अर्थसंक्षेप : शेयर बजार घट्यो, भौतिक मन्त्रालयले काममा फाइल ट्रयाकिङ सिस्टम लागू गर्ने | Khabarhub Khabarhub

अर्थसंक्षेप : शेयर बजार घट्यो, भौतिक मन्त्रालयले काममा फाइल ट्रयाकिङ सिस्टम लागू गर्ने


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले कार्यालयका फाइलमा ट्रयाकिङ सिस्टम लागू गर्ने जनाएका छन् । साताको पहिलो दिन नेप्से घटेको छ । ललितपुर महानगरका २० सहकारी संस्थामा समस्या देखिएको छ । पोखरामा फागुन १२ ९आगामी फेब्रुअरी २४० देखि नेपाल–भारत–चीन ट्राइनेशन एक्स्पो आयोजना हुने भएको छ ।

आजका प्रमुख आर्थिक समाचार :

ललितपुर महानगरका २० सहकारीमा समस्या

ललितपुर महानगरपालिकाको कार्यक्षेत्र भित्रका २० वटा सहकारीमा समस्या देखिएको छ । ती मध्ये अधिकांश सहकारीका सञ्चालकले बचतकर्ताको रकम नै फिर्ता दिएका छैनन् ।

ललितपुर महानगर, सहकारी विभागले खबरहबलाई उपलब्ध गराएको सूचनाअनुसार महानगरभित्रका २० वटा सहकारीमा बचत फिर्ता र बिना धितो ऋण प्रवाहलगायत विषयलाई लिएर ५०० भन्दा बढी बचतकर्ताको निवेदन परेको हो ।

प्राप्त सूचनाअनुसार; समस्या देखिएका ललितपुर महानगरका अधिकांश सहकारीमा बचत फिर्ताको समस्या देखिएको छ । त्यस्तै, केही सहकारीहरूमा बिना धितोको ऋण लगानी र पदाधिकारीले नै आफूखुसी पैसा चलाएको विषयमा समस्या देखिएको छ ।

महानगरभित्र कार्यक्षेत्र भएका सहकारीमा समस्या देखिएपछि महानगरको सहकारी विभागमा निवेदन आउने र समस्याको प्रारम्भिक समाधान निम्ति महानगरले काम गर्ने गरेको छ । पछिल्लो समयसम्म अद्यावधिक भएको तथ्याङ्क अनुसार युवा बचत तथा ऋण सहकारी संस्थामा सबैभन्दा धेरै बचत फिर्ताको समस्या देखिएको छ ।

सो सहकारीका २८४ जना बचतकर्ताले ५५ करोड रुपैयाँ बचत फिर्ताको माग गर्दै महानगरमा निवेदन दर्ता गराएका छन् । बचतकर्ताको निवेदनअनुसार दुई पक्षबीच छलफलमार्फत सहमति गराएको, तर सो अनुसार सञ्चालक र लेखा समितिका पदाधिकारीले कार्यान्वयन नगरेपछि सो सहकारीका सबै सञ्चालक र लेखा समितिका पदाधिकारीको सम्पत्ति र बैंक खाता रोक्काका लागि सम्बन्धित निकायमा पठाएको महानगर सहकारी विभागले जनाएको छ ।

त्यस्तै, युनिक बचत तथा ऋण सहकारीका उपाध्यक्षले आफ्नै सहकारीबाट बिनाधितो १२ करोड रूपैयाँ लिएको निवेदन महानगरमा परेको छ । उक्त सहकारीका बचतकर्ताले पनि आफ्नो १६ करोड रुपैयाँभन्दा बढी बचत फिर्ता पाउन नसकेको निवेदन ५० जनाले दिएका छन् ।

महानगरले सहकारीका उपाध्यक्षको सम्पत्ति र बैंक खाता रोक्का गर्न सम्बन्धित निकायमाप फाइल पठाएको खबरहबलाई जनाएको छ । साथै, सो सहकारीबाट ऋण लिएका अन्य ऋणीहरूमार्फत् ऋण असुल गर्ने र बचतकर्तालाई बचत फिर्ता गर्ने काममा केही सफलता हासिल गरेको हुँदा समस्या समाधानोन्मुख भएको महानगरका अधिकारीहरूको दाबी छ ।

शेयर बजार १० अंकले घट्यो

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गरेको थियो । तर मौद्रिक नीतिमा भने कुनै नीति परिवर्तन भने भएन । मौद्रिक नीतिको पहिलो शेयर बजारलाई भने लगानीकर्ताले राम्रोसँग भने लिएका छैनन् ।

अर्थात् मौद्रिक नीतिको समीक्षा पछिको शेयर बजार भने घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अंकले घटेको छ । आइतबार नेप्से ०.३६ प्रतिशतले घटेर २७३८.०६ विन्दुमा पुगेको छ ।

आज नेप्से घट्दा ८ अर्ब ८३ करोड २२ लख २५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर कारोबार भएको छ । आज बजार घट्दा ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज २१४ वटा कम्पनी कारोबारमा आउँदा ८२ हजार ६०२ पटक शेयर किनबेच भएको छ । आज १२ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ भने जानकी र नेपाल फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

पर्यटन क्षेत्रमा सुधार हुँदै, एघार महिनामा साढे १० लाख विदेशी भित्रिए

पर्यटक आगमनको हिसाबले नेपालको पर्यटन क्षेत्रमा सुधार हुँदै गएको देखिएको छ । सन् २०२३ को ११ महिनाको तुलनामा सन् २०२४ को ११ महिनामा झण्डै डेढ लाख बढी पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको हो ।

बोर्डकाअनुसार सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५०३ जना पर्यटक नेपाल घुम्न आए । सन् २०२३ को ११ महिनामा भने नेपाल घुम्न आउने पर्यटकको संख्या ९ लाख १८ हजार ३०८ जना मात्रै थियो । तथ्यांकअनुसार अघिल्लो अंग्रेजी वर्षको ११ महिनाको तुलनामा चालु अंग्रजी वर्षको ११ महिनामा नेपाल घुम्न आउने पर्यटकको संख्या १ लाख ३७ हजार २२५ ले बढी रहेको छ ।

सन् २०१९ को ११ महिनामा नेपालमा १० लाख ९६ हजार ३२५ जना पर्यटक घुम्न आएका थिए । सो संख्यालाई शतप्रतिशत मान्दा चालु अंग्रजी वर्षमा आउने पर्यटकको संख्यामा ९६ प्रतिशतले सुधार भएको देखिएको छ ।

चालु अंग्रेजी वर्षको नोभेम्बर महिनामा नेपालमा सबैभन्दा धेरै भारतबाट १९ हजार ९१५ जना, अमेरिकाबाट १० हजार ९८१, चीनबाट ९ हजार ४५८ र बेलायतबाट ६ हजार ६११ जना पर्यटक घुम्न आएका थिए ।

फाइल ट्रयापिङ सिस्टम लागू गर्न खोज्दैछौँ : पूर्वाधारमन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विभिन्न बहाना फाइल अड्काउने र ढिलासुस्ती गर्ने प्रवृत्तिको अन्त्यका लागि फाइट ट्रयापिङ सिस्टम लागू गर्न लागेका छन् । विभिन्न विकासे योजना तथा ठेक्काका फाइलहरू वर्षौँ मातहतका निकायमा अड्किने गरेको छ । ठेक्का तथा आयोजनाका फाइलहरू मन्त्रालयमातहतका निकायमा लामो समय अड्किने समस्यालाई समाधान गर्न पहिलो पटक फाइल ट्रयापिङ सिस्टम लागू गर्न लागिएको मन्त्री दाहालले बताए ।

‘कुनै पनि योजनाका फाइलहरू महिनौँ एउटै विभाग वा शाखामा अड्किनु हुँदैन । कुन फाइल कहाँ गएर अड्कियो ? त्यसको जानकारीसहित फाइल ट्रयापिङ सिस्टम लागू गर्दै छौँ’ उनले भने, ‘यसले प्रक्रियागत ढिलासुस्तीमा केही सहजता होला ।’

लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेल

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजक निजी क्षेत्रको प्रमुख मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल बनेको छ ।

आइतबार राजधानी काठमाडौंमा एक कार्यक्रमबीच मुख्य प्रायोजनाका लागि लुम्बिनी लायन्स र एनलेसका अधिकारीहरूबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । एनलेस एनपीएलको समेत ‘पावर्ड बाई’ पार्टनरका रूपमा रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको एनपीएका फ्रेन्चाइजी क्लबहरूलाई पछिल्लो समय धमाधम निजी क्षेत्रको साथ मिलिरहेको छ ।

उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्सलगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरु उपस्थित रहेका थिए । कार्यक्रममा मुख्य प्रायोजन सम्बन्धमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गरेका छन् । साथै कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।

सहकार्यबारे बोल्दै अध्यक्ष जिसीले भने, ‘एनसेलजस्तो अन्तर्राष्ट्रिय स्तरको एवम् नेपालकै अग्रणी निजी दूरसञ्चार सेवा प्रदायकसँग मुख्य प्रायोजकको रूपमा जोडिन पाउँदा हामी अत्यन्त आभारी छौँ । यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौँ । एनसेल जस्तो प्रतिष्ठित ब्रान्डको समर्थनले हाम्रो टोलीलाई अझ सशक्त बनाउनेछ र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनेछ ।’

त्यस्तै एनसेलका प्रमुख कार्यकारी अधिकृत कायुमोभले भने, ‘हामी नेपाली क्रिकेट र युवा प्रतिभाको विकासमा सधैँ प्रतिबद्ध रहँदै आएका छौँ र यो सहकार्य त्यसको एक ज्वलन्त उदाहरण हो । लुम्बिनी लायन्स क्लबसँगको यो साझेदारीले हाम्रो यस प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास गरेका छौँ । ‘हामी तपाईँकै लागि’ भन्ने हाम्रो थिममा आधारित रही नेपाली क्रिकेट जगतलाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । हामी खेलकुदको विकास, युवा सशक्तीकरण र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्न चाहन्छौँ ।’

एनसेल फाउन्डेसनले हालै मात्र एनपीएल हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चार वटा एजुकेशनल किट प्रदान गर्ने घोषणा गरेको थियो ।

पोखरामा फागुन १२ देखि ‘ट्राइनेशन एक्स्पो’

पर्यटकीय राजधानी पोखरामा फागुन १२ (आगामी फेब्रुअरी २४) देखि नेपाल–भारत–चीन ट्राइनेशन एक्स्पो आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटन संघसंस्था र सरकारी एवम् निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यमा तीनदिने ‘नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस २०२५)’ आयोजना गर्न लागेको हो ।

नाइस २०२५ का संयोजक र पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य सुनील भट्टराईले पर्यटन क्षेत्रका सबै सरोकारवालालाई सक्रिय सहकार्य र समर्थन निम्ति निमन्त्रण गरेका छन् । विश्व पर्यटन इतिहासमै पहिलोपटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने ‘नाईस’ सम्भवतः पहिलो पर्यटन मेला हुने उनको अनुमान छ ।

नेपालको पर्यटन प्रवर्द्धन तथा विकासका लागि सबैभन्दा निकट छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवालाहरू एवम् संघ-संस्थाहरू लाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवर्द्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयामहरू उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने हामीले विश्वास गरिएको पाटा नेपालले जनाएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नाइस २०२५ नेपालकै पर्यटन राजधानी पोखरामा आयोजना हुन लागेकोमा आफ्नो खुशी र गर्व व्यक्त गरे । उनले नाइस २०२५ पोखरामा हालसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हुने उल्लेख गर्दै यसले पोखराको पर्यटनलाई उल्लेखनीय रूपमा प्रवर्द्धन गर्ने र यस क्षेत्रलाई ठूलो प्रचार दिने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पर्यटन बोर्ड र पाटा नेपालले पहिलो पटक विभिन्न स्थानीय, राष्ट्रिय तथा क्षेत्रीय संघसंस्थासँग मिलेर त्रिदेशीय एक्स्पो (नाइस २०२५) आयोजना गर्ने घोषणा गर्न पाउँदा आफू अत्यन्त उत्साहित रहेको जनाए ।

एक्स्पोमा १०० भन्दा बढी क्रेताहरू, ८० भन्दा बढी बिक्रेताहरू, चीन र भारतका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्ताहरू लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १००० भन्दा बढी सहभागिता हुने आयोजकको अनुमान छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : ३१ बजे

ठमेलमा चिनियाँ नयाँ वर्षको रौनक (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाइएको छ । आइतबार काठमाडौंको ठमेलमा चिनियाँ

गृहमन्त्रीले भने- सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु हो 

दोधारा चाँदनी- गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक

भिरबाट लडेर महिलाको मृत्यु

बागमती– भिरबाट लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक महिलाको मृत्यु भएको

सहज बन्दै मनाङको यात्रा

मनाङ– पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक

जापानस्थित नेपाली दूतावासद्वारा आयोजित घुम्ती शिविरमा १४०० भन्दा बढीले लिए सेवा

काठमाडौं– जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको