प्रचण्डको साथमा न पूर्वमाओवादी, न त समाजवादी मोर्चा ! | Khabarhub Khabarhub

प्रचण्डको साथमा न पूर्वमाओवादी, न त समाजवादी मोर्चा !

फुटेका १० पूर्वमाओवादीहरू अहिले यता न उता



काठमाडौं– नेपालका कम्युनिस्ट पार्टीहरूको फुटको श्रृंखलाले सबैभन्दा पिरोलेको पार्टी हो नेकपा माओवादी । अहिले माओवादी केन्द्रको नामले चिनिने यो पार्टी फुटेर साना ठूला विभिन्न १० वटा समूह बनेका छन् । सानोतिनो व्यक्तिगत अन्तरविरोधकै कारण माओवादीहरू फुटेर टुक्रा टुक्रा भए । अर्कातिर आफू नेता बन्ने लोभले कम्युनिस्टमा विभाजनको क्रम बढेको हो ।

१० वर्ष लामो सशस्त्र संघर्षका क्रममा एकै ठाउँ रहेका माओवादी नेताहरू शान्ति प्रक्रियापछि सँगै बस्न सकेनन् । हतियार बिसाएपछि माओवादीमा विवाद र कलहको सलह नै पस्यो । माओवादी आन्दोलनलाई शान्ति प्रक्रियामा टुंग्याएपछि ०६४ यता माओवादी फुटेर विभिन्न १० भन्दा धेरै समूहमा विभाजित भएको छ ।

शान्ति प्रक्रियामा आएपछि माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता मोहन वैद्यबीच अन्तरविरोध देखियो । त्यसपछि वैद्यले पार्टीको विचार र कार्यदिशा ठिक नभएको भन्दै २०६५ मंसिरमा खरिपाटी भेलामा समानान्तर दस्तावेजसहित फरक मत राखे । त्यसपछि प्रचण्डले वैद्यनिकट मानिने अहिले एमालेका उपाध्यक्ष रहेका रामबहादुर थापा बादलको साथ लिए ।

प्रचण्डले यति मात्रै गरेनन्, नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको नेकपा एकता केन्द्र मसाललाई पनि आफूमा समाहित गराए । त्यो कदम उनले वैद्यलाई चुप लगाउने योजनासहित चालेका थिए । तर माओवादीमा सशस्त्र संघर्ष थाल्नु पहिलेदेखि नै फरक विचार र सिद्धान्त राख्ने वैद्यले ०६९ भदौमा छुट्टै पार्टी निमार्ण गरे ।

त्यससँगै प्रचण्डलाई चुनौती दिने नेता नेत्रविक्रम चन्द ‘विप्लव’सहितका केही नेता पनि पार्टीबाट अलग भइसकेका थिए । त्यसबेला प्रचण्डले विप्लवलाई आफूसँग तान्न खोजे, तर उनी सफल भएनन्, विप्लवले अर्को विद्रोहको बाटो रोजे ।

२०७० सालमा दोस्रो संविधान सभाको निर्वाचन भयो । वैद्यले साथ नदिँदा र माओवादीमा निरन्तर कलहका कारण त्यसबेला माओवादी पहिलोबाट तेसा्रे शक्तिमा खुम्चियो ।

माओवादीको फुट यतिमा मात्रै सीमित भएन, प्रचण्डका उत्तराधिकारीका रूपमा चिनिएका नेता डा. बाबुराम भट्टराईले पनि ०७२ को संविधान घोषणापछि असोज ९ गते पार्टी परित्याग गरे । त्यसभन्दा पहिला बाबुराम ९ महिनासम्म माओवादीबाटै प्रधानमन्त्री भइसकेका थिए ।

बाबुरामले छाडेपछि धेरैले प्रचण्डको कार्यशैलीमा समस्या र माओवादी रूपान्तरण नभएको भन्दै आलोचना गरे । तर, प्रचण्डको कार्यशैली पुरानै थियो । बरु आफूलाई प्रश्न गर्ने नेता बाहिरिएकोमा उनले हार्ईसन्चो महसुस गरे ।

‘असली बाजे’ का १७ कम्युनिष्ट पसल !

अहिलेसम्म प्रचण्डलाई छाडेर नयाँ दल बनाएका माओवादी नेताहरू कोही पनि सफल भएका छैनन् । पार्टीको नाम तर जनतामा तिनको प्रभाव र उपस्थिति बलियोसँग कहीँ छैन ।

अहिलेको अवस्थामा पूर्व माओवादीहरूले खोलेका विभिन्न १० वटा दल छन् । तर चर्चा सीमितको मात्रै हुने गरेको छ । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अहिले देशको तेसा्रे शक्तिका रूपमा छ । तर अन्य माओवादी नेताका पार्टीको कुनै प्रभाव छैन । विप्लवले कोसिस गरे पनि टुटफुटले उनीसमेत प्रभाव छाड्न चुकेका छन् ।

बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रतिनिधि सभामा १ सिट त जित्यो, त्यो पनि माओवादीको चुनाव चिह्नबाट । ०७९ को निर्वाचनमा माओवादीकै चुनाव चिह्न लिएकाले सांसद महिन्द्र राय यादव अहिले प्रचण्डतिरै ढल्किएका छन्, यसका कारण बाबुराम एक्लिन पुगेका छन् । अहिले बाबुरामको उपस्थिति न राष्ट्रिय राजनीतिमा अर्थ दिने किसिमको छ न संसद्मै उनको कुनै पहिचान जोगिएको छ।

नेसपाका दोस्रो अध्यक्ष यादव पनि प्रचण्डकै पार्टी माओवादीमा खुलिसकेका छन् । बाबुरामका सहयोगी नेताहरू गंगानारायण श्रेष्ठ र विश्वदीप पाण्डे पनि माओवादीतिरै लाग्दा नेसपा संकटग्रस्त छ ।

अस्तित्वमा रहेका १० पूर्वमाओवादी दल

१. नेकपा माओवादी केन्द्र : पुष्पकमल दाहाल प्रचण्ड
२. नेपाल समाजवादी पार्टी : डा. बाबुराम भट्टराई
३. नेकपा : नेत्रविक्रम चन्द विप्लव
४. आम जनता पार्टी : प्रभु साह
५. क्रान्तिकारी कम्युनिस्ट पार्टी : मोहन वैद्य
६. नेकपा बहुमत : हेमन्तप्रकाश वली, धमेन्द्र बाँस्तोला
७. नेकपा माओवादी : गोपाल किराती
८. वैज्ञानिक समाजवादी पार्टी : विश्वभक्त दुलाल
९. नेपाल कम्युनिस्ट पार्टी : ऋषि कट्टेल
१०. नेकपा संयुक्त : चन्द्रदेव जोशी

अलपत्र पूर्वमाओवादी एकता

प्रचण्डले केही वर्षयता पूर्व माओवादीहरूको एकताका लागि प्रयास गरे पनि उपलब्धि शून्य छ । पछिल्लो समय नेकपा महासचिव विप्लव र माओवादी नेताहरुबीच संवाद बढे पनि एकताको ठोस निष्कर्ष आएको छैन । हेमन्तप्रकाश वली र धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पनि एकताको पक्षमा देखिन्छ ।

नेसपाका दोस्रो अध्यक्ष यादवसहित बागमती प्रदेश सभाका सांसद गंगालाल श्रेष्ठ प्रचण्डसँग मिलेपछि बाबुराम बिच्किएका छन् । त्यहीकारण प्रचण्डसँग दूरी बढेको छ । यसले गर्दा प्रचण्ड र बाबुराम मिल्ने सम्भावना तत्काल नभएको माओवादी नेताहरू बताउँछन् ।

मधेशमा प्रभाव रहेका प्रभु साह माओवादी छाडेर एमाले गएका थिए । तर ०७९ को निर्वाचनपछि उनले आमजनता पार्टी गठन गरेका छन् । उनको पार्टीको प्रतिनिधि सभामा १ सिट छ । उनी मधेसमा छुट्टै पहिचान बनाउने योजनामा देखिएकाले माओवादीसँग मिल्न तयार छैनन् ।

मोहन वैद्यको क्रान्तिकारी कम्युनिस्ट पार्टी पनि एकताका लागि तयार छैन । उनले त प्रचण्डका कारण पूर्वमाओवादीले दुःख पाएको गुनासो नेताहरूसँग गर्ने गरेको बताइन्छ ।

प्रचण्डसँग बिच्किए माधव र झलनाथ, टर्‍यो पार्टी एकता

यस्तै, गोपाल किराती नेतृत्वको नेकपा माओवादी पनि एकताका लागि तयार छैन । विश्वभक्त दुलालको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तलाई पनि माओवादी एकताका लागि आव्हान गरेको छ । तर उनीहरू कोही पनि एकताका लागि तयार छैनन् ।

को–को तयार ?

नेसपाका नेता गंगालाल श्रेष्ठका अनुसार अहिले पूर्वमाओवादी एकताका लागि नेकपा महासचिव विप्लव मात्रै तयार छन् । उनी पूर्व माओवादीहरूको एकता गर्न प्रचण्ड र अन्य नेतासँग नियमित परामर्शमा छन् । एकताका लागि बाबुरामबाट छुटेको नेसपा पक्ष पनि तयार छ । उनीहरूले अघोषित रूपमा एकता गरिसकेका छन् ।

प्रचण्डको सचिवालयका अनुसार पूर्व माओवादी एकताका लागि शीर्ष तहका नेता छलफलमा छन् । माओवादी केन्द्रको सात प्रदेशमा परामर्श समितिको बैठक बसिरहेको छ । सबैको राय बुझ्दा पूर्व माओवादीहरू मिल्नुपर्ने सुझाव आएका छन् । ‘विप्लवजी पनि केन्द्रीय समिति बैठकतिर लाग्नुभयो । यही बेला देशमा बाढीपहिरो आयो । सबै पार्टीको आन्तरिक कामले एकताका लागि हुनुपर्ने जति बहस र छलफल हुन पाएको छैन’ प्रचण्डको सचिवालयका एक सदस्यले भने ।

नेकपा बहुमतका नेताहरू हेमन्तप्रकाश वली, धमेन्द्र बास्तोला पनि पार्टी एकताको पक्षमा रहेको माओवादी नेताहरूको भनाइ छ । बास्तोला एकताका लागि हुने छलफलमा सहभागी भइरहेका छन् ।

विप्लवजी, माओवादी केन्द्र, हामी नेसपा र धमेन्द्रजीहरु एकताका लागि उचित सैद्धान्तिक निर्णय हुनुपर्छ भन्ने पक्षमा छौँ’, श्रेष्ठले भने, ‘मोहन वैद्य, गोपाल किराती, विश्वभक्त दुलाल लगायतको धारणा आएको छैन । उहाँहरू पनि विस्तारै तयार हुनुहोला ।’

पछिल्लो समय विप्लवले माओवादी केन्द्रका नेताहरूसँग परामर्श गरिरहेका छन् । गत साता विप्लव र माओवादी उपमहासचिव जनार्दन शर्माबीच लामो भेटवार्ता भएको थियो ।

औपचारिक निर्णयको प्रतिक्षा

माओवादी केन्द्रले सात प्रदेशमा परामर्श बैठक सकेपछि केन्द्रीय समितिको बैठक राखेर पूर्वमाओवादी एकताबारे धारणा बनाउने भनेको थियो । विप्लवनिकट नेताहरूका अनुसार अब बस्ने माओवादी बैठकले पूर्वमाओवादी मिलाउनेबारे औपचारिक निर्णय हुने विश्वास गरेका छन् । ती नेताले भने, ‘अहिलेसम्म आधिकारिक धारणा आएको छैन । सायद, प्रचण्डजीले छठपछि केन्द्रीय समिति राखेर औपचारिक धारणा सार्वजनिक गर्नुहोला, त्यसपछि एक्सनमा गइन्छ ।’

माओवादी केन्द्रका महासचिव देव गुरुङ अहिले विचार मिल्ने माओवादी शक्ति एक हुँदै जाने र अन्यलाई पछि समेट्ने तर्क गर्छन् ।

‘अहिले सुरुवात मात्रै हो । बिस्तारै सबै मिल्दै जान्छ’, गुरुङले भने, ‘माओवादी मात्र होइन, विचार मिल्ने अन्य सबै शक्तिसँग कुरा मिल्दै जान्छ ।’

माओवादीको भविष्य : पतन कि पुनरागमन ?

कता पुग्यो समाजवादी एकता ?

यता समाजवादी मोर्चा अघि बढाउने कुरा तत्काललाई टरेको छ । नेकपा एकीकृत समाजवादीको महाधिवेशनपछि समाजवादी मोर्चाको गतिविधि देखिएको छैन । सत्ता गठबन्धन फेरिएपछि तनावमा परेका प्रचण्डले तीन पटकसम्म एकताका लागि माधवकुमार नेपाललाई फकाए पनि सफल हुन सकेनन् । गत ११ भाद्र २०८१ मा भएको समाजवादीको पदाधिकारी निर्वाचनमा रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवराम श्रेष्ठ, डा.विजय पौडेल पराजित भए ।

ती नेताहरू पदाधिकारीमा पराजित भएपछि अध्यक्ष नेपाल समाजवादी मोर्चा अघि बढाउने र माओवादीसँगको तालमेलका कुरामा टाढा बसेका छन् । किनकी मोर्चा ब्युँताउने र माओवादीसँग एकता गर्नेसम्मको कुरा आएपछि केही नेताहरू पार्टी नै छाड्न तयार भएको कुरा केन्द्रीय समिति बैठकमा उठेको थियो । त्यसयता न त समाजवादी मोर्चाको बैठक बसेको छ, नत माओवादीसँगको एकता नै उठेको छ ।

गत वर्ष असार ५ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा घोषणा गरेका थिए ।

सडक, सदन र सरकार तीनै तहबाट आफ्ना मुद्दा उठाउने रणनीतिसहित सदनका र बाहिरका दलहरू मिलेर समाजवादी मोर्चा बनाएका थिए । बनेको एक वर्ष बित्दा पनि मोर्चाले उपस्थिति देखाउन सकेको छैन । बरु मोर्चाको दोस्रो ठूलो दल जसपा फुटेर उपेन्द्र यादवले साथ छाड्दा मोर्चालाई घाटा लागेको छ । यता माधव नेपाल पनि मोर्चाबारे दोधारमा छन् ।

मोर्चाले वाम–समाजवादी ध्रुवीकरण प्रयास गर्ने अनुमान थियो । तर चार दल चारतिर फर्किएपछि मोर्चाको औचित्य पुष्टि हुन नसकेको वाम विश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।

माओवादी केन्द्रका एकजना नेताले खबरहबलाई भने, ‘सायद माधवजी पार्टी महाधिवेशनका क्रममा देििखएको विवादका कारण तनावमा भएर होला । समाजवादी मोर्चाले गति लिएको छैन ।’

मोर्चाले वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीलाई पनि सहभागी गराउने गरी छलफल गरेको थियो । तर, गौतम अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएकाले मोर्चामा नजाने स्रोतको दाबी छ । गौतम हाल राष्ट्रियसभा सदस्य पनि छन्।

मोर्चाको प्रतिवेदन अलपत्र

समाजवादी मोर्चालाई व्यवस्थित बनाउँदै सैद्धान्तिक रणनीति पनि तय गर्न ०८० साउनमा प्रतिवेदन बनाउन नेकपा नेता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र नेसपाबाट गंगालाल श्रेष्ठको कार्यदल बनाइएको थियो । कार्यदलले साउन अन्तिममा प्रतिवेदन बुझाउने भनेको थियो । तर हालसम्म प्रतिवेदन तयार भएको छैन ।

प्रतिवेदको मस्यौदा तयार भए पनि शीर्ष नेता बसेर त्यसलाई अन्तिम रूप दिन सकेका छैनन् । एकीकृत समाजवादीको आन्तरिक विवाद देखाएर प्रतिवेदन तयार नगरिएको हो ।

नेसपा नेता श्रेष्ठका अनुसार प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । तर मोर्चा सदस्यहरूको आन्तरिक व्यस्तता भन्दै सार्वजनिक गरिएको छैन ।
माओवादीसँगको एकताबारे आइतबार मात्रै एकीकृत समाजवादीका अध्यक्ष नेपालले पोखरा पुगेर त्यो सम्भव नभएको बताए । उनले समाजवादी मोर्चाको कुरा भिकेनन् ।

एकीकृतका सम्मानित नेता झालनाथ खनालका अनुसार अहिले पार्टी देशव्यापी बन्दै गएकाले मोर्चाको कुरा विस्तारै हुने बताए । उनले भने, ‘अहिले हामी पार्टी काममा छौँ । मोर्चाबारे छलफल हुन पाएको छैन ।’

यदि समाजवादी मोर्चा ब्यूँतिए माओवादीको ३२ र नेकपा एकीकृत समाजवादीको १० गरेर ४२ सिट हुन्छ ।

करिब एक वर्षसम्म निष्क्रिय मोर्चा गत असार २८ गते प्रचण्ड प्रधानमन्त्रीबाट बिदा भएपछि एकाएक सक्रिय भएको थियो । तर अहिले त्यसमा पनि ब्रेक लागेको छ । मोर्चालाई प्रचण्डले शक्ति सञ्चयका रुपमा प्रयोग गर्न राखेका थिए । तर, एकीकृत समाजवादीले साथ नदिँदा प्रचण्डको योजना तत्काल सफल हुने देखिँदैन ।

०६४ फर्काउने प्रचण्डको योजना ?

प्रचण्डले सत्ता खुस्किएपछि एक पटक सबै प्रदेशको भ्रमण गरे । त्यहाँ उनका विभिन्न कार्यक्रम तथा सभाहरू पनि भएका थिए । यही शनिबार प्रचण्डले काठमाडौंको प्रदशनिमार्गामा बृहत् खबरदारी सभा गरे । त्यहाँ उनले माओवादीको देशभर लहर आएको बताए । उनले भने, ‘माओवादी सकियो भन्छन् । तर देशभर माओवादीको चार्म हेर्दा फेरि जाग्ने अवस्थामा देखेको छु ।’

विप्लवले पनि उनलाई पूर्वमाओवादीहरू मिले ०८४ को निर्वाचनमा ०६४ फर्काउन सकिने अवस्था भएको जानकारी गराएको प्रचण्ड दाबी गर्छन् । माओवादीले ०६४ को निर्वाचनमा झन्डै बहुमत अर्थात १२० सिट जितेको थियो । त्यसबेला माओवादी देशको पहिलो शक्ति थियो त्यसयता मााओवादी निरन्तर तेस्रो शक्तिमा सीमित छ ।

माओवादी अहिले निरन्तर ओरालो यात्रामा छ । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ०८४ को कुरा गरेर दलहरूले जनतालाई झुक्याइरहनुभन्दा प्रवृत्ति सुधार्न आग्रह गर्छन् । उनी माओवादीले ०८४ मा ०६४ मा फर्काउने कुरा असम्भव देख्छन् । वैकल्पिक शक्ति आइरहेका बेला त्यो तत्काल सम्भव हुन नसक्ने उनी दाबी गर्छन् । यस्तै कार्यशैलीले कुनै पनि पार्टीले आगामी चुनावमा पनि बहुमत ल्याउन नसक्ने दाबी गर्छन् ।

यो पनि-
प्रचण्डको पुनर्जागरण : पत्याउनोस्, नपत्याउनोस्

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १० : २१ बजे

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार

चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा

झापा – मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि

माछापुच्छ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गण्डकी – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी

द हेग – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन