प्रहरीमाथि प्रश्न : मान्छे मारेको घटनामा जाहेरी नै नलिने कि अनुसन्धान गर्ने ? | Khabarhub Khabarhub

सुरक्षा

प्रहरीमाथि प्रश्न : मान्छे मारेको घटनामा जाहेरी नै नलिने कि अनुसन्धान गर्ने ?



काठमाडौं – सुशासन मापन गर्ने एउटा परिसूचक अपराध नियन्त्रण हो । शासन व्यवस्थापनमा सुरक्षा मामिलाले निकै महत्व राख्छ ।

शान्तिसुरक्षा कायम राख्ने र अपराध नियन्त्रण गर्ने जिम्मा सरकारले प्रहरी सङ्गठनलाई दिएको छ । यस्तो जिम्मेवारीको गाम्भीर्यता बुझ्दा कानून कार्यान्वयनकर्ता सुरक्षा निकायबाट हुने कुनै पनि प्रकारका त्रुटि, लापरवाही वा बदनियतले सिङ्गो राज्य व्यवस्थामै नकारात्मक प्रभाव पार्न सक्छ ।

के प्रहरीले अपेक्षा गरिएजस्तै काम गरिरहेको छ त ? पछिल्लो समय आम नागरिकले प्रहरी सङ्गठनप्रति गरिरहेका गुनासाको निचोड हो – अपराधका घटनामाथि अनुसन्धान तहकीकात तथा कारबाही प्रक्रियामा प्रहरीले लत्तो छाड्दै गएको छ ।

पीडितहरूले भनिरहेका छन् – मानिसको ज्यान तलमाथि हुँदा पनि प्रहरीले उजुरी लिन मान्दैन । तलका केही घटनामा प्रहरीको व्यवहार यसकै प्रमाण हो ।

पाँचथर मिक्लाजुङ घटना

मंसिर २१ गते पाँचथर मिक्लाजुङ गाउँपालिका २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु भयो ।

उनी गाउँपालिकाका अध्यक्ष अमर माखिमसँग शिकार खेल्न जैसीभीर जङ्गल गएका थिए । उनीसँगै गएको समूहले दुईवटा घोरल मारेको थियो ।

मारेका घोरल कन्याटारमा छोडेर अध्यक्षसहित केही व्यक्ति ‘इमर्जेन्सी पर्‍यो’ भन्दै पुनः जङ्गलतिर फर्किए ।

तेजबहादुरकी दिदी विष्णुमायालाई भोलिपल्ट भाइका तेजबहादुरका साथी राजकुमार तामाङको फोन आयो ।

‘जङ्गलमा गोलिया काट्न जाँदा लडेर तेजबहादुर घाइते भएको छ, छिट्टै अस्पताल आउनुस्’ भने । दिदी हतारहतार ट्रमा सेन्टर पुगिन् । त्यहाँ पुग्दा भाइको निष्प्राण शरीर देखिन् ।

गाउँपालिका अध्यक्षसँग शिकार खेल्न जाँदा ज्यान गुमाएका तेजबहादुर थेगिम ।

प्रहरीले पोष्टमार्टम रिपोर्टमा विष्णुमायालाई नै सही गर्न लगायो । प्रहरी कार्यालयमा लगेर सद्गतका लागि निवेदन लेख्नसमेत लगाए । यी काम गर्न प्रहरीले अस्वाभाविक हतारो देखाइहेको थियो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राकेश चौधरीले चाहिँ ‘भीरबाट लडेर मृत्यु भएको भन्दै अन्त्येष्टि गर्ने बाटो खुलाइदिनुपर्‍यो’ भनेर आग्रह गरेपछि पोष्टमार्टम सकेर पूर्जी दिइएको बताए ।

पोष्टमार्टमका लागि प्रहरीमा दिइएको निवेदनमा ‘भीरबाट लडेर घाइतेको उपचारका क्रममा मदन भण्डारी ट्रमा सेन्टरमा निधन भएको’ उल्लेख छ ।

तर, अघिल्लो दिन नै तेजबहादुरको शव मोरङको उर्लाबारीस्थित मंगलबारे ट्रमा सेन्टर पुर्‍याएर हतारहतार पोष्टमार्टम र अन्त्येष्टि गर्न लगाइएको थियो । डा. प्रोमिस बुढाथोकीका अनुसार ट्रमा सेन्टर ल्याइपुर्‍याउँदा नै तेजबहादुरको मृत्यु भइसकेको थियो ।

डाक्टरका अनुसार तेजबहादुरको टाउकोमा चोट लागेको थियो । करङ भाँचिएको र पेटमा रगत जमेको अवस्थामा उनको मृत शरीर अस्पताल पुर्‍याइएको थियो ।

डाक्टरले मृत्युको एकीन कारण पत्ता लगाउन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान भने पनि प्रहरी र गाउँपालिका अध्यक्ष निकटले त्यहीँ पोष्टमार्टम गर्न भने ।

‘एकपल्ट भाइको मुख हेर्छु’ भन्दा पनि नदिइ अन्त्येष्टि गर्न लगेको दिदी विष्णुमायाले बताइन् । मिक्लाजुङको घर नजिकै घाटमा लैजाँदा गाउँलेहरूले विभिन्न शंका गरे ।

त्यसपछि उनले शवको अनुहार उघारेर हेरिन् । भाइको टाउकोमा गहिरो चोट थियो । मृत्यु शंकास्पद लागेर जाहेरी दिन खोजिन् ।

तर, वडाध्यक्ष सहितले कहीँकतै उजुर नगर्न दबाब दिए । ‘जे हुनु भइसक्यो, गरिब परिवार हो, हामी सहयोग गर्छौँ’ भनेर लालसा देखाए ।

मृतकका बुवा शरणबहादुरले घटना कसरी भयो भनी कसैले जानकारी नदिएको बताए ।

‘गाउँपालिका अध्यक्षसँग शिकार खेल्न जान्छु भनेर हिँडेको थियो । के कसरी त्यस्तो भयो ?’ उनको यो प्रश्नको जवाफ कसैसँग छैन ।

अध्यक्ष माखिमले भने घटनाबारे अनभिज्ञता देखाइरहेका छन् । उनले आफूसँग लाइसेन्सयुक्त बन्दुक भएकाले राजनीतिकरण गर्न खोजिएको आरोप लगाइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीषक (डीएसपी) कौशलकुमार बुढाथोकीले शुरूमै जाहेरी दर्ता नगरेको स्वीकारेका छन् । मृतककी दिदी, बुवा र काकाले जिल्ला प्रहरी कार्यालयमा पुस १४ मा जाहेरी दिन खोजेका थिए । तर, प्रहरीले नलिएपछि हुलाक र जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दर्ता गराएको छ ।

तेजबहादुरको घरमा गर्भवती श्रीमती र बुबा छन् । गाउँपालिका अध्यक्ष मुछिएको शिकार र मृत्युको मामिलामा उजुरी दिएपछि खेप्नुपरेको दबाब सहन नसकी उनीहरू गाउँबाटै विस्थापित भएका छन् । छोरी विष्णुमायाकहाँ घरमा शरण लिएका छन् ।

महोत्तरीको कविलाशा घटना

औरी नगरपालिका –४ कविलाशा टोलका ३० वर्षीय अरूणकुमार पण्डित एक दशकदेखि गाउँमा क्लिनिक खोलेर त्यसैको आम्दानीले जीविकोपार्जन गर्दै थिए ।

वि.सं. २०८० चैत १४ गते रातिको ११ः३० बजे स्थानीय अन्दाजी २४ वर्षीया जसोधा देवी पण्डितले आफ्नो सासु बिरामी भएको भन्दै फोन गरिन् ।

पाँच पटकसम्म फोन आएपछि ‘निकै गम्भीर भएरै फोन गरिन् होला’ भन्ने सोची अरूण आधा रातमा घरबाट निस्किए । तर, उनी फर्किएर आएनन् ।

छिमेकीको उपचार गर्न जाँदा ज्यान गुमाएका अरूणकुमार पण्डित ।

छोरा नआएपछि बुवा गणेश कुमारसहित छिमेकीहरू खोजी गर्न हिँडे । खोज्दै जाँदा छोराको शव रातको एक बजे जशोधाकै घरको गोठमा भेटियो । गोठभित्र छानामुनि झुण्डिएको अवस्थामा अरूणको शव भेटिएको थियो ।

तर, शवको दुवै खुट्टाले पूरै भुइँ टेकेको थियो । अरूण झुण्डिएको अवस्थामा देखेर अत्तालिएका बुवा र छिमेकीले हल्ला गर्न थालेपछि मुकेश पण्डित र हजारी पण्डितले बञ्चरोले डोरी काटे । मृतकका बुवा गणेशले सुनाएअनुसार; डोरी काट्दा उनीहरूले ‘मान्छे मरिसकेको छ, आत्महत्या गरेछ’ भनी दोहोर्‍याइरहेका थिए ।

गाउँपालिका–४ का वडासदस्य झगरु पण्डितले वडाध्यक्ष र प्रहरीलाई बोलाएर हतारहतारमा अरूणको शव पोष्टमार्टम गर्न लगाए । तर, उक्त पोष्टमार्टम रिपोर्ट प्रहरीले हालसम्म घरपरिवारलाई दिएको छैन ।

घटनास्थलमा लछारपछार गरेको निशान, मृतकले लगाएको भेष्ट च्यातिएको, मुख फुटेको, एउटा हात र एउटा खुट्टा भाँचिएको अवस्थामा फेला परेको परिवारको आरोप छ ।

पीडित परिवार र स्थानीयहरूका अनुसार; ६२ वर्षीय झगरु पण्डितबाट अरूणले उपचार गरेको शुल्क पाउन बाँकी थियो । शुल्कको विषयमा दुईबीच मनमुटाव भएको थियो ।

जसोधा, झगरु पण्डित, सन्तोष पण्डित, पचिया देवी, हजारी पण्डित, रामप्रसाद पण्डित र मुकेश पण्डित गरी सात जनाको समूहले अरूणको हत्या गरेको परिवारको आरोप छ ।

आफ्नो छोराको आत्महत्या नभई हत्या भएको भन्दै बुवा गणेश इलाका प्रहरी कार्यालयमा उजुरी दिन गए । तर, प्रहरीले हालसम्म उजुरी नै लिन मानेको छैन ।

प्रहरीले कम्तिमा उजुरी लिएर घटनाको अनुसन्धान गर्नुपर्ने परिवारको माग छ । एक वर्षसम्म पनि प्रहरीले उजुरी नै नलिएपछि अरूणका बुवा गणेश यतिबेला सङ्घीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा धर्ना बस्न आइपुगेका छन् ।

अरूणको मृत्यु प्रकरणमा प्रहरीले जाहेरी नै नलिएपछि माइतीघर मण्डलामा धर्ना बस्न आइपुगेका बुवा गणेश पण्डित ।

‘राजनीतिक शक्तिको आडमा अपराधीहरूले तैँले केही गर्न सक्दैनस् भनेर धम्की दिइरहेका छन्’ गणेशले भने, ‘कसैले कहीँ न्याय नपाए माइतीघर जानुपर्छ भने, त्यसैले यहाँ धर्ना बस्न आएको हुँ ।’

बुढेसकालको सहारा एकमात्रै छोरा मारिदिएको भन्दै ६१ वर्षीय वृद्ध गणेश यतिबेला धर्नामै छन् । घरमा वृद्ध श्रीमती, विधवा बुहारी र तीन नातिका सहारा उनै गणेश हुन् ।

गोङ्गबु होटलको घटना

गएको वैशाखमा गोङ्गबु मित्रनगरस्थित स्टार जोन होटलमा एक जोडी युवायुवती पुगे । होटलले उनीहरूलाई तेस्रो तल्लाको ९ नम्बर कोठा उपलब्ध गराएको थियो ।

होटलमा अचानक विवाद भयो । कुटाकुटसम्म भयो । युवतीको ज्यान नै गयो । युवतीको शरीरका विभिन्न ठाउँमा चोटपटक थियो । मृत्युको घटना नै रहस्यमय देखियो ।

महाराजगञ्ज प्रहरी वृत्तमा परेको जाहेरीअनुसार विवाहित युवतीलाई होटलमा बोलाएर कोठामा राख्ने व्यक्ति काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ घर ठेगाना बताउने ३२ वर्षका अनित कार्की थिए । ३१ वर्षीया युवती सानी छोरीलाई लिएर काठमाडौंको बाँसबारीमा बस्दै आएकी थिइन् ।

पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको मृत युवतीको शरीर सर्ट र हाफपाइन्ट लगाएको अवस्थामा भेटिएको थियो ।

सम्बन्धित समाचार –

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, रहस्यमय मृत्यु

प्रहरीका अनुसार मृतकको दुवै घुँडामा घाउ देखिएको थियो । युवतीको छातीको दायाँ भागमा एक इञ्च कोतरिएको घाउ थियो । बायाँ हातको पाखुरामा रातो कालो दाग, निधारको दायाँ भागको आँखीभौँ छेउमा कालो नीलो डाम थियो । त्यस्तै, दायाँपट्टि चिउँडो र दायाँ हातको नाडीमुनि कोतरिएको घाउ थियो ।

युवतीले राति आत्महत्या गरेको भन्दै युवकले होटलवालालाई खबर गरेका थिए । प्रहरी लगत्तै घटनास्थल पुगेको थियो ।

कोठाभित्रै विवाद भएपछि युवती कम्मरमा तन्ना बेरेर बाथरुममा छिरेको र लामो समयसम्म बोलाउँदा पनि नआएपछि फोन गरेर होटल सञ्चालकलाई बोलाएको युवकले बताए ।

होटल सञ्चालक आएपछि बाथरुमको ढोका बलपूर्वक घचेटी फोडेर हेर्दा घाँटीमा तन्नाको पासो लगाई भुइँमा लडेको अवस्थामा युवतीको शव भेटिएको थियो । कपडा झुण्ड्याउने हुकसमेत भुइँमा झरेको पाइएको थियो ।

एउटै कोठामा सँगै बसेका जोडी ! कुटपिटबाट शरीरभर घाउ र चोटपटक देखिएको अवस्था ! साथमा रहेका युवक पनि पक्राउ परेका थिए ।

तै पनि प्रहरीले यो घटनामा किटानी जाहेरी भने लिएन । मृतक युवतीकी सासूका तर्फबाट दर्ता गरिएको जाहेरीमा ‘ज्यानसम्बन्धी कसूर’ मा नभइ ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसूर’ मा जाहेरी दिएको उल्लेख छ ।

प्रहरीले शुरूमा ज्यान मुद्दामा किटानी जाहेरी नलिए पनि पछि अनुसन्धानबाट कैफियत देखिएमा पुनः किटानी जाहेरी लिएर अनुसन्धान अघि बढ्ने बतायो ।

प्रहरी प्रवक्ता भन्छन् : ‘हाम्रो कर्तव्य हेर्नु, सुन्नु र त्यसपछि लेख्नु हो’

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारीले नागरिकलाई हेर्नु, सुन्नु र त्यसपछि लेख्नु प्रहरीको कर्तव्य भएको बताए ।

उनले भने, ‘अपराधसम्बन्धी उजुरी आएपछि प्रहरीले हेर्नुपर्छ भनेर कानुनले नै निर्धारण गरिदिएको छ । त्यो जिम्मेवारी पूर्णतः प्रहरीकै हो । अपराध अनुसन्धान मामिलामा त्यो भन्दा थप काम पनि गर्नुपर्छ । कसैले कुनै प्रकारको सहयोग मागेमा त्यसलाई सुन्नु, हेर्नु र लेख्नु काम प्रहरीको कर्तव्य हो ।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विश्व अधिकारी ।

त्यसकारण अपराधको सूचना प्रहरीले लिनैपर्ने अधिकारीको भनाइ छ । उनका अनुसार; कुनै प्रहरी वा प्रहरी कार्यालयले उजुरी लिनै नमाने कानुनमा त्यसको उपचारको व्यवस्था पनि छ ।

‘जाहेरीवाल सरकारी वकिलकहाँ गए वकिलले प्रहरीलाई उक्त उजुरी लिनू वा दर्ता गर्नू भनी आदेश दिन सक्छ’, अधिकारीले भने ।

अर्को – फौजदारी कानुनमा दोहोरो खतराको सिद्धान्त हुन्छ । सामान्यतयाः एकै विषयमा एकै व्यक्ति, एकै कारण भएकोमा दुई मुद्दा दर्ता नहुने उनको भनाइ छ ।

‘मृत्यु भइसकेको घटना कुनै न कुनै प्रहरी कार्यालयमा दर्ता छ । दर्तामा हत्या शंकास्पद हो भनी उल्लेख छ भने त्यहीअनुसार मुद्दा अघि बढाइन्छ,’ अधिकारीले अगाडी भने, ‘त्यो भन्दा पनि माथिल्लो निकाय जिल्ला प्रशासन कार्यालयमै जान सकिन्छ । साथै, प्रहरीको माथिल्लो कार्यालयमा पनि जान सकिन्छ । प्रहरीले उजुरी त लिनैपर्छ ।

‘उजुरी दर्ता नै नगर्नु प्रहरी कर्तव्यबाट च्युत हुनु हो’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी उजुरीसमेत दर्ता नगर्ने प्रहरी आफ्नो कर्तव्यबाट च्युत हुने बताउँछन् ।

उनले भने, ‘नागरिकको ज्यूज्यान सुरक्षा गर्नकै लागि विशेष अधिकारसहित प्रहरी सङ्गठन स्थापना गरिएको हो । घटना घटेपछि अनुसन्धान गर्ने काम प्रहरीकै हो । त्यसका लागि पहिले उजुरी दर्ता हुनुपर्छ ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी ।

त्रिपाठीले थपे, ‘अन्याय भएको छ भने नागरिकले उजुरी दिन पाउने मौलिक अधिकारमै उल्लेख छ । राज्यको पहिलो कर्तव्य नै नागरिकको न्यायको सुनिश्चितता हो । अपराधमुक्त वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार हो ।’

प्रहरीले उजुरी नलिए वा त्यहाँसम्म जान सक्ने अवस्था नभए नागरिकले हुलाकबाटै उजुरी पठाउन सक्छन् । सरकारी वकिलको कार्यालयमा पनि जान सकिन्छ । त्यसो गर्दा पनि उजुरी दर्ता भएन भने अदालतमा गएर परमादेश लिन सकिन्छ ।’

अन्तराष्ट्रिय कानुनले पनि कुनै अपराध घटित हुन्छ भने विश्वसनीय र वस्तुगत अनुसन्धान हुनुपर्छ भनेको त्रिपाठीले बताए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ७ : ०१ बजे

मनहरी दुर्घटनामा थप एकको मृत्यु

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा आज

‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे

कैलाली – ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८

उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न

काठमाडौं – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन

धनुषा – विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी