काठमाडौं- सरकारले औद्योगिक वातावरण सिर्जना गर्न अगाडि बढाएको विशेष आर्थिक क्षेत्रको अवस्था नाजुक देखिएको छ । नेपाली कांग्रेशका महामन्त्री गगन थापाले वर्षमा ५ लाख जनालाई रोजगारी दिनुपर्ने बताएका छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा बैंकिङ क्षेत्रको नाफामा वृद्धि भएको छ । त्यस्तै, साताको तेस्रो दिन नेप्से निरन्तर ओरालो यात्रामा छ ।
आजका प्रमुख आर्थिक समाचार :
विशेष आर्थिक क्षेत्र : बजेटको आस, जान लाग्यो सास !
वि.सं. २०५७ साल असार २७ गते तत्कालीन अर्थमन्त्री महेश आचार्यले प्रतिनिधि सभाको रोस्टममा उभिएर आर्थिक वर्ष २०५६/०५७ बजेट पढे । आचार्यले पढेको बजेटको बुँँदा नम्बर ५४ को दोस्रो वाक्यमा यस्तो लेखिएको थियो :
‘निर्यातमूलक उद्योगहरूलाई चाहिने भौतिक पूर्वाधार लगायतका प्रशासनिक एवम् आर्थिक सुविधाहरू एकै थलोबाट उपलब्ध गराई औद्योगीकरण प्रक्रियालाई गति दिने उद्देश्यले ड्राइपोर्ट सुविधा उपलब्ध हुने स्थलहरू नजिकै क्रमशः निर्यात प्रवर्द्धन केन्द्रको स्थापना गरिनेछ ।’
त्यतिखेर नेपालमा चल्तीका ड्राइपोर्ट अर्थात् सुख्खा बन्दरगाह भैरहवा र वीरगञ्जमा थियो । आचार्यले बजेटमा सुख्खा बन्दरगाह र निर्यात प्रवर्द्धन केन्द्रका विषय समेटी बजेट घोषणा गरे यताको २५ वर्ष अवधिमा विकास समिति ऐन, विशेष आर्थिक क्षेत्र ऐन हुँदै विशेष आर्थिक क्षेत्र प्राधिकरणसम्म स्थापना भए ।
यसबीच विशेष आर्थिक क्षेत्र (सेज) घोषणा गर्ने क्रम पनि जारी रह्यो । हालसम्म देशका विभिन्न १८ स्थानलाई सेज तोकिएको छ । तर, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्र बनाउने उद्देश्यले गठन गरिएका विशेष आर्थिक क्षेत्रको हालत सोचेजस्तो छैन । सेजका नाममा सरकारले कनिकासरह बजेट छरिरहेको छ । उपलब्धि भने शून्य बराबर छ ।
एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगार दिनुपर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने बताएका थिए ।
७६औँँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले मंगलबार आयोजना गरेको ‘बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा’ विषयक नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पलायन रोक्न देशमा रोजगारी सिर्जना गर्नुपर्ने बताएका हुन् ।
एक आर्थिक वर्षमा कति राजस्व संकलन भयो भनेर मापन गरिए जस्तै वर्षमा कति रोजगारी सिर्जना भयो भनेर पनि मापन गरिनुपर्ने उनले बताए। ‘मुख्य राजनीतिक दलमा यस्ता विषयमा छलफल नै हुँदैन, सञ्चारमाध्यमले पनि यस्ता विषयमा बहस गराउन सकेको छैन, सत्तारुढ दलको दुई दलीय संयन्त्रमा मैले यस्ता विषयमा बहसको आरम्भ गराएको छु, रोजगारी सिर्जना गर्न सकियो भने राजनीतिक नेतृत्वलाई पनि सहज हुन्छ’, उनले भने।
अबको समय ज्ञान अर्थतन्त्रको भएकाले त्यसका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने महामन्त्री थापाको भनाइ छ । धेरै युवा रोजगारीकै लागि विदेशिएकाले वैदेशिक रोजगारसहित स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने गरी मन्त्रालयको व्यवस्था गरिनुपर्ने उनको धारणा छ ।
३८ प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको नाफा
चालु आर्थिक वर्षको असोजभन्दा कात्तिकमा बैंकिङ क्षेत्रको नाफा ३८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको असोजको तुलनमा कात्तिकमा बैंकिङ क्षेत्रको नाफा ३८.२ प्रतिशतले वृद्धि भएको हो ।
आर्थिक वर्ष ०७९र०८० को अन्तिम महिना असारको तुलनामा गत आर्थिक वर्षको अन्तिम महिना असारमा ८.८१ प्रतिशतले घटेको बैंकिङ क्षेत्रको नाफामा पछिल्लो समय सुधार भएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ०७८/०७९ को असारको तुलनामा आर्थिक वर्ष ०७९/०८० को असारमा बैंकिङ क्षेत्रको नाफा ६.७९ प्रतिशतले घटेको थियो ।
चालु आर्थिक वर्षको असोजमा बैंकिङ क्षेत्रले १८ अर्ब १० करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेकोमा कात्तिकमा सो नाफा वृद्धि भएर २४ अर्ब ९९ करोड १० लाख रुपैयाँ पुगेको छ ।
नारायणगढ–बुटवल सडक : म्याद थपिएको चार महिनापछि काम सुरु
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रो पटक थपिएको म्याद गत साउनमा सकिएको थियो ।
आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले म्याद थप गरेको आयोजनाले काम नै नगरी करिब साढे चार महिना बितायो । मनसुन, चाडपर्वलगायतका कारण देखाउँदै विस्तारको काम रोकेको निर्माण व्यवसायीले नोभेम्बर अन्तिम साताबाट विस्तारको काम सुरु गरेको हो ।
नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार अहिले सडक विस्तारमा ३२३ श्रमिक परिचालन गरिएको छ । ‘पछिल्लो १३ दिनदेखि सडक विस्तारको काम सुरु भएको हामीलाई जानकारी आएको छ’, उनले भने, ‘अहिले सब बेस, बेस, अप्रोज रोड (नयाँ बनेको पुललाई सडकसँग जोड्न माटो भर्ने काम), कल्भर्ट निर्माण, ढुङ्गाको पर्खाल निर्माण गर्ने काम भइरहेको छ ।’
नेप्से लगातार ओरालो, कारोबार ४ अर्बमा सीमित
मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । नेप्सेसँगै करोबार रकममा पनि गिरावट देखिएको छ ।
मंगलबार नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित भएको हो । आज नेप्से ०.२३ प्रतिशतले घटेर २६६९.८२ विन्दुमा पुगेको छ । प्रि–ओपन सेसनमा झिनो अंकले घटेर सुरु भएको नेप्से बजार बन्द हुँदा पनि घट्दा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर कारोबार भएको छ ।
८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभर ३०३ वटा कम्पनी कारोबारमा आउँदा ५२ हजार ७०५ पटक शेयर किनबेच भएको छ । बजार घट्दा निफ्राको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
धरानमा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघमा १४ दिने ‘बिजनेस एक्स्पो’ आयोजना हुने भएको छ । नेपाल उद्योग व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले स्थानीय रङ्गशालामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो आयोजना गर्ने महासङ्घका अध्यक्ष शिवराज श्रेष्ठले बताए।
एक्स्पोमा साना घरेलु, मझौला तथा ठूला उद्योगका उत्पादन, स्थानीय कृषि उपज, तयारी पोसाक, रत्न तथा आभूषण, जुत्ता चप्पल, साजसज्जाका सामग्री, खाना महोत्सव, पुष्प व्यापार, कृषि औजार, विद्युतीय उपकरण, औद्योगिक प्रदर्शनी समावेश गरिनुका साथै ती सामग्रीको खरिद बिक्री हुनेछ ।
साथै प्याराग्लाइडिङ, र्याफ्टिङ, साइक्लिङ, साहसिक तथा रोमाञ्चक खेल पनि प्रस्तुत गरिनेछ । एक्पोमा तीन सय ५० प्रदर्शनी कक्ष राखिने छन् ।
धनुषा र महोत्तरी जिल्लामा गहुँखेतीका लागि डीएपी मल अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड जनकपुरधामको कार्यालयमा मौज्दात डीएपी मल खपत भइसकेको छ ।
दुवै कार्यालयबाट पहिलो चरणमा प्राप्त डिएपी मल बिक्री भइसकेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहले जानकारी दिए। पहिलो चरणमा धनुषामा सात सय ५४ मेट्रिकटन तथा महोत्तरीमा सात सय १६ मेट्रिकटन डिएपी मल बिक्री भइसकेको छ । कृषि ज्ञान केन्द्र र स्थानीय तहको सिफारिसमा उक्त मल सहकारी संस्थाहरु मार्फत किसानलाई बिक्री गरिसकेको निमित्त प्रमुख साहले बताए।
प्रतिक्रिया