौं, सुख पनि पाउने भएनौं । त्यसकारण जसरी पनि यो पार्टी सिध्याउनुपर्छ भनेर उहाँहरु सल्लाह गर्दै हुनुहुन्छ ।’
प्रचण्डले थपे, ‘उहाँहरु रातदिन सल्लाह गर्नुहुन्छ– यो माओवादीलाई फेरि फुटाउन सकिन्छ कि ? फुटाउने षड्यन्त्र र नेतृत्वलाई के गरी बदनाम गर्ने भन्ने षड्यन्त्र उहाँहरुले चलाइराख्नुभएको छ । मलाई थाहा छ सबै कुरा ।’
प्रचण्ड आफ्नै बारेमा विश्लेषण गर्दै अगाडि भन्छन्, ‘तपाईहरुले बुझिराखे हुन्छ, अहिले नेपाली जनतामा र नेपाली समाजमा एकथरि मान्छेहरु जो दलाल छन्, जो बिचौलिया छन्, जो भ्रष्ट छन्, तिनीहरुका लागि माओवादी केन्द्र र त्यसको नेतृत्व प्रचण्ड सही नसक्नु मान्छे ! यो बाँच्दासम्म देशले शान्ति पाउने भएन भन्ने लाग्या छ उहाँहरुलाई ।’
जनतामा भने माओवादी पार्टी र त्यसको नेतृत्वप्रति विश्वास बढ्न थालेको प्रचण्डको दाबी छ । उनी भन्छन्, ‘जनतालाई विस्तारै के लाग्दै गएको मैले महसुस गरेको छु भने, माओवादी बलियो भएन भने हामी सबै बर्बाद हुन्छौं, त्यसकारण माओवादी बलियो हुनैपर्छ भन्ने जनतामा भएको छ ।’
सभामा प्रचण्डले उत्साहित हुँदै भने, ‘हामी एक महिना देशका सबै प्रदेशमा गयौं, नेता–कार्यकर्ताहरुका कुरा सुन्यौं, जनताका पनि कुरा सुन्यौं । प्रतिक्रियावादीलाई कसरी माओवादी कमजोर पार्ने भन्ने छ । जनतामा एकपटक माओवादीलाई नै बलियो बनाउनुपर्छ चिन्ता भएको देखेको छु ।’
बुढेसकालमा हरियो क्रान्ति !
राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला ‘नीलो क्रान्ति’ को कुरा गरिरहेको छ । प्रचण्डले चाहिँ ‘हरित क्रान्ति’ अघि बढाउने बताए ।
प्रदर्शनीमार्गमा करिब ४/५ हजार जनसमूहको सहभागितामा आयोजित कार्यक्रममा प्रचण्डको भाषण सुन्दा उनी केही जोशिला देखिन्थे ।
‘मैले देशभरि गएर पनि भन्ने गरेको छु, मलाई किन यतिधेरै जोश आइराखेको छ ? हुन त म ७० पुगें । तर, ७० भएजस्तै लाग्दैन’ प्रचण्डले शनिबार प्रदर्शनीमार्गबाट भने, ‘म फेरि एउटा क्रान्तिको नेतृत्व गर्न सक्छु भन्ने आँट मभित्र छ ।’
उनले थपे, ‘मैले आफूले हेर्दाहेर्दै यत्रो ठूलो परिवर्तन विचलनतिर जाला कि भन्ने सबभन्दा ठूलो डर मलाई छ । त्यसो भएको हुनाले हामीले भनेका छौं कि एउटा नयाँ आन्दोलन, एउटा नयाँ अभियानमार्फत उपलब्धिको रक्षा मात्रै होइन, थप उपलब्धि ।’
माओवादी अध्यक्ष प्रचण्डले अगाडि भने, ‘मलाई अहिले पनि के विश्वास छ भने अर्को एउटा अभियान, त्यो सशस्त्र होइन, त्यो जनयुद्धको माध्यमबाट होइन, त्यो जनक्रान्तिको माध्यमबाट ग्रिन रिभोल्युसन भन्छन् आजकाल । अहिले खबरदारीसभामा त यत्रो जनसहभागिता छ, भोलि हामीले देशैभरिबाट मानिसहरु ल्यायौं भने त्यो एउटा रिभोल्युसन हुन सक्छ । मलाई यो विश्वास छ ।’
‘ग्रिन रिभोल्युसन’बारे प्रचण्डको थप व्याख्या छ, ‘रिभोल्युसनबाट अहिलेका सबै बिचौलिया दलाल र भ्रष्टहरुको शासनको अन्त्य हुनेछ र जनताको वास्तविक शासन स्थापना हुनेछ । त्यसको निम्ति मैले विभिन्न ठाउँमा भनेको छु, म थाकेको छैन । हाम्रा नेताहरु कोही पनि थाकेका छैनन् । हाम्रा कार्यकर्ताहरु र हाम्रा समर्थकहरु थाकेका छैनन् ।’
प्रचण्डले माओवादी पार्टी बिग्रेको स्वीकार्दै अगाडि भने, ‘बरु हाम्रा कार्यकर्ता र जनताको चिन्ता के हो भने माओवादी किन बिग्रियो ? किन जनतालाई माया गर्ने पार्टी आजकाल फटाहाहरुसँग लागेर हिँड्यो भन्ने चिन्ता हो । जब माओवादी जनतातिर फर्कन्छ, मलाई विश्वास छ जनताले फेरि माया गर्नेछन् । आफ्ना छोराछोरीहरुलाई माफी दिनेछन् । र, फेरि यही पार्टीको नेतृत्वमा एउटा नयाँ अभियानमा जाने छौं ।’
हरियो क्रान्तिको मोडेल के ?
प्रचण्डले ‘हरित क्रान्ति’ गर्ने मात्रै बताएनन्, त्यसको मोडेलसमेत बताउने प्रयास गरे । तर, उनले प्रष्ट मोडेल भने बताउन सकेनन् । उनले यत्ति भने, ‘मैले अब जनताका छोराछोरीहरुलाई बन्दूक बाँड्नु छैन । मैले सोचेको छु– उत्पादनको औजार । हेटौंडा महाधिवशेनमा हामीले जनमुक्ति सेनालाई उत्पादन ब्रिगेडमा रुपान्तरण गर्ने भनेर सोच्न त ठीकै सोचियो, तर…. त्यसमा जुन मिहेनत गर्नुपर्ने थियो, हामीले गर्न सकेनौं । अहिले म त्यसको समीक्षा गर्दैछु ।’
माओवादी अध्यक्ष प्रचण्ड ‘हरित क्रान्ति’को खाका र एजेण्डामा भन्दा बढी आफू आँटिलो भएको पुष्टि गर्नमै केन्द्रित देखिए । उनले ‘आँट सिद्धान्त’को प्रतिपादन’ गर्दै भने, ‘अब जनतालाई, युवाहरुलाई उत्पादनका औजारसहित उत्पादनको एउटा नयाँ सेना बनाएर भ्रष्टाचारी, बेइमानी, विदेशीहरुको हैकम र हस्तक्षेपको अन्त्य गर्ने एउटा नयाँ अभियान समाउने आँट मभित्र छ । हाम्रो पार्टीभित्र छ ।’
भ्रष्टाचारको औषधि !
नयाँ संविधानबाट स्थापित प्रणालीको आलोचना गर्दै प्रचण्डले भ्रष्टाचार अन्त्य गर्ने संविधान बाहिरको उपाय सुझाए ।
‘हामीले भ्रष्टाचारको कुरा गर्दा हाम्रो सिस्टमलाई सोच्नुपर्ने हुन्छ । जबसम्म यो देशमा चुनाव लड्नका लागि करोडौं खर्च गर्ने सिस्टम रहन्छ, भ्रष्टाचार रोकिँदैन । केही मान्छेलाई कारवाही गर्दैमा सिस्टम गलत भयो भने भ्रष्टाचार त्यहीँबाट जन्मिइराख्छ’ प्रचण्डले भने, ‘त्यसकारण जनताद्वारा निर्वाचित कार्यकारी प्रमुख भयो र उसले विज्ञहरु राखेर मन्त्री बनाउने व्यवस्था भयो भने भ्रष्टाचारको अन्त्य त्यहीँबाट गर्न सकिन्छ ।’
उनले अगाडि थपे, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाइयो भने त्यहाँ भ्रष्टाचार हुँदैन ।’
एक्लै चुनाव लड्ने ‘प्रतिवद्धता’
आफ्ना प्रतिवद्धताहरु बारम्बार आफ्नै तोड्ने गरेका प्रचण्डले शनिबारको सम्वोधनमा आगामी ०८४ को आम निर्वाचन एक्लै लड्ने प्रतिवद्धता जनाए । आगामी चुनावमा ०६४ सालमा जस्तै माओवादी ठूलो दल बन्ने उनले दाबी गरे ।
‘हामीले पहिल्यै भनेका छौं, अब हामी चुनाव तपाईहरुजस्ता बेइमान र भ्रष्ट, बिचौलियाका प्रतिनिधिपात्रसँग मिलेर लड्ने छैनौं । जति ल्याए पनि एक्लै लड्नेछौं’ प्रचण्डले भने, ‘हामीले ०६४ मा एक्लै लडेको हो । र, देशको सबभन्दा ठूलो पार्टी भएको हो । हामीले बीचमा केही गल्ती गर्यौं । जनतासँगको सम्बन्ध कमजोर भयो । हामी त्यो गल्ती सच्याउन चाहन्छौं । हामी जनतातिर फर्किन चाहन्छौं ।’
पूर्वमाओवादी समूहहरु एकतावद्ध हुने बताएका प्रचण्डले विप्लवको नाम लिए, तर वैद्य र डा. बाबुराम भट्टराईहरुको चाहिँ नाम लिएनन् ।
शनिबारको कार्यक्रममा उनले भने, ‘अस्ति चितवनमा एउटा कार्यक्रम भएको थियो, त्यहाँ कमरेड विप्लवले भन्नुभयो– हामी एकता गर्छौं, ०८४ लाई ०६४ बनाएर देखाउँछौं भनेर उहाँले उद्घोष गर्नुभयो । माओवादी फेरि एक हुन्छ । बनाइन्छ । र, एक्लै चुनाव लडेर कांग्रेस र एमालेजस्ता बेइमान र भ्रष्ट पार्टीहरुलाई उचित सजाय जनताकै तहबाट दिइन्छ ।’
सकारात्मक पक्ष
गत असारमा सत्ताबाट च्यूत भइसकेपछि माओवादी अध्यक्ष प्रचण्डमा केही सकारात्मक सुधारका संकेत अवश्यै देखिएका छन् । जस्तो– उनी यसवीचमा सातै प्रदेशमा कार्यकर्ता र जनतासँग सम्वादका लागि निस्के । नेताहरु यसरी जनताका माझमा जानु सकारात्मक पक्ष नै हो । यस्तो कार्यक्रमले नेताहरुलाई जनताको अभिमत बुझ्न मद्दत गर्दछ । भनिन्छ, राजा महेन्द्रले युवराज नै भएका बेला देशका कुना कन्दराको भ्रमण गरेका थिए ।
माओवादीले शनिबार राजधानीमा जुन विरोध प्रदर्शनको आयोजना गर्यो, त्यो पनि लोकतान्त्रिक प्रणालीभित्रको एउटा सकारात्मक राजनीतिक क्रियाकलाप नै हो । आफ्नो ४/५ हजार कार्यकर्तालाई परिचालन गर्नु, झण्डा बोकेर सडकमा निकाल्नु र देशैभरिका कार्यकर्तामा पार्टी जिउँदै छ है भनेर सन्देश दिनु पार्टी र व्यवस्था दुबैका लागि राम्रै पक्ष हो । यस्ता कार्यक्रमहरुले नेता कार्यकर्ता दुबैमा उत्साह जगाउँछ । सरकारलाई पनि सचेत गराउँछ ।
प्रचण्डले विपक्षी दलको नेता भइकन पनि बाढी पहिरो पीडितलाई भेट्न स्थलगत भ्रमणहरु गरे । पीडितलाई राहत र उद्धारको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए । सार्वजनिकरुपमा सरकारलाई खबरदारी गरे । विपक्षी दलको नेताको हैसियतले जनताका समस्याहरुमा यसरी चासो दिनु र सरकारलाई झक्झक्याउनु पनि सकारात्मक कार्य हो ।
यसवीच प्रचण्डले आफूहरु कांग्रेस–एमालेको सरकार ढाल्ने जोड– घटाऊमा नलागेको र जनतातिर फकिर्एको र संगठन विस्तारमा सक्रिय बनेको बताएका छन् । प्रचण्डले आफ्नो भाषणमा भनेका छन्, ‘ तपाइहरुको सरकार पूरै अवधि चलोस् । अब तपाईहरुको सरकार ढाल्नका लागि मुख्य काम त्यसलाई बनाउने छैनौं । सत्तापक्षमा आतंक देखापर्यो । सरकार आजै ढल्छ, भोलि ढल्छ हामीले भनेका छैनौं ।
प्रचण्डको यो ‘मुभ’ ले उनलाई एक परिपक्व नेताकै स्थान दिन्छ । किनभने, अहिलेको अवस्थामा ठूला दलहरु मिलेर सरकार बनाएका छन्, यसलाई तत्कालै भत्काउन खोज्दा त्यसपछि ‘भ्याकुम’ आउन सक्छ ।
शनिबार नै अर्का प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि ठमेलमा पत्रकारहरुसँग भन्दै थिए, ‘दुईवटा ठूला दल मिलेर सरकार बनाएका छन् । यो सरकार पनि ढल्यो भने के हुन्छ ? त्यसैले सजिलैसँग यो सरकार भत्कियोस् भन्नुहुँदैन । तर, यो सरकारले पनि गरिखाएको छैन, समस्या त्यहाँ परेको छ । तर, यो व्यवस्था र संविधान बचाउनुपर्छ र यसमा आवश्यक सुधार गरेर बैकल्पिक शक्ति निर्माण गर्नुपर्छ । यो सरकार त टिकोस् अहिले ।’
माओवादी अध्यक्ष प्रचण्डले आफू ७० वर्ष पुगे पनि देशका लागि केही गर्ने अठोट र जोश अरु बढेको बताएका छन् । देशमा नेतृत्वको खडेरी पर्दै गएका बेला उनले यस्तो अठोट गर्नु सकारात्मक कदम नै हो ।
सरकारमा रहँदा प्रचण्डको सरकारले कांग्रेसका बालकृष्ण खाण, एमालेका टोपबहादुर रायमाझी वा आफ्नै पार्टीका कृष्णबहादुर महरा र दीपेश पुनहरुलाई समेत प्रहरीबाट पक्राउ गर्न दियो, जसले गर्दा अहिले प्रचण्डले आफ्नो सरकार सुशासनमा अब्बल रहेको दाबी गरिरहेका छन् । बाँसबारीको जग्गा प्रकरणमा पनि सरकारले राम्रै काम गरेको भन्दै प्रचण्ड सरकारले जस पाएकै हो । आफ्नो पालामा भएका यी कार्यहरुलाई प्रचण्डले जनतामा स्थापित गर्ने प्रयास गरिरहेको देखिन्छन्, जुन अस्वाभाविक होइन ।
आखिर, जुनसुकै कारणले भए पनि प्रचण्डले अब सत्तातिर नभई जनतातिर फर्कने बताएका छन्, त्यसलाई पनि नरकारात्मक मान्न आवश्यक छैन । जनतातिर फर्कने नीतिसँगै अब माओवादी पार्टीले जनताका आधारभूत समस्याहरुलाई दह्रोसँग समात्यो र तिनको समाधानमा आफूलाई लगायो भने त्यसले देशलाई सकारात्मक नतिजा दिन सक्छ र प्रचण्डले चाहेजस्तै आगामी चुनावमा माओवादीले जनताको विश्वास प्राप्त गर्न सक्छ । तर, जनमुखी कार्यक्रम र जनदिशा अवलम्बनमा माओवादी नेताहरु कति इमान्दार हुनेछन्, यो त्यसैमा भर पर्ने छ । भाषणले मात्रै अब जनताले पुराना दलहरुलाई पत्याउने स्थिति छैन ।
जडसूत्रवादी विभ्रम
भनिन्छ, नियत जतिसुकै सफा भए पनि नर्क जाने बाटो हिँडेर स्वर्ग पुगिँदैन । त्यसैले नियत मात्रै सफा भएर पुग्दैन, बाटो पनि सही हुनैपर्छ । प्रचण्डको नियत जति नै सफा होस् उनले लिने बाटो सही हुन जरुरी छ ।
पछिल्लो समय प्रचण्डमा केही गर्छु भन्ने अठोट त देखिएकै छ, तर उनले सही बाटो समाउने कुरामा भने पलपलमा आशंकाहरु उब्जने गरेका छन् ।
सबैभन्दा पहिले त प्रचण्ड सुध्रिएका हुन् कि हैनन् भन्ने नै मुख्य प्रश्न हो । विगतमा उनले कसैले नसोचेका कार्यहरु गर्दै आएको नजीर छ । जस्तो पुराना दलको विकल्पमा हजारौंको बलिदानीबाट जन्मिएको माओवादी पार्टीलाई रातारात केपी ओलीसँग लगेर एमालेसँग पार्टी एकता गर्नु गल्ती थियो कि थिएन ? माओवादी नेताहरुले यहीँनेरबाट समीक्षा गर्न जरुरी छ । अहिले कांग्रेस र एमालेको विकल्प दिन्छु भनिरहेका प्रचण्डले हिजो ओली र देउवासँग गरेको लसपस अब फेरि दोहोरिन्छ कि दोहोरिँदैन ? यसको ग्यारेन्टी माओवादीभित्रबाट हुन जरुरी देखिन्छ ।
दोस्रो– प्रचण्डका केही ‘सेन्थेसिस’हरु जडसूत्रवादी र हावादारी छन्, तिनलाई पहिले सच्याउनुपर्छ । माओवादीको कार्यनीति अहिलेको संविधानको दह्रोसँग कार्यान्वयन हो कि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्ने हो ? यो कुरा क्लियर हुनुपर्छ । सकेसम्म माओवादीले कम्तिमा आगामी दुई कार्यकालसम्म शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको एजेण्डलाई मुल्तवीमा राखेर विकास र समृद्धिका एजेण्डामा आफूलाई केन्द्रित गर्नु उपयुक्त हुने देखिन्छ ।
पूर्णसमानुपातिक प्रणालीमा गयो भने झनै भ्रष्टाचार मौलाउँछ । प्रचण्डहरुले लेखनाथ न्यौपानेका ठाउँमा ल्हारक्याल लामालाई समानुपातिक सांसद बनाउँछन् । जनयुद्धका घाइतेलाई हैन, प्रचण्डका ज्वाइँलाई सांसद र मन्त्री बनाउनेछन् । समानुपातिक आरक्षण आरजू राणाहरुका लागि हुनेछ
किनभने, प्रचण्डले भनेजसरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाँदैमा भ्रष्टाचार अन्त्य हुने निष्कर्ष बचकनापन हो । पूर्णसमानुपातिक प्रणालीमा गयो भने झनै भ्रष्टाचार मौलाउँछ । प्रचण्डहरुले लेखनाथ न्यौपानेका ठाउँमा ल्हारक्याल लामालाई समानुपातिक सांसद बनाउँछन् । जनयुद्धका घाइतेलाई हैन, प्रचण्डका ज्वाइँलाई सांसद र मन्त्री बनाउनेछन् । समानुपातिक आरक्षण आरजू राणाहरुका लागि हुनेछ । नेताका पत्नीहरुका लागि हुनेछ । जबसम्म नेताहरुको नियत खोटो रहन्छ, पूर्णसमानुपातिक निर्वाचन प्रणलीले झनै विकृति ल्याउनेछ । संसद परिवारवादको अखडामा परिणत हुनेछ ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाँदा देशमा रामराज्य कायम हुन्छ भन्ने प्रचण्डको अर्को ‘सेन्थेसिस’ पनि नेपालको सन्दर्भमा केटाकेटी तर्क हो । नेकपाले दुईतिहाइ पाउँदा के भयो ? ओली अधिनायकवादी भए भनेर सडक आन्दोलन चलेको होइन ? अझ प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले विज्ञहरुलाई मन्त्री बनाउने भन्ने प्रचण्डको प्रतावले त झनै नेपालको हकमा अधिनायकवादलाई सेवा गर्ने छ । हाम्रा नेताहरुले कस्ता मानिसलाई मन्त्री बनाउँछन् ? कस्तालाई सांसदको टिकट दिन्छन् ? सबै छर्लङ्गै छ ।
त्यसर्थ प्रचण्डले जडसूत्रीयरुपमा भन्दै आएको पूर्ण समानुपातिक र प्रत्यक्ष निर्वाचित वाला एजेण्डा छाडेर अहिलेको संविधानको संरचनालाई इमान्दार कार्यान्वयनमा जोड दिन जरुरी छ । नेपालले अब रातो, नीलो, हरियो, कुनै पनि क्रान्ति थेग्न सक्दैन । देशलाई आर्थिक विकास र समृद्धि चाहिएको छ । सुशासन चाहिएको छ । यसका लागि अब व्यवस्था हैन, अवस्था बदल्ने नीति चाहिएको छ । तर, यहाँनेर प्रचण्ड अहिलेसम्म विभ्रममा छन् । संविधानको रक्षामा भन्दा आलोचनामा उनको जोड देखिन्छ ।
अहिलेको संविधानका कारण निर्वाचन खर्चालु भएको होइन, सामाजिक मनोविज्ञानका कारण त्यस्तो भएको हो । साथै, मिश्रित निर्वाचन प्रणाली भएकाले कुनै दलको बहुमत नआएको होइन । ०७४ मा माओवादीसँग मिलेर चुनाव लड्दा ओलीको लोकप्रियताका बावजुद एमालेले प्रत्यक्षतर्फ (१६५ सीटमा) समेत बहुमत ल्याउन सकेको थिएन । राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली फेर्नुपर्छ भन्ने लाइन केपी ओलीको हो । तर, प्रचण्ड पनि ओलीकै लाइनमा उभिनु हास्यास्पद छ । माओवादीले यसमा पनि पुनर्विचार गर्न आवश्यक छ ।
नेपालको निर्वाचन प्रणाली बहुजातीय एवं बहुसांस्कृतिक समाजसँग सुहाउँदो छ । तर, यसलाई परिवर्तन गर्ने चाहना अधिनायकवादी सोच भएका, विशेष गरी कम्युनिस्टहरुले गरिरहेका छन् । एमालेले यसमा कांग्रेसलाई पनि तानेको छ । माओवादी पनि यसैको गोलचक्करमा छ । राजावादीहरुले त कुनै पनि बाहनामा संविधानलाई गिजोल्न चाहिरहेकै छन् ।
आफूलाई ‘संविधानका पिता’ दाबी गर्ने प्रचण्डले राजावादी र केपी ओलीकै चाहनाअनुरुप निर्वाचन प्रणाली परिवर्तनको रटान लगाइराख्छन् या बहुसांस्कृतिक समाजको जगलाई भत्कन नदिने मिश्रित निर्वाचन प्रणालीमै अडान राख्छन् ? यो प्रश्न अहम महत्वको छ
त्यसर्थ आफूलाई ‘संविधानका पिता’ दाबी गर्ने प्रचण्डले राजावादी र केपी ओलीकै चाहनाअनुरुप निर्वाचन प्रणाली परिवर्तनको रटान लगाइराख्छन् या बहुसांस्कृतिक समाजको जगलाई भत्कन नदिने मिश्रित निर्वाचन प्रणालीमै अडान राख्छन् ? यो प्रश्न अहम महत्वको छ ।
हुन त माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेको विकल्पमा माओवादीलाई अगाडि बढाउने भनेका छन् । तर, उनी सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेप्रति नरम नीति लिइरहेका छन् । रविसँग नरम हुने क्रममा माओवादीले सहकारी र लघुवित्तबा ठगहरुप्रति आक्रामक नीति लिन सकिरहेको छैन ।
के रवि लामिछानेलाई लागेको हिलो आफूमा दलेर माओवादीको पुनर्जारण होला ? कि रवि लामिछाने पनि सही बाटोमा छैनन् भनेर माओवादीलाई स्थापित गर्ने हो ? के अझै पनि प्रचण्ड चितवनको आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर रास्वपालाई हेर्ने नीति तय गरिराखेका छन् ? ओली र देउवाको साथ छाडेपछि प्रचण्डले रविको वैशाखी टेक्नैपर्ने बाध्यता के छ ? रवि लामिछानेप्रतिको प्रचण्डको नरम नीतिले यो प्रश्न उब्जाएको छ ।
त्यसैगरी काठमाडौंका बालेन्द्र शाहप्रति युवाहरुमा देखिएको क्रेजबाट पनि प्रचण्ड थोरै प्रभावित देखिएका छन् । आगामी चुनावमा बालेन्द्रको भोट बढ्दा माओवादीलाई फाइदा हुने छैन । माओवादीले आफ्नै खुट्टा चुनाव लड्ने हो भने त युवाहरुलाई आफ्नै दलप्रति आकर्षित गर्न सुक्नुपर्छ । आफूचाहिँ जनतामा लोकप्रिय नहुने अनि बालेनलाई हेरेर मुख मिठ्याउने नीतिले आगामी चुनावमा माओवादी कसरी ०६४ को जत्रो बन्ला ? यो पनि माओवादी नेताहरुले समीक्षा गर्नुपर्ने विषय हो ।
काठमाडौंको सुकुम्वासी समस्या, फुटपाथ व्यवसायीहरुको समस्या, सडक विस्तारका नाममा विस्थापनमा परेका नेवार समुदाय र अन्य समुदायका जनताको मुद्दा आदि विषयमा बालेन्द्र शाह र माओवादीको ‘स्कुल अफ थट’ एउटै हो या फरक ? कतै माओवादीले ‘हरियो क्रान्ति’ गर्दै जाने भोटचाहिँ रवि, बालेन वा अर्कै नयाँ शक्तिले बढाउँदै जाने स्थिति पो आउने हो कि ?
काठमाडौंको सुकुम्वासी समस्या, फुटपाथ व्यवसायीहरुको समस्या, सडक विस्तारका नाममा विस्थापनमा परेका नेवार समुदाय र अन्य समुदायका जनताको मुद्दा आदि विषयमा बालेन्द्र शाह र माओवादीको ‘स्कुल अफ थट’ एउटै हो या फरक ? यहीँनेरबाट माओवादीले आफ्नो दृष्टिकोण बनाउन जरुरी देखिन्छ । यदि एउटै हो भने बालेन्द्रसित सहकार्य गरे फरक पर्दैन ।
रवि लामिछाने र बालेन्द्र शाहप्रतिको प्रचण्डको उदार नीतिले ०८४ को चुनावमा माओवादीलाई कति फाइदा होला ? कतै माओवादीले ‘हरियो क्रान्ति’ गर्दै जाने भोटचाहिँ रवि, बालेन वा अर्कै नयाँ शक्तिले बढाउँदै जाने स्थिति पो आउने हो कि ? यो पनि रोचक प्रश्न हो ।
निष्कर्षमा यत्ति भनौं– नेपालको राजनीतिमा प्रचण्ड या माओवादीको पुनर्जागरण असम्भव नै त छैन, तर सम्भावना पनि निकै कम छ । सबैभन्दा ठूलो समस्या माओवादीभित्रै छ । उनीहरुको संकीर्ण सोच, जडसूत्रवादी कार्यनीति र संगठनात्मक संरचनाभित्रै छ । दलाल र बिचौलियाहरुको संगतमा परेर बिग्रेका नेता र तिनका परिवारजन माओवादीको विकासका मुख्य बाधक हुन् । प्रचण्डले आफ्नै टाउकामा आगो सल्काउन कति सक्छन्, त्यसैमा माओवादीको भविष्य निर्भर रहने देखिन्छ ।
तर, लोकतन्त्रमा वैकल्पिक दलहरु चाहिन्छन् । माओवादीले आफूलाई लोकतान्त्रीकरण गर्दै सबल बनाउँदा त्यसले राजनीतिक सन्तुलनमा राम्रै काम गर्नेछ । यसका लागि प्रचण्डलाई शुभकामना ।
ढाँटको निम्तो खाई पत्याऔं ।
यो पनि-
ज्ञानेन्द्र र प्रचण्ड : हुन नसकेको त्यो भेट !
प्रतिक्रिया