काठमाडौं – गोरखाको बारपाक सुलिकोट गाउँपालिका-१ की १८ वर्षीया सुचिना घले यही मङ्सिर १५ गते घरबाट घाँस काट्न भन्दै मैखर्क जंगलतर्फ गइन् । धार्चे गाँउपालिका-६, कासीगाउँ माइती भएकी उनी फर्किएर नआएपछि घरमा खैलाबैला भयो ।
स्थानीय धनबहादुर गुरुङकी श्रीमती सुचिना हराएको भन्दै परिवारका सदस्यले प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौबारीमा गुहार लगाए । गाउँले जुटेर खोजी गर्दा पनि नभेटिएपछि प्रहरी समेतको सहयोगमा मैखर्क जंगलमा सर्च अभियान चलाइयो ।
त्यस क्रममा इप्रका जौबारीबाट खटिएको प्रहरीसमेतले खोजतलासका क्रममा मैखर्क जंगलमा खाल्डो खनेर पुरेको अवस्थामा सुचिनाको शव मंसिर १८ गते दिउँसो सवा १ बजे फेला पर्यो ।
स्थानीयबासी, प्रहरी चौकी र इप्रकाको टोलीले शव उत्खनन गरेपछि उनका परिवारसका सदस्यले तत्काल सनाखत गरे । घटना गम्भीर भएको ठहरसँगै उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा राखिएको छ । घटनामा संलग्नको पहिचान गर्न नसकेको भन्दै परिवारले उनको शव बुझेका छैनन् । त्रिवि शिक्षण अस्पतालले शवको पोस्टमार्टम प्रतिवेदन जिल्ला प्रहरी कार्यालय गोरखालाई पठाइसकेको छ ।
शव उत्खननपछि बारपाकका स्थानीयमा आक्रोश चुलियो । यसबीच जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीको कमाण्डमा सोकोसहितको अनुसन्धान टोली त्यही दिन घटनास्थल पुग्यो । उता गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट केनाइन (तालिम प्राप्त कुकुर) सहितको अर्को टोली पनि घटनास्थलमा खटाइयो ।
अभियुक्तसम्म पुग्ने ती दुई सुराक
अनुसन्धान अघि बढिसकेको अवस्थामा लाश जाँच मुचुल्का गर्ने क्रममा गाडिएको स्थानदेखि ३० मिटर उत्तरतिर जंगलमा शंकास्पद अवस्थामा केही सामान फेला परे ।
ती सामान त्यहाँ शंकास्पद अवस्थामा छाडिएका थिए । डीएसपी सुवेदीसहितको टोलीले घटनास्थल नजिकैबाट घाँससहितको एउटा डोको र डोकोभित्र रहेको ऊनीको रातो टोपी बरामद गर्यो । उक्त डोको बोक्न मिल्नेगरी नाम्लो लगाएर राखिएको थियो ।
तर, उक्त डोको ज्यान गुमाइसकेकी सुचिनाको भने थिएन । त्यसअघि नै शव गाडिएको नजिकै सुचिनाले बोकेको डोको भेटिइसकेको थियो ।
शंकास्पद अवस्थाको उक्त डोको र टोपी बरामद हुनुअघि नै प्रहरीले सुचिनाको शव खाडलबाट निकालिसकेको थियो । खाडलबाट निकालेर हेर्दा उनको टाउकोमा धारिलो हतियारले काटेको चोट भेटियो । डीएसपी सुवेदीका अनुसार; सुचिनाको दाँया हातका साइँली र माइली औँला काटिएको अवस्थामा थिए ।
उक्त खाडलमै सुचिनाले लगाउने गरेको एक जोर चप्पल, घाँस काट्न लगेको हँसिया र डोको पनि भेटियो । उनले ओढेको पछ्यौरी पनि कम्मरनजिकको भागमा थियो । तरऽ सुचिनाले लगाएको ज्याकेट भने खोलिएको अवस्थामा भेटिएको सुवेदीले बताए । सुचिनाले डोको बोक्दा प्रयोग गरेको नाम्लो भने उनको कम्मरको भागमा खुकुलो अवस्थामा बोक्न मिल्ने गरी बेरिएको थियो ।
सुचिनाको शव भेटिएको खाडल आसपास तालिमप्राप्त कुकुरसहित प्रहरीले आवश्यक तथ्य-प्रमाण खोज्ने क्रमलाई जारी नै राख्यो । त्यही क्रममा शव भेटिएको स्थानदेखि करिब १०० मिटर तल जंगलको भुइँमा र नजिकैको निगालाको बुटामा रगत लागेको भेटियो ।
रगत लतपतिएको त्यही स्थान नजिकैको बाटोमै प्रहरीले एउटा कम्ब्याट क्याप, मृतक सुचिनाको भनिएको कपाल बाँध्ने रबर एउटा, उनको बोकेको डोकाको पीँधमा लगाइएको बाँस/निगालोका टुक्रा र उनको कपालको गुजुल्टोसमेत भेटियो ।
सोधपुछ
घटनास्थलबाट विभिन्न प्रमाण बरामद भएपछि डीएसपी सुवेदीसहितको अनुसन्धान टोली घटनामा संलग्नको पहिचानका लागि बारपाकमै बसेर सक्रिय भयो । त्यससँगै सुवेदी नेतृत्वको टोलीले बारपाक प्रहरी चौकीमै रहेर अनुसन्धान अगाडि बढायो ।
मंसिर १८ मै गोरखा प्रहरी र गण्डकी प्रदेश प्रहरीको टोली अनुसन्धानमा जुटिरहेको अवस्थामा गण्डकी प्रदेश प्रहरी कार्यालयको सूचना संकलन तथा विश्लेषण शाखाबाट दुई जना प्राविधिक अनुसन्धानकर्ता पनि बारपाकमा झिकाइयो ।
जिप्रका गोरखा र गण्डकी प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धान अघि बढाउँदै गर्दा आशंका लागेजतिलाई नियन्त्रणमा लिँदै प्रहरी चौकीमा लगेर सोधपुछ थाल्यो ।
‘अनुसन्धानका क्रममा घटनास्थल वरपरका मानिस, उक्त जंगलमा घाँस काट्न जानेहरू, जंगल वरपरका गाईवस्तु तथा भेडा गोठालाको विवरणसमेत संकलन गरेका थियौँ’, डीएसपी सुवेदीले भने, ‘त्यसक्रममा घटनास्थलमा भेटिएका डोको, नाम्लो, टोपी प्रयोग गर्ने व्यक्तिको खोजी भएको थियो । घटनास्थल आसपासका क्षेत्रमा डोको बुन्ने र नाम्लो बाट्नेहरूको पहिचान गरी अनुसन्धान गर्यौँ । जसमा ५० जनाभन्दा बढी व्यक्तिहरूलाई प्रहरी चौकीमा बोलाई सोधपुछ र निगरानी जारी राख्यौँ ।’
डीएसपी सुवेदी नेतृत्वको टोली बारपाकमै बसेर अनुसन्धान अघि बढाइरहँदा सुचिनाको शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पुगिसकेको थियो । शवलाई मंसिर १८ मै फरेन्सिक विज्ञबाट परीक्षण गराउनु उचित ठानेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीको भनाइ छ ।
शव परीक्षण त भयो, तर परिवारले बुझ्न इन्कार गरे । उनीहरूले दोषी पत्ता नलागेसम्म शव बुझ्न मानेनन् । त्यहीकारण शव अहिले पनि त्रिवि शिक्षण अस्पतालमै छ ।
प्रहरीले अनुसन्धानलाई तीव्र बनाउने क्रममा सोधपुछका लागि ल्याइएका ५० मध्ये तीनजनालाई चौकीमै राखेको थियो । तर, घटनास्थल आसपासका उनीहरूलाई आशंकाको आधारमा मात्रै नियन्त्रणमा राखिएको थियो ।
तर, घटनाको अनुसन्धान लम्बिँदै जाँदा पीडित परिवारले दबाब बढाइसकेका थिए । उनीहरूले बारपाकबाट जिल्ला सदरमुकाम गोरखा पुगेर प्रमुख जिल्ला अधिकारीलाई समेत दबाब दिन भ्याइसकेका थिए ।
घटनको नौ दिनसम्म पनि आरोपीलाई पक्राउ गर्न नसकेको भन्दै सुचिनाको माइती काशीगाउँका बासिन्दा र मानवअधिकारकर्मीले आइतबार नै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।
उता सामाजिक सञ्जाल फेसबुक र टिकटकमा सुचिना र उनको हत्यासम्बन्धी भिडियो सर फोटो भाइरल भइरहेका थिए । ती भिडियोमा प्रहरीले अनुसन्धान गर्न नसकेको भन्दै आलोचना भइरहेको थियो । दबाब बढ्दै जाँदा प्रहरीलाई पनि समस्या आइपरेको थियो ।
यता प्रहरीले भने सत्यतथ्य पुष्टि नभएसम्म अनुसन्धान जारी रहने भन्दै स्थानीय र पीडित परिवारलाई थुम्थुम्याइरहेको थियो । अनुसन्धान लम्बिएर अभियुक्तसम्म पुग्न नसकेको भए यो प्रकरण प्रदेश सरकार र संघीय सरकारसम्म पुग्न सक्ने चिन्ता पनि गोरखा प्रहरीलाई थियो ।
यस बीचमा आइतबार राति गुरूङलाई पक्राउ गरेपछि अभियुक्तका रुपमा प्रहरीले सार्वजनिक गरेपछि भने स्थानीयले राहतको श्वास फेरेका छन् । तर सुचिनाको हत्यामा अन्य व्यक्ति पनि संलग्न हुनसक्ने आशंका स्थानीयले पालिरहेका छन् ।
टोपी र डोकोले घरसम्म !
घटनास्थलमा भेटिएको उनीको टोपी र डोकोले नै सुचिना हत्या प्रकरणको गुत्थी फुकाउन सहयोग गर्यो । सुचिनाले बोकेको डोको र प्रयोग गरेका सामान खाडल र त्यसनजिकै भेटिइसकेका थिए । तर, घटनास्थलभन्दा केही परको डोको र ऊनीको टोपी कसको भन्ने कुराले प्रहरीलाई अनुसन्धानमा साथ दियो ।
ती दुई सामान कसले त्यहाँसम्म लगेका थिए भन्ने कुरा पत्ता लगाउने क्रममा प्रहरीले करिब ५० जनालाई सोध्यो । तिनै सोधपुछमा तानिएका ५० मध्ये एक थिए मनशमशेर गुरूङ ।
अनुसन्धानका क्रममा घटनामा संलग्न भएको आशंकामा अन्यमाथि पनि छानबिन जारी थियो । तर, सोधपुछमा परेकाध्ये मनशमशेरतर्फ प्रहरीको नजर केन्द्रित थियो । डोको र उक्त टोपीको मालिकका रुपमा मनशमशेरको पहिचान भइसकेपछि घटनाको गुत्थी फुकाउन सम्भव भएको हो ।
किन लिए ज्यान ?
अनुसन्धानका लागि एक सातासम्म बारपाकमै बसेका डीएसपी सुवेदीका अनुसार; मनशमशेरले जंगलमा सुचिनालाई एक्लै देखेपछि बलात्कार गर्न खोज्दा उक्त हत्या हुन पुगेको हो ।
‘जंगलमा एक्लै देखिएकी सुचिनालाई मनशमशेरले बलात्कार गर्न खोजेका थिए । उनले यो कुरा प्रारम्भिक बयानमा पनि बताइसकेका छन्’, उनले भने, ‘तर, सुचिनाले प्रतिकार गरेपछि मनशमशेरले हत्या गरेर खाडलमा पुरेको स्वीकारेका छन् ।’
प्रहरीले गरेको सोधपुछ क्रममा ४३ वर्षीय मनशमशेरले मंसिर १५ गते दिउँसो एक्लै घाँस काट्न गएको पनि स्वीकारे । तर, उनले सुरुमा आफू घाँस काट्न नगएको बयान दिएका थिए ।
उनलाई पक्राउ गर्नुअघि बारपाक चौकीमा यही मंसिर २२ गते सोधपुछका क्रममा आफू घाँस काट्न डोको लिएर जंगल नगएको भनेर प्रहरीलाई छल्ने कोसिस गरेका थिए ।
तर, प्रहरीले उनको हातमा केही चोट र अर्को व्यक्तिसँगको संघर्षका क्रममा लागेका चिह्न भेट्टाएको थियो । सोधपुछका क्रममा देखिएका चोटका आधारमा उनलाई निगरानीमा राखी अनुसन्धान अघि बढाउँदा पक्राउ परेका हुन् ।
पक्राउअघि नै सकारे घटना
सुचिनाको ज्यान लिएको स्थानबाट केही पर भेटिएका डोको र उनीको टोपी मनशमशेरकै भएको ठहरपछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो । निगरानीका क्रममा सुचिना प्रकरणमा मनशमशेरकै संलग्नता भएको ठहरपछि प्रहरी आइतबार राति उनको घरमा पुगेको थियो ।
प्रहरीले पक्राउ गरेपछि सोधपुछका क्रममा मनशमशेरले घटनामा आफ्नो संलग्नता स्वीकारेर लेखेको कागज घरमा रहेको खुलाए । उनले सुचिनाको हत्या सकार्दै ‘मेरो बयान’ शीर्षकमा लेखिएको एउटा पत्र घरको दराजबाट प्रहरीले बरामद गरेको छ । जसमा उनले सुचिनाको नाम नलिई आफ्नो हातबाट कुनै निर्दोष नारीको ज्यान गएको उल्लेख गरेका थिए ।
‘सोधपुछका क्रममा उक्त घटना आफूले नै गराएको भनेर लेखेको कागज पनि गुरुङको घरको दराजबाट बरामद भएको छ । घर खानतलासी गर्दा दराजमा ‘मेरो बयान’ शीर्षकमा ‘मबाट कुनै निर्दोष नारीको ज्यान गयो भन्ने व्यहोरा लेखिएको कागज बरामद भएको छ’, डीएसपी सुवेदीले भने, ‘अन्तिममा मनशमशेर नाम लेखी हस्ताक्षर तथा औँठा छापसमेत लगाई राखेको एक पाना नोट फेला परेको छ । जुन हाम्रो अनुसन्धानको महत्वपूर्ण सबुत प्रमाण हो ।’
मनशमशेरले सुचिनाको हत्या सकारेसँगै प्रहरीले जाहेरी लिएको छ । मनशमशेरविरुद्ध सुचिनाका पति धनबहादुर गुरुङले किटानी जाहेरी दिएका छन् । त्यसपछि जिल्ला अदालत गोरखाबाट पाँच दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको सुवेदीले बताए ।
अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा राखिएको छ । घटनामा संलग्नलाई कारबाही माग गर्दै आफन्तले शव बुझ्न नमानेपछि शिक्षण अस्पतालमै छ ।
प्रतिक्रिया