सिंहदरबारले खोल्यो समपूरक र विशेष अनुदान प्रस्ताव (मापदण्डसहित) | Khabarhub Khabarhub

सिंहदरबारले खोल्यो समपूरक र विशेष अनुदान प्रस्ताव (मापदण्डसहित)

समपूरकमा ११, विशेषमा ६ क्षेत्र


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि समपूरक र विशेष अनुदान प्रस्ताव खुला गरेको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहबाट समपूरकमा ११ र विशेषमा ६ क्षेत्रका आयोजना/कार्यक्रम प्रस्ताव माग गरेको हो ।

अब प्रदेश र स्थानीय तहले सङ्घीय समपूरक र विशेष अनुदानमा अघि बढाउन चाहेका आयोजना/कार्यक्रम प्रस्ताव यही फागुन १५ भित्र पेश गरिसक्नुपर्नेछ । यस्तो प्रस्ताव विद्युतीय सूचना व्यवस्थापन प्रणालीमार्फत योजना आयोगमा पठाउनुपर्नेछ ।

दुई तहका सरकारले अघि बढाउन खोजेका आयोजना/कार्यक्रमको प्रस्ताव सहित विवरण बुझाउनुपर्ने आयोगले जनाएको हो । यस्ता कार्यक्रम छनोट भए आगामी साउनदेखि नै कार्यान्वयनमा जानेछ ।

प्रदेश वा स्थानीय तहले अन्य स्रोतबाट कार्यान्वयन गर्ने आयोजना वा कार्यक्रम र हाल सञ्चालनमा रहेका आयोजना वा कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रस्ताव पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति तथा योजना आयोग/प्रदेश योजना आयोगको आयोजना वा कार्यक्रमको प्राथमिकीकरण सहितको सिफारिशमा प्रदेश सरकार (मन्त्रिपरिषद) निर्णयसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्रस्ताव पेश गर्नुपर्नेछ ।

समपूरक र विशेष अनुदानका आयोजना/कार्यक्रम पेश गर्न आयोगले यसअघि नै प्रदेश सरकार र स्थानीय तहलाई लग इन गर्ने विवरण उपलब्ध गराइसकेको सूचनामा उल्लेख छ ।

आयोगका सहप्रवक्ता डा. दीवाकर लुईंटेलका अनुसार समपूरक अनुदानमा सङ्घले ५० प्रतिशत योगदान गर्ने र बाँकी ५० प्रतिशत सम्बन्धित प्रदेश तथा स्थानीय तहले ब्यहोर्ने यस अघिको व्यवस्था संशोधन गरी २० देखि ८० प्रतिशतसम्म व्यहोर्नुपर्ने व्यवस्था राखिएको छ । सोही व्यवस्थाअनुसार आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रमको माग गरिएको हो ।

आयोगले समपूरक तथा विशेष अनुदान अन्तरगत कार्यान्वयन हुने आयोजना/कार्यक्रमहरूको लागि प्रस्तावसहितको विवरण पेश गर्न समपूरक अनुदान सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ तथा विशेष अनुदान सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ बमोजिम प्रत्येक वर्ष मङ्सिर मसान्तभित्र प्रस्ताव आह्वान गर्नुपर्ने थियो ।

तर, आगामी आर्थिक वर्षका लागि निर्धारित समयभन्दा झण्डै डेढ महिना ढिला गरी प्रस्ताव आह्वान भएको हो । मङ्सिर २८ गते आयोगले अर्को सूचना जारी नभएसम्म समपूरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव आह्वान स्थगित भएको सूचना जारी गरेको थियो ।

कात्तिक ३० गते राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औं बैठकले समपूरक र विशेष अनुदानसम्बन्धी साविक दुबै कार्यविधि तीन महिनाभित्र संशोधन गर्ने निर्णय गरेका कारण प्रस्ताव आह्वान रोकेको थियो ।

यो पनि –

सिंहदरबारले किन रोक्यो समपूरक र विशेष अनुदान प्रस्ताव ?

आयोगले ती दुबै कार्यविधिलाई संशोधन गरेको छ । आउँदो आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव गर्न प्रदेश सरकार र स्थानीय तहले अब समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०८१विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१ पालना गर्नुपर्नेछ ।

आयोगले आयोजना विवरण वेबसाइटमा भर्ने प्रयोगकर्ता पुस्तिका पनि परिमार्जन गरेको छ ।

११ क्षेत्रमा समपूरक अनुदान

सङ्घीय सरकारले समपूरकतर्फ प्रदेश र स्थानीय तहलाई ११ क्षेत्रमा अनुदान दिइने जनाएको छ ।

कृषि पूर्वाधार, खानेपानी तथा सरसफाइ, सिँचाइ तथा नदी नियन्त्रण, फोहोरमैला प्रशोधन र व्यवस्थापन, शैक्षिक र पर्यटन पूर्वाधार, मध्यवर्ती क्षेत्र विकास पूर्वाधार र ऊर्जा, विज्ञान तथा प्रविधि विकास पूर्वाधार क्षेत्रका आयोजना/कार्यक्रम पेश गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

यसैगरी; स्वास्थ्य, सडक र अन्य पूर्वाधारका आयोजना/कार्यक्रम पनि प्रदेश र स्थानीय तहले सिंहदरबारमा पठाउन सक्नेछन्‌ । यस्ता आयोजना/कार्यक्रम निम्ति विद्युतीय प्रणालीमा कम्तिमा १६ वटा विवरण भर्नुपर्नेछ ।

प्रस्तावित आयोजना/कार्यक्रम कार्यान्वयन गर्नुपर्ने आवश्यकता र प्राथमिकताको पुष्ट्याइँदेखि अधुरा आयोजना प्रचलित खरिद कानूनको अधिनमा रही सोही आर्थिक वर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता पेश हुनुपर्ने आयोगले जनाएको हो ।

विशेषमा ६ क्षेत्र

विशेष अनुदानका हकमा आयोजना/कार्यक्रम पेश गर्न आयोगले विभिन्न ६ क्षेत्र निर्धारण गरेको छ ।

शैक्षिक विकासका लागि सेवाको गुणस्तर अभिवृद्धि, आधारभूत स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र आधारभूत खानेपानी तथा सरसफाइ सुविधाबाट वञ्चित दलित, लोपोन्मुख तथा आर्थिक रूपले पिछडिएका समुदाय लक्षित गरी सञ्‍चालन गरिने खानेपानी तथा सरसफाइ प्रमुख क्षेत्र भएका कार्यक्रम/आयोजना प्रस्ताव गर्न योजना आयोगको आग्रह छ ।

यसैगरी; आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारले विभेदमा परेका वर्ग वा समुदाय वा क्षेत्रको उत्थान तथा विकासका लागि लक्षित गरी सञ्‍चालन गरिने उत्पादन र उत्पादकत्व वृद्धि एवम् आयआर्जन तथा जीविकोपार्जन सुधार गर्ने आयोजना/कार्यक्रम विशेष अनुदानमार्फत अघि बढाउन सकिने प्रधानमन्त्री अध्यक्षताको आयोगले जनाएको छ ।

विपद्‌ जोखिम न्यूनीकरण तथा नेपाल सरकार र प्रदेश सरकारको कार्यक्रममा नसमेटिएका विपद्‌बाट क्षतिग्रस्त सार्वजनिक पूर्वाधार पुनःनिर्माणका आयोजना/कार्यक्रम पनि विशेष अनुदानमा समेटिनेछ ।

लोपोन्मुख, विपन्न तथा सीमान्तकृत समुदायका लागि नमूना आवास, एकीकृत बस्ती विकास तथा जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने कार्यक्रम/आयोजना विशेष अनुदानमा समेटिने आयोगले जानकारी दिएको छ ।

विशेष अनुदान लागत न्यूनतम २५ लाखदेखि अधिकतम १० करोडसम्म

योजना आयोगले विशेष अनुदानमा अघि बढाउन प्रस्ताव गरिने आयोजना/कार्यक्रमको न्यूनतम लागत २५ लाखदेखि अधिकतम लागत सीमा १० करोड रुपैयाँ तोकिदिएको छ ।

तीन प्रकारका तह – प्रदेश सरकार, महानगरपालिका/उपमहानगरपालिका र नगरपालिका/गाउँपालिकाले प्रस्ताव गर्ने कार्यक्रम/आयोजनाको अधिकतम अवधि तीन वर्ष तोकिएको छ ।

प्रदेश सरकारले न्यूनतम पाँच लाखदेखि अधिकतम १० करोड, महानगरपालिका/उपमहानगरपालिकाले न्यूनतम २५ लाखदेखि अधिकतम पाँच करोड रुपैयाँसम्म र नगरपालिका/गाउँपालिकाले न्यूनतम २५ लाखदेखि अधिकतम तीन करोड रुपैयाँसम्मका आयोजना/कार्यक्रम प्रस्ताव गर्न सक्नेछन्‌ ।

समपूरक तर्फका आयोजना/कार्यक्रमको लागत अनुमान, बजेट तथा समय सीमा र लागत साझेदारी अनुपातसम्बन्धी विवरण ।

निश्चित आयोजना र विकास कार्यक्रम अघि बढाउन सरकारले समपूरक अनुदान दिने गर्छ । विशेष अनुदान विशेष क्षेत्रहरूमा विशेष कार्यक्रम सञ्चालन गर्न दिइन्छ । विशेष क्षेत्र, कार्यक्रम र आयोजना अघि बढाउन सङ्घीय सरकारले यस्तो अनुदान दिने गरेको छ ।

नेपालको संविधानको भाग ५ मा राज्यको संरचना र राज्यशक्तिको बाँडफाँडबारे उल्लेख छ । सो भागमा उल्लेखित धारा ५७ मा राज्यशक्तिको बाँडफाँटबारे उल्लेख छ । आर्थिक अधिकारको प्रयोगबारे धारा ५९ र राजस्व स्रोतको बाँडफाँटबारे धारा ६० ले मार्गप्रशस्त गरेको छ ।

सशर्त, वित्तीय समानीकरण अनुदान र विशेष अनुदानबारे त संविधानमै लेखिएको छ । यी चारै प्रकारका अनुदान हरेक आर्थिक वर्षको बजेटपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको सूत्रअनुसार अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउनुपर्छ ।

तल्ला सरकारले समपूरक र विशेष अनुदान बजेट आउनासाथ पाउँदैनन् । त्यस्ता अनुदानमार्फत कार्यान्वयन हुने आयोजनारकार्यक्रमका लागि अघिल्लो आर्थिक वर्षमै सङ्घीय सरकारकहाँ प्रस्तावसहितको विवरण बुझाउनुपर्छ ।

स्रोत अभाव भोगिरहेको मुलुकले जेनतेन जुगाड गरेको स्रोतले सङ्घीयता धान्नुपरेको र तल्ला तहमा स्रोत दुरुपयोग हुनेगरी मनलाग्दी आयोजना/कार्यक्रम सञ्‍चालन गरिएको भनी आलोचना हुने गरेको छ । खर्चकै मामिला देखाएर ठूलो हिस्साले सङ्घीयताकै औचित्यमाथि प्रश्न उठाइरहेको छ ।

यस्तो विरोध र सवाल उठिरहेका बेला सरकारले सङ्घबाट अनुदान प्रवाह गरी अघि बढाइने विशेष र समपूरक अनुदानका आयोजना/कार्यक्रमबारे योजना आयोगबाटै समीक्षा गर्न लागिएको जनाएको थियो ।

आयोगका अनुसार; स्थानीय तह एवम् प्रदेशको वित्तीय क्षमता अनुसार समपूरक अनुदानमा लगानीको हिस्सा वित्तीय क्षमतामैत्री हुनेगरी एवम् सामाजिक-आर्थिक समता अभिवृद्धिमा योगदान पुग्नेगरी प्रवाह गर्न अहिले आवश्यक काम भइरहेको छ ।

विशेष अनुदानका हकमा पनि प्रदेश वा स्थानीय तहबाट सञ्चालन भएका आयोजना/कार्यक्रमहरूलाई सन्तुलित विकास गर्न, कुनै प्रकारले विभेदमा परेको वर्ग वा समुदायको उत्थान वा विकासमा योगदान दिने गरी मौजुदा कार्यविधिहरूमा उपरोक्त विषय सम्बोधन गर्न खोजिएको आयोगका पदाधिकारीहरूले बताएका थिए ।

सङ्घीय सरकारको यो निर्णयले चालु आर्थिक वर्षमा कार्यान्वयन हुने समपूरक तथा विशेष अनुदानका आयोजना/कार्यक्रमहरू भने प्रभावित हुने छैनन् । सरकारले गत आर्थिक वर्षमै यस्ता कार्यक्रम छनोट गरिसकेको छ । यस्तो प्रकृतिका बहुवर्षीय आयोजना/कार्यक्रमले पनि निरन्तरता पाउनेछ ।

आयोगले जारी गरेको सूचनाः

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  २ : ४४ बजे

इरानी मिसाइलले इजरायलमा ठूलो क्षति, स्वास्थ्यमन्त्रीको आक्रोश- इरानले ‘रेड लाइन’ नाघ्यो

तेलअभिभ- इरानमाथि इजराललले थालेको आक्रमणको छैटौँ दिन बित्दा तेलअभिभसहितका स्थानमा

दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास हुनसक्ने प्रारम्भिक अनुमान

काठमाडौं– पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास

पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

गण्डकी– ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

रामपुर– कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको

ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको