काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेको सुदूरपश्चिमस्तरीय राजनीतिक संयन्त्रले रिक्त रहेका राजनीतिक नियुक्ति सहमतिका आधारमा यथाशीघ्र टुंग्याउने निर्णय गरेको छ ।
एमाले सचिवसमेत रहेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको संयन्त्रको बैठकले प्रदेशमा रिक्त रहेका राजनीतिक नियुक्ति सहमतिका आधारमा यथाशीघ्र टुंग्याउने निर्णय गरेको हो ।
कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले रिक्त रहेका राजनीतिक नियुक्तिहरूमा सहमतिका आधारमा यथाशीघ्र टुंग्याएर कार्यान्वयन गर्ने निर्णय गरिएको जानकारी दिए । रावतले संसदीय अभ्यासलाई सुचारु गर्नका लागि गतिविधिहरू पनि यथाशीघ्र अगाडि बढाउने निर्णय गरिएको बताए ।
संयन्त्रको बैठकले बाजुराको जगन्नाथ गाउँपालिका– ५ गोत्री केन्द्रबिन्दु भएर पुस ६ गते बिहान गएको भूकम्पबाट पीडितहरूलाई विपद् व्यवस्थापन समितिमार्फत राहत तथा पुनर्स्थापना गर्ने निर्णय पनि गरेको छ ।
कांग्रेस–एमालेको प्रदेशस्तरीय संयन्त्रको पहिलो बैठकको अध्यक्षता एमाले सचिव भट्टले गरेका थिए । संयन्त्रको बैठकमा कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति वीरबहादुर बलायर, एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, कांग्रेसका प्रदेश उपसभापति लोकराज अवस्थी, मुख्यमन्त्री कमलबहादुर शाह र एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल सहभागी थिए ।
प्रतिक्रिया