काठमाडौं – बबरमहलस्थित विशेष अदालतमा बुधबार न्यायाधीशहरुलाई मुद्दाको छिनोफानो गर्न भ्याइनभ्याइ थियो । दिउँसो घाम लागिरहेका बेला एकाएक अदालत परिसरभित्र बाढी पस्यो । पार्किङमा रहेका गाडी डुब्न थाले । सेवाग्राहीमा भागदौड चल्न थाल्यो ।
हेर्दाहेर्दै पहिलो तलामा बाढी पस्यो । कागजपत्र र कम्प्युटर जोगाउन कर्मचारीहरुको दौडधूप चल्यो । सपनामा पनि नसोचेको अप्रत्याशित बाढीका कारण विशेष अदालतको पेशी नै स्थगित गर्नुपरेको एकजना न्यायाधीशले खबरहबलाई बताए ।
मानिसहरुले आकाशतिर हेरे । मौसम सफा थियो । घाम लागिरहेको थियो । काठमाडौंमा गर्मीको महसुस हुन थालेको थियो । यस्तो अवस्थामा पानी नै नपरी कहाँबाट आयो बाढी ? मानिसहरु आश्चर्यचकित हुनु स्वाभाविकै थियो ।
पानी नपरी आएको बाढीका कारण विशेष अदालत र काठमाडौं जिल्ला अदालतको दोस्रो भवन मात्रै होइन, बबरमहलको दक्षिणतर्फका अन्य कार्यालय, पसल र निजी घरमा बस्ने विद्यार्थीका डेरा–डण्डा समेत डुबानमा परे । बाढीले गर्दा के–कति क्षति भयो भन्ने आकलन हुनै बाँँकी छ ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/image-100-768x511.png)
विकासका नाममा बेतिथि
संघीय राजधानी काठमाडौंको विकासे मोडल अचम्मको छ । यसलाई ‘सिंहदरबारको विकास मोडल’ भन्दा पनि फरक पर्दैन ।
यहाँ सडक विभागले बजेट सिध्याउनका लागि पिचमाथि अर्को पिच थप्छ । हरेक वर्ष असारमा सिंहदरबार वरिपरिको सडक पिच गरिन्छ । त्यसको केही दिनपछि नै खानेपानी कार्यालय गैंची र बेल्चा बोकेर सडकमा निस्कन्छ । पाइप मर्मत गर्ने भन्दै सडक भत्काउँछ ।
ढल विभागले पनि खानेपानी कार्यालयकै सिको गर्दै सडक भत्काउँछ । पहिले पिच हुन्छ, पछि पाइप बिच्छ्याइन्छ, ढल ओछ्याइन्छ ।
यो पनि-
प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा फुट्यो मेलम्चीको मुख्य पाइप
काठमाडौंमा मेलम्चीको बाढी : न जलदबाब परीक्षण, न त अन्तरनिकाय समन्वय !
जब खोलामा नआएको बाढी बबरमहलमा उर्लियो (तस्बिरहरू)
उता विद्युत प्राधिकरण पनि के कम ? अहिले काडमाडौंमा विकासका नाममा भूमिगत तार बिछ्याउने अभियान चलिरहेको छ । यसका लागि विद्युतीय मेसिन प्रयोग गरेर सडक छेड्ने गरिएको छ । बुधबारको दुर्घटना यसैको परिणाम हो ।
बुधबार दिउँसो विद्युत प्राधिकरणले भूमिगत तार बिच्छ्याउनका लागि बबरमहलस्थित वन परिसर र विशेष अदालतको नजिकै रहेको बानेश्वर–माइतीघर खण्ड भत्काउँदै थियो । प्राविधिक कामदारले बलियो पिच भत्काउनका लागि मेसिन प्रयोग गरेर ड्रिलिङ गरिरहेका बेला बम पड्केजस्तै ठूलो आवाज आयो ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/Melamchi-water-pipe-burst-babarmahal-7-768x454.jpg)
मेसिनले खानेपानीको पाइप प्वाल पारेका कारण पाइप फुटेर पड्किएको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।
पाइप फुटिसकेपछि अदालत परिसरमा पानी पसिसक्दा पनि खानेपानी कार्यालयले पानीको बहाव बन्द गर्न सकेन । समयमै खबर नभएर पानी नरोकिएको हो या मुहानमा पाइप बन्द गरे पनि रहल–पहल पानीका कारण त्यत्रो बिनास भएको हो ? यसको जवाफ सम्बन्धित निकायले अहिलेसम्म दिएको छैन ।
बाढीले उपद्र्रो मच्चाएपछि खबरहबकर्मीले महानगरपालिकाका कर्मचारीलाई सोध्दा उनीहरु यो बाढी महानगरपालिकाका कारण आएको होइन भन्दै पन्छिए । मानिलिऔं, महानगरबासीमा विपद आए पनि महानगर प्रशासनलाई मतलब छैन ।
त्यसपछि हामीले प्रहरीलाई सोध्यौं । प्रहरी अधिकारीहरुलाई त यसबारे जानकारी नै रहेनछ । जवाफ दिन सक्ने कुरै भएन । खानेपानी कार्यालयमा बुझ्दा उसले सडक विभाग र विद्युत प्राधिकरणतिर पन्छायो ।
सडक विभागले विद्युत प्राधिकरणको गल्ती औंल्यायो । विगत केही दिनयता प्राधिकरणले सडक विभागसँग समन्वय गरेरै विद्युतीय तार बिच्छ्याइरहेको बताएको छ । तर, समन्वय गरिएको भनिरहँदा सडक खनेका बेला दुर्घटना नहोस् भन्नका लागि खानेपानीको पाइप बन्द गरिएको भए यस्तो दुर्घटना हुने थिएन कि ? खानेपानी र विद्युत प्राधिकरणबीच किन भएन समन्वय ? यो प्रश्नको जवाफ कसैसँग छैन ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/image-97-768x509.png)
अर्को प्रश्न ढल विभागतिर सोझिएको छ– खानेपानीको पाइप फुटिसकेपछि त्यसमा ढलको फोहोर पानी मिसियो कि मिसिएन ? अब यही फुटेको पाइपबाट मानिसको घरघरमा पुग्ने पानी पिउने कि नपिउने ? यसको शुद्धतामा कसरी विश्वास गर्ने ? यसबारे सरकारको जिम्मेवार निकायले जनतालाई जवाफ दिनुपर्छ कि पर्दैन ?
विडम्बना के छ भने जनताको स्वाथ्य र सुरक्षामा स्थानीय सरकार र संघीय सरकार दुबै गैरजिम्मेवार देखिएका छन् ।
ढल व्यवस्थापनबारे अर्को पनि प्रश्न छ– खोलाकै किनारमा एउटा पाइप फुट्दा त्यसबाट आउने पानीको व्यवस्थापन हुन सक्दैन र सरकारी कार्यालय र घरहरु डुब्छन् भने काठमाडौं शहर जोखिममा रहेको मान्ने या सुरक्षित छ भनेर ठान्ने ?
पानी किन थामेन ढलले ?
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/Melamchi-water-pipe-burst-babarmahal-6-768x454.jpg)
त्यसो त गत बर्खायाममा पनि विशेष अदालत परिषरमा यस्तै डुबान समस्या देखिएको थियो । यत्तिका महिना हुँदासम्म यहाँको ढल सिस्टम व्यवस्थित बनाइएको रहेन छ भन्ने तथ्य बुधबारको दुर्घटनाले प्रष्ट पारिदिएको छ । र, यसले वर्षायाममा काठमाडौं शहर कति असुरक्षित बन्ने रहेछ भन्ने स्पष्ट पारेको छ ।
त्यसैले, बुधबारको यो दुर्घटनाबारे संघीय सरकार वा महानगरपालिकाले तत्काल छानविन समिति बनाओस् । कसको कमजोरीले गर्दा यस्तो घटना भयो यसको छानविन होस् । साथै, आगामी दिनमा काठमाडौं कसरी सुरक्षित गर्ने अनि विकासका काममा कसरी सरकारी निकायबीच समन्वयन गर्ने भन्ने उपायको समेत खोजी गरियोस् ।
सबैभन्दा मुख्य कुरा – बुधबारको यो दुर्घटनालाई सिंहदरबारले सामान्य घटनाका रुपमा नहेरोस् ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/Melamchi-water-pipe-burst-babarmahal-1-768x454.jpg)
प्रतिक्रिया