सुदाम सिके : अभावसँग जुध्दाजुध्दै रङ्गमञ्च पुगेका एक ‘ड्रपआउट’ | Khabarhub Khabarhub

कला

सुदाम सिके : अभावसँग जुध्दाजुध्दै रङ्गमञ्च पुगेका एक ‘ड्रपआउट’


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदाम सीके नेपाली रङ्गमञ्चमा स्थापित नाम हो । करिब डेढ वर्ष निरन्तरताले उनले आफूलाई रङ्गमञ्चमा स्थापित गरेका छन् ।

सुदामले आफ्नो अभिनय क्षमतालाई रङ्गमञ्चमा मात्रै होइन, ठूलो पर्दामा समेत प्रस्तुत गरेका छन् । ठूलो पर्दाबाट उनलाई चिन्ने दर्शक पनि मनग्गे भेटिन्छन् ।

वि.सं २०४४ सालमा धादिङमा जन्मिएका सुदाम विद्यालय तहको अध्ययन सकेपछि इञ्जिनियर बन्न काठमाडौं छिरेका थिए । विभिन्न ठक्करले उनलाई इञ्जिनियर बन्न दिएन ।

आर्थिक समस्यासँग जुध्दै गर्दा उनी अञ्जानमै रङ्गमञ्चमा ठोकिए । आर्थिक पक्ष सुधार्न विदेश जाने चक्करमा म्यानपावर धाउँदै गरेका सुदामलाई नाटकले यसरी बाँध्यो कि अहिलेसम्म उनी यही क्षेत्रमा सक्रिय छन् ।

बाल्यकाल

सुदाम धादिङको तत्कालीन चैनपुर गाविस (हालको ज्वालामुखी गाउँपालिका–४)मा जन्मिएका हुन् । उनीमाथि एक दिदी छन् ।

सुदाम बाल्यावस्थामा रहँदा बुवा रोजगारका लागि भारत जाने गर्थे । स्वास्थ्यका कारण आमाले पनि परिवार हाँक्ने अवस्था थिएन ।

मध्यम वर्गीय ग्रामीण कृषक परिवारमा जन्मिएका सुदाम घाँस–दाउरा गरेरै स्कूल जान्थे । गाई, भैँसी र बाख्रालाई घाँसपात गर्नु स्कूल जानु अघिको ड्यूटी नै थियो ।

स्कूलबाट फर्केपछि भने गृहकार्य सकेर मात्रै अन्यन्त्र लाग्ने उनको बानी थियो । पढाइमा नतिजा राम्रो आउनुको कारण पनि त्यही थियो । सुदाम सुनाउँछन्, ‘म पहिलो–दोस्रो हुने विद्यार्थी नै थिएँ ।’

गृहकार्य गर्ने, सोझो, खेलमा ध्यान नदिने, पढाइमा राम्रो नतिजा ल्याउने, सफा भएर हिँड्ने भएकाले सुदाम गाउँकै उदाहरणीय किशोर विद्यार्थी थिए ।

सामान्यतयाः बच्चाहरू खेलप्रति लभाव राख्छन् । उनीहरू खेल्नु÷उफ्रनु सामान्य हो । यस मानेमा सुदाम असामान्य थिए । उनलाई खेलप्रति निकै डर थियो । उनले कुनै खेल खेलका छैनन् भन्दा पनि हुन्छ ।

भन्छन्, ‘म एकपटक पनि मैदानमा गएर खेलेको छैन । मलाई भलिबल र फुटबलदेखि एकदमै डर लाग्थ्यो । गाउँमा यिनै खेल खेल्थे, जुनदेखि मलाई एकदमै डर थियो ।’

खेल्न डर लागेपछि सुदाम घरमै समय बिताउँथे । घरमा समय बिताउन उनले किताब विकल्प भइदियो ।

भन्छन्, ‘अब घरमै बस्दा के गर्ने त ? मैले किताबहरू पढ्थेँ । जुन मलाई मन लागेर गरेको होइन । समय बिताउने उपाय खोज्दा पढाइ भेटेछु ।’

तथापि पढाइको मूल्याङ्कन गर्ने नजिताले हो । उनी त्यसमा उत्कृष्ट छँदै थिए ।

नृत्यमा चाख

सुदाम स्कूल पढ्दै गर्दा माओवादी जनयुद्ध उत्कर्षमा थियो । उनी पाँचमा पढ्दै गर्दा माओवादीले गाउँघरमा बोर्डिङ भनिने निजी विद्यालय बन्द गरायो ।

उनी फेरि सरकारी विद्यालयमा फर्किए । तर ६ र ७ कक्षा पढेनन्, ८ मा भर्ना भए ।

निजी विद्यालयले उनको नृत्य क्षमता पत्ता लगाइदिएको थियो । सरकारी विद्यालयमा पढेको भए सायदै उनी आफ्नो नृत्य क्षमता थाहा पाउँथे ।

भन्छन्, ‘बोर्डिङमा शुक्रबार नृत्य सिकाउने गरिन्थ्यो । त्यही मैले नृत्य सिकेँ । पछि राम्रै नाच्ने भएँ ।’

यसरी सुरु भएको उनको नृत्य यात्रा स्कूलमै मात्र सीमित रहेन । गाविसका कार्यक्रममा समेत उनले नृत्य प्रस्तुती दिन थाले ।

सुदाम भन्छन्, ‘म नृत्यका कारण गाविसमा पनि चर्चित थिएँ । कतिपय कार्यक्रममा सुदाम नाचेको हेर्न भनेर समेत मान्छे आएको मैले सुनेको थिएँ ।’

०६० सालको एसएलसी दिएर काठमाडौं आउँदा उनले नृत्यमै भविष्य बनाउने सोच पनि राखेका थिए ।

मामाले नृत्य सिक्न दिएनन् । ‘नृत्य सिक्छु’ भन्दा उनलाई मामाले भने, ‘नाच्न सिकेर क्यासिनोमा जान्छौ ?’

सुदाम थप्छन्, ‘कसैले नगर भनेपछि जिद्दी गर्ने बानी थिएन । मैले मामाको वचन काटिनँ । नगर भनेपछि हुन्छ, गर्दिनँ नै भने ।’

इञ्जिनियर बन्ने लक्ष्य

सुदाम एसएलसीमा प्रथम श्रेणी (फस्र्ट डिभिजन)मा पास भएका हुन् । त्यसबेला पहिलो डिभिजनमा पास हुनु सामान्य कुरा थिएन ।

सुदाम पढेका स्कूलबाट पहिलो डिभिजनमा पास हुनेहरू कि डाक्टर कि त इञ्जिनियर बनेका थिए ।

सुदाम भन्छन्, ‘पहिलो डिभिजनमा पास हुनेहरू डाक्टर या इञ्जिनियर बन्नैपर्ने सामाजिक दबाब हुन्थ्यो । पहिलो डिभिजनमा पास हुनेमाथि गाउँ समाज र विद्यालयले डाक्टर इञ्जिनियरकै अपेक्षा राखेको हुन्थ्यो ।’

सुदामलाई पनि समाज र विद्यालयले डाक्टर वा इञ्जिनियर बनेको देख्ने अपेक्षा राखेको महसुस भयो । आफ्नो भित्री इच्छा नभए पनि इञ्जिनियर बन्न उनले गाउँ छाडे ।

‘मलाई इञ्जिनियर बन्ने इच्छा त होइन तर पहिलो डिभिजनमा पास भएपछि त्यही क्षेत्र अगाल्नुपर्छ भन्ने मनोविज्ञानले मलाई समातेको थियो’, सुदामले सुनाए ।

एसएलसीपछि उनी काठमाडौं आए । विज्ञान विषय लिएर पढ्न अमृत साइन्स क्याम्पस (अस्कल)मा भर्ना भए ।

स्कूलमा उत्कृष्ट विद्यार्थी ठहरिएका सुदामलाई साइन्सले असली परीक्षा लियो । उनको पढ्ने लगाव स्पष्ट पारिदियो ।

भन्छन्, ‘साइन्स सानो लभावले पास हुने विषय होइन रहेछ । साइन्स पढ्न लागेपछि म पढाइमा लगाव राख्ने विद्यार्थी होइन भन्ने थाहा पाएँ ।’

अर्थात्, पहिलो वर्षमै ब्याक लाग्यो । पास हुन गाह्रो हुने थाहा पाएपछि उनी ट्यूसन पढ्न नगएका पनि होइनन् । आर्थिक अभावका कारण शुल्क तिर्न नसकेपछि ट्यूसन छोड्नुपर्‍यो ।

कारण – भारतमा बुवाको जागिर छुटेको थियो, परिवार आर्थिक समस्यामा थियो ।

सुदामले ट्यूसन शुल्क तिर्न सकेनन् । यसरी उनको इञ्जिनियर बन्ने यात्रामा पहिलो ठक्कर लाग्यो ।

दोस्रो प्रयासमा भने उनी साइन्समा उत्तीर्ण भए । अस्कलकै विद्यार्थी नेताको निजी कलेजमा पढेर उनले प्लस टू उत्तीर्ण गरे ।

भन्छन्, ‘निजी कलेजमा अलि बढी पढाइ हुने र आफूले पनि मेहनत गरेकाले दोस्रो पटकमा पास भइयो ।’

बन्न पाएनन् इञ्जिनियर

सुदाम काठमाडौं आएपछि बुवाको भारतको जागिर छुटेको थियो । बुवाले पनि काठमाडौंमै सानो व्यवसायमा हात हालेका थिए ।

सुदामले प्लस टू नसक्दै व्यवसाय डुब्यो । बुवा पुनः भारत पलायन भए । यसको प्रत्यक्ष असर सुदामको पढाइमा पर्‍यो ।

सुदाम भन्छन्, ‘मैले सर्भे इञ्जिनियर पढ्ने इच्छा व्यक्त गरेको थिएँ । प्रायः सबै कलेज र शैक्षिक मेलामा पुगेर त्यो विषय पढ्ने निर्णय लिएको थिएँ । बुवाले पैसा तिर्न सक्दिनँ भने पछि मेरो इञ्जिनियर बन्ने यात्रामा पूर्णविराम लाग्यो ।’

इञ्जिनियरको विकल्पमा उनले ‘बीबीआइएम’ विषय रोजे । क्षेत्रपाटीस्थित एक कलेजमा भर्ना पनि भए । शुल्क समयमै नतिरे कक्षा लिन नपाउने नियम कलेजले सुनाएपछि बीबीआइएमबाट पनि उनी पछि हटे ।

सुदामले सुनाए, ‘ट्युसनको पैसा तिर्न नसकेर नपढेको मान्छे, कलेजको शुल्क समयमै तिर्न सक्दिनँ भन्ने लाग्यो । कलेज गइनँ ।’

प्लस टू पछिका ठक्करले सुदामलाई विदेश रोजगारीतिर धकेल्न थाल्यो । तर, सीप थिएन । केही सीप लिएरै विदेश जानुपर्छ भन्ने निर्णयमा पुगे ।

उनले इन्स्टिच्युटबाट एक वर्षको ‘होटल म्यानेजमेन्ट’ कोर्स गरे । जुन पढ्न ५० हजार रुपैयाँ शुल्क लाग्थ्यो । आमाले ऋण खोजिदिएकाले उनले उक्त कोर्स भने गर्न पाए ।

अभिनय प्रशिक्षण

सुदाम पहिलोपटक नाटक हेर्न दर्शकका रूपमा ०६४ सालमा गुरुकुल थिएटर पुगेका थिए ।

नाटक ‘घनचक्कर’ नहेर्दासम्म उनलाई अभिनयप्रति कुनै चाख थिएन । तर, ‘नाटक कस्तो हुने रहेछ ?’ भन्ने उत्सुकताले उनलाई गुरुकुल पुर्‍याएको थियो ।

उनलाई पहिलो नाटकले रङ्गकर्मी बन्ने सोच चाहिँ पैदा गरेन । तर, नियमित दर्शक भने बनाएको थियो ।

सुदाम राष्ट्रिय नाचघरमा ६ महिने अभिनय कार्यशालामा जोडिए । अभिनय कसरी सिकिने रहेछ भनी बुझ्न उनी त्यहाँ गएका थिए । सोहीकारण उनले नाचघरको विद्यार्थी प्रोडक्सनको नाटकमा अभिनय पनि गरेनन् ।

उनको उद्देश्य त वैदेशिक रोजगारी नै थियो । सायद उनी नाटकमा अभिनय गर्थे पनि होलान्, तर परिस्थिति नै त्यस्तै विकास भयो । उनलाई जागिरको प्रस्ताव आयो ।

भन्छन्, ‘नाटक सुरु हुनुअघि नै मलाई प्सटू पढाउन जागिरको प्रस्ताव आयो । अनि नाटक गरिनँ । मलाई कलाकार नै बन्नु थिएन, जागिर तिर लागेँ ।’

रङ्गमञ्च प्रवेश

होटल म्यानेटमेन्टको कोर्सले सुदामलाई काम दिलाइरहको थियो । उनले एकैपटक तीन स्थानमा काम पाएका थिए ।

बिहान प्सटूलाई पढाउने, दिउँसो इन्स्टिच्यूटमा पढाउने र बेलुका रेस्टूराँमा जागिर । यसले आर्थिक पाटोमा ठूलो राहत मिलेको थियो ।

सुदामले सुनाए, ‘तीन जागिरबाट मेरो आम्दानी राम्रो हुन्थ्यो, मलाई काठमाडौंमा बस्न सहज गराएको थियो ।’

तर, रेस्टूराँमा काम गर्दै गर्दा उनको नजर पत्रिकाको एक सूचनामा पर्‍यो । त्यो सूचना अभिनय कार्यशालाबारे थियो ।

सूचनामा भारतको नेसनल स्कूल अफ ड्रामाबाट मान्छे आएर अभिनय प्रशिक्षण दिने लेखिएको थियो ।

उनले त्यस कार्यशालाका लागि आवेदन दिए, चयन पनि भए । कार्यशाला सकेपछि सुदामले पहिलो नाटक ‘अन्धो युग’मा अभिनय गरे, जुन राष्ट्रिय नाचघरमा मञ्चन भएको थियो ।

उक्त कार्यशालाले सुदामलाई रङ्गकर्मी बन्ने सोच पैदा गराइदियो । त्यसपछि भने कपाल र दाह्री पाल्न लागे । सोही कारणले जागिरहरू छुट्दै गए ।

उनी भन्छन्, ‘होटल म्यानेजमेन्ट पढाउने र विद्यार्थीलाई प्रयोगात्मकमा लैजाने शिक्षककै कपाल लामो भयो, अनि मेरो जागिर छुट्दै गयो । म अरू काम छाडेर रंगकर्ममै केन्द्रित भएँ ।’

लगत्तै उनी भारतीय वरिष्ठ रङ्गकर्मी नसिरुदिन शाहको अभिनय कार्यशालामा सहभागी हुन पाए, जुन वकर्सप चल्तीका कलाकारहरूका लागि खुलाइएको थियो ।

पहिलो कार्यशालामा राम्रो गरेका कारण आफू चल्तीको कलाकार नभए पनि पछिल्लोमा सहभागी हुन पाएको सुदामको बुझाइ छ ।

एक फोनको प्रभाव

विभिन्न कार्यशाला लिए पनि सुदामले नाटकका काम पाएका थिएनन् । कारण – उनी यस क्षेत्रका लागि नौलो थिए ।

जागिर पनि छुटेकाले आर्थिक स्रोतका लागि उनलाई केही काम गर्नैपर्ने बाध्यता थियो । फेरि उनी विदेशका लागि म्यानपावर धाउन थाले ।

त्यत्तिकैमा घरमा बुवा–आमा दुबै बिरामी परेको फोन आयो । उनी गाउँ गए । त्यही समस्याबीच विदेश जानुअघि एकपटक परिवारसँग भेट्न पनि चाहन्थे ।

घर पुग्न करिब ५०० मिटर बाँकी हुँदा रङ्गकर्मी राजन खतिवडाको फोन आयो । खतिवडाले फोनमा प्रस्ताव गरे, ‘नाटक लिएर जनकपुर जान लागेको, तिमी अभिनय गर्छौ ?

सुदामले प्रस्ताव स्वीकारे । तर, घरमा पुग्दा बुवा–आमा दुवै ओच्छ्यान परेका थिए । बिरामी बुवा–आमालाई छोडेर हिँड्न नैतिक सङ्कट थियो । तर, पनि उनी भोलिपल्टै काठमाडौं फर्किए ।

सुदाम भन्छन्, ‘मलाई अहिले पनि त्यो दिन सम्झँदा नरमाइलो लाग्छ । म बिरामी बुवाआमासँग बस्नुपर्ने थियो । तर, म नाटकका लागि हिडेँ ।’ बुवा–आमाले पनि उनलाई रोकेनन् । उनी फर्किएर नाटकमा सहभागी भए ।

सुदाम भन्छन्, ‘मेरो रङ्गकर्मको टर्निङ प्वाइन्ट नै त्यही दिन हो । त्यो दिन मलाई बुवा–आमाले रोकेको भए म यो क्षेत्रमा हुँदिनथेँ । त्यो दिन म घरबाट हिडेँ । त्यसपछि भने रङ्गकर्ममै छु ।’

उक्त नाटकले उनलाई रङ्गकर्मीमाझ परिचित गरायो । त्यसपछि भने नाटकमा काम पाउन थाले । त्यसपछिका दिनमा उनी विभिन्न थिएटर र समूहसँग जोडिएर रङ्गकर्ममा सक्रिय भए ।

सुदामले मण्डला, शिल्पी, थिएटर भिलेज र सर्वनाम थिएटरसँग जोडिएर दर्जनौं नाटकमा अभिनय गरेका छन् ।

उनले सन् २०१४ मा नाटक निर्देशनमा समेत हात हाले । उनको डेब्यू निर्देशन रहेको नाटक ‘च्यातिएको पर्दा’ हो, जुन थिएटर मलमा मञ्चन भएको थियो । यही वर्षदेखि उनले विदेश जाने सोचलाई पूर्णविराम लगाए ।

भन्छन्, ‘यसअघि नाटकका काम भएन र आम्दानी भएन भने विदेश जाने सोचले म म्यानपावर गइहाल्थेँ । एक दशकअघिबाट चाहिँ मैले विदेश जाने सोच हटाएँ ।’

फिल्ममा अभिनयमा ब्रेक

सुुदामले आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनको डेब्यू फिल्म ‘रेड मनसुन’ हो, जुन सन् २०१४ मा प्रदर्शनमा आएको थियो ।

सुदामलाई चर्चा दिलाउने फिल्म चाहिँ ‘होस्टल रिटन्स’ हो, जुन फिल्म सन् २०१५ मा प्रदर्शनमा आएको थियो ।

उनले अहिलेसम्म आठवटा फिल्ममा अभिनय गरेका छन् । पछिल्लो समय उनको अभिनय रहेको फिल्म ‘कृ’ हो ।

यसपछि उनले फिल्म अभिनय विश्राम लिए । तर, गत वर्ष उनले भारतीय वेभ सिरिज ‘आईसी १८४’ मा अभिनय गरेका थिए । जुन सन् २०२४ अगस्टमा सार्वजनिक भएको थियो ।

भन्छन्, ‘म एक समय फिल्ममा अभिनय गर्दिनँ भनेर बसेँ । अहिले मन परिवर्तन भएको छ । राम्रो कथामा प्रस्ताव आयो भने गर्छु । त्यही भएर लामो ब्रेकपछि मैले सिरिज गरेको हुँ ।’

अभिनयमा ब्रेक लिए पनि उनी यो अवधिमा फिल्मबाट भने टाढा छैनन् । दर्जनभन्दा बढी फिल्ममा कास्टिङ निर्देशक र एक्टिङ कोच भएर काम गरेका छन् ।

तीमध्ये प्रदर्शनमा आएका फिल्महरू ‘आई एम ट्वान्टी वान’, ‘ए मेरो हजुर’ र ‘एलिफेन्ट इन फग’ हुन् ।

कौसी थिएटर आबद्ध, अभिनय प्रशिक्षक

अहिले सुदाम कौसी थिएटरमा आवद्ध छन् । कौसी थिएटरका सञ्चालक आकांक्षा कार्की हुन् । आकांक्षा र सुदाम श्रीमान्–श्रीमती हुन् ।

उनी अहिले कौसीमा मञ्चन हुने नाटकमो अभिनय गर्छन् । भन्छन्, ‘अहिले चाहिँ रङ्मञ्चको विभिन्न विधामा अभ्यासरत छु । नयाँ कुराको प्रयोग गरिरहेको छु ।’

पछिल्लो समय अर्थात् विगत तीन वर्षदेखि सुदाम ओस्कार कलेजमा अभिनय पढाइरहेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ९ : ३३ बजे

निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति

काठमाडौं – प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाका

रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई

ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट, ४ जनाको मृत्यु

काठमाडौं– ताइवानको दोस्रो ठूलो सहरको डिपार्टमेन्ट स्टोरमा विस्फोट हुँदा चार

नेसपा महाधिवेशन : बाबुरामले ८०२ मत ल्याउँदा नेत्रले पाए ७१

काठमाडौं– नेपाल समाजवादी पार्टी नयाँ शक्तिको अध्यक्ष पदमा विजयी भएका

काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान

एजेन्सी– भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने