काठमाडौं – संघीय संसद्का दुवै सदनको पाँचौँ अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको छ । पाँचौँ अधिवेशन अन्तर्गत मंगलबार तल्लो सदन प्रतिनिधि सभाको नवौं बैठक बसेको छ ।
यसबीचमा सभामुखको भूमिकालाई लिएर सांसदहरूले प्रश्न उठाउने गरेका छन् भने सभामुखको सचिवालयसमेत सार्वजनिक रूपमा सांसदहरूसँग दन्तबजानमा ओर्लिएको छ, जसबाट प्रश्न उब्जिएको छ– हामी कस्तो संसदीय अभ्यास गरिरहेका छौं ?
अधिवेशन शुरु भएयता धेरैचोटि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदबीच ‘ठाकठुक’ परिसकेको छ । अधिवेशन सुरू भएको पहिलो दिन नै रास्वपाका सांसदले १५ मिनेटका लागि संसद् बैठक बहिष्कार गरेका थिए ।
सोमबारको आठौँ बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठ एक्लैले बैठक बहिष्कार गरिन् । ‘आकस्मिक समय’मा बोल्न खोजेकी उनलाई सभामुख घिमिरेले रोकेका थिए । समय माग्दा पनि बोल्न नदिएपछि सांसद श्रेष्ठ र सभामुख घिमिरेबीच केहीबेर दोहोरो भनाभन चलेपछि श्रेष्ठ झोंक्किँदै संसद् बैठक बहिस्कार गरेर हिँडेकी थिइन् ।
सभामुख घिमिरेले सोमबारको बैठकमा दलीय आधारमा ‘आकस्मिक समय’मा रास्वपाका सांसद अशोक चौधरीलाई बोल्न दिएका थिए । त्यसपछि नेकपा एमालेकी सांसद सम्झना थपलियालाई बोल्न दिएर सभामुखले बैठकलाई ‘शून्य समय’तिर लगेका थिए ।
बैठकलाई ‘शून्य समय’तिर लगिएपछि सांसद श्रेष्ठले एक्लै उभिएर विरोध गरेकी थिइन् । रास्वपाका अन्य सांसद बसिरहेका थिए । ‘आकस्मिक समय’मा दलका तर्फबाट सांसद चौधरीले बोलिसकेपछि पनि श्रेष्ठले समय मागिन् । तर, सभामुख घिमिरेले बोल्ने अनुमति दिएनन् ।
यसअघि गत माघ २८ गते बसेको प्रतिनिधि सभा बैठकमा सांसद सोविता गौतमले सभामुख घिमिरेसँग ‘आकस्मिक समय’ मागेकी थिइन् । तर, सांसद गौतमले राख्न खोजेको विषय आकस्मिक नहुने भन्दै सभामुखले ‘आकस्मिक समय’ उपलब्ध गराएनन् ।
सांसद गौतमले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते ‘आकस्मिक समय’ मागेकी थिइन् । सभामुख घिमिरेले विधेयक पारित भइसकेको विषय आकस्मिक हुन नसक्ने बताएका थिए ।

विधेयक पारित गर्नुअघि नै सभामुखले कानुनमन्त्री अजय चौरसिया, उपसभामुख इन्दिरा राना र प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको तथा त्यहीँ भएको सहमतिअनुसार नै विधेयक अगाडि बढाएको बताएका थिए ।
तर, सांसद गौतमले ‘प्रोसेस’ (प्रक्रिया) बिग्रिएको भन्दै बोल्न समय मागेकी थिइन् । तर, उनले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै सभामुखले अरु नै विषय भए राख्न सकिने बताएका थिए ।
प्रतिपक्षमा रहेको रास्वपाले त्यसअघि माघ १८ गते पाँचौँ अधिवेशनअन्तर्गतको पहिलो बैठकलाई १५ मिनेटका लागि बहिष्कार गरेको थियो । पार्टीले अघि सारेको माग सुनुवाइ नभएको भन्दै रास्वपाका सांसदहरू १५ मिनेटका लागि प्रतिनिधि सभा बहिष्कार गरेर बाहिरिएका थिए ।
त्यो दिन सभामुख घिमिरेले संसद् अधिवेशन सुरू भएको जानकारी दिएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । रास्वपाले सहकारी ठगी प्रकरणमा मुछिएका पार्टी सभापति रवि लामिछानेलाई निलम्बन गर्ने सभामुखको निर्णयप्रति आपत्ति जनाउन समय मागेको थियो ।
तर, सभामुखले बैठकमा सबै दलका सांसदहरूले बोल्ने कार्यसूची रहेको भन्दै सुुरुमा बोल्न समय नदिने बताएपछि रास्वपाका सांसदहरूले उठेर केहीबेर संसद् बैठक अवरोध गरेपछि बहिष्कार गरेका थिए । रास्वपाको बहिष्कारका बीच सभामुख घिमिरेले बैठकलाई निरन्तरता दिएका थिए । १५ मिनेटको बहिष्कारपछि रास्वपाका सांसद बैठकमा फर्किएका थिए ।
जसले ‘झोले‘ भने, सही भने : सांसद श्रेष्ठ
प्रतिनिधि सभाको सोमबारको बैठक बहिष्कार गरेकी सांसद श्रेष्ठले एक्स (ट्विटर)मा प्रष्टीकरण दिएकी थिइन् । उनले भारतको ओडिसाबाट नेपाली विद्यार्थीले पठाएको ‘अडियो’ सन्देश र सभामुख घिमिरेले ‘आकस्मिक समय’ माग्दा बोलेको भिडियो एक्समा राख्दै प्रष्टीकरण दिएकी हुन् ।

‘यो अडियो सुनाएर सभामुखलाई संसद्मा यसबारेमा आवाज उठाउँ भन्दा समय दिनु भएन । यो त आकस्मिक नै भएन भन्नु भो,’ सांसद श्रेष्ठले लेखेकी छन्, ‘संसद्मा आकस्मिक समय दिइयो– प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिनमा । हामी सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई ।’
उनले एमाले सांसद सम्झना थपलियाले सभामुखबाट पाएको ‘आकस्मिक समय’मा राखेका कुराहरूप्रति पनि आपत्ति जनाएकी छन् । ‘हाम्रा विद्यार्थी विदेशमा मारिँदा र अनाहकमा सयौंले दुःख पाउँदा त्यो कुरा संसद्मा प्रवेश नपाउने, तर मेरा नेतालाई किन यस्ता प्रश्न गरिस् भन्ने कुरा चाहिँ आकस्मिकमा रहने हो भने जसले झोले भने, सही भने,’ श्रेष्ठले लेखेकी छन् ।
सभामुख सचिवालयको सार्वजनिक प्रतिवाद
रास्वपा सांसदहरू सुमना श्रेष्ठ र सोविता गौतमले संसद् बैठकमा बोल्न नदिएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि पोखेपछि सभामुखको सचिवालय पनि सार्वजनिक प्रतिवादमा उत्रिएको छ ।
सभामुख घिमिरेले मंगलबार बिहानै निजी सचिवालयमार्फत् ‘प्रेस नोट’ जारी गर्दै रास्वपाका सांसदद्वय गौतम र श्रेष्ठलाई ‘आकस्मिक समय’ दिन नसक्नुको कारणबारे स्पष्टीकरण दिएका छन् ।
यस्तो छ सभामुखको सचिवालयबाट जारी ‘प्रेस नोट’
सोविता गौतम र सुमना श्रेष्ठले हाउसमा बोल्न नदिएको भन्दै गरेको प्रचारबाजीप्रति सभामुखले ‘कन्सर्न’ लिनुभएको छ ।
विताले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय माग्नुभएको थियो । सभामुखले विधेयक पारित भइसकेका आकस्मिक विषय हुन नसक्ने बताउनुभएको थियो ।
विधेयक पारित गर्नुअघि नै सभामुखले कानुनमन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमतिअनुसार नै विधेयक अगाडि बढाएको भने पनि उहाँले ‘प्रोसेस’ बिग्रिएको भन्दै बोल्न माग्नुभएको थियो । तर, सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सक्नुहुने भन्नुभएको थियो ।
फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सुमना भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न आउनुभयो । सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेलगत्तै सुमना आउनुभयो ।
‘जनाऊ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला’ भनेर निस्कनुभयो । रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै हुनुहुन्थ्यो । दलीय अनुरोध पनि आएको होइन ।
आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो । त्यो पनि अभ्यास छ । तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट ‘प्रेसर क्रिएट’ गर्न खोजिएको छ । सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानुन, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने हो ।
सभामुखसँग आकस्मिक समय माग्न बैठक सुरु हुनु आधा घण्टा अगाडि ‘एभरेज’मा २० देखि ३० जना सांसद सभामुखको च्याम्बरमा हुन्छन् । तीमध्ये सबैले समय पाउँदैनन् । समय पाउने ८ देखि १० जनाले हो । आकस्मिक समयमा नियमावलीले नै व्यवस्था गरेको भन्दा फरक विषय उठ्ने गरेको भन्दै कार्यव्यवस्थामै पटक–पटक आवाज उठ्ने गरेको छ ।
संसदीय मामिलाका जानकार भन्छन्– सभामुख र सांसद दुबैको गल्ती
आखिर संसदमा हुने वादविवादमा कमजोरी कसको ? सभा सञ्चालन गर्ने सभामुखको या सांसदहरूको ? यो प्रश्नको जवाफ खोज्न हामीले एकजना पूर्वविधायक एवं पूर्वकानूनमन्त्रीलाई प्रश्न गर्यौं । उनले नाम ‘कोट’ नगर्ने आग्रह गर्दै खबरहबसँग भने, ‘मचाहिँ यसमा सभामुख र सांसदहरू दुबैको कमजोरी देख्छु ।’
कानुन मन्त्रालयको समेत जिम्मेवारी निर्वाह गरिसकेका एकजना पूर्वसांसद प्रतिनिधि सभा बैठकमा सोमबार देखिएको दृश्यमा सभामुख घिमिरे र सांसद श्रेष्ठ दुबैको गल्ती भएको बताउँछन् ।

खबरहबसँगको कुराकानीमा उनले सभामुख घिमिरे र रास्वपाका सांसद दुबैले आ–आफ्नो शैली परिवर्तन गर्नुपर्ने पनि सुझाए ।
संसदीय मामिलाका जानकार मध्येका एक ती नेताले बैठकमा कसलाई बोल्न दिने नदिने भन्नेबारे बैठकअघि नै भित्रीरुपमा तय हुने गरेको संसदीय परम्परा सुनाए ।
‘संसद् बैठकमा हुने विषयहरू सबै सहमतिमा (शून्य समय बाहेक) भित्रै तय हुन्छ’, उनले भने, ‘भित्र तय नभएको विषयमा हिजो सुमनाजीले बोल्न खोज्नुभएको होला । त्यस्तो स्थितिमा सभामुखले स्वविवेक प्रयोग गरेर बोल्न दिँदा हुन्थ्यो भन्ने लाग्छ ।’
उनले संसद्को चौथो ठूलो दल रास्वपाका सांसदहरूले संसद बैठकमा देखाउने गरेको शैली पनि नमिलेको प्रतिक्रिया दिए ।
रास्वपाका सांसदहरूको हात उठाएर बोल्ने बानी छ । बोल्न नपाएपछि बहिष्कार गर्ने, सामाजिक सञ्जालमा लेख्ने गर्नुहुन्छ । यो स्टन्टबाजी हो,’ ती पूर्वसांसद भन्छन्, ‘सदनमा समय नदिँदासम्म उभिइ रहनुपर्ने हो, तर उहाँहरू बहिस्कार भन्दै बाहिरिनुहुन्छ र सामाजिक सञ्जालमा स्टन्टबाजी गर्नुहुन्छ ।’
उनले थपे, ‘सभामुख सबैको साझा हुने हो भने धेरै समस्या समाधान हुन्छन् । सभामुखले संसदमा एमालेको नेताजसरी आफूलाई प्रस्तुत गर्नहुँदैन ।’
प्रतिक्रिया