धरान पुगेर राष्ट्रपतिले भने- जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा हो « Khabarhub

धरान पुगेर राष्ट्रपतिले भने- जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा हो


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धरान– राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन् । 

राष्ट्रपति पौडेलले श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिबाट धरानमा निर्मित धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई शुक्रबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्  । 

‘जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रूपमा बुझ्न सके यसले समाजमा सहिष्णुता बढाउन मद्दत पुग्छ भन्ने म ठान्दछु’, उनले भने ।

राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्त्व र प्रधानता दिएको बताए । उनले भने, ‘वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि यही निष्कर्ष दिनुभएको छ कि “परोपकार पुण्याय, पापाय परपिडनम ।’

हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने उनको भनाइ थियो । 

राष्ट्रपति पौडेलले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत गर्न सक्नुपर्ने पनि बताए । 

‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ, आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेको छ, आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौँतारिरहेको यही कारण हो’, राष्ट्रपति पौडेलले भने । 
  
विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढेको र यसका कारण  समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदा रहेको उनको भनाइ थियो । 

‘यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौँ, यस्तो अवस्थामा नेपालमा निजानन्द सम्प्रदायले चलाएको आध्यात्मिक जागरण र मानव सेवा अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने  । 

राष्ट्रपति पौडेलले हाम्रो वैदिक सनातन हिन्दु धर्म प्राचीनकालदेखि चलिरहेको धर्म भएको र यो धर्मको विराटस्वरुपका कारण यसअन्तर्गत विभिन्न संप्रदायहरूको सृजना हुनु स्वाभाविक नै मान्न सकिने पनि बताए  । 

उनले यस धर्मशाला भवनलाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरूपमा खडा भएको आफूले अनुभूति गरेको पनि उल्लेख गरे । 

सो कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की तथा जगत् गुरु श्रीकृष्णमणि महाराजलगायतले पनि शुभकामना व्यक्त गरे ।सो अवसरमा राष्ट्रपति पौडेलले राधाकृष्ण मन्दिरमा आरती पनि गरेका थिए । 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १ : ४४ बजे

निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

नवलपुर– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक

रजनीकान्तको जेलर २ सिक्वेलमा विद्या बालन अनुबन्धित

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म जेलर बक्स अफिसमा ठूलो

चितवन पुगे रवि, सडकमार्गबाट भैरहवा लगियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै

खुला केन्द्रीय सदस्यमा मात्रै उठेर जित्ने पोखरेल पक्षका एक्ला नेता झपट रावल

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली झन्

एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको