प्रधानमन्त्री भन्छन्- मलाई त्रिविसँग लिनुदिनु केही छैन, शैक्षिक सुधारमा लाग्नुहोस्  | Khabarhub Khabarhub

प्रधानमन्त्री भन्छन्- मलाई त्रिविसँग लिनुदिनु केही छैन, शैक्षिक सुधारमा लाग्नुहोस् 


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज करिब तीन घण्टा लामो अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका छन् ।

प्रधानमन्त्री ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकार भएका पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरू प्रस्तावका रूपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए ।

गत मङ्सिर २७ गते कीर्तिपुरमा भएको त्रिविको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबीचको दूरी बढेको महसुस भएपछि कुलपति ओलीले विस्तृत छलफल गर्न आजका लागि समय निर्धारण गरेका हुन । सिनेट सदस्यहरूले कुलपतिस्तरबाट यस प्रकारको बैठक पहिलो पटक राखिएको र आफ्ना कुराहरू खुलेर राख्न पाइएको बताएकामा धन्यवाद दिए ।

सिनेट सदस्यका सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले पर्याप्त गृहकार्य र एक प्रकारको सहमति भएपछि औपचारिक बैठकमा प्रस्ताव ल्याउन निर्देशन दिएका छन् । मङ्सिर २७ गतेको सिनेट बैठकका छलफललाई बङ्ग्याएर सामाजिक सञ्जालमा प्रस्तुत गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सिनेटरहरु सार्वजनिक खपतका लागि नभई समस्या समाधान र सुधारको मुख्य मुद्दामा तर्कपूर्णरुपमा केन्द्रित हुनुपर्नेमा जोड गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफूलाई विश्वविद्यालयबाट व्यक्तिगतरुपमा लिनुदिनु केही नभएको स्पष्ट गर्दै त्रिविको विकास, रक्षा, प्रवर्द्धन र प्रगति नै साझा चिन्ता हुने भएकाले यसको मर्यादा, गरिमा र साखलाई जोगाउनु पर्नेमा जोड गरेका छन् ।

कुलपति ओलीले त्रिविको वेभसाइटमा यसका जनशक्ति, गरिएका काम र लक्ष्यहरूलाई सार्वजनिक गर्न आग्रह गर्दै यस खालको पवित्र संस्थामा पारदर्शिता कायम गर्न स्मरण गराए ।  ‘त्रिविको शैक्षिक क्यालेण्डर पालना हुनुपर्छ । अनौपचारिक बैठक भए पनि यसलाई निर्देशन नै मान्दा हुन्छ । विश्वविद्यालयमा पारदर्शिता हुनुपर्छ । मेरिटोक्रेसी कायम हुनुपर्छ । उत्कृष्ट भएकालाई उत्कृष्ट नम्बर दिइनुपर्छ । फेल भएकालाई फेल गराइनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘मेरो भनाइ साँच्चैको मेरिटोक्रेसी होस् भन्ने हो, मलाई कुन डीनको कति मेरिटोक्रेसी छ मलाई थाहा छैन । को नियुक्त हुन्छ, त्यो मेरो रुचिको विषय होइन, मेरो रुचिको विषय यो विश्वविद्यालय सबल होस्, सक्षम जनशक्ति उत्पादन हुन् भन्ने हो । नियुक्तिहरूमा मेरो कुनै हस्तक्षेप हुँदैन । निर्णय गर्ने पदाधिकारीले हो, त्यसकारण सफलता र असफलताको जस तपाईँहरूले लिनुपर्छ । कुलपतिका हैसियतले राम्रो गर्नुस् भन्ने मात्रै मेरो चासो हो । यसलाई पनि हस्तक्षेप मानिए त आश्चर्यबाहेक अरु के मान्न सकिन्छ र ?’

उनले त्रिविको चल–अचल सम्पति खोजबिन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयनका लागि कार्यदल बनाउनुपर्ने र प्रतिवेदन पर्याप्त नभएकाले थप अध्ययन गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले त्रिवि सेवा आयोगले नियमित परीक्षा लिने काम नगर्ने हो भने यसको औचित्यमा पुनः विचार गर्न निर्देशनसमेत दिएका छन् ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई, उपकुलपति प्रा डा केशरजङ्ग बराल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ५ : २८ बजे

रविको हिरासत तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

भारतीय गायक सोनु निगम नेपाल आउँदै

काठमाडौं – भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार

रविको सांसद पद निलम्बन पत्रबारे खनाल भन्छन् : सरकारको नियतमाथि गम्भीर प्रश्न उठ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले

दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त

काठमाडौं – नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा

रविको सांसद पद निलम्बन गर्न पठाएको पत्रमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संघीय सांसद रवि