एक छिमेकीविरुद्ध अर्को देखाउने नीति असफल | Khabarhub Khabarhub

एक छिमेकीविरुद्ध अर्को देखाउने नीति असफल

हुनेखानेको स्याहारले पार्टी कमजोर



प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न भएको छ । सत्तारुढ गठबन्धनभित्रै चीनले अगाडि सारिराखेको ‘बेल्ड एन्ड रोड इनिसिएटिभ’ बीआरआई कार्यान्वयनको विषयमा आआफ्नै मत छ । खासगरी कम्युनिस्ट पार्टीका नेताहरूले बीआरआईलाई सहज रुपमा अघि बढाउन भनेका छन् । त्यसमाथि सत्तामा गएपछि अधिकांश प्रधानमन्त्रीको भारत भ्रमण हुने परम्परा तोडिएको प्रति आआफ्ना दृष्टिकोणबाट व्याख्या हुने क्रम सेलाएको छैन ।  प्रधानमन्त्रीको चीन भ्रमण, बीआरआई परियोजना विषयमा प्रमुख प्रतिपक्षी माओवादीको धारणा के छ ? यी नै विषयमा जोडिएर  नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री राम कार्कीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चाइना कार्ड’ प्रयोग गर्न खोजे, उनी भारत भ्रमणमा जानुपर्थ्यो भन्ने खालको आशय र संकेत माओवादी नेतृत्वले ग¥यो भन्ने आइराखेको छ  । यो बहस नै बहसको बीचमा माओवादीको स्पष्ट दृष्टिकोण के हो ?

माओवादीको आन्तरिक सुरक्षा नीति भनेको असंलग्नता हो ।  असंलग्न परराष्ट्र नीति हाम्रो इच्छा र कामनाभन्दा बाध्यता पनि हो । परराष्ट्र नीतिका निम्ति हाम्रो साइज, शक्ति, छिमेकी यी तमाम विषयलाई निर्धारण गर्दछ ।

अहिले भ्रमणभन्दा पनि पृष्ठभूमिका बुझ्नुपर्ने भनेको नेपालको परराष्ट्रमन्त्री भारत जानुभएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय फोरममा पनि नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीको भेटघाट भयो । नेपाली परराष्ट्रमन्त्री र चिनियाँ अधिकारीहरूको बीचमा पनि भेट भयो । त्यसपछि  यो भ्रमण तय भएको हो । यो स्थितिमा हिजो राजा महेन्द्रले एक छिमेकीका विरुद्ध अर्कोलाई देखाउने जुन नीति अपनाएका थिए, त्यो नीति आज सम्भव छैन ।

किनकी हिजो चीन र भारत भनेको किनाराका अल्पविकसित राष्ट्र मानिन्थे । आज उनीहरूको उदय भएको छ आर्थिक र राजनीतिक रूपमा ।  उनीहरू विश्वकै राजनीतिमा भूमिका खोजिरहेका छन् । यो स्थितिमा सबभन्दा महत्त्वपूर्ण कुरा नेपालको आन्तरिक सुरक्षा नीति, आफ्नो आन्तरिक नीति र मुख्य आफ्नो विकास रणनीतिमा हामी कसरी अगाडि बढ्ने भन्ने तय हुनुपर्थ्यो । तर दुर्भाग्य भनेको नेपालसँग आफ्नो दीर्घकालीन विकास रणनीति केही छैन ।

हाम्रो चर्चा परिचर्चा पनि यस्तै बेलामा कोही कता जान लाग्यो कोही कतै आउन लाग्यो भने चर्चा परिचर्चा गर्छौ । अरु बेला भ्यागुता जमिनमुनि पसे जस्तै गरी पसेर बस्छौँ । यो हाम्रो प्रविधि भयो र कुनै पनि राजनीतिक पार्टीले त्यो पहल पनि गरेको छैन कि नेपालको राष्ट्रिय स्वार्थहरू के हो, प्राथमिकता के हो ? एउटै पार्टीका पनि १० जना नेतालाई भेटाएर सोध्दा १० वटा विचार भन्छन् ।

जस्तो चीनको राष्ट्रपति सी जिनपिङ नेपाल आउनु भएको थियो, त्यो बेला पनि हाम्रो प्राथमिकता के हो चीनबाट चाहेको के हो भनेर भन्न सकेनौँ । भारतका प्रधानमन्त्री पनि आए तर केही भनेनौँ । हाम्रो प्राथमिकता यो हो, यो क्षेत्रमा सहयोग अनुदान चाहन्छौँ, यो क्षेत्रमा हामीलाई ऋण र अनुदान चाहिँदैन आफै गर्छौँ भन्ने स्थितिमा नेपाल नभएसम्म यस्तै पिङ खेलाई चलिरहन्छ  ।

माओवादी अध्यक्षले भारतीय सञ्चारमाध्यममा दिनुभएको अभिव्यक्ति पूर्वाग्रहपूर्ण भनेर टिप्पणी भएको छ । त्यसको आशय के थियो ? 

सञ्चार माध्यममा भारतसँग राम्रो सम्बन्ध छ रे ! टीका लगाउने के गर्ने लगायतका कुरा आइरहेको थियो । तर अहिले त त्यहाँ प्रधानमन्त्रीसँग दुई जनाको भेट भइसकेको हुनाले त्यो  भइहाल्यो नि भन्ने ढङ्गले जानुपर्ने स्थिति आयो । त्यसैले मुख्य कुरा भनेको यो जुन एउटा अघोषित परम्परा बनाइयो– पहिला भारत भ्रमण गरेर जानै पर्ने  भनेर ।

यो हिजो एकदमै चीन कमजोर भएको स्थितिमा र भारतमा ब्रिटिसहरूको राज्य कायम भएको बेलामा हाम्रो बाध्यता थियो । त्यही बाध्यताको सोचाइ नेपालीहरूमा अहिले पनि पाइन्छ । र कतिपय भारतीयहरूमा पनि त्यही पाइन्छ ।

वर्तमान सरकाले कूटनैतिक सन्तुलनहरू राम्रै निर्वाह गर्न नसक्या हो कि भन्ने कुरा उठिराख्या हो । र हामी असंलग्न परराष्ट्र नीतिको पक्षमा छौँ ।  असंलग्न परराष्ट्र नीति भनेको कोहीसँग छोइछिटो नहुने भन्ने हैन, समान रूपमा हेर्ने हो । हामीसँग सरोकार राख्ने भारत चीन भनेको हाम्रा छिमेकी देश भए तर हामीसँग परम्परागत रूपमा सम्बन्ध रहेका जति पनि देशहरू छन् , चाहे त्यो अमेरिका होस् चाहे बेलायत होस् ,यी सबैसँग समान प्रकारको सम्बन्ध राख्ने कुरा हो ।

हिजो एमसीसीका सन्दर्भमा जसरी देश विभाजित भएको थियो, बीआरआई परियोजना कार्यान्वयन विषयलाई ग्लोबल सेक्युरिटीसंग जोडिएको छ ।  कांग्रेसले यो विषयलाई संशयपूर्ण मान्यो ।  तपाईँले भनेजस्तै असंलग्न भन्ने शब्दसँग यसको तालमेल मिल्छ ? 

कांग्रेस भनेको एउटा युनाइटेड फण्ड हो । कांग्रेस पार्टी भन्दाखेरि जब जब त्यो पार्टी बन्न खोज्छ, त्यतिबेला त्यसले नोक्सान बेहोरेको छ । त्यहाँ एकदमै गाईको पूजा गर्नुपर्छ भन्ने पनि अटाउँछन् र आधुनिक कुरा गर्ने पनि अटेका छन् । त्यसैले कांग्रेसले बोल्दा कुन कांग्रेस भन्ने कुरा उठ्छ ।

तर अहिले कांग्रेसको भनेर आएको कुरा जुन छ, चीनसँग ऋण नलिने भन्ने ।

जस्तो  हिजो पोखरा एयरर्पाेर्ट बन्यो, भैरहवा एयरपोर्ट बन्यो, त्यो बनाउने बेलामा यी नै मान्छे थिए नि । त्यो बनाउने बेलामा किन हतार हतार बनाइयो त ? जब उडानै टुंगो रहेनछ । भारतसँग कुरै भएको रहेनछ भैरहवाको निम्ति । जोग्राफीको राम्रो मापन नै नभएको रहेछ पोखराको । अब ती बनाउने मान्छेलाई उभ्याउनु प¥यो नि । उनीहरू दोषी भए नि । यत्रो पैसा त्यहाँ खर्च गराउने हो त ? त्यसैले काम गर्नुभन्दा पहिला नसोच्ने यो खालको प्रवृत्तिले हामीलाई दुख दिइराखेको छ । हामीले एमसीसीमा पनि प्रवेश गरिसकेको हुनाले अब बीआरआईमा अगाडि बढ्नु पर्छ ।

पोखराको सन्दर्भमा त वर्षमान पुनहरू माओवादीका संस्थापन पक्षका शक्तिशाली नेताहरूले  त्यहीँबाट ऋण लिने अनि चिनियाँ ठेकदारलाई नै काम दिएर महँगो ऋणको भार देशलाई बोकाए भन्ने चर्चा थियो । आखिर यो औँला त तपाईँकै पार्टीतिर उठ्यो नि हैन ?

त्यसको सबै अनुसन्धान गरौँ, खोजी गरौँ । गल्ती गरेपछि चिहानबाट पनि निकालेर मूल्याङ्कन हुन्छ । कतिपय ठूला ठूला सिद्धान्तकारहरूको २०० वर्षपछि पनि मूल्याङ्कन भएको छ ।

त्यसकारण यो राजनीतिमा बेहिसाब केही पनि जाँदैन । आज यसको हिसाब नभए पनि जे गर्न दिए पनि भोलि भावी पिँढीले  त्यसको हिसाब किताब लिन्छ । त्यसले गर्दा को पर्छ के पर्छ मतलब भएन ।  देशहित पहिलो कुरा हुनुपर्छ । त्यसको निम्ति अहिले हामी हाम्रो बीआरआईमा अगाडि बढ्नु पर्छ । किनकि हाम्रो प्रतिबद्धता पनि छ । चीन छिमेकी देश पनि हो ।  हिजोदेखि चीनको संस्कार, चीनको सिभिलाइजेसन भनेको के हो भने त्यसले काहीँ पनि ओगट्दैन ।  किन आज यति उन्नति गरेको छ, त्यो कसैलाई कोलोनी बनाएर, कसैलाई कजाएर बनेको छैन । त्यो आफू खटेर बनेको छ । आफ्ना नीतिहरू बाट बनेको हो । त्यसले गर्दाखेरि हिजो  एमसीसी गर्ने बेलामा उफ्रेर गर्नुपर्छ भन्नेले अहिले बीआरआईमा अगाडी नै बढ्नु हुँदैन केही गर्नु हुँदैन भन्छ भने  अखण्डता/इमान्दारीमाथि त प्रश्न उठ्छ ।

एमसीसीको जस्तै संसदबाट आफ्नातिर उठिराखेका प्रश्नका सन्दर्भमा केही दस्ताबेजहरू पारित गरेर कार्यान्वयनमा अगाडि बढौँ भन्ने खालको आशय हो कि ? 

संसदमा पनि मैले भनेको थिएँ पहिला त आफूले आफूलाई सुनिश्चित गर्ने हो ।  अझ म त के भन्छु भने हामीले नयाँ सन्दर्भमा शान्तिक्षेत्रको प्रस्ताव अगाडि बढाउनु पर्छ । पहिला हाम्रो पार्लियामेन्टले हामी अब हुने तानातानी, अब हुने शीतयुद्ध, अब हुने गुटहरूमा कतै पनि समाविष्ट हुँदैनौ भन्नुपर्‍यो । हाम्रो असंलग्न परराष्ट्र नीति रहने छ भन्ने कुरा पहिला हाम्रो पार्लियामेन्टले अनुमोदन गरेर मित्र राष्ट्रको अगाडि हामीले शान्तिक्षेत्रको प्रस्ताव अघि बढाउनुपर्छ ।

बीआरआईको फ्रेमवर्कमा कृष्णबहादुर महरा र डा. प्रकाशशरण महतको सक्रियता देखिन्छ । अहिले आलोचनामा पनि कांग्रेस नै अगाडि छ । माओवादी नेतृत्व यो विषयमा नरम देखिन्छ ।  हिजो हस्ताक्षर हुँदा आवश्यक बहस नभएर नै यतिबेला द्विविधा भएको हो ? 

पार्टीको संस्थागत जीवन त सबैलाई थाहा नै छ । व्यक्तिहरू सक्रिय छन् , संस्थाहरू कोमामा छन् । मुख्य रूपमा सबैले  देशलाई अगाडि राखेको नै हुन्छ । भारत, अमेरिका, चीन सबैमा यही नियम लागू हुने हो ।

अब हाम्रो काम के हो भने त्यसलाई पर्गेलेर उनीहरूको त्यो नीतिबाट फाइदा के पाउने ? कसरी फाइदा लिने ? भन्ने हो । जस्तो चीनले यो हिमाल छेडेर एउटा बाटो चाहिँ तलतिर भारततिर लाँदै छ भने हामीले बुझ्नु प¥यो, उसले भारतको बजार नै हेरेको हो । त्यसमा हामीले चाहिँ पाउने के हो त त्यो बुझ्नु प¥यो । जाने आउनेलाई हात हल्लाउने मात्रै हाम्रो काम हैन ।

त्यसैले उनीहरूले त्यो बाटो मुस्ताङबाट बनाउँछन् भने हाम्रो अरुण उपत्यकामा, दूधकोशी कर्णालीको बेसिनमा ठूलो राष्ट्रिय पार्क बनाइदिए भयो नि त चीनले । प्रधानमन्त्री ओलीले जे जति हिजो हाम्रा कुराकानीहरू भएका छन् सन्धि भएको छ, समझदारी भएको छ, त्यसलाई कार्यान्वयन गर्नेमा जोड दिने एउटा कुरा । यो हाम्रो कारणले पनि कार्यान्वयन भइराखेको छैन ।

जस्तोः चिनिया पर्यटक भित्र्याउने भनेको छ । त्यसमा वर्ष नै घोषित गरियो । तर त्यसको लागि केही तयारी गरिएन । अब दोस्रो कुरा नेपालले कमसेकम आफ्नो ५० हजार जति शिक्षक प्राथमिक तहका केही संख्या त्यस्तै संख्यामा यो प्राथमिक तहमा काम गर्ने स्वास्थ्यकर्मी अनि ५ लाख जति किसान नेपालको विभिन्न क्षेत्रमा कृषिमा काम गर्ने साँच्चैका किसान हुनुपर्‍यो । किसान भइखाएका नेता हैन । कृषिमा नै संलग्न मान्छेहरूलाई लगेर त्यहाँ तालिम दिएर र त्यो प्रविधि सहित चीनले मान्छे फिर्ता पठाइदेओस् । त्यसो गरे हामी अगाडि बढ्न सक्छौँ ।

बीआरआइका सन्दर्भले कम्युनिस्ट एकताको आवाजलाई सशक्त बनाएको हो ? 

एमसीसीसँग जस्तो सम्बन्ध हामीले बनायौँ, त्यस्तै बीआरआइसँग पनि बनाउनु पर्छ ।

तपाईँहरू यही परिस्थितिबाट अब सिद्धिने हो कि बौरिने हो कि भन्ने एउटा बहसमा पनि पार्टीभित्र छलफल गरिरहनु भएको छ । त्यसको तात्पर्य के हो ?

नेपालका मजदुर, किसान, गोठालाहरूलाई शंका त लागेको तर उनीहरू यो निष्कर्षमा पुगे कि अब माओवादीले हाम्रो अगुवाइ गर्न सक्दैन भन्नेमा पुगे भने उनीहरू आफ्नो लागि आफ्नै पार्टी बनाउँछन् । हाम्रो सन्दर्भ/सान्दर्भिकता सकिन्छ । किनकि हामीलाई बलियो बनाएको अथवा राष्ट्रिय राजनीतिमा हाम्रो पहिचान कायम गराएको मजदुर किसानहरूले नै हो । जब हामी सभ्रान्त वर्गहरूको हुने खाने वर्गहरूको स्याहार सुसार हामीलाई बढी मिल्न थालेपछि पतन सुरु भएको हो ।

हामीले आफ्नो राजनीतिक सिद्धान्तबाट अगाडि जानुपर्थ्यो तर राजनीतिक सिद्धान्तलाई अनावश्यक मानेर आज के हुन्छ भोलि के हुन्छ भन्ने र त्यस्तै व्यक्तिलाई अगाडि बढाएकै कारण हामी कमजोर भएका हौँ । हाम्रो सिद्धान्त भनेको मजदुर किसानको मुक्तिको कुरा हो ।

अब माओवादीको यथास्थितिमा यो राजनीतिक दोकान चल्छ ? 

हामीले व्यवहारमा नै फेरिएको र सिद्धान्ततिर फर्किएको अनुभूति जनतालाई गराउनुपर्छ नत्र चल्दैन ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  १२ : २७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल माघ १८ गते शुक्रबार माघ

आज २०८१ साल माघ १८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ १८ गते शुक्रबार माघ

बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले ल्होछार मनाउने

टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा

कास्की – पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल

नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक

केप क्यानभेरल – नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष