पृथ्वीको त्यो दक्षिण गोलार्धमा, दुईवटा देशलाई काखी च्यापेर प्रशान्त महासागरमा पल्टेको महादेशमा कुनै दिन पाइला हाल्न पाइएला, कङ्गारुको धर्ती भनेर चिनिने महाद्वीपमा आँखा चाल्न पाइएला र जीवनको त्यो उमेरमै त्यहाँ गइएला भन्ने कल्पनासम्म थिएन आफूलाई । तर भाग्यमा सायद भावीले लेखेको रैछ – कसरी मेटिन्थ्यो र ! कुरोको चुरो के थियो भने विदेशमा बसेर विदेशबाट विदेश भ्रमणका लागि मलाई विदेशै हानिने मौका आइपर्यो ।
त्यतिखेर म एशियाली विकास बैंक (एडीबी)को प्रधान कार्यालय फिलिपिन्सको मनिलामा जागिर गर्थें । गनेर ल्याउँदा मनिलाको पासीग अलेक्जाण्डा कन्डोमिनियममा बसेकै पनि डेढ वर्ष भैसकेको रहेछ । सोही बैंकको वार्षिक बैठक फ्रान्सको बैँसालु शहर निसमा भएथ्यो । सन् १९९५ मे महिनामा त्यो बैठक न्यूजिल्याण्डको अक्ल्याण्डमा हुने टुङ्गोटाङ्गी भएथ्यो ।
मेरो अड्डामा थुप्रै साथीका अलावा कार्यकारी निर्देशक उ सो थ्वीन, वैकल्पिक निर्देशक डा. शैयद् महमद कादिर, म स्वयम् र निजी सचिव मालु रोक्आ अब अक्ल्याण्डतर्फ हानिने सुरसार भयो । अरू साथीहरू पनि थुप्रै त्यसतर्फ हिँडे । डा. बिन्दुकान्त लोहनी पनि त्यसतर्फ जानुभयो । मलाई असाध्य माया गर्ने बर्मेली निर्देशक सो थ्वनिले सँगै जानुपर्छ भनी आग्रह गर्नुभयो । मनैदेखि, पेटैदेखि माया गर्ने भएकाले मैले नाइँनास्ती गर्ने कुरा थिएन ।
हामी मनिलादेखि अक्ल्याण्ड, फेरि अक्ल्याण्डदेखि सिङ्गापुर र मनिलासम्म साथसाथै यात्रा गर्न कस्सियौँ । पोहोर साल निरुमा जाँदा मैले श्रीमती गुनालाई पनि साथै लगी युरोपका मुख्यमुख्य देशहरू घुमाएको थिएँ । यसपटक भने हाम्री छोरी मनिला त्यहीँ जन्मेकी, ऊ भर्खर पाँच महिनामात्र लागेकी र विराटनगरबाट जानुभएका बुवा–आमा पनि मनिलामै हुनु भएकाले म एक्लै त्यसतर्फ लस्किएँ । सो थ्वीनकी श्रीमती भने पार्किन्सनको बिरामी भएकीले एक्लै हुनुहुन्थ्यो । कुरो अप्रिल ३०, १९९५ को हुनुपर्छ जस्तो लाग्छ ।
हिँड्नुअघि अर्थ मन्त्रालयका मित्र लालशङ्कर घिमिरेसँग कुरा भएथ्यो । अर्थमन्त्री भरतमोहन अधिकारी र सचिव रामविनोद भट्टराई पनि नेपालको प्रतिनिधित्व गर्दै सिङ्गापुर हुँदै अक्ल्याण्ड हिँड्ने कार्यक्रमको जानकारी उहाँबाटै पाएँ । जुधाएर हेर्दा सिङ्गापुरबाट एउटै जहाजमा पर्ने भइएछ । मीठो कौतुहलले सरर्र जिउभरि छाउने नै भयो ।
साँझ झमक्क छिप्पिदै गर्दा हाम्रो जहाज चाँगी विमानस्थलमा ओर्लियो । करिब ३ घण्टाजति ट्रान्जिटमा समय काट्नु थियो । केहीबेर करमुक्त पसल हुँदी नजरें, किनमेल गरेपछि चेकइन र सुरक्षा जाँच गरेर सोझै जहाज उड्ने गेटतिरकै लाउजमा पुगियो । अर्थमन्त्री र अर्थसचिव आउनुपर्ने बेला टरिसक्यो, म चाहिँ एकोहोरो आँखा ओछ्याएर उहाँहरूलाई नियालिरहेथें । अब त बोडिर्ङ समय भयो, माईकबाट घोषणा पनि भयो । तैपनि उहाँहरू आउनुभएन ।
दिक्क मानेर उभिएको मात्र के थिएँ, उहाँहरू दुवैजना टुप्लुक्क आइपुग्नुभयो हस्याङ्फस्याङ गर्दै । अभिवादन र भलाकुसारी पनि हामीले लाइनमै बसेर सिध्यायौँ । ऊ सो थ्वीनले दुवैजनालाई चिन्नुहुन्थ्यो, उहाँ पनि दङ्ग पर्नुभयो ।
अब हामी सिड्नीतर्फ हाँकियौँ, दुईतले बोइ ७४७ जम्बो जेटको माथिल्लो तलामा बसेर । जहिले पनि मलाई माथिल्लो तलामा त्यो पनि झ्यालमा बसेर रमिता हेर्नुपर्ने, पहिले दुईतले जहाज चढ्दा, अनुनय(विनय गर्दा पनि मिलेको थिएन । यसपटक भने ‘चेक इन’ काउन्टरमै हात जोडेर माथिल्लै तलाको सिट लिइ छाडेँ । फेरि छेउमै भरतमोहन अधिकारी पनि हुनुभएकाले र धेरै समयपछि नेपालीमा कुरा गर्न र हाँस्न पाइएकाले म मनमनै गद्गद थिएँ ।
आठ/१० घण्टाको यात्रापछि सिड्नीमा त्यो विमान हाम्रो भारबाट मुक्त भयो । सिडनीबाट अक्ल्याण्ड जानु थियो । हामीलाई दुई घण्टाको ट्रान्जिट बाँकी थियो । सफा आकाश, सुनौलो विहानी, रमाइलो जमघट र मीठो यात्रा भएकाले हामीलाई बाहिरतिर चिहाउँदैमा बितेको पत्तै भएनछ ।
‘चेक इन’ गर्ने बेलामा न्यूजिल्याण्डको भिसा किन ब्रिटिस राजदूताबासले गरेको भन्नेमा एकछिन गलफत्ती पर्यो । काउन्टरकी गोरी मैयालाई रामविनोदज्यूले सम्झाएपछि चुइँक्क नबोली बल्ल झ्याम्म छाप ठोकिदिइ र ढोका खोली । हामी नेपाली त्यो पनि रातो पासपोर्टवाला विशिष्ट व्यक्तिहरूलाई पनि सोधपुछ गर्ने चलनले मुटुलाई च्वास्स घोच्नु स्वाभाविकै थियो ।
समुद्रमाथिको दिक्कलाग्दो उडानबाट जब हामी अक्ल्याण्डको हरियालीले ढपक्क लमतन्ने धर्तीमा उत्रियौँ, तब न्यूजिल्याण्डको परराष्ट्र मन्त्रालयका अधिकृत र एशियाली विकास बैंकका केही अधिकारीहरूले हातहातै हाम्रो पासपोर्ट, सुटकेस आदिउदीका औपचारिकताहरू मिलिक्कै पूरा गरिदिए । हामी आआफ्नो थानामानातिर लाग्यौँ । बैंकका धेरै स्टाफहरू, निर्देशक सो थ्वीनसहित डा. विन्दु लोहनी सबै सम्मेलन कक्ष आउटी सेन्टर छेउमै एउटा होटेलमा बस्यौँ । अर्थमन्त्री भरतमोहन अधिकारी र रामविनोद भट्टराई अलिपर अर्कै होटेलमा बस्नुभयो ।
दक्षिण प्रशान्त महासागरमा अवस्थित न्यूजिल्याण्ड सुन्दर र शान्त एउटा अर्कै संसार रहेछ । क्षेत्रफलमा नेपालभन्दा पुगनपुग दोब्बर भए पनि जनसंख्या त्यसबेला जम्माजम्मी ३५ लाखमात्र थियो । अहिले त्यहाँको जनसंख्या ५२ लाखको हाराहारीमा छ । उसबेला भन्थे – मानिसको भन्दा गाईभैँसीको संख्या दोब्बर बढी छ रे त्यहाँ !
एउटा समानता के पाइयो भने न्यूजिल्याण्डलाई होचा रहेका पहाड र सानासाना हिमालले ढाकेको रहेछ । १० हजार फिटमाथिका १५ वटा हिमचुचुरा पनि त्यहाँ रहेछन् । वेलिङटन राजधानी भए पनि देशका व्यापारिक केन्द्र र सबैभन्दा बढी जनसंख्या भएको ठूलो शहर अक्ल्याण्ड नै रहेछ, जहाँ २ लाख मानिस बस्दा रहेछन् । नेपालसँगै तुलना गर्न लायक अर्को कुरा त्यहाँको संसदीय स्वरुपको शासन व्यवस्था पनि हो । तर फरक के छ भने राष्ट्रप्रमुख चाहिँ राजा, रानी रहने व्यवस्था रहेछ ।
मूलतः ब्रिटिस मूलको आधिक्य रहेको न्यूजिल्याण्डमा नौ प्रतिशतमात्र पोलिनेसियन जनसंख्या बस्दछन् । सबैभन्दा पहिले डच नेभिगेटर अबेल तासमानले न्यूजिल्याण्ड देखे पनि त्यहाँ तिनलाई बस्न दिइएन रे ! पछि अष्ट्रेलिया पत्ता लगाउने जेम्स कुकले न्यूजिल्याण्ड पनि पत्ता लगाएछन् । पत्ता नलागेको भए अहिले के हुन्थ्यो होला नि साँच्ची ! त्यति ठूलो शहर नभए पनि अग्ला, तर चिटिक्क परेका लाली पाउडर गाजलमा सजिएका बैंशालु युवती जस्तै भवनहरू ।
अहा, बाटो कति राम्रो, कहीँ हल्का रातो रंगको पीच, कतैका कालो कतै फुस्रो । फुटपाथहरू कति मिलेका षोडसी सुन्दरीहरूले अनार दानासरि दाँत देखाएर हाँसे जस्तो । बाटाका दुबैतिर झपक्क परेका रुखहरू, रुपवती नायिकाका सपक्क मिलेका तर खुलै छाडेका काला लामा कपाल जस्ता ! सडकभरि कारैकार गुडेको छ, चिल्ला राम्रा रुपबाट । ट्राफिक लाईटले आँखा झिम्क्याउनासाथ टक्क रोकिने, आँखी भौँ उचाल्यो कि तँछाड मछाड गरिहाल्ने । कति अनुशासित । एउटा अचम्म चाहिँ मान्छे चाहिँ फिटिक्कै नहिँड्ने । अलिअलि फुटपाथमा हिँडेको देखेजति बहुधा पर्यटकै हुँदा रैछन् ।
यसरी सात दिन अक्ल्याण्डमा बिताउँदा सात अचम्म मैले भोगेँ । एशियाली विकास बैंकको २८औँ वार्षिक बैठकको उद्घाटन न्यूजिल्याण्डका प्रधानमन्त्री जीम बोल्जरले बडो भव्यतापूर्वक गर्नुभयो । बैंकका अध्यक्ष मित्सुओ सातोले पनि गडगडाएर भाषण ठोक्नुभयो । सो उद्घाटनपछि फुर्सद पाइयो । र म एक्लै हल्लिँदै हल्लिँदै पुगेँ नजिकको एउटा उद्यानतिर । नाम चाहिँ यतिखेरै भुसक्कै बिर्सें ।
पार्क साँझको समय । शीतल हावा । सुन्दर बगैंचा । मनमोहक वातावरण । फेरि यौवना जोडीहरूको भलाकुसारी र माया साटासाट । हेर्ने, अनुभव गर्ने अनेक कुराहरू म नाथे एउटा गाउँले नेपालीका लागि भ्याइनभ्याइ समान थियो । दुधरंगे युवतीहरू मोहनी लाग्ने मुस्कान, लोभलाग्दो जिउडाल हेर्ने कुरा छ्यासछ्यास्ती थिए नै, तर मेरो आँखा तानियो, पार्कको ठाउँठाउँमा राखेका चन्दा बाकसहरू तर्फ ।
नजिकै गएँ, हेरेँ सीसाको बाकस रहेछ, नियालेँ बाकसभरि डलरै डलरका खात छन् । झन नजिक गएर जाँचे, ढकनी सिसाकै तर चाभी छैन, साँचो छैन । चुकुलधरि छैन । त्यत्रो मान्छेको आवतजावत छ, सज्जन पनि जालान, फटाहा, उपद्रयाहा पनि जालान् तर पनि त्यहाँ पैसा जस्ताको तस्तै । आँखालाई विश्वासै भएन, अलि परतिर गएँ, त्यस्तै छ, त्यही छ । तेस्रो ठाउँमा गएँ, त्यहाँको बाकसको पैसा पनि यथावत छ, चुकुल चावी केही छैन । हे भगवान ! स्वर्ग यही त हैन कतै । यस्तो हुँदा नि चोरी चकारी नहुने । मलाई लागेको यो कुरा मैले धेरै साथीहरूलाई सुनाएँ । उनीहरू पनि हेर्न गए र मेरै अनुभव लिएर आए ।
युरोप र एशियाका इने गिनेका धेरै देश घुमेको छु । तर भोकै कहिल्यै परेको थिइनँ तर अक्ल्याण्डमा एकदिन झण्डै भोकै परेको । त्यो पनि शुक्रबार । भयो के भने दिनभरि अड्डा र सम्मेलनको काममा लागियो । दिउँसो लञ्च त ! बजेतिर खाइएको थियो, त्यही चाइनिज रेष्टुराँमा । उतिसारो भोक लागेन । होटेलमा गएँ । एउटा कविता कोरेँ न्यूजिल्याण्ड युवतीको प्रशंसा गरेर । एउटा लघुकथा जन्माएँ, त्यही परिवेशको ।
यसरी घडी घुमेको पत्तै भएनछ, होस खुल्दा घडीमा १० बजेछ रातिको । दौडेर तलको रेष्टुरेन्टमा जान्छु त बन्द । वरतिर एकजनालाई सोध्छु त जवाफ आउँछ– लौ कस्तो हुस्सु ! शुक्रबार त यहाँका रेष्टुरेन्ट पाँच बजे नै बन्द हुन्छ । मारेन त । तैपनि उसैले सल्लाह दियो फाटफुट केही रेष्टुराँ पाइन सक्छ, उतातिर जानुस् । नभन्दै आधा घण्टाको सियो खोजाइपछि भोको पेटले राहत पाउने एउटा टिपिकल रेष्टुराँ भेटेँ र त्यो दिनको ज्यान जोगाएँ । शनिबार र आइतबार त फाट्टफुट्ट पसल मात्र खुल्दा रहेछन् ।
नेपालमै छँदा सन् १९८५ तिर व्यापक रुपले सुनेको थिएँ, ग्रीनपिसको ‘रेन्बो वारियर’ नाम जहाजलाई फ्रान्सले बम हानेर न्यूजिल्याण्डमा उडाइदियो । ठूलो हलचल भएको थियो संसारभरि । ६ मे को दिन जब हामीलाई समुद्रको सफरमा लगियो, तब त्यो ठाउँ र भग्नावशेष पनि देखाइयो, नजिकै अक्ल्याण्ड हार्वरमै त्यो घट्ना भएको रहेछ । न्यूजिल्याण्डजस्तो शान्तिप्रिय मुलुकमा भएको त्यो अशान्तिमय घटनालाई मैल पनि मनमनै सत्तोसराप गरेर आफ्नो शान्तिप्रिय भावलाई केहीबेर भए पनि उजागर गरेँ । यसरी त्यो दुर्लभ अनुभव लिने सौभाग्य फेरि मलाई जुर्यो ।
अर्को बिर्सिनसक्नु घटनाको तानावाना अलि मजालाग्दो छ । युरोपतिर धेरैलाई नेपाल भन्ने थाहा हुँदैन । इटलीको नेपल्स भन्ने बुझ्छन् । तर न्यूजिल्याण्डका ९० प्रतिशत मानिसलाई नेपाल भन्ने थाहा रहेछ । त्यसको कारण छ, एडमण्ड हिलारी । जोन हण्टको नेतृत्वमा गएर तेन्जिङ सँगसँगै प्रथम पटक सगरमाथा पाइला टेक्ने हिलारी न्यूजिल्याण्डकै हुन । रामविनोद भट्टराईले बाटोमा भन्नुभयो–‘हिलारीले लर्डको उपाधि पाइसक्नुभयो रे, जुन ज्यादै ठूलो सम्मान हो ।’
जब एकाविहानै भरतमोहन अधिकारी, रामविनोद भट्टराई, म र अवैतनिक महावाणिज्यदूत लर्ड हिलारीको घरतर्फ गाडीबाट हुइँकियौँ, मन एकतमासले कौतुहल र रोमाञ्चकताले लटरम्मै भयो । जिज्ञासाले छताछुल्ल भयो । बाहिरै श्रीमान हिलारी र लेडी हिलारी हामीलाई स्वागत गर्न आउनुभयो । बैठक कोठामा बसाउनुभयो । चिया बिस्कुट लेडी हिलारी आफैँले बनाई तुल्याई खुवाउनुभयो । फोटो सेसनको काम सम्पन्न भयो । अनेकौँ कुराकानी भए । अर्थमन्त्री, अर्थ सचिव जस्तो गरिमामय व्यक्तित्वहरू घरमा भेटन आइदिँदा उहाँहरू दङ्गदास, अझ उहाँजस्तो ऐतिहासिक शिखर पुरुषसँग उहाँकै घरमा भलाकुसारी गर्न पाउँदा हामी उत्तिक्कै दङ्ग । हिमालका तस्बिर, राजासँग उहाँको तस्बिर, नेपालको तस्बिर, भुईंमा नेपालकै कार्पेट साँच्चै मन्त्रमुग्ध भएछु म त !
डेढ घण्टाजति गफगाफ गरेपछि बैठकतिर जाने हतारो भो, हिँड्यौँ घरबाहिर बाटैसम्म गाडी नचढुन्जेलसम्म विदाई गर्न आउनुभयो लर्ड हिलारी– लेडी जुन मार्या हिलारी दुवैजना । त्यसपछि पनि त्यही दृश्य बारम्बार मेरो आँखा अगाडि आइरह्यो, आइरह्यो ।
यसरी अक्ल्याण्डमा मेरो बसाई धेरै हिसाबले संझनलायक बन्यो । डा. विन्दु लोहनीसँग पसल, सुपरमार्केट हुँदी घुमेको । न्यूजिल्याण्डकी स्थानीय निजी सचिवको नाम भुलेँ सँगै डिनर खाएको । बैंकका स्टाफहरूसँग सांस्कृतिक कार्यक्रम हेर्न गएको । भारतका अजय देवसँग, पपुवान्युगिनीका साथीसँग हाँसठट्टा गरेको… अनगिन्ती रमाइला स्मरण र अन्त्यमा मेरो प्रिय हाकिम सो थ्वीनसँग सिङ्गापुरमा घुमेको, मुथु ज करी भन्ने पसलमा केराको पातमा मासुभात खाएको र अर्को पटक आउँदा काम लाग्छ भनेर सिङ्गापुरमा सस्तो होटल बुझ्न हिँडेको, सिङ्गापुरको त्यो होटलको माथिल्लो ३५औँ तलामा मेरो कोठा सारेको आदि आदि । जुन भनी साध्य छैन, लेख्ने त कुरै भएन । अहिलेलाई यस्तै, कतै यहाँहरूलाई निस्तो खुराक त भएन ?
प्रतिक्रिया