‘नेपालको बैंकिङ क्षेत्र बिरामी हुने गरी बिग्रिएको छैन, डराउन पर्दैन’ | Khabarhub Khabarhub

‘नेपालको बैंकिङ क्षेत्र बिरामी हुने गरी बिग्रिएको छैन, डराउन पर्दैन’


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपालको अर्थतन्त्र र बैंकको अवस्था बजारमा सुनिएजस्तो डराउनुपर्ने नरहेको वित्तीय क्षेत्रका जानकारहरूले बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा शनिबार ‘के छ बैंकको हालखबर ?’ सत्रका वक्ताले नेपालको बैंकिङ क्षेत्रको अवस्था चिन्ता लिनुपर्ने नरहेको बताएका हुन् ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बैंकको अवस्था बजारमा सुनिएजस्तो गम्भीर नरहेको बताए ।

‘बैंकको अवस्था सिटामोलसम्म दिनु परेको अवस्था हो । त्यहाँभन्दा माथि जान परेको छैन । सडकमा सुनिएजस्तो बैंकको अवस्था नराम्रो होइन,’ उनले थपे, ‘हाम्रो बैंकिङ बलियो छ । किन भन्दा केन्द्रीय बैंकको मनिटरिङ र बैंकभित्रको जुन किसिको बलियो पोलिसी, रणनीति र आवश्यकताअनुसारका विकास छ त्यो गरिरहेका हुन्छौँ । डराउनु हुँदैन ।’

पछिल्ला महिनामा ब्याज दर घटेकाले व्यवसायीलाई सहज भएको सीईओ शेरचनले बताए । तर लगानी गर्ने वातावरण नदेखेर ऋण लिन नआएको हुनसक्ने उनले बताए । बैंकले ऋणी खोजिरहने भएकाले प्रस्ताव लिएर गएमा त्यसमा लगानी गर्न वर्तमान समयमा कुनै समस्या नरहेको सीईओ शेरचनले बताए ।

अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिष्टले बैंक र व्यवसायीलाई असर गर्ने सम्भावना रहेको औंल्याए ।

‘हामीले आयात–निर्यात गर्ने क्रममा विभिन्न देशका बैंक, व्यावसायिक घरानासँग कारोबार गर्छौं । हेर्ने नजर फरक हुन सक्छ,’ शेरचनले थपे, ‘त्यसबापत थप शुल्क लगाउन सक्ने सम्भावना छ । कतिपय देशले हामीले पन्छाउने सम्भावना छ । कति देशले आउने जाने कुरा हो भन्ने हुन्छ ।’

नेपालले ग्रे लिष्टमा पर्दा पर्ने असर हेरेर त्यसलाई समाधान गर्न अहिल्यै लाग्नुपर्ने उनले बताए । ‘हाम्रो ग्रे लिष्टबाट बाहिर निस्कन गरिरहेको प्रगति हेर्ने हुनाले ठूलो असर नपर्ने पनि हुनसक्छ । तर, यसले केही न केही व्यवसाय, बैंक, अनुदान र सहयोगमा असर पर्न सक्छ भनेर पूर्व तयारी गर्नपर्छ,’ शेरचनले भने ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले लगानीयोग्य पैसा थुप्रनु र खराब कर्जा बढ्नु बैंकिङ क्षेत्रको वर्तमान चुनौती रहेको सुनाए । नीति नियम वा रणनीति बनाएर सदुपयोग गर्न सके लगानीयोग्य पैसा थुप्रिएको विषयलाई सकारात्मक लिनुपर्ने उनको भनाइ थियो ।

‘आजको मितिमा भन्नुपर्दा ८ सय अर्ब रूपैयाँ लगानीयोग्य पैसा बैंकसँग छ । यसलाई कसरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ, जीडीपीमा योगदान गर्ने क्षेत्र पहिचान गरेर कसरी व्यवसायीलाई लगानी गर्न सकिन्छ भन्ने चुनौती छ,’ उनले भने ।

खराब कर्जा ५ प्रतिशतभन्दा बढी नरहेकाले धरासायी नभएको सीईओ गुरूङले जिकिर गरे । तर, खराब कर्जा वर्षेनि बढ्दै गएकाले त्यसलाई सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘५ प्रतिशत तलको खराब कर्जा मान्य नै देखिन्छ । बैंकिङ उद्योग अहिले ५ प्रतिशतभन्दा तल छ,’ सीईओ गुरूङले भने, ‘३÷४ वर्षअघि १.५ देखि बढ्दै गएर साढे ४ प्रतिशत पुगेको छ । खराब कर्जा कसरी घटाउने भन्ने आजको चुनौती हो ।’

बजारमा हल्ला भएजस्तो नेपालको वित्तीय अवस्था नरहेको उनले जिकिर गरे । सामाजिक, सामाजिक सञ्जालको नकारात्मक धारणाले केही असर परेको तर समग्रमा सकारात्मक रहेको उनको भनाइ थियो ।

आन्तरिक र बाह्य अडिट, राष्ट्र बैंक, सेबनदेखि धेरै निकायले बैंकको वित्तीय अवस्था अध्ययन गर्ने भएकाले बैंकिङ क्षेत्रमा धेरै समस्या नहुने सीईओ गुरूङले बताए । अर्थतन्त्र कोभिडको समयमा शिथिल भएपनि अहिले सुधार भइसकेको सीईओ गुरूङले दाबी गरे ।

‘अर्थतन्त्रको सम्बन्धमा कोभिडदेखि अलिकति शिथिल भएको हो । त्यो अब सकियो । गत वर्ष र यो वर्षको ६ महिनामा सबै सूचक सकारात्मक छन्,’ उनले थपे, ‘हिजो १४ प्रतिशत ब्याज दर थियो । करिब ७÷८ प्रतिशत घटिसक्यो भनेपछि सकारात्मकतर्फ अघि बढेको छ ।’

अर्थतन्त्र र बैंक अन्तरसम्बन्धित हुने भएकाले एउटा बिग्रँदा अर्को पनि समस्यामा पर्ने उनको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले कर्जा प्रवाह बढाउन लगानीको वातावरण बनाउन आवश्यक रहेको बताए ।

‘उत्पादन भइसकेपछि त्यसलाई बजारसम्म लैजान सक्ने संयन्त्रको विकास भएको छैन । किसानले उत्पादन गर्नुपर्ने, किसानले नै बिक्री गर्नुपर्ने अनि घाटा पनि किसानले व्यहोर्नुपर्ने भएको छ,’ पौडेलले भने, ‘राज्यबाट प्रत्याभूतिको वातावरण गर्न सक्यौं कि सकेनौं भन्ने कुरा पनि छ ।’ कर्जा लिएपछि तिर्नुपर्दैन भन्ने भाष्य बनाउने र बैंक कर्मचारीलाई अभद्र व्यवहार गर्नु अर्थतन्त्रका लागि राम्रो नभएको पौडेलको भनाइ थियो ।

नेपाली व्यावसायिक क्षेत्रमा लगानी नहुनुको एउटा कारण खुल्ला सीमाना पनि रहेको उनले औंल्याए ।

‘खुल्ला सीमा छ । आयात निर्वाध गर्न सक्छौं । छिमेकी देशमा जुन अनुदान दिएर किसान र उत्पादन क्षेत्रलाई न्यून लागतमा उत्पादित वस्तु बजार आउँछ,’ उनले थपे, ‘यहाँ चर्को मूल्यमा उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न सके कि सकेनन् भन्ने लेखाजोखा गर्न आवश्यक छ ।’

अर्थतन्त्रका सबै पक्ष मिले मात्र उत्पादन, वितरण र बजारीकरण, आयात, निर्यातलाई व्यवस्थित गर्न सकिने पौडेलले बताए ।

सत्रमा सहभागी गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले वित्तीय सेवा अपांगमैत्री हुन नसकेको गुनासो गरिन् । अपांगता भएकाहरूले मोबाइल बैंकिङको प्रयोग गर्न नपाएको उनले बताइन् ।

कार्यकारी निर्देशक पौडेलले वित्तीय सेवा प्रविधिमैत्री हुने क्रममा रहेको जवाफ दिए । आफूहरूले देशभर रहेका ५ हजार १ सय एटीएम मेसिन र बैंकिङ सेवा अपांगमैत्री बनाउन परिपत्र गरेको उनले जानकारी दिए ।

‘अबका पूर्वाधार अपांगतामैत्री बनाउन भनेका छौं । सुविधाबाट वञ्चित गराएको भनेर नलिनुहोला,’ पौडेलले थपे, ‘बैंकलाई विश्वस्त बनाउन सक्नुभयो भने वञ्चित हुन । त्यसो भन्दा पनि केही भएन भने गुनासो पोर्टलबाट गुनासो दर्ता गर्न सक्नुहुन्छ ।’

पोखराका पर्यटन व्यवसायी बबरजंग गुरूङले बैंकले करोडका योजनामा मात्र लगानी गर्ने गरेको तर साना र मझौला व्यवसायीलाई चासो नदिने गुनासो गरे । बैंकले व्यवसायीको विगत हेर्ने तर कोभिडले अवस्था ठिक नभएको उनको भनाइ थियो ।

जवाफमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङले साना व्यवसायीलाई हेपिएको भन्ने सत्य नभएको दाबी गरे । कृषि विकास बैंकबाट डेढ लाखभन्दा बढीले कृषि तथा महिला उद्यमशील कर्जा लिएको उनले सुनाए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ४० बजे

१७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

रौतहट– बारा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीयलाई पक्राउ

चाणक्य नीतिले भन्छ- यी कुरा कसैलाई नभन्नुहोस् ?

काठमाडौं– आचार्य चाणक्य आफ्नो नैतिकताका लागि प्रसिद्ध थिए र जीवनलाई

मानव-वन्यजन्तु द्वन्द्वको मारमा विपन्न वर्ग

काठमाडौं– सरोकार भएकाहरूले मानव-वन्यजन्तु द्वन्द्वको मारमा विपन्न वर्ग पर्ने गरेको

विश्वकप विजेता बफोन जब दशरथ रंगशालामा उत्रिए (तस्बिरहरू)

काठमाडौं- इटाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बफोन सोमबार