अर्थसंक्षेप : संसदीय समितिमा निरीह बने अर्थमन्त्री, शेयर बजारमा छायो हरियाली | Khabarhub Khabarhub

अर्थसंक्षेप : संसदीय समितिमा निरीह बने अर्थमन्त्री, शेयर बजारमा छायो हरियाली


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थतन्त्रको जिम्मेवारी सम्हालेको पाँच महिनाभित्रै अर्थमन्त्री पौडेल निरीह देखिएका छन् । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र भएको बताएका छन् । सडकको स्तरोन्नति तथा कालोपत्रे गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

आजका प्रमुख आर्थिक समाचार :

बैंकर्स संघ नेतृत्वका लागि निर्वाचन हुँदै, दुई जनाको उम्मेदवारी

नेपाल बैंकर्स संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । आगामी पुस ३ गते वार्षिक साधारणसभामा संघको अध्यक्ष चयनका लागि निर्वाचन हुने भएको हो ।

२० वटा वाणिज्य बैंकहरूको छाता संगठनको रूपमा रहेको संघको नयाँ अध्यक्षको लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन दुई दिन समय बाँकी रहँदै शेरचन र कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।

संसदीय समितिमा निरीह बने अर्थमन्त्री पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधान तथा अर्थमन्त्री हुन् । नयाँ सरकार बनाउन गत असार १७ गते एमाले र नेपाली (कांग्रेस)बीच भएको सात बुँदे सहमतिको महत्वपूर्ण दुई बूँदा कार्यान्वयनको कार्यभार अर्थमन्त्री पौडेलकै काँधमा छ । उक्त सहमतिको तेस्रो बुँदामा अर्थतन्त्रमा विद्यमान शिथिलता हटाउने, विश्वसनीय र व्यवसायिक वातावरण तयार गर्ने तथा आर्थिक गतिविधि चलायमान बनाउने बनाउने उल्लेख छ ।

आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने कामको नेतृत्व पनि गठबन्धनबाट बनेको सरकारका उपप्रधानरअर्थमन्त्री पौडेलकै हो । बुँदा नम्बर पाँचमा उल्लेखित ‘राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता’ पनि बजेटको डाडुपन्यु हातमा लिएका अर्थमन्त्रीले नै दिनुपर्ने हो ।

मन्त्री नियुक्त भएपछि ३१ असारमा पदभार सम्हाल्दै मन्त्री पौडेलले अर्थतन्त्रका सबै समस्या गहिरोसँग अध्ययन गर्ने, निराशा चिरेर आशा जगाउनेगरी अघि बढ्ने, उत्पादन, रोजगारी र आर्थिक वृद्धिमा जोड दिने तथा सहयोग र सहजीकरण गरी निजी क्षेत्रको आत्मविश्वास बढाउने बताएका थिए ।

शेयर बजारमा हरियाली

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ । आज नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको छ ।आज नेप्से १.७१ प्रतिशतले बढ्दा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार बराबरको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै नेप्से बढ्दा २११ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०८ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार ३५० पटक शेयर किनबेच भएको छ । आज नेप्सेमा उछाल आउँदा म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ ।

आज म्युचुअल फण्ड ०.३४ प्रतिशतले घटेर २१.६३ विन्दुमा पुगेको छ । सबैभन्दा बढी वाणिज्य बैंक समूह ३.४३ प्रतिशतले बढेर १४५२.८३ विन्दुमा पुगेको छ । सबैभन्दा कम लघुवित्त समूह ०.४२ प्रतिशतले बढेर ४ हजार ९७४.३४ विन्दुमा पुगेको छ ।

रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र हो : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र भएको बताएका छन् ।

आज ‘सीप विकासका लागि हाम्रो प्रतिबद्धता, समृद्ध राष्ट्रको सुनिश्चिता’भन्ने नारासहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटीले काठमाडौँमा आयोजना गरेको रोजगार प्रवर्द्धन गर्ने अभिप्रायले सरोकार भएका निकाय तथा रोजगारदातासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् ।

मन्त्री भण्डारीले भने, ‘सरकारले रोजगारी दिने होइन सुविधा दिने हो । रोजगारदाता भनेको संसारभर निजी क्षेत्र हुने भएकाले रोजगारीको प्रमुख स्रोत पनि निजी क्षेत्र हो ।’ सोही कार्यक्रममा बोल्दै मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको उनले जानकारी दिए।

मर्स्याङ्दी करिडोर प्रसारणलाइन उदीपुर–मार्कीचोक–भरतपुर खण्ड निर्माण तीव्र

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारणलाइन निर्माणले गति लिएको छ ।

मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ति नदीहरूका सहायक खोलामा निर्माण भएका एवम् निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाहरूले उदीपुर–मार्कीचोक–भरतपुर प्रसारणलाइन खण्डको सब कन्ट्रयाक लिएर निर्माण अगाडि बढाइएका छन् । उक्त खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।

उदीपुर–मार्कीचोक–भरतपुर प्रसारणलाइन खण्डको ठेक्का लिएको चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीले छनोट गरेको सब कन्ट्रयाक्ट्ररबाट समयमै काम सम्पन्न गरी लाइन सञ्चालनमा ल्याउने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले आफैँ सब–कन्ट्रयाक लिएर निर्माण अगाडि बढाएका हुन् ।

सुन्तला खेतीबाट मनग्य आम्दानी

तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यस वर्ष तीन करोड बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान छ ।

स्थानीय कृषक भीमबहादुर रानाले यस वर्ष यो वडाबाट तीन करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बताए। लुङ्ग्रिङमा एकै घरबाट २० लाखभन्दा बढीको सुन्तला बिक्री हुने उनले जनकारी दिए ।

विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता भएका बाटकवासी केही वर्षयता भने सुन्तला बेचेरै लखपति बनेको स्थानीय कृषक प्रेम थापाले बताए। यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला रहेको उनको भनाइ छ ।

रत्नेचौर–भकुण्डे–भकिम्ली सडकको ७० प्रतिशत प्रगति

सडकको स्तरोन्नति तथा कालोपत्रे गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ । सडक स्तरोन्नति तथा कालोपत्रका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक २३ करोड ३२ लाखमा ३० महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो । आगामी चैतमा उक्त ठेक्का सम्झौताको समयावधि सकिँदै छ ।

विसं २०५६ मा ट्र्याक खोलिएको बेनी नगरपालिका–१, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो ।

अहिले सडक चक्लाउने, पर्खाल लगाउने, नाली बनाउनेलगायत काम भइरहेको र दैनिक ४० जनाले काम गरिरहेका सडक कार्यालयका इन्जिनियर अरुण सेढाइँले जानकारी दिए। सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्रे र दुई किमी आरसिसी ढलान गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ६ : ३३ बजे

गायिका जेरीले योगमाया सखी बनेर कथा वाचन गर्ने महायज्ञ शुरु

काठमाडौं- गायिकाको पहिचान बनाएकी बबिता बानियाँ (जेरी)ले कथा वाचन गर्ने

टेलिकमको २१औँ वार्षिकोत्सव : कर्णाली प्रदेश कपर प्रविधिमुक्त घोषणा

काठमाडौं– नेपाल टेलिकमले आफ्नो स्थापनाको २१औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ

अमेरिकाबाट निर्वासित भारतीय आप्रवासी स्वदेश फर्किए

एजेन्सी – संयुक्त राज्य अमेरिकाबाट निष्कासित भारतीय आप्रवासी बोकेको अमेरिकी

अध्यादेशको बचाउमा विश्वप्रकाश शर्मा, कार्यपत्रमा सम्झिए चन्द्र ढकालको भनाइ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र

विवाह उमेरबारे स्वास्थ्यकर्मीको खबरदारी : मातृमृत्यु बढाउने कुकर्म नगरौँ

विवाह उमेर १८ वर्षमा झार्ने विषयमा बहस भइरहेको छ ।