याक्थुङ मुन्धुम र याक्थुङ सभ्यताको जरा खोज्दै कहिले ताप्लेजुङको लेलेपको मुरिङ्ला थेरिङ्ला घुम्दै इम्बिरि याङ्धाङ्वा (तमोर) को किनारै किनार यात्रा गर्ने त कहिले सिक्किम र दिल्लीका विभिन्न लाइब्रेरीमा इतिहासका पन्ना पल्टाउँदै आएकी युवा इतिहासकार सन्ध्या सिङ्जाङ्गो सुब्बा यतिबेला एउटा अर्को पुस्तक निकाल्न व्यस्त छिन्।
इस्ट सिक्किमको पाकयोङ जिल्लाको आसाम लिङ्जेमा बस्दै आएकी इतिहासकार सुब्बा भारतीय नागरिक भएपनि उनको अध्ययनको क्षेत्र इतिहास भएकाले पछिल्लो समयमा याक्थुङ् सभ्यताको अध्ययन र खोजीमा छिन्। भारतमा विलय हुनु भन्दा अघि सिक्किमसँग याक्थुङ लिम्बु शासकसँगको राजनीतिक, प्रशासनिक सम्बन्ध बारे सिक्किमकै इतिहासकारले लेखेका छन्। सुब्बा तिनै लेखोटलाई यतिबेला मिहिनरुपमा अध्ययन गरिरहेकी छिन्।
अंग्रेजी भाषामा ‘लिम्बु समन्स (सन २०२१),’ प्रकाशन गरेर भारतमा चर्चामा आएकी उनले पछिल्लो समयमा इतिहाससँगै नेपाल प्रज्ञा प्रतिष्ठानका तात्कालीन कुलपति बैरागी काँइलाद्वारा संकलित, सम्पादित र प्रकाशित दर्जन याक्थुङ मुन्धुम पुस्तक अंग्रेजीमा अनुवाद र प्रकाशन गर्ने जिम्मेवारी पनि लिएकी छन्।
त्यसो त तीन वर्षअघि भेटघाट भएपछि काँइलाद्वारा संकलित सम्पादित प्रकाशित ‘नावा चइित मुन्धुम (सन २०२२), मुजिङ्ना खेयोङ्ना मुन्धुम (२०२२), अनुवाद गरेर प्रकाशित नै गरिन्। याक्थुङ मुन्धुमको अनुवाद गर्ने सिलसिलामा उनले गहिरो अध्ययन गरेकीले मुन्धुमले वर्णन गरेका एकीकृत स्थानहरु जो तमोर (इम्बिरी याङ्धाङ्वा) सेरोफेरोलाई आधार बनाएर ‘याक्थुङ सिभिलाइजेसन (२०२३)’ पुस्तक निकालिन्। याक्थुङ मुन्धुमलाई इतिहाससँग जोडेर कसरी अध्ययन अनुसन्धान गर्न सकिन्छ र मुन्धुमको दर्शनले भन्न खोजेका विषयमा उनी ‘डिकोड’ गर्ने प्रयासमा छिन्।
याक्थुङ सिभिलाइजेसन निकालेलगतै उनले मुन्धुमी स्थलको खोज, अनुसन्धान र अध्ययन गर्न ताप्लेजुङको विभिन्न पुरातात्विक स्थलमा पटक पटक भ्रमण गरिन्। त्यसको नतिजा स्वरुप उनले ‘याक्थुङ मुन्धुमलोर (२०२४)’ निकालिन्। याक्थुङ मुन्धुमलोरमा उनले याक्थुङ मुन्धुमका घट्ना, पात्रलार्ई उतारेर लिम्बुको जीवन दर्शन बुझाउने प्रयास गरेकी छन्। याक्थुङ मुन्धुमकै खोजीमा धरान आएको बेला खवरहबसँग भनिन्, ‘म आफैं पनि इतिहासको विद्यार्थी भएकाले याक्थुङ मुन्धुमको इतिहास खोजी गर्न पे्ररित गरेकोले आफूले भ्याएसम्म, पाएसम्मका ज्ञानलाई पुस्तकका रुपमा निकालेकी हुँ।’
उनी भारतको दिल्लीस्थित लेडी श्रीराम कलेजमा स्नातक र दिल्ली युनिभर्सिटीबाट स्नातकोत्तर विद्यार्थी हुन्। विद्यावारिधिको तयारी गर्दै आएकी सन्ध्याले याक्थुङ मुन्धुमलाई ‘पिरियोडाइजेस’ गर्न जरुरी रहेको बताउँदै आएकी छन्। उनी त्यसैमा व्यस्त छिन्। उनले भनिन्, ‘विश्वको इतिहास पनि सजिलोका लागि समय काल खण्ड विभाजन गरिएको छ। तर याक्थुङ मुन्धुमको इतिहासमाथि त्यसो गर्न सकिएको छैन। म त्यसैमा लागिरहेको छु।’ उनकाअनुसार विश्वको इतिहास पिरियोडाइजेसन गर्दा एन्सियन्ट (प्राचिनकाल), मिडिभल (मध्यकाल) र मोर्डन (आधुनिक) भनेर काल गणना गरिएको छ।’
विश्वको इतिहासको पिरियोडाइजेसनसँग तुलना गर्दा याक्थुङ मुन्धुम प्राचीन र मध्यकालको इतिहासमा पर्न जाने दाबी इतिहासकार सन्ध्या सिङ्जाङ्गोको छ। त्यहाँभित्र (प्राचीन इतिहास) भित्रको कालखण्डलाई पनि विभाजन वा वर्गीकरण गर्दा विभिन्न सिद्धान्त अपनाउनु जरुरी रहेको उनको कथन छ। उनकाअनुसार याक्थुङ मुन्धुमको बर्णन व्याख्या सुन्दा ढुङ्गेयुग, कृषियुग त्यसपछि सभ्यता निर्माणको प्रारम्भिक चरणको कथा पाइन्छ। विश्वका इतिहासकारले प्राचीन कालको ढुङ्गेयुग (स्टोन एज) लाई तीनखण्डमा विभाजन गरेका छन्। पेलियोलिथिक (पाषाण युग), मेसोलिथिक (मध्य पाषाण युग) र नियोलिथिक (नव पाषाण युग) भनेर वर्गीकरण गरेका छन्। त्यसमा याक्थुङ मुन्धुमले वर्णन गरेको र याक्थुङ सभ्यताको निर्माणकाल कुनकुन काल खण्डमा पर्छ भनेर उनी खोज अनुसन्धानमा लागेकी छन्।
उनले भनिन्, ‘मैले अहिलेसम्म पाएको र अध्ययन गरेअनुसार मुन्धुममा वर्णित स्त्री पात्रहरु मुजिङ्ना खेयङ्ना, उनका छोरा सुसुवेङ लालावेङ (सावा युक्फुङकेम्बा), सुसुवेङ लालावेङले यौन सम्पर्क गर्ने सहपाठी समकालीन स्त्रीहरु योसुलुङ्मा मुकुमलुङ्मा, फियम लुङ्मा थोसुलुङ्मा, तुरेरे तुयेनयाङ्मा, सादिल्ली दिल्लिसोहाङ्मा, सुसुवेङ लालावेङको मृत्युसम्मको काललाई इतिहासको पेलियोलिथिक (पाषाण युग)मा पर्छन् जस्तो लाग्छ। त्यसपछि लेलेपस्थिगत तमोरको किनार (गोवाटार)मा रहेको काइलुङ् ढुङ्गाको विस्तारामा यौन सम्पर्क गर्ने पात्रहरु सुच्छुरु सुहाम्फेवा, थोसुखेवा साङ्दाङ्खेवा, तेत्लारा लाहादङ्ना, योसुखेवा लिङ्दाङखेवाको युगलाई मेसोलिथिक (मध्यपाषाण युग) मा पर्छन् कि जस्तो लाग्छ। तर यो बहस र खोजअनुसन्धानको विषय नै बनेको छ।’
याक्थुङ मुन्धुममा काइपोक्मा (हाडनाता सम्बन्ध) छुट्याउने प्रथापछि सावा येहाङहरु (येत्हाङ ?) फैलदै बीउ विजन छरपोखर गरेर भस्मे फाडी खेतीपाती, पशुपालन गर्ने गरेको पाइन्छ। त्यही बेलादेखि समाज, परिवार, साइनो सम्बन्ध, संस्कार, संस्कृति, घर निर्माण, विवाह, मृत्युसंस्कार, च्याब्रुङ (के) बनाएर बजाउने चलन सुरु भएको पाइन्छ। त्यसै बेलादेखि नै नाहेन, साक्मुरा वादेम्मा, तङ्सिङ गर्ने, जुन घाम, तारा, आकास, बादल, वर्षा र आफू उभिएको धरातलमा प्रकृति, खोला नदी, पहाड पर्वत, वनजंगल, पशुपंक्षीको अस्तित्वलाई स्वीकारेर सहअस्तित्व कायम गर्न थालेको समयलाई नियोलिथिक (नवपाषाण युग) अन्तर्गत पर्छन् कि भन्ने इतिहासकार सन्ध्याको दाबी छ।
उनले भनिन्, ‘पहिलो घर निर्माण (हाङ्फादेन लोक्फादेन मुन्धुम), परिवार बसाउन औपचारिक रुपमा मागी विवाह गर्ने (पाजाइवा तेन्धुम्याङवा-वरुप्ली वदङ्नामा) मुन्धुम, दाजुभाइबीचको द्वन्द्व (केसामी नाम्सामी मुन्धुम), खाम्पुना मेलङ्नामा, सिगेर एक्थुक्नामा मुन्धुम (फुङ्वा चाङ्मा मुन्धुम), नेन्तुरी पासाङ्गा मुन्धुम पनि नव पाषाण कालको अन्तसंगै मिडिभल (मध्यकालको युग) सुरुमा पर्न सक्ने दावी गर्न सकिन्छ।’
उनकाअनुसार यसको अर्थ सावा येहाङहरुको समय इतिहासको मध्यकालमा पर्छ। त्यसपछि विश्वको आधुनिक इतिहास काल अन्तर्गत यता याक्थुङ सभ्यतामा सावा येहाङहरुकै सन्ततिहरु फैलिएर दश लिम्बु शत्रथुमको इतिहास, महाफेदावको अवधारणा, विजयपुरको इतिहास, सेनकाल, लोमेन्चोङसुम सन्धी (सन १६६३), शाहकाल, नूनपानी सन्धी (सन १७७४) र किपट प्रथाको अन्त्य (सन १९६४) संगै (याक्थुङ लाजे (लिम्बुवान) को राजनीतिक शासन प्रणाली अन्त्यसम्म आइपुग्दा लिम्बुवानको आधुनिक इतिहासमा पर्छन्।
मुन्धुम र इतिहास एउटा सिक्काको दुई पाटो हो। उनी भन्छन्, ‘जहाँ मुन्धुमको विश्राम हुन्छ, त्यहाँबाट याक्थुङ सभ्यताको आधुनिक, राजनीतिक, सामाजिक चेतनाको इतिहास सुरु हुन्छ। त्यसैले मुन्धुमलाई हावादारी मानेर अन्धविश्वासको जगमा उभिएको मिथक कथा नमानेर याक्थुङ इतिहासको शीर हो भनेर बुझ्नु पर्छ।’
उनले मुन्धुमलाई बुझ्न, बुझाउनका लागि मुन्धुममा वर्णित स्थलहरुमा पुगेर पेडोलोजी (माटोको अध्ययन,) इडेफोलोजी (वनस्पतिको विकास र माटोको अध्ययन), जियोमोर्फोलोजी (भूवनावटको अध्ययन) पेट्रोलोजी÷जियोलोजी (ढुङ्गाको अध्ययन), बोटनी (वनस्पतिको अध्ययन), सिस्मोलोजी (भूकम्पको अध्ययन) एन्थ्रोपोलोजी (मानवशास्त्रको अध्ययन), सोसियोलोजी (समाजशास्त्र अध्ययन)को समग्र अध्ययन अनुसन्धान गर्न जरुरी रहेको बताइन्।
उनले भनिन्, ‘मुन्धुमी स्थल मानिएको ताप्लेजुङको फक्ताङलुङ आसपासमा मुजिङ्ना खेयोङ्ना छोराको मृत्यु भएपछि मुजिङ्ना मयङ्ना रोएर बसेको गुफा शशि फुक्कु, तेत्लारा लाभियङ्माको शव राखेको चेचिङ फुक्कु, पहिलो पटक फराक्लो गरेको खाओलुङ डाँडा, सुच्छुररु सुहोम्फेवा र तेत्लारा लाहादङनाबीच शारीरिक सम्पर्क गर्न विस्ताराको रुपमा प्रयोग गरेको तमोर किनारको काइलुङ, सवा येहाङ पाङ्भे, मुरिङ खारिङ्ला डाँडा आदिको पुरातात्विक अध्ययन हुन जरुरी छ। यी अध्ययन नभएसम्म मुन्धुमलाई मिथककै रुपमा मात्र बुझिने भएकाले नयाँ ढंगले खोज अनुसन्धान गर्नुपर्छ।’
मुन्धुमलाई हालसम्म येवा, येमा, साम्बा, फेदाङ्माहरुले श्रुति परम्परा अपनाउदै संरक्षण र पुस्तान्तरण गर्दै आएका छन्। पछिल्लो समयमा नेपाल र भारतको सिक्किम दार्जिलिङबाट याक्थुङ मुन्धुमका पुस्तकहरु पनि प्रकाशित हुँदै आएका छन्। तर ती मात्र काफी नहुने उनको कथन छ। मुन्धुमलाई समाजशास्त्र वा प्राचीन याक्थुङ लिम्बुको पुर्खाले आफ्नो अनुभवमार्फत प्राप्त गरेको ज्ञानको भण्डारको रुपमा लिनुपर्नेमा उनले जोड दिइन्।
उनले भनिन्, ‘मुन्धुम भनेको याक्थुङ लिम्बुको जीवन दर्शन हो। जीवन बाँच्ने कला सिकाउने दर्शन हो। मुन्धुमलाई याक्थुङ लिम्बुले एकछिन बाहिर पार्ने हो भने उसको चिनारी वा पहिचान नै समाप्त हुन्छ। त्यसैले मुन्धुमलाई विभिन्न दृष्टिकोणबाट अध्ययन गर्न जरुरी छ न कि धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट मात्र।’
अर्को धर्मको प्रभाव, याक्थुङ लिम्बु समुदायभित्रै मुन्धुममाथिको विश्वासमा फरकपन, संस्कारको अभ्यासमा भिन्नता, मुन्धुमका जानकारको संख्यामा कमी, येवा, येमा, साम्बा, फेदाङ्मा उत्रनबाट रोक्ने, पश्चिमी जीवनशैलीलाई सभ्य मान्नु आफ्नो मौलिक जीवनशैलीलाई असभ्य ठान्नु, याक्थुङ लिम्बु भाषा र सिरिजंगा लिपि प्रयोगमा प्राथमिकता नदिनु,, आदिवासी ज्ञानलाई बेवास्ता गर्नु, अरुको इतिहासबाट बढी प्रभावित हुनु जस्ता कारणले मुन्धुमभित्रको ज्ञान बाहिर निकाल्न नसकिएको उनको भनाइ छ।
उनले भनिन्, ‘नयाँ पुस्ताका साना साना नानीहरुलाई मुन्धुममा आधारित लोक कथाहरु सुनाउने, कार्टुन बनाएर प्रदर्शन गर्ने, युवापुस्ताका लागि मुन्धुमभित्रका घट्ना पात्र र स्थानलाई आधार बनाएर बेजोडका आख्यान, कथा, कविता, लेख्ने, पुस्तक प्रकाशित गर्ने, नाटक मञ्चन गर्ने, चलचित्र बनाउन सकेमात्र मुन्धुम सार्वजनिक रुपमा ग्लोवल कन्सेप्टको रुपमा ल्याउन सकिन्छ।’
दिल्ली युनिभर्सिटीमा इतिहासबारे अध्ययन सकेर सिक्किमको सिङ्ताम सिनियर सेकण्डरी स्कुल, साम्दोङ सिनियर सेकण्डरी स्कुल र मंगलबारे सिनियर सेकेण्डरी स्कुललगयत सरकारी शैक्षिक संस्थामा कक्षा १०, ११ र १२ का विद्यार्थीलाई पोस्ट ग्राजुएट टिचरको रुपमा पाँच वर्ष इतिहास पढाएको अनुभव सुनाउँदै भनिन्- ‘त्यसपछि विद्युत विभागमा जागिर खान थालेँ। त्यसबेला सम्ममा मेरो उमेर ३१ वर्ष पुगिसकेको थियो। तर पनि याक्थुङ मुन्धुम बारे मलाई कुनै जानकारी थिएन। मुन्धुमबारे त मैले सुनेकै थिइनँ।’
भारतीयसहित विश्वको इतिहासको अध्येता भएपनि याक्थुङ लिम्बुको इतिहासबारे वेखवर उनलाई त्यसबेला मात्र झड्का लाग्यो, जब सन् २०१७ मा उनको बाबु सन्चबहादुर सुब्बाको देहावसान भयो। दुई दशकसम्म पठनपाठन गर्दा दिल्लीको चक्काचौंधमा रमाउँदै आएकी उनले आफ्नो बाबुको मृत्युसंस्कार गर्दा याक्थुङ लिम्बु परम्परा अनुसार गरेको देखेर ‘अरु भन्दा याक्थुङ लिम्बुको संस्कार अलिक निकै फरक पो हो कि’ भन्ने पक्षमा थोरै जिज्ञासा पलायो।
बाउको देहावसान पछि आमा शर्मिला कुलुङ (राई) ले भने दिल्लीमा पढेर आएकी छोरी सन्ध्यालाई आफ्नो पुर्खाले थामिल्याएको रितिरिवाज, संस्कार संस्कृति कहिल्यै नभुल्न सुझाव दिँदै ‘जरा’ खोज्न प्रेरित गरेको बताइन्। उनले भनिन, ‘म त हिन्दी, अंग्रेजी बोल्ने साथीसंग अध्ययनको सिलसिलामा लामो समय होस्टलमा युवा उमेर बिताएँ। यता फर्केर घर आउँदा आफ्नै याक्थुङ लिम्बु भाषा बोल्ने, सिक्ने र सिरिजंगा लिपि लेख्ने अवसर पनि पाइन। घरको बोलिचाली नेपाली, हिन्दी, अंग्रेजी भएकाले पनि याक्थुङ लिम्बु भाषामा पकड भएन। बाउको मृत्युपछि घरमा हिम साम्माङ, मुरुम सित्लाङ र तङ्सिङ गर्दा फलाक्ने साम्बा फेदाङ्मालाई यो कस्तो संस्कार संस्कृति हो भनेर जिज्ञासा राख्दा राख्दै म याक्थुङ मुन्धुमको इतिहास अध्ययन र लेखनमा रुचि जाग्यो।’
उनलाई येवा, येमा, साम्बा, फेदाङ्माहरुले पनि जवाफमा यो सबै कुरा बुझ्नका लागि मुन्धुमको अध्ययन गर्नैपर्ने सुझाव दिए। आफू लिम्बु भाषा र लिपी बुझ्न नसक्ने भएपछि वैरागी काइला, लक्ष्मण मेन्याङ्बो र अजुर्नबाबु माबुहाङद्धारा संकलित, सम्पादित मुन्धुम पुस्तकमा भएका नेपाली अनुवाद गरिएका मुन्धुम अध्ययन गरेर विस्तारै ज्ञान प्राप्त गरेको सुब्बाले बताइन्। उनले भनिन्, ‘म पहिले अंग्रेजी भाषा मात्र टेक्सबुक, नोबल र स्टोरीहरु पढ्थें।
वैरागी काँइलाका किताब नेपालीमा पनि लेखिएकाले नेपाली भाषामा पढ्न थालें। झन रस भिज्न थाल्यो। मुन्धुमविद् लक्ष्मण मेन्याङ्बो र अर्जुनबाबु मावुहाङको पुस्तक पनि पाएँ। आफ्नो इतिहास र मुन्धुमबारे जानकारी पाउन थालेपछि वैरागी काँइला, लक्ष्मण सर अर्जुन सरबाटै सबैभन्दा बढी प्रेरित भएंको छु।’ चासोक तङ्नामपछि सिक्किमकै लिम्बु भाषा शिक्षक समल मुरिङ्ला, अल्पाइन युनिभर्सिटीका लिम्बु भाषाका प्रमुख कर्णहाङ ताम्लिङ् र लिम्बु भाषा शिक्षक विनय वनेम फागोबाट वैरागी काँइलाद्वारा संकलित, सम्पादित मुन्धुमी पुस्तकहरु प्राप्त गरिन्।
त्यसै क्रममा सन २०१८/१९ मा सिक्किमका मुन्धुमविद् रुपलाल खाम्दाक ‘मेरिङ’ संग भेट भयो। खाम्दाकले मुन्धुमको बारेमा जानकारी दिए। उनले नै चासोक थिसोकको महत्त्वको विषयमा रुचि जगाइदिए। सोही बर्ष सिक्किमको सरम्सामा ‘सुक्खिम याक्थुङ चासोक तङ्नाम लोक्चुम’ गठन भएर राज्य स्तरीय चासोक तङ्नाम मनाउने तङ भएपछि मुख्यमन्त्री प्रेमसिङ तामाङ (पिएस गोले) लाई सो दिन विदा दिन माग गरें। सन्ध्या त्यसबेला लोक्चुम (समिति) को महासचिव चयन भएकी थिइन्। चासोक तङ्नामको उक्त असवरमा सिक्किममा सबैतिरबाट तीन दर्जन येवा, येमा, साम्बा, फेदाङ्माहरु भेला भएर मुन्धुम फलाके। याग्राङ्सिङ स्थापना गरेर तङ्सििङ अनुष्ठान गरेको देखेर उनको दिल दिमागमा याक्थुङ मुन्धुम भित्र अपार आदिवासी ज्ञान, दर्शन रहेछ भन्ने महसुस भयो। त्यहीबेलादेखि ‘लिम्बु समन’ पुस्तक निकाल्ने प्रेरणा मिलेको बताइन्।
उनले भनिन्, ‘म मुन्धुम र इतिहासको खोजीमा निस्कन तयार भएपछि धेरैले मलाई ‘छोरी मान्छे भएर एक्लै घुम्दै के खोजेको’ भनेर प्रश्न पनि गरे। कतिपयले मलाई किताब दिन र मुन्धमबारे जानकारी दिन समेत अनकनाए। कतिपयले लिम्बुको किताब लेखेर के पाउँछौं समेत भने। कतिपयले केटी मान्छे वेसी डुलेर केही हुँदैन पनि भने। मेरो आफ्नै लगानी, समय र दिमाग लगाएर पुस्तक निकालेँ, मुन्धुम पुस्तक अनुवाद गरेँ तर पाठकहरु भने नपाइने रहेछ। यसबारेमा वैरागी काँइला ज्यूले भन्नु भएको छ- ‘अहिले यी पुस्तकको महत्त्व देखिदैन। पछि अरुले खोज्ने छन्। त्यसबेला मात्र पुस्तकको महत्त्व बढ्ने छ।’
पछिल्लो समयमा उनले मुन्धुमको यात्रामा मुन्धुमविद् तुम्याहाङ लक्ष्मण मेन्याङ्बोबाट मुन्धुमबारे धेरै कुरा सिक्ने मौका पाएको बताइन्। त्यस्तै वैदेशिक रोजगारमा रहेका साम्बा भवानी अन्छङ्बोले म्यासेन्जरबाट मुन्धुमबारे लामालामा जानकारी पठाएको पनि बताइन्। उनले भनिन्, ‘याक्थुङ मुन्धुमी स्थल मानिएका इम्विरी याङ्धाङ्वा (तमोर) काङ्वा .(कावेली), आसपासका याक्थुङ मुन्धुमी स्थलहरुमा पुगेर पनि धेरै जानकारी प्राप्त भयो। यसबीचमा युवा संस्कृतिविद् हितराम तिलिङ, मोहन तिगेला, अमित थेवे, आइत खजुमलगायतबाट धेरै सहयोग पाएँ।’ विमल गुरुङ स्मृति पुस्तकालयद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा समेत पुरस्कृत भइसकेकी उनको ध्येय छ- ‘याक्थुङ मुन्धुमलाई सरल अंग्रेजी र हिन्दीमा भाषामा अनुवाद गर्दै सर्वसाधारणका पाठकसम्म पु-याएर आदिवासी ज्ञानलाई विश्वमा चिनाउने।’
प्रतिक्रिया