सुर्खेत – सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ स्थित छिन्चुबजार नजिकै एक गाउँमा दुनाटपरी उद्योग खोली पाँच जना महिला स्वरोजगार बनेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय सुर्खेतले एक वर्षअघि दिएको तालिम लिएका पाँच महिला मिलेर दुनाटपरी उद्योग खोलेका हुन् ।
लीलावती बुढामगर, भूमिका ऐरी ओली, जया डाँगी, दुर्गा वादी र बबिता ओलीले गत वर्ष घरेलु तथा साना उद्योग कार्यालय सुर्खेतमा तालिम लिएका थिए । तालिम लिएपछि उनीहरूले गाउँमै दुनाटपरी बुन्ने उद्योग खोले ।
उद्योग खोलेका महिलाहरू आफूमात्रै रोजगार भएका छैनन्, गाउँका बेरोजगार महिलालाई उद्योगमा काम सिकाउने र रोजगारी दिने काम गरिरहेका छन् ।
दुनाटपरी बुन्ने तालिम लिएका महिलाको नेतृत्व लीलावती बुढामगरले गरेकी छन् । बुढामगरका श्रीमानले छिन्चु बजारमा फोटा स्टूडियो सञ्चालन गरिरहेका छन् ।
फोटो स्टुडियोमा श्रीमानलाई सघाउँदै आएकी बुढामगरले घरेलु तथा साना उद्योग कार्यालय सुर्खेतले महिलालाई दुनापटरी बुन्ने तालिम दिन लागेको थाहा पाइन् । उनीसँगै गाउँका पाँच महिलाले एकसाथ तालिम लिए ।
बेरोजगार रहेका महिलाहरूले तालिम सकिएपछि गाउँमै दुनाटपरी बुन्ने उद्योग खोले । स्थानीय सामुदायिक वनको भवन भाडामा लिएर उद्योग चलाइरहेका छन्, नाम ‘सामूहिक भेरीगङ्गा रामजानकी दुनाटपरी उद्योग’ राखेका छन् ।

तालिम लिएपछि ‘गाउँमा केही गर्नुपर्छ’ भनेर आफूहरूले दुनाटपरी बुन्ने उद्योग खोलेको अध्यक्ष लीलावती बुढामगरले बताइन् ।
‘एक सदस्य सुत्केरी, एकजना बिरामी र एकजना घरायसी काममा व्यस्त भएकाले अहिले हामी दुई जनाले उद्योग चलाइरहेका छौँ’, उनले भनिन्, ‘काम सिक्न आउनेलाई पनि दुनाटपरी बनाउन सिकाइरहेका छौँ ।’
भेरीगङ्गा नगरपालिका–१२ छिन्चुमा वनक्षेत्र धेरै छ । दुनाटपरी बुन्न आवश्यक सालको पात प्रशस्त पाइन्छ । बजारीकरणमा पनि खासै समस्या छैन ।
‘यहाँ बनाएको दुना पटरी स्थानीय छिन्चु बजार, नेपालगञ्ज र सुर्खेतको वीरेन्द्रनगर बजारमा खपत हुने गरेको छ’, बुढामगरले भनिन्, ‘हिउँदको समयमा चाहिँ सालको पात पाउन समस्या हुने गर्छ ।’
उद्योगका लागि आवश्यक पात टिपेर स्थानीयवासीले पनि आम्दानी गर्दै आएका छन् । ‘आकार अनुसार दुईदेखि २० रुपैयाँसम्ममा दुनाटपरी बेच्ने गरेका छौँ’, उनले भनिन्, ‘हामीले उद्योगमा दैनिक एक हजारदेखि दुई हजारसम्म दुनाटपरी बुन्ने गरेका छौं ।’
श्रीमानलाई विदेशबाट बोलाउने तयारी
दुनाटपरी उद्योगकी अर्की सञ्चालक भूमिका ऐरी वलीले दुई वर्ष अघिदेखि विदेशमा रहेका श्रीमान् बोलाउने तयारी गरेकी छन् ।
गाउँमा रोजगारी नपाएपछि परिवार पाल्ने खर्च जुटाउन वैदेशिक रोजगारी गर्न मलेसिया पुगेका श्रीमानलाई बोलाउन लागेको भूमिकाले बताइन् । त्यहाँभन्दा गाउँमै आफूले दुनाटपरी उद्योगबाट राम्रो कमाइ गर्न थालेकाले श्रीमानलाई पनि यतै बोलाउने तयारीमा गरेको उनको भनाइ छ ।
‘दुनाटपरी उद्योगमा राम्रो कमाइ गर्न थालेकी छु’, भूमिकाले भनिन्, ‘अब श्रीमानलाई यतै बोलाउने तयारीमा छु ।’
दुनाटपरी बनाएर एक छोरा र एक छोरीलाई निजी विद्यालयमा पढाइरहेको भूमिकाले बताइन् । ‘दुनाटपरी बनाउँदा रोजगारी मिलेको छ, कमाइ पनि भएको छ’, उनले भनिन्, ‘यो सीप नहुँदा घरमै बस्नुपर्ने र कसो गरौँ हुने गरेको थियो, अब त्यस्तो छैन ।’
धार्मिक कार्यका लागि महत्वपूर्ण मानिँदै आएको दुनाटपरी बनाउँदा रोजगार साथै आम्दानी हुन थालेको भूमिकाले बताइन् ।

‘जङ्गलमा खेर गइरहेको पात प्रयोग गरी दुनाटपरी बनाउँदा आम्दानी र रोजगारी पाइएको छ’, उनले भनिन्, ‘पात टिपेर ल्याउने अरू महिलाले पनि केही आम्दानी गर्ने गरेका छन् ।’
खासगरी धार्मिकस्थल, पूजाआजा गर्ने ठाउँ र सार्वजनिक कार्यक्रममा दुनाटपरी खपत हुने गरेको उनले बताइन् ।
पर्यावरण जोगाउनुपर्ने माग
पानीपुरी पसलदेखि बजारका मुख्य क्षेत्रमा अहिले प्लाष्टिक प्रयोग हुँदा वातावरणमा असर गर्ने गरेकाले रोकथाम निम्ति दुनाटपरी उपयुक्त भएको उद्योगकी अध्यक्ष बुढामगरले बताइन् ।
‘अहिले हेर्नुभयो भने जताततै प्लाष्टिकमात्र देखिन्छ । त्यसले गर्दा वातावरण नै प्रदूषित भएको छ’, उनले भनिन्, ‘सालका पातको प्रयोगले मानव स्वास्थ्यदेखि वातावरण सरसफाइमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।’
सरकारले प्लाष्टिकका सामग्री निषेध गर्नुपर्ने र त्यसको विकल्पका रूपमा दुनाटपरी बनाउन जोड दिनुपर्ने बुढामगरको भनाइ छ ।
‘गिलास, कचौरा र प्लेट लगायत प्लाष्टिकजन्य बस्तुमा प्रतिबन्ध लगाउनुपर्छ’, उनले भनिन्, ‘दुनाटपरीलाई त्यसको विकल्प बनाउन आवश्यक छ ।’
प्रतिक्रिया