काठमाडौं– पूर्वप्रधानमान्त्री डा. बाबुराम भट्टराई नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन काठमाडौंमा जारी छ । मंगलबार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ, जसमा अध्यक्षका दाबेदार छन् – डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँ ।
बाबुरामविरुद्ध परेको उम्मेदवारीले महाधिवेशनलाई रोचक बनाइदिएको छ । पूर्वप्रधानमन्त्री एवं निवर्तमान अध्यक्ष डा. भट्टराईविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका चापागाईँ नेसपाका संस्थापक सदस्य हुन् । कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका उनी युवा नेता हुन् ।
आइतबार महाधिवेशनको उदघाटन सत्रमा डा. बाबुराम भट्टराईले तेस्रो पुस्ताका लागि नेतृत्व हस्तान्तरण गर्ने बताएपछि युवा पुस्ताबाट नेतृत्वमा दाबी परेको हो ।
यसैबीच, बाबुरामकी छोरी, युवा नेतृ मानुषी यमी भट्टराई सर्वसम्मत रुपमा महिला उपाध्यक्ष बनिसकेकी छन् । कतिपय केन्द्रीय सदस्यहरू पनि निर्विरोध चुनिएका छन् ।
अध्यक्षसहित ९९ सदस्यीय कार्यसमिति चयनका लागि मंगलबार दिउँसो मतदान गर्ने तयारी छ ।
आखिर किन दिए त चापागाईँले बाबुरामविरुद्ध उम्मेदवारी ? साँच्चै उनले निर्वाचन लड्लान् या अन्तिममा डा. भट्टराईलाई साथ दिएर उम्मदेवारी फिर्ता लिन्छन् ? यसै सन्दर्भमा चापागाईंसँग खबरहबले छोटो कुराकानी गरेको छ ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/baburam-netraprasad-nesapa-768x654.jpg)
बाबुराम भट्टराईसँग साँच्चै निर्वाचन लड्न लाग्या हो कि खेलाँची हो ?
मेरो उम्मेदवारी सत प्रतिशत नै फिर्ता नहुने हो । १३ सय ६५ प्रतिनिधि हुनुहुन्छ, उहाँहरूका बीचमा मैले लामो समयदेखि मत मागेको छु र आफ्नो एजेन्डा पनि राखेको छु । नेपालका सबै राजनीतिक दलमा यतिबेला आन्तरिक लोकतन्त्र संकटमा परेको छ । नेताहरूको फोटो सार्वजनिक नगर्दा नै कार्यकर्ता कारबाहीमा पर्ने गरेका छन् । त्यसैले हाम्रो पार्टीमा त्यस्तो संकट नमिम्तियोस् भनेर प्रथम महाधिवेशनमा मैले उम्मेदवार बन्ने निर्णय गरेको हुँ । मैले आन्तरिक लोकतन्त्रको उच्चतम प्रयोग गर्न उम्मेदवारी दिएको हो ।
नेपालका सबै दलले महाधिवेशन र बैठकहरू गरे तर जनजीविकाका मुद्दा उठाएनन् । स्वास्थ्य, शिक्षा रोजगार र आत्मनिर्भरताको कुरा पार्टीको प्रधान विषय बनेन । खाली सिद्धान्त र वादको कभर लिएर भित्रभित्रै आफ्नो षड्यन्त्र गर्ने संस्कार पार्टीहरूमा हाबी भएको छ । यसको विरुद्धमा पनि मैले आफूलाई उभ्याएको हुँ ।
मधेस लगायतका ठाउँमा चप्पल नलगाई विद्यालय जानुपर्ने बाध्यता छ । यसको विषय पनि मैले आफूलाई प्रस्तुत गरेको छु । यो जनजीविकाको मुद्दा हाम्रो महाधिवेशनको प्रधान मुद्दा बन्नुपर्छ । दस्ताबेजका निम्ति नागरिक होइन, नागरिकका निम्ति दस्ताबेज बन्नुपर्छ भन्ने मूल मुद्दा लिएर म उठेको हुँ । म कुनै पनि हालतमा निर्वाचन लड्छु । नेपालको वैकल्पिक राजनीतिभित्र नयाँ वैकल्पिक क्रान्ति हुन्छ भन्ने विश्वाससहित उठेको छु ।
सर्वसम्मतिमा नेतृत्व चयन गर्ने सम्भावना भयो भने तपाई पछि हट्ने होला नि ?
हैन, म निर्वाचन लड्छु । त्यो पनि जित्ने गरी । नयाँ राजनीतिक शक्ति, नयाँ वैकल्पिक राजनीतिक बनोस् भन्ने आम प्रतिनिधि र बाबुरामको पनि परीक्षा होस् भनेर म उत्रिएको हो । फिर्ता हुने र सहमति हुने सम्भावना छैन ।
कतिपयले त भाइरल हुन पनि ठूला नेताविरुद्ध उम्मेदवारी दिने प्रचलन छ । यहाँको कुरा सुन्दा पनि सेटिङमै उम्मेदवारी दिन लगाएको हो कि ?
विल्कुल हैन । मलाई भाइरल हुन मन छैन । उहाँसँग कुनै सेटिङ भएको छैन । हामी स्वच्छ प्रतिस्पर्धा गर्ने हो । यहाँले महाधिवेशनस्थलमा पनि मेरो उम्मेदवारीप्रतिको ऊर्जा देख्न सक्नुहुन्छ । यसमा कुनै षड्यन्त्र छैन ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/netraprasad.jpg)
किन अहिले नै बाबुरामको पार्टीमा विकल्प चाहियो रु पार्टी नै देशभर पुगेको छैन ?
म उम्मेदवारी दिएर बाबुराम भट्टराईका विरुद्ध लागेको होइन । उहाँले नै १० वर्ष अगाडिदेखि आन्तरिक लोकतन्त्र, नयाँ पुस्ताले बनाउनुपर्ने राजनीतिको जे–जे व्याख्या र विचार गर्नुभएको छ, त्यसको पक्षमा नै सिद्धान्त र विचारको सही कार्यान्वयन गर्न उठेको हो । म उहाँका विरुद्ध हैन । उहाँले नै भन्ने गरेको वैकल्पिक राजनीतिको पक्षमा उठेको हो ।
बाबुराम भट्टराईको एजेन्डा कार्यान्वयन गर्न सक्छु भनेर उठेको हो । हाम्रो पार्टी किन सानो भयो र किन देशव्यापी हुन सकेन भने पार्टीमा पनि पुनर्गठन आवश्यक छ । नेतृत्व र संगठनको लोकतान्त्रीकरण आवश्यक छ । लोकतन्त्रलाई नयाँ तरिकाले जनतामा प्रस्तुत गर्न आवश्यक छ । त्यसकारण पार्टी विस्तार हुन्छ ।
बाबुरामको एजेन्डा स्थापित गर्न उम्मेदवारी दिएको भन्नुभयो, उहाँ स्वयमले त एजेन्डा स्थापित गर्न सक्नुभएको छैन, तपाईबाट कसरी सम्भव होला ?
उहाँले यो उम्मेदवारीलाई हार्दिकताका साथ लिनुभएको छ । मेरो दिनदिनै भेट भएको छ । यहाँको उम्मेदवारीले वैकल्पिक शक्तिमा जोस, जाँगर र फरक संस्कार स्थापना भएको छ भन्नुभएको छ । यहाँको उम्मेदवारीप्रति सम्मान छ, उम्मेदवारी फिर्ता नलिनु भन्नुभएको छ । उहाँले मलाई सहयोग नै गर्नुभएको छ । राजनीतिक संस्कार दिनुभएको छ ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/netra-768x416.jpg)
तपाई अध्यक्षमा निर्वाचित भएर बाबुराम भट्टराईलाई बिदा गर्न लाग्नुभएको हो ?
म अध्यक्षमा निर्वाचित भएँ भने उहाँ यो वैकल्पिक राजनीतिको पार्टीमा मात्र हैन, देशभरि नै उहाँको खाँचो भएकाले उहाँलाई वैचारिक सर्वोच्च नेता बनाएर अगाडि बढाउन चाहन्छु । उहाँले विचार आविष्कार गर्नुहुन्छ ।
उहाँले बैठकमा पनि तेस्रो पुस्ताले नेतृत्व गर्नुहोस् भनेर प्रस्ताव गर्नुभयो । तर, मभन्दा पहिलो पुस्ताले सहमति गर्न नसकेर मात्र उहाँले उम्मेदवारी दिनुभएको हो । उहाँले बैठकमा पनि नेतृत्वमा लोभ गर्नुभएको छैन । नेतृत्व गर्न पार्टी अध्यक्ष हुनुपर्ने छैन । भारतमा नरेन्द्र मोदी पार्टी अध्यक्ष छैनन् । अमेरिकामा ट्रम्प अध्यक्ष छैनन् । यसको गतिलो उदाहरण नेपालमा पनि हुन्छ ।
युवामा जोस जाँगर त हुन्छ तर स्वीकार्य क्षमता कम देखिन्छ । यदि तपाई निर्वाचन हान्नुभयो भने पार्टी छाड्ने कि ?
यहाँले रेकर्ड राख्नुभए हुन्छ । निर्वाचन जितेँ भने राम्रो गर्छु । हारेँ भने वैकल्पिक राजनीतिका निम्ति झन् राम्रो गर्छु भनेर निर्वाचनमा उठेको हो । यो पार्टी र वैकल्पिक राजनीतिलाई नै अनवरत रूपमा चैबीसै घण्टा खटेर काम गर्छु ।
बाबुराम भट्टराईले छोरी मानुषी यमी भट्टराईलाई महिला उपाध्यक्ष बनाउनुभएछ, उहाँ पनि प्रचण्डजस्तै परिवारवादमा लाग्नुभएको हो ?
यो विषयमा खुल्ला निर्वाचन चलिरहेको छ । हिजो बेलुका लाइनमा बसेर मानुषीले पनि उम्मेदवारी दर्ता गर्नुभएको हो । यदि हाम्रो निर्वाचन प्रकृयामा कोही पनि नपरेको खण्डमा निर्विरोध हुने प्रकृया हो । कोही अर्को लड्छु भन्दा बाबुराम र मानुषीले नलड्नुहोस् भन्नुभएको छैन । यो प्रकृयामा उहाँहरूको हात छैन । अरूको उम्मेदवारी नै नपरेपछि आरोपित गर्न मिल्दैन भन्ने लाग्छ । तर, अध्यक्षज्यूको धारणाचाहिँ मैले चोखो रूपमा भन्दा तेस्रो पुस्तालाई पार्टी हस्तान्तरण गर्न लागेको देखिन्छ ।
अन्तिममा, यहाँ आफैँ भन्नुहोस् यहाँलाई अहिले नै पार्टी नेतृत्व हस्तान्तरण होला ?
यो कुरा बाबुराम भट्टराई र मैले चाहेर नहुने रहेछ । उहाँको मुड थियो भने पनि प्रतिनिधिको मुड नहुन सक्छ । अहिले मैले यसै भन्न सकिनँ । तर, म विश्वास गर्छु ।
प्रतिक्रिया