घोराहीका मेयर भन्छन्– फोहरले पुगेन, अझै चाहियो | Khabarhub Khabarhub

स्थानीय तह

घोराहीका मेयर भन्छन्– फोहरले पुगेन, अझै चाहियो

स्थानीय तहले राम्रो काम गर्दा जनतामा आशा जगाउन सकिन्छ : नरुलाल चौधरी



काठमाडौं– विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु पालिकाभित्रको फोहर कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा छन् । फोहर फाल्ने ल्याण्डफिल साइटको समस्या प्रायः सबै नगरपालिकाको साझा समस्या हो । तर, दाङ जिल्लास्थित घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको चिन्ता चाहिँ अर्कै छ । आफ्नो पालिकाका फोहर कम भएको भन्दै उनी छिमेकी पालिकासँग फोहर मागिरहेका छन् ।

घोराही उपमहानगरले तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकासँग गल्नेखालको फोहर मागिरहेको चौधरी बताउँछन् ।

आखिर, घोराही उपमहानगरपालिकालाई किन चाहियो फोहर ? यसबारे पछि चर्चा गरौंला, अहिले चाहिँ काठमाडौं आएर रेडियोकर्मी बनिसकेको मान्छे किन र कसरी दाङ फर्कियो भन्ने कथा सुनौं ।

घोराही उपमहानगरपालिका वडा नम्बर–२ मा जन्मिएका ५७ वर्षीय नरुलाल चौधरी दोस्रो कार्यकालका रुपमा घोराही उपमहानगरको मेयरमा आसीन छन् । उनी नेकपा एमालेका नेता हुन् ।

किसान परिवारमा जन्मेका नरुलालसँग शिक्षण पेशामा दुई वर्ष काम गरेको अनुभव छ । काठमाडौं आएर केही समय रेडियो नेपालमा थारु भाषाको समाचार वाचक बनेको चौधरी ०५३ सालपछि रेडियो नेपालबाट राजीनामा दिएर गाउँ फर्किए ।

गाउँमा जनताले राम्रो नेतृत्व नपाएका कारण स्थानीय तहको विकास नभएको भन्दै उनी ‘आफ्नो गाउँ आफैँ बनाउने’ अभियान बोकेर गाउँ फर्किएको बताउँछन् । वर्गीय रुपमा पछि परेका मानिसहरु राजनीतिक–सामाजिक क्षेत्रमा आएर मात्र यो समुदायलाई न्याय हुने ठानेर आफू राजनीतिमा लागेको नरुलालको तर्क छ ।

गाउँ फर्किएपछि नरुलाललाई फेरि शहर पस्न मन लागेन । उनी गाउँमै रमाए । उनी नेपाल कम्युनिष्ट पार्टी एमालेसँग ०४५ सालबाट औपचारिक रूपमा जोडिए । ०४९ सालमै एमालेले स्थानीय तहमा टिकट दिएकामे तर, २५ वर्षभन्दा कम उमेर भएकाले उठ्न नपाएको उनी सुनाउँछन् । ०५४ सालमा भने उनी दाङको रामपुर गाविस अध्यक्षमा निर्वाचित भए ।

नरुलाल एमालेको जिल्ला कमिटी सदस्य र अध्यक्ष हुँदै अहिले पोलिटब्युरो सदस्य छन् । उनी एमालेका दाङ इन्चार्ज समेत हुन् । ०७४ सालमा घोराही उपमहानगरको मेयर बनेका उनी । ०७९ साल माओवादी–कांग्रेस गठबन्धनलाई हराउँदै दोस्रोचोटि मेयर बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ०७४ सालमा घरघरमा ग्यासको पाइप पुर्‍याउने र स्विच प्याट्ट पार्नासाथ ग्यास बल्ने बताएका थिए । उता, दाङमा एमालेका पोलिटब्यूरो सदस्य नरुलालले ३ सय घरमा फोहरबाट ग्यास बल्ने प्रवन्ध गरेका छन् । तर, उनलाई चिन्ता छ– थप फोहरको ।

मेयर नरुलालले घोराही उपमहानगरपालिकामा कस्तो काम गरिरहेका छन् ? उनको काम गराइबाट आम जनता सन्तुष्ट छन् या छैनन् ? यो विषयमा यथार्थ कुरा बुझ्न उपमहानगरका विपक्षी नेताहरु वा स्थानीय नागरिक समाजलाई सोध्नुपर्ने हुन्छ । तर, नरुलाल घोराही जनता सन्तुष्ट रहेको दाबी गर्छन् । स्थानीय तहले राम्रो काम गर्‍यो भने जनतामा आशा जगाउन सकिने उनको भनाइ छ । चौधरी भन्छन्,‘हेर्न जानुभए पनि हुन्छ, साँच्चिकै नमुना उपमहानगर भएको छ । हामी सिस्टममा छौँ ।’

एमाले नेता एवं घोराहीका मेयर चौधरी हालै नेकपा एमालेको दुईदिने कार्यशालामा भाग लिन काठमाडौं आएका थिए । यहाँ आएका बेला मेयर चौधरीसँग खबरहबले स्थानीय सरकारको विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ ।

शुरुमा घोराही उपमहानगरपालिकाबारे केही बताइदिनू न । पालिकामा कसरी काम गरिरहनुभएको छ ?

घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले ५ सय २२.२१ वर्ग किलोमिटरमा फैलिएको छ । यो देशभरका ११ वटा उपमहानगरपालिका मध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो हो । यहाँ २ लाख ५ सय ३० जनसंख्या बस्छन् । घरधुरी पनि लगभग ५० हजार छन् । त्यसमध्ये ४ हजार ८ सय ११ घरधुरी गरिबीमा छन् । हामीले उहाँहरूलाई गरिबीको परिचयपत्र पनि वितरण गरिसकेका छौँ ।

घोराहीमा जातीय हिसाबले थारु, मगर, ब्राह्मण, क्षेत्री, गुरुङ र अल्पसंख्यक जाति बसोबास गर्नुहुन्छ । उल्लेखनीय बसोबास थारु र ब्राह्मण क्षेत्रीको छ ।

यो उपमहानगरपालिका दाङ जिल्लाको सदरमुकाम पनि भएकाले यहाँ बजार र सहरी क्षेत्र पनि छ । विकास निर्माणको हिसाबले ठूलो एरिया भएका कारण विकट ठाउँहरु पनि छन् । वडा नम्बर १९ पहाडी क्षेत्रमा पर्छ । वडा नम्बर १, २, ३, ५, ११, १२, १३ र १८ मा पनि पहाडको भूगोल पर्छ । त्यहाँ ०७४ साल अगाडिसम्म मान्छेहरू डोकाबाट बिरामी ओसार्ने गर्थे । अस्पतालबाट सुत्केरीलाई घरसम्म ल्याउन समस्या थियो । हामी निर्वाचित भएपछि सबै नागरिकको पहुँच सडक यातायातमा हुनुपर्छ भन्ने हिसाबले ती विकट क्षेत्रमा बाटो पुगेको छ । १२ महिना चल्ने हिसाबले बनाउन बाँकी छ । ट्रयाक खुलिसकेको छ ।

सबै वडा कार्यालयदेखि नगरसम्म पिच जोड्नुपर्छ भन्ने लक्ष लिएका थियौँ । अहिले १९ नम्बर बाहेक १८ वटा पिचले नगरपालिकाको कार्यालयसम्म जोडिसकेको छ । विद्युत् पनि छेउ कुनाबाहेक सबै ठाउँमा पुगेको छ । सञ्चार वडा नम्बर २ को चार्किघात, कोल्टी, ३ को मुसलघाट बाहेक सबैमा सुविधा छ । ती ठाउँमा पनि सञ्चार मन्त्रालय र विभागसँग कुरा राखेर टावर निर्माणको काम भराइरहेको छ ।

हामीले समाज कल्याण गर्छु भन्ने संस्थासँग समन्वय गरेर सडक बालबालिकालाई बस्ने घर बनाइदिएका छौँ । खानेकुराको व्यवस्थापन गरेका छौँ । पहिला–पहिला समस्या थियो । हामीले सबै हिसाबले काम गरिरहेका छौँ । तर अझै पनि सबै कुरा पर्याप्त हुन सकेको छैन । उपमहानगरबासीका न्यूनतम आवश्यकता पूरा गर्ने कुरामा कुनै कसर बाँकी राखेको छैन ।

घोराहीका जनताले स्थानीय सरकारसँग कस्तो अपेक्षा राखेका थिए ? दुई कार्यकाल नेतृत्व सम्हाल्दा तपाईले के–के काम पूरा गर्नुभयो ?

वास्तवमा पहिलो कार्यकालमा हामीहरूलाई नयाँ संरचनामा काम गर्नुपर्ने भएर समस्या भयो । संघीयता लागू भएपछि पहिलोपटकको जनप्रतिनिधिलाई काम गर्न समस्या थियो । नेपालको संविधान ०७२ को अनुसूची ८ मा दिएका एकल २२ वटा अधिकार छन् ती अधिकारमा कानुन आफैँ निर्माण गर्नुपर्ने र कानुन बनाएर काम अगाडि बढाउनुपर्ने समस्या थियो । जनशक्ति पनि पर्याप्त भएन । संघ सरकारले क्षमता अनुसारको कर्मचारी व्यवस्थापन गर्न नसक्दा पनि समस्या भयो ।

हामीसँग सबै वडा कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनतालाई सेवा दिन धौ–धौ हुने अवस्था थियो । यसका बाबजुद पनि सबै वडाको भवन निर्माण गर्‍यौं । २२ वटै अधिकारका कानुन निर्माण गर्‍यौं र नागरिकको सेवा प्रवाह गर्नका लागि वडा–वडाबाट राजस्व संकलन गर्नेदेखि लिएर सबै काम वडाबाटै सम्पन्न गर्ने भइसकेपछि नागरिकहरुलाई घर–घरमा सिंहदरबार भनेजसरी सेवा प्रवाहमा कुनै समस्या छैन । जसले गर्दा उपमहानगरमा देखिने गरी काम भएको छ ।

१९ वटै वडामा स्वास्थ्य चौकी सञ्चालन गरेका छौँ । ७७ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई घर–घरमा गएर निःशुल्क स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएका छौँ । आँखा अपरेसन निःशुल्क गर्ने गरेका छौँ । घोराहीका नागरिकलाई निःशुल्क रगत दिने व्यवस्था पनि हामीले गरेका छौँ । ९३ वटा सामुदायिक विद्यालय ७८ वटा संस्थागत विद्यालय छन् । यी विद्यालयमा विद्यार्थी कम थिए । तर, पछिल्लो समयमा शैक्षिक सुधार गर्नका लागि दरबन्दी मिलान गरेका छौँ । सबैभन्दा पहिला विद्यार्थी अनुसारको टिचर हुनुपर्छ । सोही योग्यता क्षमताको प्रअ हुनुपर्छ भनेर व्यवस्थापन गरेका छौँ । मात्रृभाषामा शिक्षा लागू पनि गरिएको छ ।

घोराहीलाई सफा, सुन्दर र हरियाली सहरका रूपमा विकास गर्ने काम भइरहेको छ । हामीले नगरिकहरुको आर्थिक क्षेत्रको विकासमा विशेष जोड दिएका छौँ । नागरिकहरूलाई आर्थिक क्षेत्रको विकासका लागि उनीहरूलाई वित्तीय साक्षरता पनि चलाइरहेका छौँ । कसरी आम्दानी गर्ने र कसरी खर्च गर्ने भन्ने कुरा हामीले नागरिकहरूलाई सिकाउँदै छौँ ।

वैदेशिक रोजगारीको क्षेत्रमा गएका नागरिकहरूलाई पनि वित्तीय साक्षरताको शिक्षा दिइरहेका छौँ । पैसालाई पुँजीको रूपमा विकास गर्नुपर्छ भनेर क्लास चलाइरहेका छौँ । पहिलो कार्यकालमा गाई व्यवस्थापन पनि गरिएको थियो, त्यसलाई निरन्तरता दिएको छ । यस्तै बालमैत्री नगर पनि बनाइएको छ । हामीले सबैलाई व्यवस्थापन गरेका छौँ ।

यी सबै काम गर्नुभएछ, अहिले घोराहीमा समस्याचाहिँ के छ ?

यातायातका हिसाबले चार लेनको सडकको समस्या थियो, त्यो संघ सरकारले समयमै नबनाउँदा धेरै नागरिकले क्षति भोग्नुपरेको थियो । यसपटक हाम्रा महासचिव शंखर पोखरेलले टेन्डर आह्वान गरेर नेपाल सरकारकै बजेटबाट हुने गरी त्यो ४ लेनको सडक अगाडि बढाउन पहल गर्नुभएको छ । अब यो समस्या समाधान हुन्छ भन्ने छ ।

दोस्रो कुरा, स्थानीय तहमा सबैभन्दा ठूलो समस्या भनेको अब सिचाइँलाई विशेष जोड दिने हो । यसले हाम्रो उपमहानगरमा रोजगारी सिर्जना गर्न सकिन्छ । कृषिको विकासका लागि ४३ वटा कृत्रिम जलाशय बनाएका छौँ, जहाँ अहिले माछा पौडिरहेका छन् । पानीलाई लिफ्ट गर्ने काम भएको छ । तालको वरिपरि खेतीपाती तरकारी खेती लगायतका व्यवसायका खेती सुरु भएको छ । यहाँ बोटिङ गर्ने होटेल सञ्चालन गर्ने काम भएको छ । युवाहरु विदेश जानुभन्दा यतातिर लागेका छन् ।

घोराही उपमहानगरले फोहर व्यवस्थापन राम्रोसँग गरेको छ भन्ने सुनिन्छ, कसरी भइरहेको छ व्यवस्थापन ?

फोहर व्यवस्थापनलाई जोड दिएर गल्ने फोहरबाट ग्यास उत्पादन गर्ने प्लान्ट निर्माण गरिएको छ । यसमा तीन पक्षको सम्झौता छ ः घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र ऊर्जा विकास कम्पनी । यी तीनवटाको साझेदारी काम भइरहेको छ । केही घरमा ग्यास पुगेको छ ।

होटलहरुबाट निस्किएको गल्ने फोहर राम्रोसँग आएको भए १५ सय घरधुरीलाई नै ग्यास वितरण गर्ने सक्ने क्षमता र लगानी छ । तर, होटलहरुबाट भनेजस्तो फोहर आएको छैन । अन्य स्थानीय तहबाट समेत फोहर ल्याउने कुरा पनि चलाएको हो तर गल्ने फोहर नै आउँछ किआउँदैन भन्ने हो   

तर, समस्या के छ भने गल्ने फोहर पर्याप्त नहुँदा जति ग्यास उत्पादन गर्न सकिने थियो, त्यति ग्यास उत्पादन भएको छैन । तर, फोहर व्यवस्थापन र सरसफाइको क्षेत्रमा ग्यास र मल तयार गरेर बिक्री गर्ने गरी काम भएको छ । फोहर व्यवस्थापन गर्नका लागि धेरै सहज भएको छ ।

तर, होटलहरुबाट निस्किएको गल्ने फोहर राम्रोसँग आएको भए त हामीले १५ सय घरधुरीलाई नै ग्यास वितरण गर्ने सक्ने क्षमता र लगानी छ । तर, होटलहरुबाट भनेजस्तो फोहर आएको छैन । होटलबाट निस्किएको फोहर बगुंरपालनतर्फ गइरहेको छ । बगुंर पालनलाई पनि हामीले प्राथमिकता दिएको हो तर अहिले गल्ने फोहर पर्याप्त नहुँदा लक्ष पूरा हुन सकेको छैन ।

अन्य स्थानीय तहबाट समेत फोहर ल्याउने कुरा पनि चलाएको हो । तर, गल्ने फोहर नै आउँछ–आउँदैन भन्ने हो । मिसिएको फोहरको काम छैन । गल्ने मात्र फोहर आउँछ भने हामी तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकासँग सहकार्य गर्न तयार छौं । तर, गल्ने फोहर हुनुपर्छ, मिसावट हैन ।

अहिले घोराहीमा उत्पादन भएको फोहरले ३ सय घरलाई मात्रै ग्यास पुगेको छ । हामी यसलाई बढाउने अभियानमा लागेका छौँ ।

फोहरबाट ग्यास उत्पादन गर्न कति लगानी गर्नुभएको छ ? कति ग्यास उत्पादन भइरहेको छ ?

अहिले उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने एउटा निश्चित क्षेत्रफल थियो, त्यो हामीले नगरको तर्फबाट गरेका छौँ । पर्खाल निर्माण गर्ने काम थियो, त्यो हामीले गरेका छौँ । निजी कम्पनीले ६० प्रतिशत र वैकल्पिक ऊर्जाले ४० प्रतिशत लगानी गरेको छ । त्यसका आधारमा २०–२२ करोडको लागतमा यो परियोजना निर्माण भएको छ । अहिले सामान्यः यसलाई फोहर जुटाउने कोसिसमा छौँ र फोहरको वर्गीकरण गर्नेमा केन्द्रित गरेका छौँ ।

स्थानीय तहको जनप्रतिनिधिले पार्टीको नेताजस्तो भएर काम गर्‍यो भनेर कहीँ–कहीँ तीव्र असन्तुष्टि आइरहेको हुन्छ । यहाँको नगरमा त्यो छ कि छैन ?

अहिले घोराहीमा त्यो असन्तुष्टि देखिएको छैन । किन पनि म ठोकुवा गरेर भन्छु भने जनचाहना र भावनाअनुसार स्रोत साधनलाई अत्यधिक उपयोग गरेर उनीहरूको हितमा काम गरिरहेको भएर शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकास र आर्थिक विकासको क्षेत्रमा सबै हिसाबले कामलाई अगाडि बढाइरहँदा नागरिकहरू सकरात्मक हुनुहुन्छ ।

किनकि म स्वयम पनि जनतासँग दिनदिनै समस्या बुझ्न कुनै न कुनै रूपमा जोडिइरहेको छु । जनविरोधी गतिविधि गर्ने अवस्था छैन । हामीले नियमित तीन–तीन महिनामा सार्वजनिक सुनुवाइ गर्ने गरेका छौँ । दलहरूप्रति असन्तुष्टि छैन ।
कहीँ कतै मेयर र उपमेयरलाई काम गर्न वडाअध्यक्षहरु नमिलेका कारण पनि समस्या भएको खबर आउँछ, घोराहीमा कस्तो छ ?

हाम्रो मेयर र उपमेयरमा पनि कुनै विवाद छैन । वडा अध्यक्षहरुपनि सहयोगी हुनुहुन्छ । राम्रो कामको लागि सबैले सहयोग गर्नु नै भएको छ । म पनि सही ढंगले चलेको छु । १९ वटा वडामा नेकपा एमालेले १३ वटा वडासहित प्रमुख उपप्रमुख जितेको छ । नेपाली कांग्रेसले ५ वटा वडाध्यक्ष जितेको छ । माओवादीले एउटा वडा जितेको छ ।

हामीले समानखालको विकास अगाडि बढाउने कार्यक्रम र नीति ल्याएको भएर कसैमा विवाद हुँदैन । नीतिअनुसार काम हुने भएकाले सबैको एकात्मक भावना छ । यहाँ हेर्न जानुभए पनि हुन्छ साँच्चिकै नमुना उपमहानगर भएको छ । हामी सिस्टममा छौँ । राजनीतिक दलले पनि पूराका–पूरा साथ दिनुभएको छ । हामी जथाभाबी योजना छनोट पनि गदैनौं

स्थानीय सरकारलाई भ्रष्टाचारको आरोप पनि लाग्ने गरेको छ नि ?

हाम्रो उपमहानगरपालिका सुशासनसँग जोडिएको छ । कहीँ कतै भ्रष्टाचार नहोस् भनेर यो कुरामा विशेष हेक्का राखिएको छ । किनकि उपभोक्ताबाट हुने काम कम छ, हामीले खरिद ऐन अनुसार ठेक्का टेन्डर गर्छौं । जहाँसुकैको मान्छे पनि आएर काम गर्न सक्छ । कुनै खरिदमा स्वार्थ राख्नुपर्ने या उपभोक्ता समिति बनाएर बदमासी गर्न पाउने खालका कुराहरु छैनन् ।

हामीले भ्रष्टाचार गर्न नपाइने संयन्त्र निर्माण गरेका छौँ । कुनै ठाउँमा जनता सताउने काम हुँदैन र हुन पनि दिने छैन । तर, स्थानीय तहले भ्रष्टाचार गरेको भए तथ्यसहित बाहिर आउनुपर्छ भनेर म पनि वकालत गरिरहेको हुन्छु । म ठोकुवा गरेर भन्छु– मेरो उपमहानगरपालिकामा १ रुपैयाँको पनि भ्रष्टाचार भएको छैन । साँच्चिकै नमुना उपमहानगर छ । अरूको पनि यस्तै होस ।

म जनतासँग उभिएर शीर ठाडो पारेर हिँड्न सक्छु । म जनताको सेवामै विचार, सिद्धान्त र दर्शनमा छु । म यो कुरा जीवनको महत्वपूर्ण समय पनि मान्छु । म विकास भनेर मान्छेको जीवनमा आउने परिवर्तनलाई मान्छु । जबसम्म मान्छेको जीवनमा आर्थिक अवस्था र शिक्षामा परिवर्तन आउँदैन, त्यो बेलासम्म हामीले विकास भयो भनेर मान्न सकिँदैन ।

हामी अहिले पनि विकासका लागि चाहिने पूर्वाधारको तयारीमै लागिरहेका छौँ । । बाटा घाटा, सिँचाइ, सञ्चार र मानिसहरूको खुसी अनि सन्तुष्टि, यही कुरासँग जोडिएका छौं । यसको मापन गर्ने कुरा जनताको सन्तुष्टिसँग हो । जहाँ जनताको सन्तुष्टि छैन, त्यहाँनेर विकास भएको मानिँदैन ।

जनताको आम्दानीको स्रोत कस्तो छ ? पछाडि परेको समुदाय दलित, जनजाति र भूमिहीनको अवस्था कस्तो छ ? पछि परेका सुकुम्वासी र गरिबहरूको पहुँच माथिसम्म आयो कि आएन ? यिनै कुराहरुले विकासलाई दाँज्ने भएकाले घोराही उपमहानगरलाई सुख, शान्ति र समृद्धिसँग जोडिएको छ । यो अवस्थाको घोराही बनाउने आधार तयार पारेका छौँ । आगामी आउने जनप्रतिनिधिले धेरै तरिकाले कामलाई अगाडि बढाएर जान सक्छन् । हामीले गरेका यी यावत कामलाई निरन्तरता दिइयो भने जनताले दुःख पाउँदैनन् र अब गरिबी निवारण हुन्छ भन्ने कुरामा ढुक्क छौँ । त्यता हाम्रो जोडबल छ ।

स्थानीय सरकारले राम्रोसँग काम गरे साँच्चिकै जनतालाई सुविधा दिन सकिने रहेछ ?

हो, मज्जाले दिन सकिन्छ । जनतालाई पर्ने समस्या भनेको स्थानीय सरकारसँग ठोकिन्छ । जनताले सामूहिक र व्यक्तिगत इच्छा पनि राखेका हुन्छन् । स्वार्थका इच्छा बाहेक सामूहिक आवश्यकतालाई जनप्रतिनिधिले पूरा गरे साँच्चिकै स्थानीय तह विकसित भएर जान्छ । तर, स्वार्थ बाझ्ने व्यक्तिगत इच्छाहरु पूरा गर्नतिर लागियो भने समस्या आउँछ ।

कानुनी बाधा भए फुकाइदिनुपर्छ । सबै कुरा स्थानीय सरकारले मात्र पूरा गर्न नसक्ने भएर तीन तहको सरकारको अभ्यास भएको हो । ठूला आयोजनाहरू संघ सरकारले गर्छ । जस्तो– एक जिल्लाबाट अर्को जिल्ला जोड्ने सडक, ठूला योजनाका खानेपानी, विद्युतका काम, पुलका काम लगायत संघ सरकार र प्रदेश सरकारले मिलेर गर्नुपर्छ । जनतालाई डेलिभरी दिने काम र दिनदिनै हुने समस्याका कामहरू स्थानीय तहले समाधान गर्नुपर्छ । उनीहरूले संघ प्रदेश सरकारलाई चिन्दैनन् ।

त्यसकारण जनताको घर–घरको सरकार स्थानीय सरकार बने जनताका सबै गुनासा र समस्या समाधान गर्न सकिन्छ । मैले त्यो अभ्यास गरेको छु ।

कामको चाप र दबाव स्थानीय सरकारसँग धेरै हुन्छ । तर, आफूलाई असल अभिभावक ठानेर स्थानीय सरकारले काम गर्नुपर्छ । स्थानीय सरकार जनतासँग जोडिने भएकाले कुर्सीमा मात्र बस्ने चाहिँ गर्नुभएन । जनताको वरिपरि रहेर सेवा दिने कुरामा जोड गर्नुपर्छ । स्थानीय सरकारले जनता र जनताले स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ । केन्द्र र प्रदेशले पनि स्थानीयसँग समन्वय गरेर काम गर्नुपर्छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ४ : ०९ बजे

जिप दुर्घटनामा एक जनाको मृत्यु, १० घाइते 

टक्सार – जिल्लाको बोखिममा जिप दुर्घटना हुँदा घाइते भएका एक

एमाले ‘बामाले’मा परिणत भइसक्यो : भीम रावल (अन्तर्वार्ता)

चार दशकभन्दा लामो योगदान दिएका पूर्वउपाध्यक्ष डा. भीम रावल बुधबारदेखि

गैँडाको खागसहित एक जना पक्राउ

मनहरी – चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित

४१ देशका लागि संसदीय मैत्री समूह गठन

काठमाडौं– संघीय संसदले विभिन्न ४१ संसदीय मैत्री समूह गठन गरेको

सामान्य अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ