धरान– गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस बीपी कोइरालाको विचारमा आधारित रहेको बताएका छन् ।
शुक्रबार धरानमा लेखक तथा साहित्यकार गिरीराज आचार्यद्वारा लिखित ‘बीपीका साहित्यिक विचारहरू’पुस्तक विमोचन कार्यक्रममा उनले कांग्रेस बीपीको विचारमा हिँडिरहेको बताएका हुन् ।
उनले कांग्रेस बलियो भए लोकतन्त्र पनि बलियो हुने दाबी गरे । ‘कांग्रेस आज सबैभन्दा ठूलो राजनीति दल हो । विगतको निर्वाचन होस् वा अहिलेको उपनिर्वाचनको सन्दर्भमा होस् । जनताको माया र स्नेहले कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ ।जनताको माया र स्नेह कांग्रेसले हमेसा बचाइराख्नु पर्छ’, उनले भने।
यस्तै कांग्रेस र एमाले मिलेर राजनीति समीकरण बनेको भन्दै यसको लक्ष्य भ्रष्टचार नियन्त्रण, विकास र समृद्धि रहेको उनले बताए ।
‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण कही मान्छेलाई मन्त्री बनाउन बनेको होइन’, उनले भने, ‘यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगोशान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो।’
धरानको विकासका लागि मदन भण्डारी राजमार्ग र किमाथांकाको सडक बाइपास गरि अगाडि बढाउने निर्णय ७ वर्षअघि आफू भौतिक पूर्वाधार मन्त्री हुँदा भएको स्मरण गर्दै त्यसलाई अगाडि बढाउने प्रतिबद्धता उनले गरे ।
‘आज मदन भण्डारी राजमार्गको काम अगाडि बढेको छ । किमाथांकाको काम अगाडि बढेको छैन । यसलाई सरकारले उच्च प्राथमिकता राखेको छ । धरानको विकास गर्दै जाने प्रतिबद्धता गर्दछु ।’
प्रतिक्रिया