मदिरामोहले कलेजो क्यान्सरको जोखिम बढ्यो | Khabarhub Khabarhub

मदिरामोहले कलेजो क्यान्सरको जोखिम बढ्यो

४०-६० को उमेर समूह अधिक प्रभावित


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग हो। जसले शरीरका विभिन्न भागबाट आएको रगत सफा गरेर मुटुमा पठाउँछ।जीवनप्रणालीमा कलेजोको भूमिका प्रमुख रहन्छ। तर पछिल्लो समयको हाम्रो खानपान र जीवनशैलीका कारण कलेजोको सिरोसीस र क्यान्सरको संक्रमण बढ्दै गएको छन्। नेपाल लगायत विश्वमा युवा जनसंख्या कलेजोको क्यान्सरजस्ता घातक समस्याको सिकार हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनमा उल्लेख छ। संसारमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये ५ औं नम्बरमा कलेजोको क्यान्सर पर्दछ। यसबाट हुने मृत्युदर पनि बढ्दो क्रममा रहेको चिकित्सक बताउँछन्। विश्वभर नै क्यान्सरका बिरामीको संख्या बढ्दो छ। सबैखाले क्यान्सर मध्ये कलेजोको क्यान्सरको अवस्था कस्तो छ ? कलेजोमा क्यान्सर हुनुको मुख्य कारण के हो ? कलेजोमा क्यान्सर भएको कसरी थाहा पाउने ? लक्षण कस्ता कस्ता देखिन्छन् ? यसको उपचार के–कसरी गरिन्छ ? यिनै विषयमा ग्यास्ट्रोएन्टेरोलोजिस्ट, क्लिनिकल र ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट प्रा. डा. शेखर पौडेलसँग गरिएको कुराकानी :

नेपाल लगायत विश्वभर नै क्यान्सरका बिरामीको संख्या बढ्दो छ। सबैखाले क्यान्सरमध्ये कलेजोको क्यान्सरको अवस्था कस्तो छ ?
संसारमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये ५ औं नम्बरमा कलेजोको क्यान्सर पर्दछ। ब्लड क्यान्सर, पाठेघरको क्यान्सर लगायत अन्य क्यान्सरको बारेमा धेरै चर्चा हुन्छ। तर यस विषयमा त्यति धेरै चर्चा नभए पनि कलेजोको क्यान्सर पनि कमन नै छ।

यसबाट हुने मृत्युदर पनि बढ्दो छ। नेपालमा त धेरै पत्ता नलागेर हो या के कारणले हो हामीसँग यसको डेटा नै छैन। संसारमा चाहिँ सबै क्यान्सरमध्ये चौथो मृत्युको कारण हुने गरेको छ।

कलेजोमा क्यान्सर हुनुको मुख्य कारण के हो ?
कलेजोका बिरामीको अन्तिम अवस्था भनेको सिरोसिस हो। यो सिरोसिस कलेजोमा क्यान्सर बनाउने पहिलो कारण हो। के कारणले गर्दा कलेजोको सिरोसिस भयो त्यो महत्त्वपूर्ण हुन्छ। जस्तै हेपाटाइटिस बि इन्फेक्शनले गर्दा कलेजोको सिरोसिस भएको छ भने सबैभन्दा बढी क्यान्सर हुने सम्भावना रहन्छ।

त्यसपछि हेपाटाइटिस सी जसले गर्दा कलेजोमा बोसो जमेर कलेजो खराब भएको छ भने पनि क्यान्सर हुने सम्भावना धेरै हुन्छ। त्यो बाहेक अटोमेन हेपाटाइटिस लगायत धेरै कारणले गर्दा कलेजो खराब हुन्छ। कलेजो खराब भइसकेपछि जुन सिरोसिस हुन्छ, त्यो चाहिँ १ नम्बर कारण हो। अर्को मुख्य कारण भनेको हेपाटाइटिस बीले सिरोसिस नभएरै पनि क्यान्सर गाराउन सक्छ। हेपाटाइटिस सी पनि त्यस्तै हो।

त्यस्तै मादक पदार्थको सेवन, कलेजोमा बोसो जम्नु, विभिन्न भाइरसको संक्रमणले पनि कलेजोमा क्यान्सरको जोखिम बढाउँछ।

कलेजोमा क्यान्सर भएको कसरी थाहा पाउने ? लक्षण कस्ता कस्ता देखिन्छन् ?
कलेजो एउटा यस्तो अङ्ग हो जसमा जति ठूलो चोट लागेपनि कुनै लक्षण देखाउँदैन। त्यसैले कलेकोको क्यान्सर भएको सजिलै थाहा पाउन सकिँदैन। कलेजोको क्यान्सर शरीरका अन्य भागमा फैलिसकेपछि मात्रै थाहा हुन्छ। त्यस्तै कलेजोको रोगको अन्तिम अवस्था सिरोसिस हो। सिरोसिस भयो भने पेटमा पानी आउने, कसैलाई रगत बान्ता हुने, दिसाबाट रगत जाने, जण्डिस हुने, खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षणहरु लिएर कोही बिरामी आए भने कलेजोको क्यान्सर हो कि भनेर शंका गर्न सकिन्छ। यस्तो अवस्थामा जाँच गराउनुपर्ने हुन्छ।

जण्डिसलाई पनि कलेजोको क्यान्सरको कारण मान्न सकिने हो ?
जण्डिसले कलेजोको क्यान्सर र सिरोसिस गराउँदैन। तर कलेजोमा क्यान्सर छ अथवा कलेजोको सिरोसिस छ भने जण्डिस गराउने हो। क्यान्सर जबसम्म ठुलो हुँदैन, फैलिँदैन तबसम्म जण्डिस गराउँदैन। कलेजोको क्यान्सर शरीरका अन्य अङ्गसम्म फैलिसकेपछि मात्रै जण्डिस देखिन्छ। त्यसैले यसलाई कलेजोको क्यान्सरको लक्षण मान्न सकिन्छ।

कलेजोको क्यान्सर पत्ता लगाउन के-कस्ता जाँच गर्नु आवश्यक हुन्छ ?
कलेजोको सिरोसिस भएको, हेपाटाइटिस बी, सी भएको, कलेजोमा बोसो जमेर दाग बस्न थालेको जस्ता बिरामीका भिडियो एक्सरे ६–६ महिनामा गराउँछौं। शरीरमा अल्फबिटा प्रोटिन भन्ने हुन्छ जुन चाहिँ रगतमा टेष्ट गरिन्छ। यसको मात्रा कलेजोको क्यान्सर भएका बिरामीमा बढ्छ।

त्यस्तो बिरामीमा यसको मात्रा यदि बढेको छ या केही गाँठागुठी कलेजोमा देखिएको छ भने हामीले सिटीस्क्यान या एमआरआई गराउँछौं। यसबाट क्यान्सर भएको प्रष्ट थाहा हुन्छ।

कलेजोको क्यान्सर पत्ता लगाउन अन्य क्यान्सरमा जस्तो बायोप्सी गर्न आवश्यक हुँदैन। कहिलेकाहीँ शंका लाग्यो भने मात्रै बायोप्सी लिन्छौं।

यसको उपचार के-कसरी गरिन्छ ?
यसको उपचार थरिथरि हुन्छ। कुन स्टेजमा बिरामी आएको छ भन्ने प्रमुख विषय हो। लिभर सिरोसिस भएको छ कि छैन, बिरामीको अवस्था कस्तो छ त्यसमा भरपर्छ।

जस्तै ९० वर्षको मान्छेलाई कलेजोको क्यान्सर हुनु र २० वर्षको मान्छेमा हुनु फरक पर्छ। त्यसमा उपचारको पद्धति पनि फरक हुन्छ। सिरोसिस भएर पेटमा पानी आइसकेको अवस्थामा आएका बिरामीमा क्यान्सर भेटियो भने त्यसको उपचार फरक हुन्छ।

बिरामीको कलेजोमा ट्युमर सानो छ भने अप्रेसन गरेर फाल्न सकिन्छ। त्यसलाई जलाउन पनि सकिन्छ। सिरोसिस भइसकेको छ भने रगतको नसाबाट क्यान्सर नस्ट गर्ने औषधी राखेर पनि त्यसलाई निष्क्रिय गर्न सकिन्छ।

बिरामीको कलेजो राम्रो छ सिरोसिस भएर पनि त्यति खराब भइसकेको छैन भने ट्युमर सानो छ भने अप्रेसन गरेर फाल्न सकिन्छ। त्यसलाई जलाउन पनि सकिन्छ। त्यो भन्दा अलिकति ठूलो छ र सिरोसिस पनि भइसकेको छ भने त्यसलाई लोकल थेरापी गर्न सकिन्छ। भनेको रगतको नसाबाट क्यान्सर नस्ट गर्ने औषधी राखेर पनि त्यसलाई निष्क्रिय गर्न सकिन्छ।

त्यस्तै अर्को उपचार भनेको कलेजोमा सिरोसिस भएर अन्तिम अवस्थामा पुगिसकेको छ भने कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। क्यान्सर कलेजो भन्दा बाहिर फैलिसकेको छ र प्रत्यारोपण गर्नसक्ने अवस्था पनि छैन भने त्यस्तो अवस्थामा केही औषधी हुन्छ, जसले केही समयका लागि रोकथाम गर्न सकिन्छ। तर हामी कहाँ आउने बिरामीहरु अन्तिम अवस्थामा मात्रै आइपुग्छन्। जबसम्म फैलिँदैन कसैले चासो दिदैनन्। उपचार नै गर्न नसकिने अवस्थामा अस्पताल आउँछन् र ठिक गरिदिनु पर्यो भन्छन्।

कुन उमेर समूहका बिरामी धेरै आउने गर्दछन् ?
४०-५० वर्ष उमेर समूहका मानिस धेरै आउने गर्दछन्। धेरैको कलेजो बिगार्ने भनेको मदिरा सेवनले हो। कलेजो बिग्रिन १५–२० वर्ष समय लाग्छ। त्यस्तै हेपाटाइसि बी, सी ले पनि त्यति नै समय लगाउँछ। त्यसैले कलेजो बिग्रेर आउने व्यक्तिमा ४० देखि ६० वर्ष उमेर समूहका रहेका छन्। यो भन्दा माथिका उमेरका बिरामी आए भने उपचार गर्न पनि गाह्रो हुन्छ।

कलेजो प्रत्यारोपण कत्तिको सहज छ नेपालमा ?
भक्तपुर प्रत्यारोपण केन्द्रमा नियमित रुपमा प्रत्यारोपण भइरहेको छ। यसवर्ष मात्रै १७, १८ जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ। त्यसमा एउटा कलेजो क्यान्सरका बिरामीमा पनि गरिएको छ। त्यस्तै अन्य अस्पतालहरुमा पनि प्रत्यारोपण भइरहेको छ। पहिलेको भन्दा केही सहज छ। बिरामी समयमै अस्पताल आएको स्थितिमा उपचार सहज हुन्छ।

मिर्गौला प्रत्यारोपण र कलेजो प्रत्यारोपणमा प्रक्रिया केही फरक छ कि उस्तै हो ?
पश्चिमा देशमा अङ्ग दान गर्ने दाता हुन्छन् र प्रत्यारोपणमा सहजता हुन्छ। तर नेपालमा त्यस्तो खालको शिक्षाको कमी हो या जनचेतनाको कमीले हो दान गर्ने चलन त्यति छैन र मृत्युपछि पाउने अङ्गहरु पाउन पनि कठिन छ। त्यसैले परिवार वा नजिकको नातेदार जसको रक्त समूह मिल्छ र जसलाई कुनै कलेजो सम्बन्धी रोग छैन या अन्य कुनै ठूलो रोग छैन, उसले कलेजो दिन मिल्छ।

कलेजो प्रत्यारोपणको एउटा मापदण्ड हुन्छ। जस्तै क्यान्सर ५ सेन्टिमिटर भन्दा ठूलो छ या ७ सेन्टिमिटर भन्दा ठुलो छ भने प्रत्यारोपण नगराउने भन्ने छ। त्यसैले यसको मापदण्डमा रहेर प्रत्यारोपण गर्नुपर्ने हुन्छ। तर सिरोसिस नभइकन क्यान्सर मात्रै भएको छ प्रत्यारोपण गर्न अलि सहज हुन्छ।

कलेजो प्रत्यारोपणको एउटा मापदण्ड हुन्छ। जस्तै क्यान्सर ५ सेन्टिमिटर भन्दा ठूलो छ या ७ सेन्टिमिटर भन्दा ठुलो छ भने प्रत्यारोपण नगराउने भन्ने छ। त्यसैले यसको मापदण्डमा रहेर प्रत्यारोपण गर्नुपर्ने हुन्छ। तर सिरोसिस नभइकन क्यान्सर मात्रै भएको छ प्रत्यारोपण गर्न अलि सहज हुन्छ।

मिर्गौला र कलेजोको प्रत्यारोपणमा के फरक छ भने हामीले कसैलाई मिर्गौला दियौं भने त्यो त सधैंका लागि जान्छ नि तर कलेजो त काटेर दिने हो र काटेको भाग फेरि पलाउँछ। लिने दिने दुवैका लागि काम लाग्छ। नभए अप्रेसन यसको पनि मिर्गौलाको भन्दा ठूलो हुन्छ। अप्रेसन पश्चात लिने दिने दुवैलाई सहज हुन्छ।

एकपटकको उपचारपछि कलेजोको क्यान्सर बल्झिने सम्भावना कत्तिको हुन्छ ?
ट्युमरहरु हामीले जलाउँछौं त्यो फेरि फर्केर आउने सम्भावना रहन्छ। टेस, टिआर, आरएसओइ, एमडब्लुयु लगायत विभिन्न विधिबाट उपचार गरिन्छ र फेरि फर्केर आयो भने अर्कोपटक थेरापी गर्न मिल्छ या प्रत्यारोपणमा पठाउनुपर्ने हुन्छ।

हाम्रोमा के छ भने कसैलाई क्यान्सर भयो भने सिधै क्यान्सरको डाक्टर खोज्दै या क्यान्सरको सर्जनसँग जाने हुन्छ। तर यो बिमारी भनेको क्यान्सरको डाक्टरले उपचार गर्ने बिमारी होइन। कलेजोका क्यान्सरका बिरामीले सबैभन्दा पहिला कलेजोका डाक्टरलाई भेट्नुपर्ने हुन्छ।

यसमा किमोथेरापी या रेडियोथेरापीले खासै फाइदा गर्दैन। यसमा एउटा टार्गेटेट थेरापी भन्ने हुन्छ। यदि अप्रेसन गर्न मिल्दैन, प्रत्यारोपण गर्न मिल्दैन या जलाउन मिल्दैन भने त्यस्तो अवस्थामा टार्गेटेट थेरापी दिइन्छ। यसले जुन इन्जाइमबाट क्यान्सर बाँचिरहेको हुन्छ, त्यसलाई ब्लक गरिदिने, क्यान्सरलाई बढ्न नदिने र साइज घटाउने काम गर्छ।

कलेजोको क्यान्सर शरीरका अन्य अङ्गमा फैलिने जोखिम कत्तिको हुन्छ ?
कलेजोले शरीरका विभिन्न भागबाट आएको रगतलाई सफा गरेर मुटुमा पठाउने काम गर्छ। त्यसैले अन्य अङ्गको क्यान्सर कलेजोमा आउने र कलेजोको क्यान्सर अरु अङ्गमा फैलिने जोखिम धेरै हुन्छ। तर धेरै ठूलो नभएसम्म अरु अङ्गको क्यान्सर जस्तो एकैपटक कलेजोको क्यान्सर फैलिदैन।

कलेजो क्यान्सर हुने पहिलो कारण सिरोसिस भएकाले सबैभन्दा पहिले सिरोसिस हुन दिनुभएन। सिरोसिस हुन नदिनका लागि मदिरापान नगर्ने, कलेजोमा बोसो जमेको छ भने त्यसको उपचार गराउने, हेपाटाइटिस बी, सी छ भने त्यसको जाँच गराएर उपचार गर्नुपर्छ ।

कलेजोको क्यान्सरबाट बच्न के गर्ने ?
कलेजो क्यान्सर हुने पहिलो कारण सिरोसिस भएकाले सबैभन्दा पहिले सिरोसिस हुन दिनुभएन। सिरोसिस हुन नदिनका लागि मदिरापान नगर्ने, कलेजोमा बोसो जमेको छ भने त्यसको उपचार गराउने, हेपाटाइटिस बी, सी छ भने त्यसको जाँच गराएर उपचार गर्नुपर्छ ।

त्यस्तै अन्य जुन कारणले गर्दा कलेजोमा नोक्सानी हुन्छ त्यस्ता रोगको समयमै उपचार गर्ने र यदि सिरोसिस छ भने डाक्टरलाई नियमित देखाइरहने गर्नुपर्छ। हरेक ३ वर्षमा सिटीस्क्यान गराउने, हरेक ३ देखि ६ महिनामा रगत जाँच, भिडियो एक्सरे गराउने जसले गर्दा क्यान्सर सुरुमै पत्ता लाग्छ र उपचारमा सहजता हुन्छ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ८ : ०२ बजे

सर्वोच्चको बोर्डमा कालो छ्याप्ने बिनु प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी बिनु यादवलाई

सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति

गण्डकी – पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक

भक्तपुरमा गतवर्ष भन्दा राजश्व संकलनमा वृद्धि 

भक्तपुर – आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले चालू आर्थिक वर्षको

लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै

लुम्बिनी– लुम्बिनी प्रदेशको समग्र विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले

शिवरात्रिमा ‘लाज शरणम्’ र ‘होस्टल–३’ र ‘मायावी’को प्रतिस्पर्धा

काठमाडौं– नायक पल शाह र नायिका दीपिका प्रसाईं केन्द्रीय भूमिकामा