जलजलामा पर्यटन बढाउन वर्षमान नेतृत्वमा आवासीय पदयात्रा | Khabarhub Khabarhub

जलजलामा पर्यटन बढाउन वर्षमान नेतृत्वमा आवासीय पदयात्रा


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रोल्पा- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को नेतृत्वमा रोल्पाको लिवाङदेखि प्रसिद्ध पर्यटकीयस्थल जलजलासम्मको पदयात्रा सुरु भएको छ ।

उत्कृष्ट पर्यटकीय गन्तव्य जलजला क्षेत्रको प्रवर्द्धनका लागि ‘घुम्न जाऔँ जलजला’ भन्ने नारासहित आवासीय पदयात्रा सुरु गरिएको हो ।

सोमबार सदरमुकाम लिवाङबाट हिँडेको करिब ५० जनाको टोली राति ओखरेनीमा बास बसेर मंगलबार अपराह्न जलजलाको टाकुरमा पुगेको छ ।

टोलीमा नेता पुनसहित पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्ती थापासहित १० वटा पालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्य, उपप्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी प्रहरी प्रमुख डिएसपी भरत लामा, उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशव आचार्यसहित व्यवसायी, सञ्चारकर्मी, साहित्यकार, कलाकार छन् ।

पदयात्राको व्यवस्थापन रोल्पा नगरपालिकासँगै थबाङ र सुनछहरी गाउँपालिकाले गर्नेछन् ।

पूर्वअर्थमन्त्री पुनले जलजलालाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तथा स्थानीय उत्पादन वृद्धि, बजार विस्तार र प्रचार–प्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको बताए ।

आफूहरूको पहलमा सरकारले गत वर्ष जलजलालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा समावेश गरेको भन्दै उनले स्वदेशी र विदेशी पर्यटकीय गन्तव्यका रुपमा जलजलालाई स्थापित गर्न आवश्यक पूर्वाधार निर्माणका कामहरु अघि बढिरहेको उल्लेख गरे ।

‘सांस्कृतिक सम्पदाको सम्वर्द्धन, स्थानीय उत्पादन वृद्धि, बजार व्यवस्थापन र पर्यटकीय क्षेत्रका रुपमा जलजलाको विकासका लागि पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको छु’, पुनले भने ।

मंगलबार साँझ जलजलामा विशेष सांस्कृतिक साँझ गरिएको छ । कार्यक्रममा गीत र नृत्य प्रस्तुतिका साथै कविता, गजल र हाइकु बाचन हुने पुनले बताए ।

यसअघि पदयात्राको पहिलो दिन सोमबार साँझ ओखरेनीमा पनि त्यस्तै कार्यक्रम भएको जानकारी उनले दिए । पदयात्रा बुधबार थबाङ पुगेर समापन हुने उनले बताए ।

जलजलामा के छ ?

जलजला समुद्री सतहबाट करिब ३ हजार ६ सय मिटरमामा अवस्थित रमणीयस्थल हो । जलजला थबाङ नगरपालिका, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको संगमस्थल पनि हो । झट्ट हेर्दा तीनै पालिकाको टोपी आकारमा अवस्थित छ ।

जलजला पुग्नेलाई अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, नीलगिरि र पुथाजस्ता हिमालको मनोरम दृष्यले लोभ्याउने गरेको छ । उचाइमा भएका कारण मौसम खुलेका बेला जिल्लाको अधिकांश भू-भाग देख्न सकिन्छ ।

जलजला लोपोन्मुख रेड पाण्डाको बासस्थानका रुपमा पनि परिचित छ । जलजलामा चितुवा, भालु, बँदेल, हरिण, घोरल, थार र रतुवाजस्ता जंगली जनावरका साथै डाँफे, मुनाल, कालिज, प्यूरासहित सयौँ प्रकारका चराचुरुङ्‍गी पाइन्छ । यस्तै १४ प्रजातिका लालीगुराँस फुलेर हिउँदमा जलजला दुलहीझैँ सिँगारिएको हुन्छ । लोपोन्मुख सेतो लालीगुराँस पनि यहाँ पाइन्छ ।

जलजला पाँचऔँले, जटामसी, चिराइतो, सुनगाभा, सुगन्धवाल, दालचिनी, सुनाखरी, पदमचाल, बोजो, कचुर, पुदिना, टिमुरजस्ता बहुमूल्य जडीबुटीको प्राकृतिक भण्डार पनि हो ।

पछिल्लो समय हिउँ पर्ने समयमा हिउँसँग खेल्न पनि मानिसहरु जाने गरेका छन् । यस्तै त्यहाँको दलदले जमिनमा टेक्न पाउँदा मानिसहरु धेरै रमाउँछन् ।

४७ हेक्टर क्षेत्रफलमा फैलिएको जलजलामा घाँसे मैदान पनि छ । जलजलालाई यसअघि ‘गामा’ भनिन्थ्यो । मगर खाम भाषामा गामाको अर्थ ‘अग्लो लेकको बुकी पाटन’ भन्ने हुन्छ । आजभोलि ‘गोङ’ पनि भन्ने गरिएको छ ।

जलजला जार्नेहरूका लागि भामा गुफा र बराह मन्दिर आकर्षकका रुपमा छ । यहाँ बराहका तीनवटा मन्दिर छन् । ती मन्दिरलाई कैलु बराह, बजु बराह र सहदे बराहका नामले चिन्ने गरिएको छ ।

जसलाई बराहको उत्पत्तीस्थलसमेत मानिन्छ । मगर खामभाषाबाट जलजलालाई गोङ भनिन्छ ।

रुकुम, सल्यान, दाङ, प्यूठान, र सुर्खेत छिमेकी जिल्लाहरुबाट मानिसहरु धार्मिक उद्देश्यले त्यहाँ पुग्ने गर्दछन् । वैशाख पूर्णिमा, जेठ पूर्णिमा र श्रावण पूर्णिमा गरी वर्षमा तीनपटक बराहमा मेला लाग्ने गर्दछ ।

मनोकांक्षा पूरा हुने, परिवार शान्ति र सन्तान प्राप्ति हुने विश्वासमा ती मेलामा भेडा र कुखुराको बलि दिने चलन छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ५ : १५ बजे

यु १९ महिला विश्व कप : नेपालले दियो बंगलादेशलाइ ५३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालले

पाँचखालमा सात सय जनाको आँखा परीक्षण

काभ्रेपलाञ्चोक– काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविरअन्तर्गत सात सय

मोटरसाइकल चालकलाई शुभ यात्रा अभियान

चितवन– सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

सिरहा– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग

सम्झौताअन्तर्गत पहिलो चरणमा ७३७ कैदी रिहा गर्ने इजरायलको घोषणा

जेरुसेलम– इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक