बस्ती बसेको ५१ वर्षपछि खानेपानीका लागि पहल « Khabarhub

बस्ती बसेको ५१ वर्षपछि खानेपानीका लागि पहल


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

तनहुँ– सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भदुरडाँडा । चारैतिर  वनजङ्गलले घोरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका दश परिवारको बसोबास छ । 

आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्यालामजदुरी गरेर  छाक टार्दै आएका छन् । यो समस्या त छँदै छ, जङ्गल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव । 

स्थानीय हस्तबहादुर नेपालीले भने, ‘बस्तीदेखि रहेको खोल्साबाट पानी ल्याएर काम चलाइरहेका छौँ । करिब १५/२० मिनेट उकाली ओराली गरेर पानी बोक्नुपर्ने बाध्यता बस्ती बसेदेखि कै हो ।’

उनले चैत वैशाखमा त्यो पानी पनि सुक्ने भएकाले थप समस्या हुने गरेको सुनाए । ‘चैत र वैशाख महिनामा खानेपानीको मुहान सुक्ने हुँदा झनै कठिनाइ भोग्नु परेको छ’, उनले भने, ‘जङ्गलको बाटो हुँदै पानी लिन जानुपर्ने भएकाले वन्यजन्तुको पनि त्यस्तै डर छ ।’

यही समस्या समाधानका लागि यस क्षेत्रमा खानेपानी विस्तारको योजना अगाडि बढेको छ । व्यास–१ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा मादीनदी लिफ्ट खानेपानी योजनाअन्तर्गत उक्त बस्तीमा पनि खानेपानी विस्तार योजना अगाडि बढेको हो । 

बस्ती बसेको एकाउन्न वर्षपछि भदुरडाँडाका घरघरमा खानेपानी विस्तार गर्ने गरी योजना अगाडि बढेपछि स्थानीयवासी खुसी भएका छन् । 

यहाँ ५० हजार लिटर क्षमताको ‘रिजर्भ’ टयाङ्की निर्माणका लागि ट्याङकीको बेस ढलान सम्पन्न गरी अन्य कार्य भइरहेका छन् । सोही योजनाअन्तर्गत यसअघि व्यास–१ अमिली भञ्ज्याङमा दुई लाख लिटर क्षमताको रिजर्भ टयाङ्की निर्माण भइसकेको छ । 

सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । 

‘बस्ती विस्तारसँगै खानेपानीको समस्या हुने गरेकाले मादीनदी लिफ्ट योजना अघि बढाइएको हो’, उनले भने, ‘यो योजना सम्पन्न भएपछि वडावासीलाई सहज हुने विश्वास गरिएको छ ।’ श्रेष्ठका अनुसार विसं २०७९ भदौमा रु १९ करोडको लागतमा पराजुली कन्स्ट्रक्सनसँग सम्झौता भई काम अगाडि बढाइएको छ ।  

विसं २०८० भदौभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण कार्यमा ढिलाइ हुँदा योजना सम्पन्न हुन सकेको छैन । संस्थाका अध्यक्ष चिजबहादुर दरैले आवश्यक सहजीकरणपछि पछिल्लो समय निर्माण कार्यले गति लिएकाले छिट्टै कार्य सम्पन्न हुने बताए । 

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट पानी वितरण सुरुआत गरेकामा  हाल संस्थाले सानाठूला गरी चार वटा योजनाबाट दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आइरहेको छ ।  
 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  २ : ३० बजे

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बलेवा– मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड