उपनिर्वाचनमा कांग्रेस-एमाले एकापसमा भिड्ने, गठबन्धन नगर्ने | Khabarhub Khabarhub

उपनिर्वाचनमा कांग्रेस-एमाले एकापसमा भिड्ने, गठबन्धन नगर्ने

यस्तो छ रिक्त ४४ स्थानको शक्ति सन्तुलन



काठमाडौं– विभिन्न कारणले जनप्रतिनिधि रिक्त ४४ क्षेत्रमा स्थानीय तहमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने भएको छ । उपनिर्वाचनका लागि दलहरूले तयारी थालिसकेका छन् ।

अहिले सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन छ । त्यसमा जनमत पार्टी, जसपा नेपाल र जसपा पनि सहभागी छन् । लोसपा पनि सत्ता पक्षमै छ ।

साना दलको स्थानीय तहमा ठूलो प्रभाव छैन । यस्तोमा रिक्त स्थानमा हुने उपनिर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने अवस्था छ । केही स्थानमा विपक्षी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको उपस्थिति छ । तर रिक्त रहेका नगरपालिका र गाउँपालिकाको उपनिर्वाचनका मुख्य प्रतिस्पर्धी कांग्रेस–एमाले नै हुन् ।

वडा तहमा नेकपा एकीकृत समाजवादीको पनि चर्चा छ । यस्तै नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि पहिलो स्थानीय तह उपनिर्वाचनमा भाग लिँदैछ । पुराना र ठूला दलप्रति आक्रोश बढेका बेला रास्वपाले कस्तो प्रभाव छाड्छ हेर्न बाँकी छ ।

कांग्रेस–एमाले एक्ला एक्लै

पहिलो दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि बुधवार बैठक बसेर जिम्मेवारी निर्धारण गरिसकेको छ । निर्वाचन केन्द्रीय संयोजन समितिका अध्यक्ष एवम् महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले प्रदेशगतरुपमा प्रचारप्रसारको जिम्मेवारी तोकेको छ ।

बुधबारको बैठकमा महालक्ष्मी उपाध्याय डिना, जीवन परियार, डा. प्रकाश शरण महत, पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्यले चुनावी रणनीतिबारे बोलेका थिए । उनीहरूले केन्द्रमा कांग्रेस–एमाले गठबन्धन भए पनि उपनिर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने बताएको निर्वाचन प्रसार प्रचार संयोजक मीनबहादुर विश्वकर्माले बताए ।

‘सरकारमा सहकार्य गरेपनि दुई ठूला दल एकअर्काका प्रतिस्पर्धी हुन् । निर्वाचनमा मज्जाले प्रतिस्पर्धा हुन्छ’, विश्वकर्माले भने, ‘उपनिर्वाचनमा कांग्रेस–एमाले गठबन्धन गर्नुपर्ने अवस्था देखिएको छैन । हामीसँग प्रतिस्पर्धा गर्ने अरु दल हुँदा गठबन्धनको कुरा आउँछ । त्यो त छैन, त्यसैले उपनिर्वाचनमा सिङ्गल–सिङ्गल जाने हो ।’

उपनिर्वाचन परिचालन समिति बागमती संयोजक महालक्ष्मी उपाध्याय डिना पनि माथिल्लो तहबाट उपनिर्वाचनमा गठबन्धन गर्ने कुरा नभएको बताउँछिन् । उनी निर्वाचनमा प्रतिस्पर्धा र सरकारमा सहकार्यको नारा कांग्रेस एमालेभित्र रहेको बताउँछिन् । मुख्य दलहरूबीच निश्चित एजेन्डामा मात्रै सहकार्य हुने बताउँदै उनले निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा हुने जिकिर गरिन् ।

यता एमाले उपाध्यक्ष युवराज ज्ञवाली पनि स्थानीय तह, केन्द्र र प्रदेश सबैमा कांग्रेस–एमाले गठबन्धन गर्ने कुनै कारण नभएको बताउँछन् । उनी मुख्य दलहरूबीच लोकतान्त्रिक अभ्यासअन्तर्गत प्रतिस्पर्धा हुने बताउँदै गठबन्धन गर्ने पक्षमा दुवै दलका नेताहरू नरहेको बताउँछन् ।

‘गठबन्धन गर्नुपर्ने आवश्यकता छैन । लोकतान्त्रिक प्रक्रियामा सामेल हुने हो । हामी दुई पार्टीबीच सरकार बनाउँँदा नै चुनावी गठबन्धन नगर्ने सहमति छ’, ज्ञवालीले खबरहबलाई भने, ‘हामी त स्वच्छ प्रतिस्पर्धा गर्ने पार्टी हौँ । मलाई लाग्छ, चुनावी गठबन्धनबारे बहस हुँदैन होला ।’

यता प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका नेताहरू पनि कांग्रेस–एमाले चुनावी गठबन्धन नहुने बताउँछन् ।

झगडा नगर्ने, वडालाई निर्णय गर्न दिने

कांग्रेस प्रचारप्रसार संयोजक विश्वकर्मा कांग्रेस एमालेबीच सहकार्य नभए पनि झगडा नहुने बताउँछन् । उनी एक अर्काको खैरो खन्ने अवस्थासम्म उपनिर्वाचनमा नपुग्ने बताउँछन् । स्वच्च प्रतिस्पर्धा हुने बताउँदै विश्वकर्माले कांग्रेसले एमालेले एकअर्कालाई हराउनकै लागि जालझेलसहित क्रियाकलाप नहुने बताउँछन् ।

स्थानीय आवश्यकता अनुसार वडा कमिटीले साझेदारी गरे केन्द्रले हस्तक्षेप नगर्ने उनी बताउँछन् । कांग्रेसले उपनिर्वाचन हुन लागेका ४४ स्थानमै आफ्नो उम्मेदवार खडा गर्ने जानकारी उनले दिए ।

‘पहिला कांग्रेसले जितेका ठाउँमा एमालेले हस्तक्षेपकारी क्रियाकलाप गर्दैन । हामी पनि एमालेले जितेका ठाउँमा उसलाई हराउन अरूसँग मिल्दनौँ’, उनले भने, ‘विश्वास र आत्मीयता साटासाट गरेर प्रतिस्पर्धा हुन्छ । कसैले कसैलाई हराउन हात धोएर लाग्दैनौँ । आफ्नो खुट्टामा उभिएर प्रतिस्पर्धा हुन्छ ।’

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पनि दुई दलबीच निर्वाचनलाई लिएर विवाद नहुने बताउँछन् । उनी हारजितका लागि अनेक योजना नबनाउने बताउँछन् । लोकतान्त्रिक प्रक्रियाअनुरूप जाने बताउँदै दुई पार्टीबीच स्थानीय तहको उपनिर्वाचनबारे विवाद आउने गतिविधि नहुने दाबी गर्छन् ।

एमाले उपाध्यक्ष ज्ञवाली पनि वडागत निर्णयमा समझदारी भए पार्टीले हस्तक्षेप नगर्ने बताउँछन् । कांग्रेस–एमाले गठबन्धन नै गर्नुपर्ने गरी चुनौती दिने कोही नभएको अवस्थामा वडाको निर्णयमा पनि पुनर्विचार गर्ने उनको भनाइ छ ।

उनी एमालेले पनि ४४ स्थानमै उम्मेदवारी दिने बताउँछन् । कांग्रेस–एमालेमा निर्वाचनलाई लिएर चित्त दुखाउनुपर्ने अवस्था नभएको उनको तर्क छ । यसैबीच स्थानीय तह उपनिर्वाचनमा छलफल गर्न एमालेले कात्तिक २५ गते सचिवालय बैठक बोलाएको छ । उक्त बैठकमा उपनिर्वाचनको तयारी र जिम्मेवारीबारे छलफल हुँदैछ ।

यी दुई दलले माओवादी र स्वतन्त्र उम्मेदवार बलियो भएका ठाउँमा अघोषित रुपमा गठबन्धन गर्न सक्ने संकेत गरेका छन् । तर वडामा पनि औपचारिक गठबन्धन गरेर जानुपर्ने अवस्था नआउने दुई दल ढुक्क छन् ।

तर नगरपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्षमा भने कुनै पनि औपचारिक अनौपचारिक रूपमा गठबन्धन नहुने नेताहरूको भनाइ छ ।

उपनिर्वाचन

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार देशभर ४४ स्थानमा उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितितर्फ दुईवटा प्रमुख पद खाली छ । ओखलढुङ्गा र कैलाली जिल्ला समन्वय समिति प्रमुखको उपनिर्वाचन हुन्छ ।

यस्तै, नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार जनाका लागि उपनिर्वाचन हुने छ । यस्तै ३४ वडा अध्यक्ष पदमा उपनिर्वाचन हुने छ ।

२०७९ को परिणाम

काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको उपनिर्वाचन हुँदै छ । मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि निर्वाचन हुँदै छ । यस्तै जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदको निर्वाचन हुँदैछ ।

हुम्लाको सर्केगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीबाहेक अन्य नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसबाट विजयी उम्मेदवारको मृत्यु भएको थियो ।

०७९ को निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादीको लोकतान्त्रिक वाम गठबन्धन थियो । त्यसबेला एमालेले केही ठाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्य गरेको थियो । अधिकांश ठाउँमा एमाले एक्लै लडेको थियो ।

कीर्तिपुर नगरपालिका : प्रमुख

यहाँ नगरप्रमुखको निर्वाचन हुँदै छ । गत ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका थिए । उनी गठबन्धनका उम्मेदवार थिए । मिर्गौला रोगबाट पीडित उनको गत साउन ११ गते निधन भएको हो ।

यहाँ पनि कांग्रेस एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा कांग्रेसका नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए । एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका थिए । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी पनि निर्वाचनमा होमिएकाले नतिजा रोचक हुने अनुमान छ ।

मोरङको ग्रामथान गाउँपालिका : अध्यक्ष

यहाँ अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । ०७९ को निर्वाचनमा निर्वाचित गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारुको मृत्यु भएपछि उपनिर्वाचन हुने भएको हो । थारुको ब्रेन ह्यामरेज भएर गत असार ३ गते निधन भएपछि यहाँ अध्यक्ष पद रिक्त छ ।

उनी गत ०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए । तर माओवादी, कांग्रेस र नेकपा एकीकृत समाजवादीको पनि थारुलाई साथ थियो । थारुले ७ हजार ६०५ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार शिवनारायण माझी थारु १ हजार ५१२ मतान्तरले पराजित भए। निर्वाचन आयोगका अनुसार एमालेका माझीले ६ हजार ९३ मत ल्याए । यहाँ उपाध्यक्षमा एमालेकी गुणावतीदेवी थारु छन् ।

दैलेखको महाबु गाउँपालिका : अध्यक्ष

यहाँ पनि अध्यक्षका लागि पनि निर्वाचन हुन्दैं छ । ०७९ माग १७ गते गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन भएको थियो । मुटुको रोगका कारण उनको निधन भएको थियो ।

उनी गठबन्धनको सहयोगमा कांग्रेसबाट विजयी भएका थिए । उनले २ हजार ९सय ७९ मत पाएका थिए । नेकपा एमालेका उम्मेदवार हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत पाएका थिए । यस्तै उपाध्यक्ष पनि कांग्रेसकी मञ्जु पाण्डे छिन् ।

जाजरकोटको नलगाड नगरपालिकाका  : उपप्रमुख

यहाँ पनि उपप्रमुखको निर्वाचन हुँदै छ । २०८० कात्तिक १८ गएको भूकम्पमा परेर उपमेयर सरिता सिंहको मृत्यु भएको थियो । त्सयबेला उनीसहित जाजरकोटमा मात्रै २० जनाको मृत्यु भएको थियो ।

उनी ०७९ को निर्वाचनमा गठबन्धनको बलमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् । यहाँको मेयरमा नेकपा माओवादी केन्द्रका डम्मरबहादुर रावत छन् । उपमेयरमा कांग्रेसकी सिंह र एमालेकी सुनिता बोहोराबीच प्रतिस्पर्धा भएको थियो । सरिताले ५ हजार ४०६ मत ल्याइन् । सुनिताले ३ हजार ३ सय ९२ मत ल्याएकी थिइन् ।

दोलखाको गौरीशङ्कर गाउँपालिका : उपाध्यक्ष

यो गाउँपालिका उपाध्यक्षको निर्वाचन हुँदैछ । गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण ०८० असार ३१ गते निधन भएको हो । उनी कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

०७९ को निर्वाचनमा कांग्रेसका तामाङ र एमालेका मुना शिवाकोटी केसीबीच प्रतिस्पर्धा भएको थियो । तामाङले ४ हजार ७४१ मत ल्याएका थिए । निकटतम् प्रतिद्वन्द्वी एमालेकी मुना शिवाकोटी केसीले ३ हजार २८१ मत ल्याएकी थिइन । यहाँको अध्यक्षमा माओवादीका विश्वास कार्की छन् । यहाँ तत्कालीन गठबन्धनले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेको थियो ।

हुम्लाको सर्केगाड गाउँपालिका : उपाध्यक्ष

यहाँ उपाध्यक्ष पद रिक्त छ । उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएपछि गत भदौ ४ बाट उक्त पद रिक्त भएको हो । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

उनकी श्रीमती जुम्कित लामा कर्णाली प्रदेशसभा सदस्य छिन् । ०७९ को निर्वाचनमा उनी तत्कालीन गठबन्धनबाट निर्वाचित भएका थिए । निर्वाचनमा उनले ३ हजार २६९ मत ल्याएका थिए । त्यहाँ कांग्रेस– एमालेको थोरै मत छ ।

यहाँ गाउँपालिका अध्यक्षमा कांग्रेसबाट ठानबहादुर रोकाया छन् । एमालेले गाउँपालिका अध्यक्षको निर्वाचनमा ९९७ मत ल्याएको थियो भने कांग्रेसले ३ हजार ५४३ मत ल्याएको थियो ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका : उपाध्यक्ष

यहाँ पनि उपाध्यक्ष पद रिक्त छ । क्यान्सरका कारण ०८० माग ४ गते उपाध्यक्ष मैना जोशीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उनी २०७९ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

उनले १ हजार ८१० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले १,६३७ मत ल्याएकी थिइन् । यहाँ पनि गाउँपालिका उपाध्यक्ष कांग्रेसका भरतबहादुर रोकाया छन् । यहाँ पनि कांग्रेस नेतृत्वको माओवादीसहितको गठबन्धन थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ६ : १८ बजे

रविको रिहाइका लागि राउटे मुखियाको ल्याप्चे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको रिहाइका

केही स्वार्थीहरूलाई मात्रै एमालेको महाधिवेशन लागेको हो : ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

श्रमिकको स्वास्थ्य रक्षाका मुद्दा प्रभावकारी बनाउन मन्त्री पौडेलको पहल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य सङ्गठनमा

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे संसद्लाई जानकारी

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन गइरहेको स्पेनको औपचारिक

राप्रपा र रास्वपाबाट प्रधानमन्त्रीको सम्बोधन बहिष्कार

काठमाडौं– प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय